Thursday, June 11, 2009

बढ्दै राजनैतिक सचेतना


“माओवादी सरकारबाट ढलेको हो ?”
काठमाण्डौ विश्वविद्यालयको ओरालो झर्दै गर्दा लामो कपाल भएको अनि राजनीतिका बारेमा सुन्नै नचाहने साथी अमृतले सोध्यो । मैले वास्तविकता बताइदिएँ अनि कुरो बुझेजस्तो गर्यो ।

केहि समुअगाडि स्ववियु चुनावको बेला उसले त्यस्तै प्रश्न सोधेको थियो । “क्याम्पसको चुनाव माओवादीले जितेको हो ?” अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)ले जितेका क्याम्पस संख्या बताइदिएपछि फेरि अर्को प्रश्न सोध्यो, “यो क्रान्तिकारी भनेको एमाले हो ?” ३ विद्यार्थी संगठनको बारेका धेरथोर बुझाइदिएपछि उसले थप प्रश्न गरेन ।

यो मेरा साथीको रूचि सङ्गीत र वैज्ञानिक आविस्कार हो । को प्रधानमन्त्री हुन्छ, को राष्ट्रपति हुन्छ खासै चासो राख्दैन । आफ्नै दुनियाँमा मस्त छ अनि आफ्नै दुनियाँमा हराएको हुन्छ । अझ मलाई पनि राजनीतिको बारेमा चासो राख्दा बरू पढ् न के समय खेर फाल्छस् भनेर सम्झाउँथ्यो । तर एक्कासि राजनीतिका ट्वाक्क परेका प्रश्न सोध्दा मलाई अचम्म लाग्यो ।
आफ्नो फेसबुक प्रोफाइलमा जहिल्यै पनि कि ब्याण्डको कि मोबाइलको कुरा राख्ने।
उसको अस्तिको फेसबुक स्टेटसले पनि मलाई आश्चर्यचकित बनायो । गणतन्त्र दिवसको दिन उसले ‘गणतन्त्रको एक वर्षमा के पायौँ हामीले ? यी नेता सधैँ कुर्सीकै लागि मात्रै कुदिरन्छन् ! के हामीले खोजेको गणतन्त्र यहि हो त ?” भनेर लेखेको पाएँ । केटोलाई चासो बढ्न थालेछ जस्तो लाग्यो ।

मेरो साथी अमृत एउटा प्रतिनिधि पात्र हो । उसका जस्तै जिज्ञासाहरू दिनदिनै सुनिन्छ राजनीतिका लागि नयाँ अनुहारहरूबाट । काठमाण्डौ विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू धेरैजसो राजनीतिमा रूचि राख्दैन थिए केहि अघिसम्म । तर पछिल्लो स्ववियु निर्वाचन, पत्रिकामा ठूलाठूला अक्षरमा जहिल्यै नेताका कुकार्य मात्रै छापिन थालेपछि अनि विश्वविद्यालयमा पनि विभिन्न संगठनको चलखेल बढ्दै गएपछि अहिले राजनीतिमा चासो राख्नेछ साथीहरूको संख्या दिनानुदिन बढ्दै छ । बाहिर चलेको हल्लाको भरमा राजनीतिक पार्टीको उचाइ नाप्दै हुन्छन् साथीहरू अनि नेताको कार्यशैलीका आधारमा देश कता मोडिन्छ भनेर पनि आँकलन गर्दै हुन्छन् । पत्रिकामा निस्किएका लेख नपढे पनि समाचारको शीर्षक पक्कै पढ्छन् ।

देशका ड्राइभर नेताहरूले देशलाई अगाडि हाँक्नुको सट्टा पछाडि सार्न थालेपछि देशको दिशा कतातिर हुने हो भनेर धेरैमा राजनीतिमा चासो बढ्दै छ । अझ हप्तैपिच्छे हुने गरेका बन्दले गरेर पनि धेरैले बुझ्ने मौका पाएका छन् । एकदिन बन्द भयो भने ‘आहा !! पढाइ नहुने भयो’ भनेर खुसी हुने साथीहरू अचेल कसले बन्द गरेछ ? के माग रहेछ ? कति दिन बन्द हुनेभयो ? लगायतका प्रश्नहरू सोध्ने गर्छन् अनि आफ्नो धारणा पनि बुझेसम्म पेश गर्छन् । केहि अगाडिसम्म पढाइका मात्रै कुरा गर्नेहरू आफूले पढेको ठाउँमा व्याप्त समस्याहरूलाई पनि देशको समस्यासँग दाँज्दै राजनैतिक समाधानका बारेमा सोच्न थालेका छन् । देशमा व्याप्त अवसरवादको राजनीतिलाई आफ्नो ठाउँमा स्थापित नगराई उपलब्धिमुलक राजनीतिका लागि आवाजहरू एकजुट भएर उठ्न थालेका छन् । केहि अघिसम्म राजनीति सुन्न नचाहनेहरू अहिले सकरात्मक र व्युत्पादक राजनीतिको पक्षमा उभिएका छन् ।

ठूलाबडाले गर्ने गरेको फोहोरी राजनीतिका कारण अव देश हामीले बनाउनुपर्छ भनेर युवामा भावना बढ्दै गएको छ । पढेपछि आफ्ना लागि भइहालो नि भनेर सोच्नेहरूको संख्या कम हुँदै गएको छ । पढेर देशमा कस्तो काम पाईन्छ भनेर देश बुझ्नतिर पनि लाग्दै छन् साथीहरू । प्राय: पढाइ सकेर विदेश भासिने सोच राखेकाहरू देशमै खुल्न लागेका ठूला हाइड्रोपावर र अन्य संरचनाका कारण उत्साहित भएर देशमै बस्ने सोच बनाउँदैछन् । सबैको संचालनसाँचो राजनीतिसँग हुन्छ भनेर पनि साथीहरू राजनीतितर्फ आकर्षित बन्दै गएका छन् । तर मुख्य कारण चाहिँ अवसरवादी राजनीतिको सस्तो प्रचार र मिडियाको उपस्थीतिको कारण भएको हो । जे होस् सबै कुराको सकरात्मक र नकरात्मक पाटो हुन्छ भनेझैँ यो गलत राजनीतिले युवाहरूमा देशप्रति सोच्न सिकाएको छ र राजनीतिका कलङ्कहरूलाई केलाउँदै यसका माध्यमबाट गर्न सकिने उपयोगी र विकासका कामका लागि सोच्न थालेका छन् अहिलेका युवाले । आशा गरौँ शिक्षित र मर्यादित युवाको देश चलाउने पालो आएपछि साँच्चै राजनीतिले देशमा नयाँ परिभाषा पाउनेछ ।

10 Comments:

सिकारु on June 11, 2009 6:57 PM said...

राजनिति प्रति सकारात्मक सोच लिएर अगाडि बढनु कुनै नराम्रो कुरा होइन जस्तो लाग्छ मलाई पनि । बर्षौ देखि प्रौढ राजनिति र असल चिन्तन नहुनुको कारण देश नराम्रो संग अन्धकारको खाड्लतिर जाकिदैछ ।

त्सैले अबको दायित्व युवा पुस्तामा जानुपर्छ र युवापुस्ताले पनि अगाडि सरेर काँध थाप्नु पर्छ ।

Milan on June 11, 2009 11:02 PM said...

देशको राम्रो खबर सुनाउनु भो ... राजनीतिक सचेतना बढे सरकार र नेतालाई हरदम खबरदारी रही रहन्छ नि |

कृष्णपक्ष उज्यालोको खोजिमा on June 12, 2009 12:15 AM said...

मानिसहरु भन्छन यो फोहोरी खेल हो तर यो खेल प्रति चासो हरेक सचेत नागरिकले राख्नु पर्छ, ताकी खेलाडीहरुले जथाभावी खेल्न नपाउन, राजनीतिक सचेतना बढ्नु शुभ संकेत हो, यो पहिले देखि हुनु पर्थ्यो !

Basanta on June 12, 2009 6:41 AM said...

राम्रो खबर सुन्न पाईयो, धन्यबाद प्रवेश भाइ! अहिले हाम्रो देशको राजनीतिलाई चाहिएको भनेकै कुनै पनि दल र नेताका हनुमान नबनेका, स्वतन्त्र विचार राख्न सक्ने मान्छेहरु, विशेष गरी युवाहरुको सशक्त र सकारात्मक हस्तक्षेप हो। राजनीतिलाई सरापेर वा 'मलाई वाल मतलब छैन!" भनेर केहि हुने वाला छैन।
यो सोच बढ्दै जानु देशको लागि राम्रो हो।

Dilip Acharya on June 12, 2009 8:17 AM said...

देश भरीका 'लल्लु-पञ्जु'र कतै नबिकेकाहरुले राजनिती गर्ने देशमा सचेत र शिक्षीत वर्गको यसतर्फ सचेतना बढ्नु मलाई पनि राम्रो लाग्यो ।

Sujan Sharma on June 12, 2009 9:05 AM said...

अत्यन्त राम्रो !राजनीति आफैमा खराब कुरा होइन यसमा केही गलत परिपाटीहरू भने अवश्य हुन सक्छन्, त्यसलाई युवापुस्ता आफैले सुधार्नु आवश्यक छ।
सचेत नागरिकले आफ्नो वरपर के हुदैछ, समाज कतातिर जादैछ, यसलाई कता लानु पर्ने हो त्यो कुरा वुझ्ने चासो राख्नु जरुरी छ।

N K M on June 12, 2009 10:30 PM said...

The tradition of "last benchers" getting into politics will be demolished then!!!

प्रबिण थापा on June 14, 2009 1:30 AM said...

सुन्दर लेखको लागि प्रबेश जि लाई धन्यवाद!

युरोपियन होस वा अमेरिकन राजनीतिमा युबाको बर्चस्व कायम हुनथालेको बेला नेपाली भुमिमा पनि हिजो राजनीतिका बारेमा केही सुन्न पनि नचाहने र के बुझ्नै नखोज्ने युबा बर्गले देशको राजनीतिक परिस्थितीको बारेमा देखाउन थालेका चासो अत्यन्तै सर्हानिय छ। ५० औ बर्ष राजनीतिमा होमिएका बुढा नेताहरु जो समयले मारेको अग्रगामी छलाङ्ग, देशको बर्तमान परिस्थिती र आवश्यकतासँग समायोजन गर्न नसकी उही ५० बर्ष अगाडिका कुराहरु जनतासामु थोपरेर परिवर्तनको हुइयाँ पिटिरहेको बेला युबा जगतमा बढेको राजनीतिक सचेतनाले भोलिको भबिश्य सुन्दर हुन्छ कि भन्ने आशा तपाईंको लेख पढेपछी जाग्यो। देश र जनताले परिवर्तन खोजेका छन र त्यो आवश्यकता चाँडो भन्दा चाँडो युबाबर्गले त्यो बुढो राजनीतिक संस्कारलाई बिस्थापित गरेर अब पुरा गर्न सक्नु पर्छ।

दीपक जडित on June 14, 2009 2:12 AM said...

पक्का सकारात्मक कुरा हो युवाहरुमा देशको राजनीति प्रति चासो बढ्नु । माथी सबैले भन्नुभएकै पनि छ ।

तपाईंको जाँचकाल राम्ररी बितोस् र परिणाम राम्रो आओस् ।

Jotare Dhaiba on June 15, 2009 7:10 AM said...

युवाहरूमा यसरी राजनीतिप्रति चासो र चिन्ता बढ्नुमा राजनीतिक उथलपुथल र देशको भद्रगोल स्थितले पनि काम गरेको छ । मिडियाको त आफ्नै ठाउँमा नियमित जागरण छँदैछ । सचेत हुनलाई त पढ्नुपर्‍यो, आफैले चासो दिएर अघि सर्नुपर्‍यो । युवाहरू पढ्देनन् भन्ने एकातिरको आरोप छ । तर नपढ्ने, गहिरिएर नहेर्नेलाई पनि खुला राजनीतिक खेलले 'पिन्च' गरेको छ । नकारात्मक कुराको पनि यो सकारात्मक पाटो हो ।

भाइलाई यो उत्साहजनक विषयप्रवेशको लागि धन्यवाद ।
पुनश्‍च: परीक्षाको व्यवस्थित पढाइ र सफल नतीजाको लागि अग्रीम शुभ कामना !

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम