
“के छ यार ?” कक्षा १२ सकेर २ वर्षअगाडि अमेरिका गएको मेरो साथीलाई च्याटमा सोधेँ ।
“के हुनु नि ! बसिबसाइ छ” जवाफ आयो ।
“अनि काममा गइनस् ?”
“मन्दीले गरेर जागीरै खुस्कियो । अलिअलि बचेको पैसाले जेनतेन चलाउँदैछु । धन्न दाइहरू हुनुहुन्छ र मात्रै नभए त घरको न घाटको हुन्थेँ । तँ त नेपालमै इञ्जिनियर पढ्दै छस्, यता आएपछि त हामीलाई मान्छे गन्दैनस् होला ।“ नमिठो पाराले दु:ख पोख्यो उसले । च्याट शुरू गर्दै उसले यतिथोक भन्यो भनेपछि अप्ठ्यारै परेछ जस्तो लाग्यो ।
“झन् हामी नेपालमा पढेकालाई पो गन्दैनौ होला तिमीहरूले ।“ मनमा लागेको कुरा भनेँ ।
“त्यस्तो होइन रै’छ । म पनि त्यस्तै सोच्थेँ तर सबैभन्दा ठूलो कुरा पढाइ नै रहेछ । आधाभन्दा धेरै छात्रवृत्ति नपाई यहाँ आएर राम्रो युनिभर्सिटीमा पढ्न नसकिने रहेछ । म त कम्युनिटी कलेजमा पढ्छु । जिन्दगी नै ‘हट जब’(घण्टाको हिसाबले पैसा पाइने जागीर) खाएर बित्ने भयो । कम्युनिटी कलेजको पढाइले राम्रो जागीर खान नसकिने रहेछ ।“
“तेरो मात्रै त्यस्तो कि अरूको पनि त्यस्तै हुन्छ ?”
“फाट्टफुट्ट राम्रो गर्ने पनि छन् तर अधिकांश छात्रवृत्ति नपाई आउनेको अवस्था अझ दयनीय छ । १२ पढेर आउने होइन रहेछ । कम्तीमा पनि ब्याचलर्स सिध्याएर आएको भए धेरै गर्ने थिएँ मैले ।“
साथीको यो भनाइप्रति मलाई त विश्वास लाग्यो तर भर्खर १२ उतीर्ण भएका साथीहरूलाई पटक्कै विश्वास लाग्दैन । आमरूपमा सोच्दा विदेश गएका मान्छेलाई दु:ख पर्ला भनेर सोच्नै सकिँदैन । घण्टाको हिसाबले डलर कमाउँछन् भनेपछि हुरूक्कै हुने हाम्रो बानी छ । तर कमाई कति डलर अनि खर्च कति डलर भनेर चाहिँ खासै चासो राख्नेह चलन छैन । “क्या मोज ! घण्टाको हिसाबले डलर !” हामी त यसरी सोच्छौँ ।
अष्ट्रेलिया गएको अर्को साथीलाई सोध्दा त झन् उसले कामै नपाएर एक वर्षदेखि घरबाटै पैसा मगाएर पढ्दै रहेछ । एक सेमेष्टरमा त्यहाँ तिर्ने पैसाले यहाँ राम्रै कलेजमा ब्याचलर्स सकिने रहेछ । नेपालका विश्वविद्यालयलाई विश्वव्यापी मान्यता पनि दिइएको छ अहिले त ।
कक्षा १२ सकेर विदेश जाने लहड नै चलेको छ अचेल । सबैको पहिलो रोजाइ अमेरिका, त्यसपछि अष्ट्रेलिया र अहिले यूकेको पनि भिषा सहज भएकाले त्यतातिर पनि धेरै विद्यार्थी आकर्षित छन् । प्राय: विदेश जान चाहने विद्यार्थीमा आफू जाने देशमा बसिरहेकाहरूसँग कुरा नगरि अनि त्यहाँको वास्तविकता नै नबुझि अँध्यारोमा हामफाल्ने प्रवृत्ति छ । शतप्रतिशत भिषालगायत अन्य चिप्ले नारा झुण्डाएर बसेका नाङ्ले पसलजस्ता कन्सल्टेन्सीका चिप्ला गफमा चिप्लिएर विदेश जाने अधिकांश यो उमेरका विद्यार्थीले भविष्य नै आफ्नो हातबाट चिप्लिएको अनुभव गरिरहेका छन् । कन्सल्टेन्सीका गफले, नेपाल भन्ने देशमा केहि छैन, जे छ बाहिरै छ, अनि कार चढ्ने, डलर कमाउने प्रलोभनले आफू त राजै पो हुन्छु कि जस्तो भान हुन्छ । यहि गलत भानले भुन्भुन्याएपछि साँच्चै विश्व मानचित्रमा सानो रूपमा रहेको नेपाल त झन् देखिनै छाड्छ । तर वास्तिविक संसार र काल्पनिक संसारमा आकाश-पातालको फरक हुन्छ ।
साँच्चै यसो सोचौँ त, हामी विदेश गयौँ रे १२ सकाएर । एयरपोर्टमै एउटा मान्छे आएर तिमीलाई जे काम आउँछ म त्यहि दिन्छु भन्यो भने के काम गर्न आउँछ भन्ने ? जम्मा १२ कक्षा पढेर गाको छ, अनुभव केहि कुरामा छैन अनि डिग्री पनि केहिको छैन । मलाई भाँडा माझ्न, आईसक्रिम बेच्न, गाडिमा तेल हाल्न आउँछ भन्ने त्यस्तो बेला ? कसैले जागीर दिन्छु भन्दा त लिन नसक्ने क्षमता बोकेर गएका मान्छेले आफैँ जागीर खोजेर अनि पढेर के सोचेजस्तो भविष्य निर्माण गर्न सकिएला ? विदेशको हावाले रन्थनिएर कन्सल्टेन्सी चाहर्दै गरेका साथीहरूले एकपटक वास्तविक धरातलमा उभिएर सोच्नुपर्छ । गरिहालिन्छ नि, खाईहालिन्छ नि भनेर सोच्नेले के गर्ने र के खाने भनेर पनि सोच्नुपर्छ । धेरै बाहिर जान लालायित साथीहरूमा गरिहालिन्छ नि, बाँचिहालिन्छ नि भन्ने सोचाइले गर्दा आफ्नो क्षमताभन्दा निकै तलको काम गर्न बाध्य हुन्छन् । जीवन त पढ्दै नपढेका, भारी बोक्ने, मजदुरी गर्ने दाजुभाइ दिदीबहिनीले पनि चलाउनुभएको छ, तर जीवनको १५ वर्ष पढाइमा बिताएर जसोतसो बाँचिहालिन्छ नि भन्ने सोचाइ राख्नुन आफैँलाई कम आँक्नु हो । आफ्नो क्षमता बुझ्न नसक्नु हो ।
विद्यार्थीका लागि यो बेला भनेकै एकदम चञ्चल र अस्वभाविक साहस आउने बेला हो । जन्मेदेखि एउटै परिवेशमा बस्दै आएकाले धेरैलाई यो समयपछि घरबाट टाढा बस्ने सोचको विकास हुन्छ । उहि बुवाको गाली, आमाको कचकच अनि अरू सदस्यसँगको उहि सम्बन्ध भनेजस्तो लाग्छ । एक किसिमले परिवर्तनको चाहना राख्नेक बेला पनि हो यो विद्यार्थीको । तर परिवर्तनको चाहनालाई सकरात्मकता र सिर्जनशीलतातर्फ ढाल्नुपर्छ । परिवर्तनको चाहनामा आफ्नो भविष्यलाई नै खुकुरीको धारमा राख्नु को पीडा समय गुज्रिसकेपछि मात्र थाहा हुन्छ । सानैमा व्यापारमा लागेर पुग्दो पैसा कमाएकाहरू पनि छिप्पीएको उमेरमा छोराछोरीसरहकासँग पढ्न गएको दृश्य गाउँसमाजमा प्रशस्तै देखिन्छन् । अहिले ब्याचलर्समा राम्रो विषय पढेर राम्रो डिग्री हासिल गर्न सकियो भने पछि आफ्नो जीवनलाई फर्केर हेर्दा सन्तुष्टि मिल्छ तर क्षणिक प्रलोभनमा आएर जेनतेन जीवन गुजारा गरियो भने आफ्नो विगत सम्झेर पछुताउनुपर्छ । २-४ वर्षको हतारले गरेर जिन्दगी नै अधुरो र अपुरो हुन्छ ।
नेपालमा शिक्षण संस्थाको कमी छैन र गुणस्तरमा खोट लगाउने ठाउँ पनि कमै छ । कहिलेकाहिँ हुने बन्द, हड्तालले शैक्षिक क्यालेण्डरमा धेरथोर असर त पार्छ नै तर बाहिर सुनिएजस्तो व्यापक असर भने हुँदैन । नियमित दिनहरूमा थोरै समय निकालेर शैक्षिक संस्थाहरूले आफ्नो पढाउने दायित्व निर्वाह गरि नै रहेका छन् । देशमा पाँचवटा विश्वविद्यालय त अहिले नै छन् र अझै कति निर्माणको प्रक्रियामा छन् । त्रिभुवन, काठमाण्डौ, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयलाई विश्वव्यापी मान्यता छ र यी विश्वविद्यालयको डिग्रीलाई काहिँ पनि कम आँकिदैन । डाक्टरी, इञ्जिनियरीङ, बीबीए, नर्सिङजस्ता विश्वमा नै अधिकतम माग भएका विषयहरूको पढाइ नेपालमा नै सर्वसुलभ र गुणस्तरीय छ । साथै अन्य धेरै विषयहरूको अध्यापन नेपालका विभिन्न क्याम्पसमा हुँदै आएका छन् । रोजीरोजी अनि खोजिखोजि पढ्न सकिने विषयहरू छन् नेपालमा । शैक्षिक रूपले नेपाल कुनै पनि कोणबाट अरू देशभन्दा कम छैन ।
‘नजिकको तीर्थ हेला’ भनेजस्तै आफ्नै आँगनमा रहेका गुणस्तरीय शिक्षण संस्थालाई हामीले चिन्न सक्नुपर्छ । स्रोत र साधनको कमी छ भन्ने जुन कुरा बाहिर आउँछ त्यो क्षणिक मात्र सत्य छ । ती नेपालकै विद्यार्थी हुन् जसले आफैँ प्लेन(डाँफे) केहि समयअगाडि बनाएका थिए । न्युटन र आइन्स्टाइनको सिद्धान्तलाई चुनौति दिन नेपालकै विद्यार्थी अहिले नासा पुगेका छन् । फेवातालको फोहोर सफा गर्ने रोबोट बनाउने विद्यार्थी नेपालमा नै पढेका हुन् । आकासमा उडेको हेलिकप्टर देखेर आफैँ उड्न सक्ने हेलिकप्टर बनाउने विद्यार्थी पनि नेपालकै हुन् । अहिले नासामा वैज्ञानिक नेपाली पनि छन् । भनेपछि नेपालमा साँच्चै केहि छैन कि हामीले स्रोत र साधनको उपयोग गर्न नजानेका हौँ ? बेलै नभई नेपालप्रति गुनासो गरेर आफ्नो ऊर्जाशील समय विदेशीका लागि लगाउने सोच राखेका विद्यार्थीहरूले एकपटक गहिरिएर सोच्ने बेला आएको छ ।
विदेशको कामकाजी विद्यार्थी जीवन एकदमै तनावपुर्ण हुन्छ । दिनको ७-८ घण्टा काम नगरि जीवीकोपार्जन गर्न सकिँदैन र नियमित पढाइमा पनि सरिक हुनैपर्छ आफ्नो स्टेटस जोगाउनका लागि । अझ विभिन्न विषयगत खोजमुलक सामाग्रीहरू पनि लगातार बुझाइरहनुपर्छ । दिनमा ४-५ घण्टा सुत्नव पाईन्छ र उठेको बेला आरामसँग सास फेर्ने फुर्सद पनि हुँदैन । अझ अहिलेको आर्थिक मन्दीका कारण दैनिक हजारौँ नागरिकले आफ्नो जागीरबाट हात धुनु परिरहेको बेला राम्रो कामको अपेक्षा गर्नु पनि बेकार छ । र मोटो रकम बुझाएर विदेश पलायन भएपछि घरबाटै पैसा मागेर पढ्छु भनेर सोच्नु मध्यमवर्गीय नेपालीका लागि पनि दिवास्वप्न हुनजान्छ ।
यस्तो अवस्थामा विदेश अध्ययनका लागि जान चाहने १२ कक्षा उतीर्ण विद्यार्थीहरूले हतारमा निर्णय नगरि सबै कोणबाट कुरा बुझेर अनि आफ्नो क्षमता र आत्मसम्मानमा आँच नआउने किसिमबाट सहि बाटो चयन गर्न सक्नुपर्छ । कन्सल्टेन्सीको प्रलोभनमा पर्नुभन्दा विदेशमा रहेका आफन्त अथवा साथीभाइसँग त्यहाँको वास्तविकता बुझेर अनि आफ्नो सामर्थ्यलाई पनि ख्याल गरेर निर्णय गर्नुपर्छ । नेपालमै पनि उच्च गुणस्तरका क्याम्पसहरू छन् । ब्याचलर्सका लागि अरू चार वर्ष पर्खेर स-सम्मान विदेश जानतिर पो विचार गर्ने हो कि ?
Post a Comment

16 Comments:
simply the best....yo article bahira jana thaleko student padhyo bhane ta....visa pani cancel garaucha hola aafno....greattt job!!!
yadi koi bidesh gayara Nepal farkadaina bhane +2 pachhi janu ra bachelor pachhi janu euta hola jasto chha ..jasari ni brain drain nai ho..koi ramro scholarship ma ramro university ma +2 pachi janchhan bhane ramrai ta ho ni ...tara tyo sikchha ko Nepal mai ayera uapayog garnu paryo ni..so its not bad to go abroad for further study rather s/he should transform the education into the economy in his/her own country..
Good job chhoro
How did u write this ?
dammi article.. khaas ma tyastai hunchha yaha.. haha
अहिले नेपालको शैक्षिक पदतिलाई हेला गरेर तपाइकै भाषामा भन्ने हो भने 'नजिको तीर्थ हेला' ठानेर विदेशिनेहरुको लहड चलेको छ तर साची त्यस्तो सजिलो कहा छ र ?
अनि तपाईले एउटा राम्रो प्रसंग उठाउनु भएको रहेछ - हो जस्ट १२ पास गरेर विथआउट सिप र क्षमता हामीले दू:ख पाउने देखि सिवाय अरु के नै हुन सक्छ र ! के गर्न सक्छौ भन्दा साची के भन्ने ?
किन राम्रो स्कालरशिप पाउनु प्-यो |
अर्को कुरा " ब्याचलर्सका लागि अरू चार वर्ष पर्खेर स-सम्मान विदेश जानतिर पो विचार गर्ने हो कि ?" भनेर किन्न फोर्स गर्नु भएको नि ?
हतार हतार कागको पछिपछि दगुर्ने बानी भएका हामी सबैले पढ्नुपर्ने अति उपयोगी लेख, निकै मन पर्यो । गाउलेको प्रतिक्रयामा सहमत छु, मुख्य समस्या प्रतिभा पलायन को हो । अबको पीढीले एकदम मनन गर्नुपर्ने कुरा हो यो, आदर्श र व्यवहार चाहि एकै नहुने हामी सबैको बानी पर्या छ ।
निक्कै घतलाग्दो लेख लेख्नुभयो साथीले।
A reality touching article......
यो लेखले मलाइ नि छोयो... स्नातक सकेरै पनि उति सजिलो छैन
अनि फोटो नि ?
हुन त "अमेरिका युरोप भाँडा माझ्न जाने र अरब भेडा चराउन जाने" भन्ने चलन चल्तीको उखान सुन्दा सामान्य लाग्ला तर यहाँ त्यस्तो अचाक्ली चाहिं छैन
राम्रो लेख । अबका पिँढीहरुले यस्तै सोच्न सकुन् ।
Yo Gufgaf padhera mero manastithima pariwartan aayo. ma pani bidesh ma paisa nai fal6 banera sucne garthe jan bidhesma padna janulai vagya samjnthe. lekh nekai jankari mulak rahe6. Thaanx
I think it depends on your thinking as where you stand today. Going abroad could carry mix experiences. One going after 12 may be lucky to have a scholarship but could end up in nowhere due to his own behavior. And on the other hand who came without scholarship , could be in good position as far as the career is concerned. So the point here is how to exercise your mind in your very own situation.
I do not agree with the last statement of the writer.
And yes, its always wise to obtain scholarships, either bachelor's or Masters doesnot really matter
एकदम राम्रो लेख । हो तपाईंले भन्नु भये जस्तै विदेश पढ्न जादा सबै कुरा राम्रो गरी बुझेर जानु राम्रो हुन्छ ।
सोचमुलक र सन्देशमुलक लेख प्रबेश जी तर मिलन जे ले भने झै जति बाहिर सुनेको कुरा हरु हुन्छ त्यो सबै सत्य पनि हुदैन हुन सक्छ कसैको पिडाँ यस्तो पनि होला तर अध्ययन मा लागेको बिधार्थिहरुले त अवस्य पढनु नै पर्छ । आफ्नो हातमा सिप भएपछि कसैको मुख ताकिरहन् पर्दैन ।
brilliant article posting...good job
sidhai
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!