५ हजार गीत लेखेका वरिष्ठ गीतकार राजेन्द्र थापा भन्छन्- ‘मेरा गीतले धेरै गायक गायिकाको जिन्दगी बनेको छ’

साहित्यकार तथा गीतकार राजेन्द्र थापाको लेखन यात्रा ८ वर्षको उमेर देखि नै सुरु भएको थियो । उनी आफूले सानै उमेर देखि नै गजल, मुक्तकमा कलम चलाएको बताउँछन् । राजेन्द्रले लेखेको पहिलो गीत वि.स २०१७ सालमा रेकर्ड भएको थियो । थापाको लेखाईलाई हेर्ने हो भने अहिले सम्म उनको काम लेखन भन्दा अरु केही नभएको महसुस धेरैलार्ई हुन्छ । तर उनी सरकारी जागिरबाट पनि रिटायर्ड भईसकेका छन् । नेपाली सेनाबाट रिटायर्ड भएका थापा लेख्नको लागि समय नचाहिने बताउँछन् । आफूलाई आएको खण्डमा साहित्य, गीत जति बेला पनि लेख्न सकिने उनको भनाई छ ।

राजेन्द्रलाई पहिले देखि नै कथा, कविता, गलज, मुक्तक भन्दा पनि गीत लेख्न सजिलो लाग्ने बताउछन् । पहिले भन्दा अहिले लेखनको लागि धेरै सुविधाहरु भएकोे उनी बताउँछन् । उनी भन्छन्, ‘पहिला गीत लेख्नकै लागि कलम र कपी साथमा भए मात्र लेख्न सकिन्थ्यो तर अहिले फुरेको खण्डमा मोवाइलमा सजिलै लेख्न सकिन्छ ।’

नेपाली सेनाको जागिरले पनि राजेन्द्रको लेखन यात्रामा ठूलो टेवा पुर्याएको छ । अगल—अलग विधा अनि धेरै विषयमा कलम चलाउने अवसर नेपाली सेनाको जागिरले दिएको उनी बताउँछन् ।

५ हजार भन्दा धेरै गीत लेखे तर नाम खासै आएन
उनले संगीत यात्राको क्रममा अहिले सम्म गीत मात्रै ५ हजार भन्दा धेरै लेखेका छन् । उनले कलम चलाउँदै आएको साहित्य विधा भन्दा गीत धेरै दर्शक माझ पुगेको छन् । अचम्म त के छ भने, साहित्य भन्दा गीतमा धेरै जमेका राजेन्द्रलाई गीतले कम र साहित्यले धेरै चिनाएको छ । उनका हजारौँ गीतले चर्चा पाईरहेका छन् तर गीतकारको नाम भने आउँदैन । यसमा राजेन्द्रको मन निकै दुख्ने गरेको छ ।

राजेन्द्रले लेखेका गीतले पुराना कलाकार प्रेमध्वज प्रधान देखि शिव परियार, प्रमोद खरेल जस्ता धेरै गायकले जिन्दगी बनाएका छन् । अरुणा लामाले गाएको ‘पोहोर साल खुशी फाट्दा’ प्रेम ध्वज प्रधानले गाएको ‘पर लैजाउ फूलहरु’ गीतले निकै चर्चा पाए । अहिलेको आँखैमा अनुहार झ्याप्पै, गाला रातै, क्या दामी भो, दर्शन नमस्ते लगायतका गीतहरु पनि राजेन्द्रले नै लेखेका हुन् ।
यस बारेमा बोल्दै उनी भन्छन्, ‘प्रेमध्वज प्रधानको समयको गीत अहिले लेख्ने हो भने कुनै पनि कलाकारले गाउन चाहदैनन् । शिव परिवारले गीत गाउदा ‘क्या दामी भो’ जस्तो नै दिनुपर्यो । राजेश पायल राईलाई ‘दर्शन नमस्ते’ जस्तै गीत हामीले दिन सक्नु पर्यो । ’
कुराकानीका क्रममा मिलन अमात्यले पनि ‘गाला रातै’ बाट चर्चा पाएको उनले सम्झिए । अहिले जति पनि व्यवसायिक गायक गायिकाहरु छन् सबै उनकै गीतहरुले हिट भएको उनी बताउँछन् ।

तपाईँले लेखेका गीत यसरी हिट हुनुको कारण के हो ? भन्ने हाम्रो प्रश्नमा अन्य गीतकारको भन्दा उनकोे जवाफ विल्कुलै फरक आयो । उनले १० —१० वर्षमा पुस्ता र उनीहरुको रोजाई परिवर्तन हुने हुँदा कुन समयमा कस्ता मान्छेहरु छन् र कस्तो गीतलाई समेट्दा राम्रो हुन्छ भन्ने कुराको ख्याल एउटा गीतकारमा हुन जरुरी भएको बताए । राजेन्द्र समय संगै गीतको शब्दहरुमा पनि परिवर्तन ल्याउन सक्ने क्षमता भएका गीतकार हुन । उनका ३ वटा गजल, २ वटा मुक्तक, द्रौपति र खेलौना उपन्यास बजारमा आईसकेका छन् । यो यात्राको क्रममा राजेन्द्रले एउटा कथा पनि लेख्न भ्याएका छन् भने ‘सकुनी’ नामको उपन्यास बजारमा आउने तयारीमा छ ।

IMG_3564

समय अनुसारको गीत लेख्ने व्यक्ति
समय अनुसारको गीत दर्शकमाझ पस्किएकै कारण राजेन्द्र थापाको चर्चा अहिले सम्म पनि उस्तै छ । राजेन्द्र थापा एक मात्र त्यस्तो गीतकार हुन जसले समय अनुसारको गीत दर्शकलाई दिन मज्जाले जानेको छ । सबै कलाकाहरुलाई उनले सुहाउने र खोजेको जस्तो गीत दिईरहेका छन् । प्रमोद खरेलको आवाज रहेको ‘याद गर्न पनि’ जस्तो सोलो गजललाई डान्सिङ गीतमा ढाल्न सक्ने अब्बल क्षमता उनमा छ ।
शिव परियारको आवाजमा रहेको ‘क्या दामी भो‘ गजललाई उनले निकै रोमान्टिक तरिकाले प्रस्तुत गरेका छन् । उनले भने ‘स्टेज कार्यक्रममा गाउने गीत चाहियो भनेको कारण मैले गजललाई रोमान्टिक शैलीमा बनाईदिएको हो ।’ उनले होटल सञ्चालन गरे पछि ग्राहकले जे माग्यो त्यही खुवाउन सक्ने क्षमता होटेलवालाले राख्नु पर्ने भन्दै गीतकारमा पनि त्यो क्षमता हुनुपर्ने बताए । एउटा गीतले गायकलाई घर, जग्गा, जमिन जोड्ने देखि गाढी चड्ने मौका दिन्छ । तर त्यो गीतको शब्द सिर्जना गर्ने व्यक्तिको नाम पनि मान्छेले चिनेका हुँदैन । शिव परियारले राजेन्द्रको शब्द रहेको ‘क्या दामी भो’ गाएपछि नै काठमाडौमा जग्गा र कार किनेको उनले बताए ।

विवादमा परेको खेलौना ७ दिनमा १० हजार कपि विक्री भयो
राजेन्द्र थापाको ‘खेलौना’ उपन्यास चर्चासंगै विवादमा पनि परेको थियो । यति सम्म कि ‘खेलौना’ बजारमा आएको ७ दिनमा १० हजार कपि विक्री भएको थियो । चलचित्रको किताबहरु जिल्ला —जिल्लाका किताब पसलमा पठाउने र दुई वर्ष पछि पैसा पाउने नियम छ । तर ‘खेलौना’को भने सबैले हातमै पैसा दिएर अधययन गरेको राजेन्द्रले बताए । यस कारण पनि डाहाले उपन्यास विवादमा परेको उनको तर्क छ ।
केही उपन्यास कारहरुले ‘खेलौना’ को विरोध गरेका थिए । त्रिभुवन विश्व विद्यालयले नारीबादी उपन्यासको रुपमा खेलौनालाई लिएको थियो । टि यूमा ४ घण्टामा ५ सय किताब विक्री भएको पनि राजेन्द्रलाई याद छ । त्यसबखत आफ्नो उपन्यासको बारेमा धेरै गलत कुराहरु बजारमा आएको उनी अहिले सम्झन्छन् । खेलौनाले महिलालाई बिगार्यो भन्ने आरोप पनि आएका थिए । धेरै छोरीचेली माथि राजेन्द्र थापाको उपन्यास पढ्न बन्देज लगाईएको थियो । उपन्यासमा पुरुषले महिलालाई यौन पात्रको रुपमा प्रयोग गर्ने प्रक्रियालाई बन्द गर्नुपर्ने विषयलाई चित्रण गरिएको छ ।

IMG_3567

सकुनी पछि हिन्दी भाषाको उपन्यासमा लाग्दै
राजेन्द्रको बजारमा आउने तयारी भएको उपन्यास सकुनीमा महाभारतको घट्नालाई समेटिएको छ । महाभारतमा वैज्ञानिक आधार नभएको कारण यहि विषयलाई वैज्ञानिक आधारमा उनले लेखेका छन् । सकुनी हेरेपछि महाभारतको सोच पनि फरक लाग्ने विश्वास उनमा छ । सकुनी पछि हिन्दी भाषाको उपन्यास लेख्ने प्रस्ताव आएका कारण आफू त्यो काममा व्यस्त हुन थालेको उनले बताए । तर उक्त उपन्यासको नाम भने खुलाएनन् । उनलाई हिन्दी भाषा नेपाली भाषा भन्दा पनि सजिलो लाग्छ । राजेन्द्रका अहिले सम्म धेरै हिन्दी कविता र गजल प्रकाशित भईसकेका छन् ।

उनका ५ हजार गीतमा कुनै पनि पुरस्कृत भएनन्
नयाँ पुस्ताको लेखाई पक्कै राम्रो नै हुन्छ । तर पछिल्लो समय जातिगत, अलग—अलग समूहले राम्रो लेखकलाई अगाडि बढ्न नदिएको उनको तर्क छ । लेखक हुनलाई प्रगतिशिल हुनुपर्छ तर गुटबन्दिका कारण लेखन क्षेत्र विवादस्पद बन्दै गएको कुरा उनले गरे । राम्रो भन्दा नराम्रो लेख्नेको संख्या धेरै भएकोले राम्रो लेखक ओझेलमा परेको उनको गुनासो छ ।
पछिल्लो समय नेपालमा धेरै पुरस्कार नराम्रो लेख्नेले नै पाईरहेका छन् भन्दै उनले उदाहरणको लागि काठमाडौ उपत्यकामा आफ्ना ५ हजार गीतमा कुनै पनि पुरस्कृत नभएको बताए । ‘मेरो गीतको नाम चल्छ मेरो नाम हुन्न । दुईवटा गीत हिट भएका गीतकारहरुले पुरस्कार पाएका छन् तर म भने वर्षौ देखि आफ्नो गीत हिट भईरहँदा पनि ओझेलमा छु ’, उनले भने ।
राजेन्द्रले नै लेखेका गीतहरुबाट धेरै गायक गायिकाहरुले भविष्य बनाएका छन् तर उनको नामसम्म धेरैले चिनेका छैनन् ।

You might also like

Comments

Loading...