‘दर्पण छायाँ —२’ का नायक पुष्पलको घरमा किन लाग्यो ताला ?

सिनेमा ‘दर्पण छायाँ —२’ का नायक पुष्पल खड्काले आफ्नो घरमा ताला लागेको बताएका छन् । २ सय ५० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका पुष्पलले सिने करिअरको सुरुवात ‘अझै पनि’ बाट गरेका थिए । तर त्यसमा अतिथिको भूमिका निर्वाह गरेका कारण मुख्य कलाकारको रुपमा उनको डेब्यु सिनेमा भने ‘दर्पण छायाँ–२’ नै हो । हाल पुष्पल आफ्नो डेब्यु सिनेमा ‘दर्पण छायाँ–२’ को प्रमोशनमा व्यस्त छन् । सिनेमाको प्रमोशनकै क्रममा हामीसँग भेट भएका उनले आफ्नो कैलाली स्थित घरमा ताला लागेको बताएका हुन् । खास कुरा के भने पुष्पलको आधा परिवार काठमाडौमा छ भने आधा भारतमा । भारतमै हुर्केका पुष्पलका बुवा आमा अहिले पनि भारतमा छन् भने पुष्पल र उनका भाई बहिनीहरु काठमाण्डौमा । त्यस कारण कैलालीको घर व्यवहार सम्हाल्ने कोही पनि नभएका कारण घरमा ताला लगाउन बाध्य भएको उनले बताए । 
यस्तै कुराकानीको क्रममा उनले आफूलाई मिडियाले गर्ने कतिपय प्रश्नहरु मन नपर्ने पनि बताएका छन् । खास गरी उनलाई ‘दर्पण छायाँ’ र ‘दर्पण छायाँ–२’ का कलाकारहरुलाई तुलना गरेर सोधिएका प्रश्नहरु मन पर्दैनन् । तर सिनेमा प्रमोशनको क्रममा आफूलाई मिडियाकर्मीहरुले, ‘दर्पण छायाँमा निरुता सिहं, दिलिप रायमाझीको त राम्रो अभिनय थियो । सिक्वेलमा तपार्इँहरुको कस्तो छ नि ?’ भन्दै तुलनात्मक रुपमा प्रश्न सोध्दा निकै नमज्जा लाग्ने उनले बताए । उनले दिलिप र निरुता सिंह अभिनयमा निखारिएको राम्रो कलाकार भएका कारण नव कलाकारहरुलाई पुरानो कलाकारसंग तुलना गर्न नमिल्ने पनि उल्लेख गरेका छन् । तुलसी घिमिरेको निर्देशन रहेको ‘दर्पण छायाँ —२’ यहि फागुन २८ गते रिलिज हुँदैछ । सिनेमामा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईँ लगायतको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...