
कान्तिपुर पब्लिकेशनको एउटा उत्कृष्ट प्रकाशन 'नेपाल'को यसपालिको अङ्क बजारमा आएदेखिनै पढ्न मन लागिरहेको थियो । मुल विषयवस्तु त 'भिडको बोलवाला' भन्ने छ तर मलाई त्यसले भन्दा पनि हाम्रो नेतालाई लागेको रोगको बारेमा लेखिएको लेख पढ्न निकै नै मन लागिरहेको थियो । विद्यार्थी जीवन, भन्नेबित्तिकै भनेको काम गरिहाल्न पनि पाइँदैन । एउटा समस्या समयको अनि अर्को समस्या पैसाको । फेरि यसपाला ईन्टरनेटमा पनि नेपाल कस्तो नबुझिने गरि अक्षर छुट्टाएर हालेको रै'छ पढ्नै समस्या हुनेगरि । आज कलेजमा दुई घण्टाको ब्रेकमा मौका छोपेर नेपाल पढ्न पाएपछि भने हाम्रा नेतालाई लागेको रोग कस्तो कस्तो रहेछ भन्ने जिज्ञासा केहि हदसम्म पूरा भयो । नेताको यो रोग राजनीतिक रोग नभएर स्बास्थ्यसँग जोडिएर लागेको रोग रै'छन् मलाई त शुरूमा दिल्ली दौडाहाजस्ता रोग होलान् भन्ने लागेको थियो ॥
गिरजाप्रसाद कोइरालालाई दिनको ६ घण्टा अक्सिजन चढाउने देखि लिएर गगन थापाको युरिकएसिड सम्मको, माधव नेपालको मुटुको समस्यादेखि लिएर प्रदिप नेपालको छ पटकको शल्यक्रिया, उपेन्द्र यादवको कब्जियतदेखि विजय गच्छेदारको आँखो, सुर्यबहादुर थापाको मुटु, लोकेन्द्रबहादुर चन्दको एलर्जीदेखि सुशील कोइरालाको जिब्रोसम्मका समाचार अटेका रै'छन् ॥ निकै नै रमाईलो लाग्यो पढ्न अनि दु:ख पनि ॥ जनतालाई सहि मार्गमा डोर्याउँदै देशलाई अग्रगामी निकाश दिनुपर्ने हाम्रा नेताको समय त महिनाको १-२ हप्ता अस्पताल धाउँदै खेर जाँदो रहेछ । अझै पनि हाम्रो देशमा स्वास्थ्यप्रति त्यति संवेदनशील देखिँदैनन् मान्छेहरू । मैले अरूको मात्र कुरा गरेको होइन, आफैँलाई पनि त्यति ख्याल लाग्दैन स्वास्थ्यको किन हो थाहा छैन । शायद अल्पविकशित राष्ट्रमा मानिसहरू विलासिताको बाटो खोज्दै स्वास्थ्यलाई नै असर पार्ने खालका सस्ता विलासितातर्फ उन्मुख भएका पो हुन् कि ? खोइ कुरा के हो अझै मेसो पाउन सकेको छैन ।
बिहान जुकाको औषधि खाएर दिउँसो सितैँमा पाको म:म बजाउन जाने मजस्ता मानिसको उल्लेख्य उपस्थितिले हुनुपर्छ शायद यहि संस्कारबाट हुर्किएका हाम्रा नेताको पनि स्वास्थ्य पनि जवानीमै बुढो हुनेखालको छ । प्राय: सबै नाम चलेका नेता नियमित औषधि सेवन गर्दा रहेछन् र सामान्य प्रकारको रोग त धेरै कम नेतामा मात्र रहेछ । सबैलाई प्राय मुटु र रक्तचापको समस्याले सताएको रहेछ । नेपालका प्रधानमन्त्री प्रचण्ड पनि उच्च रक्तचापका रोगी रहेछन् तरपनि उनलाई सबैभन्दा मनपर्ने परिकार खसीको मासु हो अरे र अहिले पनि भैट्नेबित्तिकै पड्काइहाल्छन् अरे ॥ रा्ष्ट्रपतिको आँखाको मोतीयाबिन्दुको शल्यक्रिया देखि लिएर शैलजा कोइरालाको कारूणिक अवस्था र उनले पाएको राष्ट्रिय अनि पार्टीगत अवहेलनाको चर्चाले कस्तो नरमाईलो लागेर आयो ॥ २०१७ सालको महेन्द्रको निर्णयको विरोध गर्दै खुल्लामञ्चमा कालो झण्डा लिएर बसेकि अनि नेपालको उपप्रधानमन्त्रीसमेत रहिसकेकि कांग्रेसकी पूर्व केन्द्रीय सदस्यको वर्तमान अवस्थाको वर्णन पढ्दा लाग्छ कि नेपालमा शक्तिहीन स्वाभिमानीको कुनै पनि महत्व छैन ॥
हाम्रा नेताको रोग पढेपछि मलाई मनमा लागेको कुरा चैँ, कुनै रोग नलागीकन स्वास्थ्यतर्फ ध्यान दिने बानी हामी नेपालीमा कहिले बस्छ होला ?


0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!