
राजा ! तिम्रो सुन्दर मुहार अहिले पनि
मेरो आँखामा नाचिरहेको छ
तिम्रो मधुर वाणी अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ
तिम्रो मुस्कानमा देशको मानचित्र बोलेको हुन्थ्यो
तिम्रो हेराइमा समानताको भाव झल्केको हुन्थ्यो
तिम्रै प्रतापले
हरेक वर्ष नेपालको माटो छुन
समुद्र पारिको मान्छे पनि पल्केको हुन्थ्यो ।
तिमीलाई गोली लागेको खबर सु्न्दा
मैले आफ्नो छाती छामेँ
म आफैँलाई भतभती पोलेको जस्तो लाग्यो
तिमीले ऐय्या ऐय्या भन्दा
म आफैँ छट्पटाउँदै बोलेको जस्तो लाग्यो
जमीनमा तिमी ढलेको सुन्दा
म आफैँ ढलेको जस्तो लाग्यो
आर्यघाटमा तिमी बल्दा
म आफैँ बलेको जस्तो लाग्यो
राजा ! तिमी मरेर बाँचेका छौ
मेची-महाकालीभरि
अजम्वरी फूल भएर हाँसेका छौ ।
हामी शोकमा बस्यौँ धेरै दिन
शोकको लहरमा देश बग्यो
बोटमा हाँसेका फूलका थुँगा
गुच्छा गुच्छा भएर तिम्रो छेऊमा उभिए
धुपको धुवाँले आकाश ढाक्यो
नरूने नेपाली थिएन त्यतिबेला
राजा ! तिमी अर्को जन्ममा पनि नेपालमै आऊ
राजा ! तिमी अर्को जुनीमा पनि नरायणहिटीमै आऊ !!

13 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!