Tuesday, April 07, 2009

"बल्ल नेपाल स्वीट्जरल्याण्ड भयो !"



"बल्ल नेपाल स्वीट्जरल्याण्ड भयो !" काठमाण्डौ विश्वविद्यालय अगाडि फोटोकपी पसल सञ्चालन गर्ने रमेश दाइले यसो भन्दा अचम्म लाग्यो मलाई । के भएछ यी दाइलाई, कहाँ नेपाल स्वीट्जरस्याण्ड भएको देखेछन् भनेर दङ्ग परेँ म त । एमाले र कांग्रेसले सदन वहिष्कार गरेर सदनै नचल्ने भाको छ । राजतन्त्रको उन्मुलन गर्ने जनआन्दोलनको विजारोपण भएको दिन टुटेफुटेका पार्टीका बन्दले देश मन्द मन्द हुँदैछ । केराको पातमा चिप्लिएर मर्दा दस लाख र क्षतिपुर्तिको माग गर्दै टायर बाल्दैछन् मान्छेहरू । देशमा कैयौँ गुमनाम प्रचण्ड थेवेहरूको हत्या भइरहेको छ दिनका दिन । मोबाइको कि-प्याड नै नचल्ने भइसकेको छ नेटवर्क नलागेर किचि किचि थिचिरहँदा । ४ दिनमा १ दिन त पक्कै पानी आउँछ भन्दै सरकार वीरता प्रस्तुत गर्दैछ । एकछिन सोचेँ, कसरी भयो होला त नेपाल स्वीट्जरल्याण्ड ?


अनि सोधेँ,"के भयो हौ रमेश दाइ ? कसरी नेपाल स्वीट्जरल्याण्ड भयो?" अनि रमेश दाइले बडो उल्लासका साथ उत्तर दिए "दिनभरि बत्ती आएपछि, नेपाल स्वीजरल्याण्ड भएन त?" एकछिन मजाले हाँस्यौँ दुवैजना । दुईचार दिनयता तापक्रममा वृद्धि हुँदै गएपछि हिउँ पग्लिएर खोलामा पानीको सतह बढेको र कल-कारखाना पनि बन्द र हड्तालका कारण बन्द रहेको कारण देखाउँदै विद्युत प्राधिकरणले जथाभावी(तालिका नै प्रकाशन नगरि) विद्युत आपुर्ति गर्दै आएको छ । यसबाट सामान्य नागरिक त खुसी भएका छन् नै झन् खुसी त रमेसदाइहरू भएका छन् जो दिनभरि फोटोकपी गरेर जीवनयापनको बाटो समाउँदै छन् । विद्युतीय उपकरणका साथै मर्मत र कम्प्युटरसम्बन्धी काम गर्ने व्यवसायी पनि दिनको १६ घण्टा लोडसेडिङ खेप्दै रूटिनबाहेक २-४ घण्टा बत्ती आइदिँदा साँच्चै नै स्वीजरल्याण्ड ठान्न बाध्य छन् नेपाललाई ।

बाहिर बस्ने मान्छेलाई त लाग्दो हो कसरी बस्छन् होला नेपालमा मान्छेहरू १६-१६ घण्टा लोडसेडिङ हुँदापनि ? तर सकिँदो रै'छ । टिभी नभई समय नकट्ने, ईन्टनेट नचलाई बस्न नसकिने हामीजस्ता मान्छे त जेनतेन चीत्त बुझाउँदैछौँ तर साना व्यवसाय भने नराम्ररी प्रभावित भएका छन् । २ दिनमा २०-२५ वटा किताब फोटोकपी गरिदिने रमेश दाइ अहिले एउटा किताब लिएर जाँदापनि बत्ती नआउने भएर एक हप्ता जति लाग्छ होला भन्नुहुन्छ । खोइ के गरेर समाधान हुने हो यो लोडसेडिङको समस्या ? नेपालमा उत्पादित बिजुलीभन्दा सस्तो भाउमा भारतले बिजुली बेच्ने प्रस्ताव गरेको छ भनेर समाचारमा आउँछ । त्यस्तो हो भने किन लिन ढिलाइ गरेको होला ? कि ल्याउन नहुने नै पो हो कि साँच्चै ? खोइ साँचो कुरा के हो नै थाहा पाउन सकिएन ।

जे होस् अहिले बत्ती जानेबेलामा पनि फ्याट्फ्याटि आइरको छ, रमेश दाइजस्तै हामीलाई पनि निरन्तर बत्ती आइरहे स्वीजरल्याण्ड यहि नै हो जस्तो लाग्न थालिसक्यो ॥

9 Comments:

  1. भुक्तमानको देशमा भोग्नु त छ नै । अव्यवस्थाको चर्कँदो रूप नियम न तालिका बत्ती दिने चलनबाटै देखिन्छ । तर अब निराशाको यति चरम मोडबाट गुज्रिएर मात्र भएन हामीले । बत्ती १६-१८ घन्टा जाने गरेकोमा बेलाबेला केही कम भएको छ । बिजुली ल्याउने कुरा पेट्रोल ल्याउनु जस्तो सजिलो कुरा पनि भएन । बिस्तारै हुन्छ, समय लाग्छ । तर हाम्रो देशका सरोकारवाला मान्छेहरूको लिँडो भागमा सदियौँदेखि पुच्छर भएर मात्र यत्तिको हत्ते बेहोर्नु परिरहेछ ।
    ReplyDelete
  2. ल्या ! आज त के भएछ त्यस्तो 'बल्ल नेपाल स्वीट्जरल्याण्ड भयो' भन्ने टाइटल देख्दा .... पछि त सर सरती पढ़दा पो थाह भो अनी तपाई हासे जस्तै म पनी एक्लै मन मनै हासे ....... आफ्नो देशको नियति सम्झेर |
    ReplyDelete
  3. बडो गजब सन्दर्भ लाग्यो | सन्दर्भ गजब भएपनि यो तीतो यथार्थ सम्झंदै जाँदा दिन भर कस्तो कस्तो लागिरह्यो |
    ReplyDelete
  4. यस्ता कुराहरु पढ्दा पढ्दा बाक्य बसेको लाटो झैं भै सकियो । के भन्ने ? खै केहि भन्नै आएन ।
    ReplyDelete
  5. केहि हदसम्म म पनि दीपकजीकै जस्तै भएको छु, के भन्ने ? कसलाई भन्ने भनेर।

    दिउसोको समयमा त्यो पनि संसारमै महंगो मानीएको शुल्क तिरेर बत्ती बाल्न पाँउदा पनि हामिलाई 'स्वीट्जरल्याण्ड'को अनुभूति हुन्छ भने पछि कस्तो बेहाल छ देश !
    ReplyDelete
  6. कठै रमेश दाई, उजेली र म , साचिकै स्वीट्जरल्याण्डनै हो जस्तो लाग्यो नेपाल त। स्वीट्जरल्याण्ड भन्दा पनि बढी छ नि हो हाम्रो नेपाल। जुन कुरा हामी सँग छ त्यो स्वीट्जरल्याण्डमा छैन क्यारे हैन त ? हामी सँग बिजुलीको अभाब छ, स्वीट्जरल्याण्डमा छ? हामी सँग पानी नआउने धारा छ, स्वीट्जरल्याण्डमा छ? हामीसँग जती मान्छे मारे पनि केही नगर्ने पुलिस र सरकार छ,स्वीट्जरल्याण्डमा छ? कती negative मात्र सोच्ने हो अब त यसरी सोच्न पर्ला जस्तो भयो।
    ReplyDelete
  7. म पनि के के नै भयो भनेर उत्सुकताले पढेको त उहि लोड सेटिङको कुरा पो रहेछ ।। जे होस केहि हद सम्म भएपनि राहतको अनुभुति गर्न पाउनुभएछ ।
    ReplyDelete
  8. हो यार !
    रमेश दाइ चाँहि मख्ख, हिजो भेटेको !

    अब यहाँ भन्ने र गरिने काम फरक छ । प्रचण्ड थेवे को हत्या भएको १-२ दिनमै धनुषा मा ३ जना मारिए ! मारिने मा रहेका एक विद्यालय का प्रध्यानाध्यापकलाई उनकै ट्याक्टर मा बाँधेर हातखुट्टा काटेर मारियो, यसको त्यति चर्चै भएन, त्यहीँ स्थानियले १ दिन चर्को नारावाजी गरे, सबैले बिर्सिए । तर अन्य को हक मा भने हप्तौँ सम्म बजार बन्द भए । खै, केहि बुझ्न सकिने भएन । अझ, माओवादीले आफ्ना कार्यकर्तालाई गरिने कारवाही त झन् गज्जब को छ, पार्टिबाट निष्काशन !
    हाहाहा, यस्तो पनि कुनै कारवाहि हुन्छ ! मान्छे मार्‍यो, कानुनी फन्दा मा पार्नु त कता हो कता, पार्टिबाट निष्काशन गरेर, ठूलो सजाय दिँदारहेछन् ।

    स्विटजरल्यान्ड त युरोप मै गए मात्रै भेटिन्छ, खै नेपाल मा कल्पना गर्नु बेक्कार हो जस्तो लाग्छ !
    ReplyDelete
  9. देशको दुःख पीडा त बयान गरी साध्य छैन ... तर समस्या सामधान नहुन्जेल दुखी हुनु भन्दा यसरी सकारात्मक हुनु नै राम्रो हो नि होइन र ? मलाई त रमेश दाइको सकारात्मक सोचाई खूब मनपर्यो...
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम