Friday, June 20, 2008

निर्विकल्प राष्ट्रपति

- लक्ष्मण गाम्नागे
अहिले धेरै नामहरू नेपालको प्रथम राष्ट्रपतिका लागि प्रस्तावका रूपमा आइरहेका छन् । उच्च प्राथमिकतासाथ बजारमा आएका केही नाम र तिनका सम्भावना यस्ता छन् ।
रामराजाप्रसाद सिंह : मधेसी हुनु राष्ट्रपतिका लागि यिनको पहिलो अयोग्यता हो । घच्चीघच्चीका पहाडे बूढाहरू हुँदाहुँदै यिनले राष्ट्रपति पाउन त त्यत्तिकै हो । मुख्य कुरा यिनी गिरिजाप्रसाद कोइरालाभन्दा कान्छा र होचा पनि छन् ।
दमननाथ ढुङ्गाना : यिनी बत्तीसपुतली वा बानेश्वरतिरका गल्लीहरूमा हल्लीहल्ली हिँडिरहेको भेट्टाइने सादा मान्छे हुन् । यिनीसँग अलिकति पनि राजसी ठाँटबाँट छैन । यिनी उमेरले गिरिजाबाबुको छोरासमान र उचाइमा तीन फिट होचा भएकाले राष्ट्रपतिका लागि योग्य छैनन् ।
पद्मरत्न तुलाधर : यिनी काठमाडौँका भावुक नेवार हुन् । जनताको दुःख देखेर यिनी अनायास रोइदिन्छन् । राष्ट्रपति भएपछि विदेशीहरूका अगाडि पनि यसैगरी रोए भने नेपालको बेइज्जत हुन्छ । मूल कुरा यिनी गिरिजाप्रसादभन्दा उमेरमा पनि र उचाइमा पनि होचा छन् । त्यसैले यिनी राष्ट्रपति हुँदैनन् ।
सहाना प्रधान : थुप्रै भुसतिघ्रे पुरुषहरू उम्मेदवार हुँदाहुँदै यिनको नाम सिफारसिमा आउनु एउटी न एउटी महिलाको नाम पनि छुस्स पार्दिहालौँ न भनेर कसैले रमाइलो गरेको हो । शैलजाको राजनीति नधमिलिएको भए वा सुजाताको उमेर अलि पाको भएको भए यिनलाई कसैले सम्झने पनि थिएन ।
कृष्ण पहाडी : यी जोगी हुन् । जोगीलाई राष्ट्रपति दिनु हुँदैन । अर्को कुरा, पूर्वराजालाई चुनौती दिनेमध्ये यिनी प्रमुख व्यक्ति हुन् ।
पूर्वराजाको अस्तित्व समाप्त भइनसकेको हुँदा उनलाई पनि फकाउँदै, दूध पिलाउँदै पाल्नुपर्ने अवस्था छ । त्यसो गर्न पहाडीले सक्तैनन् । मुख्य कुरा यिनी पनि गिरिजाबाबुको नातिका उमेरका बच्चा हुन् । बच्चालाई राष्ट्रपति दिन गिरिजाबाबुलाई सुहाउँदैन ।
देवेन्द्रराज पाण्डे, श्याम श्रेष्ठ आदिको नाम कसैले रमाइलोका लागि लिएको हो ।
गिरिजाबाबुका अघिल्तिर तिनीहरू दूधे बालक हुन् ।
राष्ट्रपतिका फुच्चे दाबेदार प्रचण्डले प्रधानमन्त्री खाने कुरा गरसिकेपछि यस देशको राष्ट्रपति हुने को हो त -
गिरिजाप्रसाद कोइराला : उहाँजत्रो अग्लो, पाको, अनुभवी र त्यागी नेता अर्को को छ यस देशमा - राष्ट्रपति हुनका लागि उहाँले जतिसुकै त्याग गर्न पनि तयार हुने कुरा गरसिक्नुभएको छ । यो कुरा इतिहासले पनि प्रमाणित गरेकै छ । पदप्राप्तिका लागि उहाँले गणेशमानलाई त्याग्नुभो, कृष्णप्रसादलाई त्याग्नुभो, कतिपटक नैतिकता त्याग्नुभो, सिद्धान्त त्याग्नुभो, नातागोताबाहेक कति र्समर्थकहरू त्याग्नुभो, शुभचिन्तकहरू त्याग्नुभो । अब पनि उहाँ धेरैथोक त्याग्न तयार हुनुहुन्छ । राष्ट्रपति हुनका लागि उहाँले प्रधानमन्त्रीको पद त्याग्नुहुनेछ, पार्टीसभापतिको पद त्याग्नुहुनेछ,
पार्टीको सदस्यता पनि त्याग्नुहुनेछ । अर्थोक पनि जेजे त्याग्नुपर्र्छ, त्याग्नुहुनेछ । यसमा शङ्का नगरौँ ।
त्यसकारण संसारबाट बिदा नहुन्जेल (उहाँको डेढ सय वर्षो आयु होस् †) उहाँको विकल्पका बारेमा हामी कसैले पनि नसोचौँ । सम्भव नहुने कुरामा निर्रथक बहस नगरौँ । समय अरू नै उत्पादनमूलक कार्यमा खर्च गरौँ । जय नेपाल !



Post a Comment

1 Comments:

aAkaR said...

जेसुकै भनेर सटायर हाने पनि, रामराजालई चाँही राष्ट्रपति हुँदै हुँदैन । मधैसी भएर नपाउने हैन, हैसियत नभएर चाँही हो- यीनलाई राष्ट्रपति दिन नहुने । जनआन्दोलन का बेला यी मधेसी बुढा कहाँ थिए, अनि गा'को संविधानसभामा यीनी र यीनका पार्टिले कति मत ल्यायो । के जनताले यीनलाई चाहेका रहेछन् त ?

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick