Wednesday, December 31, 2008

Bank of the Year 2008



Condition of Bank of the Year 2008 of Nepal

Saturday, December 27, 2008

मेरी दिदी छुच्ची

सिस्नुपानी नेपाल र काठमाण्डौ प्याब्सनले संयुक्त रूपमा गरेको उत्यकाव्यापी बिद्यालयस्तरीय हाँस्यव्यङ्ग्य कविता प्रतियोगितामा सहभागी हुन कक्षा ५ मा पढ्दा मैले लेखेको कविता :

मेरी दिदी छुच्ची

मिनिस्कर्ट लाउँछिन् दिदी बोर्डिङ् जाने बेला
कुर्ता सुरूवाल लगाउ भन्दा देखाउँछिन् खेला
आँखाभरि आइब्रो र लिपिस्टिकको मुख
भविष्यमा पाउँछिन् होला नराम्ररी दु:ख

घरमा खाना खान्न भन्छिन् होटलतिर पस्छिन्
झ्याप्ले कपाले हुने देखे त्यसैसँग बस्छिन्
सुड्डो भन्छिन् बुवालाई पाकेटमनि माग्छिन्
नयाँ फिल्म चल्यो भने स्कुलबाटै भाग्छिन्

होमवर्क गर्ने बेलाभरि लेटर लेख्‍नुपर्छ
जाँच आउँदा चिट् बोकेको सधैँ देख्‍नुपर्छ
बोल्यो भने कम्फू दिन्छु भन्दै आँखा तर्छिन्
जता देख्छिन् झिल्केमिल्के त्यतैपट्टि सर्छिन्

कहिले पुग्छिन् गोदावरि कहिले दक्षिणकाली
म्याक्सी फालि ट्याक्सी चढ्छिन् सधैँ हत्ते हालि
औँठी, सिक्री बेचि खाइन् घरमा पर्छ घुच्ची
बोलौँ बोली साध्य छैन मेरी दिदी छुच्ची

Saturday, December 13, 2008

बम


(आजभन्दा करिब ६ वर्षअगाडि देशमा व्याप्त राजनैतिक परिस्थितिको सेरोफेरोमा रहेर लेखेको कविता हो यो मेरो । परीक्षाको कारण बढ्दै गएको बेफुर्सदीले गरेर म तपाईँहरूलाई मेरा पुराना कविताहरू अबको केहि समय पस्किने जोहो गर्दैछु । मेरा बालकविताहरू स्वीकारिदिनु होला ।)

जिन्दगीमा नसुनेको कुरा सुनेँ मैले
पानी खाने गाग्री पनि बम भयो अहिले
पुत्ला पनि बम अरे रकेट पनि बम
तुल पनि बम अरे सकेट पनि बम

जहाँजहाँ फोहोरको हुन्छ डमाडम
त्यहीँनेर पड्किदिन्छ प्रेसर कुकुर बम
एउटै घरका परिवार घम्साघम्सी लडे
पेट्रोल बम गाडिभित्र यात्री सबै डढे

विकास भो जताततै बाल्टीन पनि बम
केहि दिनमा हुन्छ अब लाल्टीन पनि बम
हाम्रो देश नेपालमा शान्ति छाउँछ कहिले
भएभरका भाँडाकुँडा बम भए अहिले

झुल बम तुल बम फूल बम फले
राम्रा राम्रा घरअफिस खरानी भै बले
क्रान्ति फाल्न गाह्रो पर्‍यो हामी सबैलाई
बम पाल्न साह्रो पर्‍यो हाम्रो देशलाई !!

Thursday, December 04, 2008

गजल

यो गजल विशेष कसैको लागि लेखेको हुँ । गजलमा भनेका कुरा पनि साँच्चै मेरो मनमा लागेका कुरा हुन् ।

देउरालीमा मौलाएको पीपलुको पात राम्रो
मेरो ओठ सुम्सुम्याउने तिम्रो कोमल हात राम्रो

कोइलीको कुहु-कुहु के पो मिठो हुन्छ र खै
सँगै बाँचौँ सँगै मरौँ भन्ने तिम्रो बात राम्रो

सिरेटोले मुटु काम्ने कठ्याङ्ग्रिदो पुष-माघमा
सिरक होइन तिम्रो माया ओढी सुत्‍ने रात राम्रो

कथा,गीत गजल सबै फिक्का फिक्का लाग्न थाल्यो
तिम्रो मनको कुरा भा'को ईमेलको खात राम्रो

लक्ष्यतिर उन्मुख मेरा पाइला अघि बढ्दै जाँदा
पाइलैपिच्छे सँगै हुने तिम्रो न्यानो साथ राम्रो

Monday, December 01, 2008

पानी नै नआउने बन्द

नेपालमा लोकतन्त्रको उदय भएपछि अझै गणतन्त्रको आभाष मान्छेमा भएपछि बन्द र चक्काजामले आजित भइसकेका छौँ । कारण सुन्दापनि हाँस उठ्ने खालका बन्दले हैरानै पारिसक्यो । कतिपय कुरा यस्ता हुन्छन् जुन बन्दमा पनि गर्न सकिन्छन् तर ‘आज बन्द’ भन्ने भान भइसकेपछि सबै जोश, जाँगर कहाँ सेलाएर जाँदो रहेछ-रहेछ । आज काठमाण्डौ विश्वविद्यालय भएको गाउँका मान्छेले पानी वितरणमा छुट्याइयो भनेर गाँवै बन्द गरे । जसको असर सोझै हामीमा पर्यो । बिहान एउटा परीक्षा थियो र हतार-हतार गर्दै चिया खान गएको त सबै पसल नै बन्द छ । भोकै परियो केहि खानै पाइएन । साथीहरू सबैको ताल त्यस्तै भएछ । जाँच दिन ठाउँमा गइयो अनि १५ मिनेटसम्म कुर्दा पनि कोही नआएपछि भोकले रन्थनिएका साथीहरू जाऔँ भन्दै उकालो लागे । हामी पनि सँगसँगै पछि लाग्यौँ । पछि जाँच दिन बोलाउँदै थिए, बन्दको भूत चढिहालो जाँचै दिन मन लागेन । आज सकिइहाल्ने काम अर्को दिनलाई सर्यो अब । झन् मज्जाले पढेर जाँच दिन पाइने भइयो ।

वास्तवमा बन्दले हामीलाई प्रत्यक्ष रूपमा बेफाइदा पुर्यागएपनि अप्रत्यक्ष रूपमा अलि फाइदै पो गरेको छ कि क्या हो जस्तै लाग्न थाल्यो मलाई । विदेशमा मान्छे महिनौँअगाडिदेखि एउटा काम गर्ने योजना बनाएर बस्छन् । तर हामीलाई त्यसो गर्नैपर्दैन । हामी अब यतिसम्मका भइसक्यौँ कि केहि पनि काम गर्नलाई योजना बनाउनुपर्दैन । ‘अन द स्पट’ सबैथोक गर्ने बानी बसिसक्यो हामीमा । जो होगा देखा जाएगा भन्यो आजको काम जसोतसो सक्यो अनि भोलिको लागि कुर्योै । योजना बनाउनतर्फ लाग्यो भने त भोलिपल्ट बन्द भयो भने योजना सबै अलपत्र हुन्छ । यो बन्दले हामीलाई छोटो समयमा नै ‘डिसिजन’ लिनसक्ने बनाइदिएको छ । कुनैपनि कामका लागि महिनौँदेखि बुन्नुपर्ने योजनालाई अत्यन्तै न्यूनिकरण गरिदिएको छ बन्दले । जस्तोसुकै परिस्थितिका लागि पनि तयार बनाउँदै छ बन्दले हामीलाई जसको प्रतिफलस्वरूप पछि हामी छोटो समयमा नै राम्रो काम गर्ने सक्षम हुनेछौँ कि !

बन्दले हामीभित्र रहेको अल्छीको मात्रालाई पनि घटाउँदै छ । अरूदिन काविविबाट बनेपा जान पनि गाडि चढ्नुपर्ने साथीहरू काठमाण्डौ नै हिँडेर जान तम्सिरहेका छन् । अरू बेला फोटोकपी नभई पढ्न नसक्नेहरू ‘नोट’को जोहो गर्नतर्फ लाग्दैछन् अनि नियमित रूटिनमा नभ्याइएका कतिपय काम फत्ते गर्न पनि साह्रो काम लागेको छ बन्द । बन्दले हाम्रो सोचलाई पनि ‘मल्टी डाइमेन्सनल’ बनाइदिएको छ । एउटा काम गर्नुपर्यो भने हामी त्यो काम फत्ते गर्नका लागि कम्तीमा तीनवटा बाटा सोच्छौँ अचेल । यो भएन भने यो अनि यो पनि भएन भने यो भन्दै । यसका कारण काम समयमै पनि भइरहेको छ ।

जे भएपनि मलाई त बन्दले अलिअलि हामीलाई स्फुर्ति नै प्रदान गर्दैछजस्तो लाग्न थाल्यो अचेल त । मैले सुनेको थिएँ एकपटक, जे कुराको पनि राम्रो पक्ष खोज्नतर्फ लाग्यो भने जीवन सुखमय हुन्छ भनेर । त्यहि भएर बन्दको राम्रो पक्ष बटुल्नतर्फ लागेको म । तपाईँसँग पनि अरू बन्दका राम्रो पक्ष छन् भने यसो आदानप्रदान गरौँ न । त्यसो गरे कसो होला ?

अनि आजको बन्दको प्रभाव चैँ काठमाण्डौ विश्वविद्यालयमा पनि दह्रो परेको छ । काविविको पुरूष छात्रावासमा टाँसिएको सूचना त हेरिहाल्नुभयो माथि । अब त्यो सूचनामा भनेअनुसारको सहयोग चैँ कस्तो हो खै ? शौचालय जानुपरे पनि थामेर बस्ने अनि गईहाले पनि नधोई आउने हो कि ? अनि तिर्खा लागे पनि पानी नखाने हो कि ? साथीहरूको टि-सर्टमा लेखेको देखेको थिएँ "Drink Beer Save Water" भनेर । यहाँ हामीले त त्यस्तै गर्नुपर्ला जस्तो छ । भर्खर ट्याङ्करमा पानी आ'को छ त्यो पनि बाल्टीमा थापेर कोठाकोठा ल्याउने हो अरे । सकिहाल्छन् होला लौ गईहालेँ म पानी थाप्न । आफूसँग त बाल्टी पनि छैन कस्ले दिने होला यो अनिकालमा ??


 
Hast for Allaclick