मदन भण्डारी र मनमोहन अधिकारीको कम्न्युष्ट पार्टीको एकिकरणपछि नेकपा माले हुँदै नेकपा एमाले भएको पार्टीले मदन भण्डारीको नेतृत्वमा पाएको उपलब्धिले एउटा शक्तिशाली कम्न्युष्ट पार्टीको जन्म हुने अड्कल सबैले काटेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा अल्पमतमै भएपनि पहिलो पार्टी बनेर अगाडि आएको एमालेले नौ महिना सरकार चलाउँदा शायद जनताले धेरै परिवर्तनको अनुभुति गरेका थिए । त्यसपछि माधवकुमार नेपालको नेतृत्वमा विगत १० वर्षदेखि सत्तालोलुपताको भूमरीमा फस्दै एमालेले जनताप्रतिका गहन मुद्दाहरू विस्तारै बिर्सँदै गएको अनुभूति जनताले गरे । फलस्वरूप २०५६ सालको निर्वाचनमा ५१ सालको उपलब्धिलाई माटोमै मिलायो एमालेले । प्रतिगमन आधा सच्चियो भन्दै तत्कालीन् सडक आन्दोलनबाट अलग्गिएर राजाको सरकारमा सहभागी हुँदै एमालेले आफ्नो जनाधारलाई धेरै हदसम्म घटाउने काम गर्यो । अझ वामदेव गौतमले एमाले फुटाउनु २०५६ सालको निर्वाचनको लागि घातक ठहरियो र पछि फेरि वामदेव एमालेसँग मिल्नुले धेरै कार्यकर्ता माओवादीतिर पलायन भए । माओवादी यति शक्तिशाली हुनुमा एमालेको फुट र गुटको राजनीति प्रमुख रहेको छ । अधिकांस माओवादी कार्यकर्ता कुनै न कुनै बेला एमालेसँग आवद्ध भएको घटनाले पनि यो कुरालाई पुष्टि गर्छ जस्तो लाग्छ ।विगतमा जे जस्तो भएपनि शान्तिप्रक्रियामा एमालेले निर्वाह गरेको भूमिकाको चैँ हामी सबैले सह्राना गर्नैपर्छ । माओवादी र कांग्रेसजस्तै एमालेले पनि आफ्नो हठ निकाल्दै मध्यामार्गी भूमिका नखेलेको भए शायद शान्तिप्रक्रिया अप्ठ्यारोमा परिसक्ने थियो । अस्पष्ट मुद्दाहरूमा मध्यमार्गी भूमिका खेल्नुलाई धेरैले ढुल्मुले चरित्र भनेर व्याख्या गरेका छन् । आलोचनासहितको समर्थन गर्ने भएकाले मलाई यो कदम चैँ कदापि ढुल्मुले लाग्दैन । शान्तिप्रक्रियामा आएपछि माधव नेपालले गिरिजालाई प्रधानमन्त्रीको प्रस्ताव गर्नु र संविधानसभापछि आफ्नो तृतीय स्थानलाई स्वीकार्दै झलनाथ खनालले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नु ढुल्मुले चरित्र नभई देशलाई सहज निकास दिने कदम हो । प्रचण्ड र शेरबहादुर देउवा प्रधानमन्त्रीको लागि लड्दा एमालेले पनि आफ्नो उम्मेद्वारी दर्ता गराएको भए शायद अवस्था प्रतिकुल हुन्थ्यो । एमालेले जित्दैन थियो तर प्रचण्डले पनि जित्थे भन्न सकिन्नथ्यो । त्यतिबेला माओवादीलाई लत्याएर सरकार बनेको भए हामी सबैले सोच्न सक्छौँ आज देशको अवस्था के हुन्थ्यो भनेर । बिचमा कांग्रेसले सरकार ढलाएर एमालेको नेतृत्वमा सरकार बनाउने प्रस्तावलाई पनि एमालेले ठाडै अस्वीकार गर्नुलाई कसैले पनि एमालेप्रतिको सकरात्मक मुद्दा बनाएर उठाएनन् । हाम्रो राजनीतिक सोचाइ नै एकदमै एकपक्षीय रहेको छ । आफूले मनपरेको पार्टीले जे गरेपनि समर्थन गर्ने र अरूका राम्रा कामलाई पनि आलोचनाको दृष्टिले हेर्ने । जनताको यो संस्कारले पनि देशको राजनीतिलाई यति प्रदुषित बनाएको हो । प्रचण्डको आलोचना गर्न सबै तँछाडमछाड गर्छन् तर बाबुराम भट्टराईको सकरात्मक कामलाई कसैले पनि कुनै मञ्चबाट समर्थन गरेको सुनेको छैन अहिलेसम्म ।
अहिले देशमा सरकार छाड्छु भन्ने फेसन नै चलेको छ । पहिला सरकारमा जान नपाउँदा माओवादीले उत्पातै मच्चायो । कांग्रेसले सरकार नछाड्न रडाको नै मच्चायो अनि एमाले सदाझैँ सरकारमा जान सधैँ तत्पर थियो । तर अहिले परस्थिति बेग्लै भइसक्यो । कांग्रेस सरकामा जानै चाहँदैन, माओवादी बारम्बार सरकार छाड्ने धम्की दिन्छन् अनि एमालेले पनि सरकार छाड्ने चेतावनी तेर्स्यायो । यसको प्रमुख कारक चैँ माओवादीको व्यवहार नै हो । हिजो स्ववियूको निर्वाचनलाई मिनि संविधानसभा भन्दै हिँडेका माओवादी नेता तृतीय भएपछि त्यस्ता जाबो २-४ जना पढ्ने क्याम्पस जित्दैमा कोहि ठूलो हुँदैन भन्दै हिँडेका छन् । माओवादीको यस्तै व्यवहारले गरेर सबै दलमा सरकारप्रति नैराश्यता जागेको छ । ‘आफूले पाएका सबै मोती अरूले पाएका सबै धोती’ भन्ने हीन मानसिकतामा अल्झेको छ माओवादी । राम्रो काम गरे आफूले गरेको अनि काम गर्न नसके एमाले,फोरमले गरेर गर्न नसकेको भन्दै पानीमाथिको ओभानो हुँदैछ माओवादी ।
सरकारका माओवादी मन्त्रीका ८ वटा निर्णय फिर्ता भइसकेपछि पनि अझै दम्भ प्रदर्शन गर्न चुकेको छैनन् । प्रधानसेनापति काण्ड लगभग सरकारको ९वौँ निर्णय भइसक्यो जुनमा माओवादी सरकार पछि हट्दैछ । माओवादी सेनापतिलाई निकालेरै छाड्ने, कांग्रेस निकाल्नै नदिने अनि एमाले सहमतिमा अगाडि बढौँ भन्ने । अब फेरि ढुल्मुले भयो अरे एमाले । कसरी भयो ? सहकार्यको राजनीतिलाई प्रश्रय दिनु ढुल्मुले हुनु हो ? एमालेले पनि अब एउटा कठोर निर्णय अगाडि सार्नु हो भने देश कति चिरामा ध्रुवीकरण हुन्छ त्यो सोच्नुपर्ने विषय हो । देशलाई ध्रुवीकरणबाट जोगाएर सहमतिको बाटोमा अगाडि लाने एमालेको यो कदमको प्रशंसा गर्न पछि पर्दिन म । तर, सरकार छाड्ने जुन चेतावनी दिएको छ एमालेले यो सरासर गलत हो मेरो ठम्याईमा । अरूबेला सरकारमा जान मरिहत्ते गर्ने अनि जब देशलाई एउटा स्थायी सरकार चाहिएको छ तब सरकार छाड्ने निकै गैरजिम्मेवार निर्णय हो । एमालेले सरकार छाड्ने होइन सरकारमा बसेर सहज निकासतर्फ देशलाई डोर्याउनु पर्छ । तर बुझ्झकि भनाउँदाले फेरि यसलाई पनि सत्तालोलुपता भनेर व्याख्या गरिदिन्छन् । अहिले एमालेले फ्याट्टै सरकार छाडेर नयाँ ध्रुवीकरण भयो भने देश कहाँ पुग्छ ? अब एमालेले सोच्ने बेला आएको छ । सरकारमा बस्यो भनेर देशलाई सहज निकास त मिल्छ तर जनताले नकरात्मक दृष्टिकोणाबाट हेर्छन् सत्तालोलुपता भन्दै । सरकार छाडेर संगठन सुधारतर्फ लाग्यो भने जनता एकतृत हुन्छन् एमालेपट्टि तर देशले सहज निकास पाउन सक्दैन । अब एमालेले सरकार छाड्यो भने देशले उसलाई स्वार्थी भन्छ सरकार छाडेन भने जनताले उसलाई स्वार्थी भन्छन् । देश बनाउन खोज्दा कहिलेकाहीँ आफैँ यस्तो भुमरीमा फसिँदो रहेछ । तपाईँलाई के लाग्छ अब, यस्तो अवस्थामा एमालेले सरकार छाड्नु उपयुक्त हुन्छ कि सरकारमा बसिराख्नु उपयुक्त हुन्छ ?
Post a Comment

1 Comments:
देश त अहिले पनि अप्ठ्यारो मै छ नी । शान्ति प्रक्रिया त झन डामाडोल भयो क्यारे ।
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!