चैत २४ देखि १९ दिने ‘आन्दोलन’ शुरु

चैत २४ गते शुक्रबारदेखि फेरि ‘आन्दोलन’ शुरु हुने भएको छ । यो आन्दोलन पनि ६२र६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ ।

यो पटक ‘आन्दोलन’ सडकमा नभई काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा हुन लागेको हो । सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’ को नेतृत्व गर्दैछन् ।

२०४६ तथा २०६२ र ६३ को जनआन्दोलन शुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै त्यस्तै झल्को दिने नाटक ‘आन्दोलन’को मञ्चन सुरु हुन लागेको हो । यस नाटकलाई सौरभ कार्कीले लेखेका हुन् भने प्रतिवद्ध युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेका हुन् ।

आन्दोलनकारी युवाहरुमा भने कलाकारहरु रियर राई, संयोग गुरागाईं, इँगिहोपो कोर्इँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडा छन् । त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरी लगायत छन् ।

आन्दोलनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दिपेन्द्र बज्राजाचार्यले ६२ र ६३ को आन्दोलनमा खिचेका तस्विरहरु पनि प्रदर्शन गर्ने थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन् ।

उनले थिएटर मलमा राजनीति र समाजसँग जोडिएका नाटकहरु धेरै मञ्चन भएपनि यो विशेष रहेको बताए । ६२ र ६३ कै आन्दोलन भोगेका, सहभागी भएकाहरु संलग्न यस नाटक सोही जनआन्दोलनको सम्झना र सम्मानमा मञ्चन गरिन लागिएको हो ।

नाटक ‘आन्दोलन’ बैशाख ११ गतेसम्म हरेक साँझ ठिक ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ । यो पटक नै बिदाको दिन नराखी थिएटर मलमा बुधबार पनि नाटक मञ्चन हुने भएको छ ।

You might also like

Comments

Loading...