Friday, June 27, 2008

भालु पाल्दा जेलमा

भुवनेश्वर/ पूर्वी भारतको जंगलमा अलपत्र भालुलाई उनले घरमा ल्याए । आफ्नै परिवारको सदस्य बनाए । आमाको मृत्युले आघात बनेकी छोरी पनि भालुको मिल्ने साथी बनिन् । भालुलाई सन्तानजस्तै गरेर हुर्काउने राम सिंहको कथा गत साता स्थानीय सञ्चारमाध्यममा छायो । तर, राम सिंहका लागि यो दुर्भाग्य ठहरियो । वन्यजन्तु कानुन उल्लंघन गरेको आरोपमा उनलाई गिरफ्तार गरियो र जेल चलान गरियो । भालुलाई चिडियाघरमा पठाइयो । चिडियाघर पुर्‍याइएको भालुले कैयौं दिनसम्म केही पनि खान मानिन । उता, राम सिंहकी ६ वषीया छोरी पनि अलपत्र परिन् । उनलाई सरकारी आवासीय विद्यालयमा पठाइयो ।

जनावरप्रति सिंहको प्रेमबाट प्रभावित भएर पशु अधिकारवादीहरू सिंहलाई जेलबाट रिहा गराउन र उनको परिवारलाई पुनर्मिलन गराउन लागिपरेका छन् । 'सरकारको नियमकानुन थाहा नभएका अशिक्ष्ाित राम सिंहलाई वन विभागले जुन ढंगले गिरफ्तार गर्‍यो, त्यसको हामी विरोध गर्छौँ,' जनवारका लागि मानिस संस्थाका प्रमुख जीवनबल्लभ दासले भने । भुवनेश्वरबाट एक सय २५ माइल उत्तरमा पर्ने जंगलमा बस्ने रामसिंह मुन्डा आदिवासी समुदायका हुन् । दाउरा बटुल्न जाँदा उनले बच्चा भालुलाई अलपत्र अवस्थामा भेट्टाए । भालुलाई घरमा ल्याएर पाले अनि रानी नाम राखिदिए ।

६ वर्षीया छोरी दुल्की र रानीले राम सिंहको साइकल चढ्न कोसिस गरिरहेको र रानीसँग साथीजस्तै व्यवहार गरेर दुल्की खेलिरहेको फुटेज टेलिभिजनमा देखाइएको थियो । वन्यजन्तु अधिकारीहरूले सिंहको समाचार हेरे र उनलाई वन्यजन्तु राखेको अभियोगमा गिरफ्तार गरे । अभियोग प्रमाणित भएमा उनले तीन वर्षसम्म जेलमा बिताउनुपर्नेछ । 'उनीहरूले मलाई जेलमा पठाए । मेरी छोरी अब कसरी बाच्छे ?' जेल लगिनुअगाडि राम सिंहले भने, 'जंगलमा मर्ने अवस्थामा अलपत्र छोडिएको भालुलाई मैले ल्याएर हेरविचार गर्दा मलाई किन सजाय दिइयो ? बुझ्न सकेको छैन ।'


Post a Comment

0 Comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick