नाटकघरमा फेरि श्रीमान श्रीमतीको टसल

सुन्धारास्थित काठमाडौं मलका रहेको नाटकघर थियटर मलमा फागुन १३ गतेदेखि केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक ‘मान भर्सेस मती’ मञ्चन भईरहेको छ । अघिल्लो वर्ष पनि एक महिना मञ्चन हुँदा यो नाटकलाई दर्शकले खुबै मन पराएका थिए । यहि कारण नाटकलाई पुनः मञ्चन गरिएको हो ।

यसपटक कलाकारद्वय आकाश मगर र प्रेमवर्षा खड्काले ‘मान भर्सेस मती’मा रहेको केन्द्रीय द्वन्द्वलाई अभिनयमा सजीव उतारेका छन् । उनीहरु नाटकमा श्रीमान श्रीमतीको भूमिकामा छन् र उनीहरुबीचको द्वन्द्वलाई नै प्रतीकात्मक रुपमा ‘मान भर्सेस मती’ नाम दिइएको हो । अघिल्लो वर्ष श्रीमानको भूमिकामा अर्का उम्दा अभिनेता अभय बराल थिए ।

नाटकको विषयवस्तु नयाँ छैन । हरेक दिन हामीले घर समाजमा देख्ने घटना, पात्र र प्रवृत्ति नै नाटकमा देख्न सकिन्छ । पारिवारिक द्वन्द्व नाटकको मूल विषय हो । सम्बन्ध विश्वासमा चलेको हुन्छ । जब विश्वासमा अविश्वासको भाइरस छिर्छ तब सम्बन्ध मक्किन थाल्छ । परिवार चल्न पनि विश्वासको खाँचो पर्छ । शंकाले लंका त जलाउँछ भने सुखी परिवारलाई जलाएर खरानी बनाउन बेर लाग्दैन । नाटक ‘मान भर्सेस मती’ ले यही विश्वास र अविश्वासबीच फेरबदल हुने पारिवारिक सम्बन्धको रुपरेखा कोर्ने प्रयास गरेको छ ।

Displaying Maan_Vs_Mati_Theatre_Mall_Kedar_Shrestha_Prembasrha_sarada_rozyna.jpg

मध्यम वर्गीय सामान्य परिवारको अति सामान्य कथामा नाटक बुनिएको छ । निश्चित समय र सोच बोकेका पात्रको सामान्य व्यवहारलाई नै दृश्यात्मक बनाइएको छ । नाटकमा एक श्रीमती छिन्, उनका श्रीमान् छन् । परिवारिक बोझले थिचिएको श्रीमान जीवन निर्वाहका लागि फिल्म क्षेत्रसँग सम्बन्धित कम्पनीमा काम गर्छ । जब ऊ कामबाट थाकेर घर फर्किन्छ, यसकी श्रीमती सिरियल हेरेर बसिरहेकी हुन्छे । उसलाई लाग्छ श्रीमतीले बेवास्ता गर्दैछे । यति भएपछि के निहुँ चाहियो र ? उनीहरुबीच भनाभन हुन्छ । हुँदा हुँदा लोग्ने स्वास्नीलाई अर्को केटासँग लठारिएको देख्न थाल्छ, स्वास्नी लोग्नेलाई अर्की महिलासँग सल्किएको देख्न थाल्छे । ’भाइ फुटे गवार लुटे’ भने झैँ उनीहरुको झगडाको फाइदा बाहिरकाले उठाउन खोज्छन् । तराईबाट कलाकार बन्ने सपना बोकेर आएको रजनीरुपेश र भाइ त्यस्ता पात्र हुन् ।

पति पत्नीको झगडा परालको आगो भन्ने त उखान नै छ । दाउरापनी नठोसी बल्दैन । ‘मान भर्सेस मती’ का पति पत्नी बीच पनि ठाकठूक चलिरहन्छ । आफैंले घर बोलाएका संगीसँग फरासिलो बन्यो अथवा संगीहरुले भिनाजु त कस्तो ह्यान्डसम भन्दा शंकालु बन्ने पत्नि अनि टाढाको नाता पर्ने भाईका बारेमा गुणगान गाउँदा आपूुलाई कमजोर ठान्ने पति । पतिको रेखदेख, हेरविचार र माया भन्दा हिन्दी सिरियलका पात्रप्रति बढि माया दर्शाउने पत्नि, सवारी जाममा परेर शिथिल हुँदै ढिलोगरी घर आईपुगेको पतिलाई स्त्री गमनको आरोप लगाउँदै रुवाबासी गर्ने पत्नि र घरकै चौघेरामा सीमित गर्ने तर पत्निका इच्छा, चाहना बुझ्न नसक्ने पतिबीचको टसललाई जीवन्त बनाएको छ नाटकले ।

Displaying 4 Maan_Vs_Mati_Drama_Theatre_Mall_Kedar_shrestha_Akash_Prermbarsha.jpg
नाटकमा जोडिएर आउने सबल विषय हो मिडियाको प्रभाव । दिनभर सिरियल हेरेर बस्ने श्रीमती श्रीमानलाई पनि सिरियलमा केटी खेलाउने पुरुष पात्रसँग तुलना गर्न पुग्छे, शंकालु बन्छे । अन्तिममा जब उनीहरुले आफूरुबीचको झगडा असमझदारीका कारण भएको हो भन्ने थाहा पाउछन तब समस्या सुल्झिन्छ । तर ’लोग्नेस्वास्नीको झगडा परालको आगो’ भने झैँ त्यो सधैँलाई भने रोकिन्न । भलै मान भर्सेस मतीमा एउटा सहमति जुटेको किन नहोस् ।

एउटै परिवारभित्र फरक फरक उमेर, भोगाइ र चाहना बोकेका पात्रको आवेग र विवेकबीचको द्वन्द्वलाई मञ्चमा उतार्न लेखक तथा निर्देशकले जुन परिकल्पना गरेका छन् त्यो नाटकको बलियो पक्ष हो । विश्वासमा बाँधिएको सम्बन्धको डोरी सामान्य परिस्थितिको हिर्काइबाटमात्रै पनि चुँडिन सक्छ भन्ने सन्देश नाटकमा छ । श्रीमान श्रीमातीलाई ’एक रथका दुई पांग्रा’ वा ’एउटा आगो अर्को पानी’ भन्ने चलन छ । तर जब आवेगले विवेकलाई छोप्छ तब रथका पांग्राहरु फुस्किन्छन् । आगो र पानीका विश्वास टुट्छन् भन्ने कटु यथार्थ नाटकमा लुकेको छ । बाह्य समाज र सम्बन्धलाई सुनेर एकअर्कालाई शंका गर्ने प्रवृत्तिप्रति पनि नाटकमा व्यंग्य गरिएको छ ।

भकुण्डोलाई बच्चाको रुपमा अभिनय गराएर निर्देशकले बाबुआमाको खटपट र झगडामा कसरी छोराछोरी भकुण्डो बन्छन् भन्ने देखाउन खोजेका छन् । निर्देशकले यसलाई सुन्दर ढंगले प्रयोग गरेका छन् । नाटकका सम्वाद र कलाकारको हाउभाउले दर्शकलाई नाटकको पूरै अवधि हँसाउनेछ ।

Displaying 3 Maan_Vs_Mati_Drama_Theatre_Mall_Kedar_shrestha_Prermbarsha_Sarada_rojina.jpg
दैनिक जीवनको व्यस्यता, भारतीय टेलिसिरियल संस्कृतिले मानसिक रुपमा पारेको प्रभावलाई मुख्य विन्दुमा राखि तयार गरिएको नाटक ‘मान भर्सेस मती’ ले अधिकांश पति पत्निलाई अपनत्व बोध गराउन सक्नेछ । विषयवस्तु गम्भीर र मार्मिक हुँदाहुँदै पनि निर्देशकले प्रस्तुतीकरणमा हास्यरस भरिदिएर चाख लाग्दो पारेका छन् ।

नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीले अभिनय गरेका छन् । केदार श्रेष्ठको मञ्च परिकल्पना तथा घनश्याम श्रेष्ठको प्रकाश परिकल्पनाले नाटकलाई थप चुस्त बनाएको छ ।
बुधबारबाहेक हरेक दिन ठिक ५ः३० मा सुरु हुने नाटक आउँदो चैत ५ गतेसम्म चल्ने छ । शनिबार भने दिउँसो १ः३० बजेको पनि शो राखिएको थिएटर मलले जनाएको छ ।

You might also like

Comments

Loading...