Monday, June 08, 2009

'ऊ' गर्ने कि 'ऊ' गर्ने

(कान्तिपुर पब्लिकेशनको साप्ताहिक प्रकाशन 'नेपाल'को पछिल्लो अंकमा रहेको भरत भुर्तेलज्यूको यो लेख मलाई साह्रै मनपर्‍यो । हुन त तपाईँहरूले पढिसक्नुभयो होला त्यहिपनि पढ्न छुटाउनुभएकाहरूलाई सजिलो होस् भनेर यो लेख राखेको छु । प्रकाशन का लागि अनुमति माग्न नसकेकोमा भरत भुर्तेलज्यूसँग माफी चाहन्छु ।)
************************************************************

"तपाईंले ऊ गर्ने भनेको हो ?" सुशीलजीले भन्नुभो, "तपाईं ऊ गर्ने हो भने म पनि ऊ गर्छु ।"
"के गर्छस् ?" गिरजिाप्रसादजीले सोध्नुभो, "भन् के गर्छस् ?"
"राजीनामा गर्छु ।" सुशीलजीले आफ्नो रोडम्याप प्रस्ट पार्नुभो, "तपाईँ सेरेमोनियल भएर हस्तक्षेप गर्न पाउनुहुन्न ।"
"कसले भन्यो म सेरेमोनियल ?" गिरजिाप्रसादले सोध्नुभो, "म सेरेमोनियल हुनै सक्तिनँ ।"
"म कार्यवाहक भएपछि ।" सुशीलजीले भन्नुभो, "तपाईँ सेरेमोनियल हुनुभएन ?" थप्नुभो, "भइहाल्नुभो नि !"
"मैले गर्नुपर्ने गर्न पाउनुपर्छ ।" गिरजिाप्रसादले सोध्नुभो, "नत्र म के गर्ने ?"

"तपाईँले गर्ने हो भने नागरकि सर्वोच्चता हुँदैन ।" सुशीलजीले भन्नुभो, "सैनिक सर्वोच्चता हुन्छ ।"
"कसले भनेको ?" गिरजिाप्रसाद दिग्दार हुनुभो, "यस् ता कुरा कसले सिकायो ?"
"अस्ति राजीनामा दिनेले ।" सुशीलजीले भन्नुभो, "सेरेमोनियलले हस्तक्षेप गरेपछि कार्यकारीले राजीनामा गर्नुपर्छ ।"
"त्यसो भए गर् ।" गिरजिाप्रसादले भन्नुभो, "तँ आफ्नो काम गर्, म आफ्नो काम गर्छु । "
"के काम गर्नुहुन्छ ?" सुशीलजीले सोध्नुभो, "म कार्यवाहक भइसकेपछि तपाईंको के काम बाँकी छ ?"
"सुजातालाई कि मन्त्री बनाउने कि पार्टीको महामन्त्री । " गिरजिाप्रसादले भन्नुभो, "अरू काम म गर्दिनँ । "
"किन बनाउनुपर्‍यो सुजातालाई ?" सुशीलजी सोध्नुभो, "पार्टीमा ऊभन्दा योग्य अरू छैनन् ।"
"छैनन् ।" गिरजिाप्रसादले सोध्नुभो, "भन् त को छन् ?"
"धेरै छन् ।" सुशीलजीले भन्नुभो, "ऊ को हो र ?"
"मेरी छोरी हो ।" गिरजिाप्रसादले भन्नुभो, "ईश्वरको वरदान, एक मात्र सन्तान ।"
"अरूचाहिँ तपाईंका होइनन् ?" सुशीलजीले सोध्नुभो, "शेखर होइन ?"
"ऊ कोशु दाजुको छोरा हो ।" गिरजिाप्रसादले भन्नुभो, "मेरो होइन ।"
"शशांक होइन ?" सुशीलजीले भन्नुभो, "ऊ पनि त तपाईंकै हो ।"
"ऊ सान्दाजुको छोरा हो ।" गिरजिाप्रसादले भन्नुभो, "मेरी आफ्नैचाहिँ सुजाता मात्रै हो ।"
सुशीलजी केहीबेर मौन रहनुभयो ।
"उसलाई कस्तो मन पराउँछन् ?" गिरजिाप्रसादले भन्नुभो, "तँलाई थाहै छैन ।"
"कसले मन परायो ?" सुशीलजीले भन्नुभो, "त्यसलाई मन पराउने को होलान् ?"
"माधवजी ।" गिरजिाप्रसादले भन्नुभो, "उनले सुजातालाई नै पठाइदिनोस् भनेका छन् ।"
"मन्त्री बनाउने पार्टीले हो," सुशीलजीले भन्नुभो, "माधवले होइन ।"
"शेरबहादुरले पनि सुजाता भनेका छन् । " गिरजिाप्रसादले भन्नुभो, "उनले पनि मन पराउँछन् ।"
"आरजुलाई पनि बनाउनु भनेनन् ?" सुशीलजीले व्यंग्य गर्नुभो, "सुजाता गएपछि आरजुलाई पठाउन सजिलो हुने होला ।"
"मन्त्री बनाउनु भनेका छैनन् ।" गिरजिाप्रसादले भन्नुभो, "राज्यमन्त्री बनाइदिए हुन्छ भनेका छन् ।"
"यसो गर्न मिल्दैन ।" सुशीलजीले भन्नुभो, "पार्टी बदनाम हुन्छ ।"
"किन मिल्दैन ?" गिरजिाप्रसादले भन्नुभो, "सबैले आफ्ना सन्तानलाई अघि बढाएका छन् ।"
"कसले बढायो ?" सुशीलजीले भन्नुभो, "पार्टीलाई पो अगाडि बढाउनुपर्छ ।"
"गणेशमानजीले प्रकाशमानलाई ।" गिरजिाप्रसादले भन्नुभो, "निधिजीले विमलेन्द्रलाई अघि बढाएको होइन ?"
"उनीहरू जेल गए ।" सुशीलजीले सोध्नुभो, "सुजाता कहाँ गई ?"
"ऊ जर्मनी गई ।" गिरजिाप्रसादले भन्नुभो, "उतै बसी ।"
"किन बसी ?" सुशीलजीले सोध्नुभो, "त्यसलाई कसले जर्मनी जानु भनेको थियो ?"
"मैले ।" गिरजिाप्रसादले भन्नुभो, "उसलाई त्यहीँ बसेर काम गर् भनेको थिएँ ।"
"के काम गरी !" सुशीलजीले भन्नुभो, "कामबारे बताउनुपर्दैन ।"
"विदेशीसँग सम्बन्ध बढाई ।" गिरजिाप्रसादले भन्नुभो, "नेपालमा प्रजातन्त्र चाहिन्छ भनेर कन्भिन्स गरी ।"
"कसलाई गरी ?" सुशीलजीले भन्नुभो, "मलाईचाहिँ थाहा छैन ।"
"नोवर्ट जोस्टलाई ।" गिरजिाप्रसादले भन्नुभो, "उसलाई कन्भिन्स गर्न बिहे नै गरी ।"
"बिहे गरेपछि छोराछोरी पनि पाई होली । " सुशीलजीले दोस्रोपटक व्यंग्य गर्नुभो, "होइन त ?"
"हो ।" गिरजिाप्रसादले भन्नुभो, "उसले छोराछोरी पाइदिएपछि बल्ल विदेशी कन्भिन्स भयो । थप्नुभो, "त्यसपछि नेपालमा डेमोक्रेसी आयो, डेमोक्रेसी आउनासाथ ऊ पनि फर्केर आई ।"
"हामीले चाहिँ केही गरेनौँ ?" सुशीलजीले चित्त दुखाउनुभो, "हामीले जेलनेल, निर्वासन खपेको केही भएन ।"
"भयो ।" गिरजिाप्रसादले भन्नुभो, "त्यही भएर कार्यवाहक पाइस् ।"
"सबै कुरा ठीक छ ।" सुशीलजीले भन्नुभो, "सुजातालाई मन्त्री बनाउनु ठीक छैन ।"
"किन ठीक छैन ?" गिरजिाप्रसाद झर्किनुभो, "त्यसले मन्त्री हुन किन नहुने ?"
"किनभने, सबै उसको विरोधमा छन् ।" सुशीलजीले भन्नुभो, "कसैको समर्थन छैन ।"
"को छ विरोधमा ?" गिरजिाप्रसादले सोध्नुभो, "उसको विरोध कसले गर्‍यो ?"
"शेखरले ।" सुशीलजीले बताउनुभो, "शशांकले ।" उनीहरू भन्छन्, "चुनाव जित्ने हामी, मन्त्री खाने सुजाता ।"
"चुनाव हार्ने प्रधानमन्त्री भए । " गिरजिाप्रसादले आर्तनाद गर्नुभो, "चुनाव हारेकी सुजाता किन नहुने ?"
"सुशीलजी केही बोल्नुभएन ।" गिरजिाप्रसाद पनि मौन हुनुहुन्थ्यो । छोटो अन्तरालपछि सुशीलजीले सोध्नुभो, "ल भन्नोस्, ऊ गर्ने कि ऊ गर्ने ?" गिरजिाप्रसादले भन्नुभो, "सुजातासँग सोध्ने, उसले जे भन्छे, त्यही गर्ने ।"


10 Comments:

  1. रमाईलो कुरो...मैले चाहिं पढेको थिईन.. धन्यबाद है प्रवेश जी
    ReplyDelete
  2. मैले पनि पढेको रहेनछु । साह्रै रोचक रहेछ । घोचकको त के कुरा भालाले नै घोचे पनि तन्तुमा असर नपर्ने जन्तुको कुरा छ ।
    ReplyDelete
  3. पढ्न भ्याइएको थिएन। धन्यबाद प्रवेश भाइ!
    ReplyDelete
  4. ए उ" त्यसरी कन्भिन्स गर्न पो विदेशी संग बिहे गरेको रहिछन, प्रजातन्त्र प्राप्तिको लागि यो भन्दा ठुलो योगदान केही छैन । बिचारा सुशीलदा' पनि स्त्री भैदया भे "उ" गर्थे होलान जमानामा - योगदानको कुरो न पर्यो । रोचक संवाद !
    ReplyDelete
  5. उ ले उ भनेर उ भा'को भएर, मैले नि उसले उ गर्नु पर्ने भनेर लेखेँ है !
    ReplyDelete
  6. म्यागेजिनकारितामा हिमाल खबरपत्रिकामा 'वसन्त ऋतु'पछि पछिल्लो समयमा यी दाइका 'चरित चर्चा' पनि जम्दैछ । शिष्‍ट र शालीन व्यङ्ग्यको चाबुक उनको वैशिष्‍ट्य बनेको छ । यो व्यङ्ग्य पनि त्यसैको एउट कडी हो । व्यङ्ग्यको विषय राजनीति छ, रहिआएको छ, यो हाम्रो देसको राजनीतिबारे त के कुरा गर्नु ! गाईजात्राको बहार छ ।
    ReplyDelete
  7. प्रबेष जी मैले त पढेको रहेछु 'उ' को कथा । फेरि एकपटक सम्झाइदिनुभएकोमा धन्यबाद ।
    ReplyDelete
  8. प्रवेष जी , मैले पढेको रहेनछु तर छुटाएको भए पछुतो हुने रहेछ ,रमाइलो लाग्यो ।धन्यवाद
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम