
“माओवादी सरकारबाट ढलेको हो ?”
काठमाण्डौ विश्वविद्यालयको ओरालो झर्दै गर्दा लामो कपाल भएको अनि राजनीतिका बारेमा सुन्नै नचाहने साथी अमृतले सोध्यो । मैले वास्तविकता बताइदिएँ अनि कुरो बुझेजस्तो गर्यो ।
केहि समुअगाडि स्ववियु चुनावको बेला उसले त्यस्तै प्रश्न सोधेको थियो । “क्याम्पसको चुनाव माओवादीले जितेको हो ?” अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)ले जितेका क्याम्पस संख्या बताइदिएपछि फेरि अर्को प्रश्न सोध्यो, “यो क्रान्तिकारी भनेको एमाले हो ?” ३ विद्यार्थी संगठनको बारेका धेरथोर बुझाइदिएपछि उसले थप प्रश्न गरेन ।
यो मेरा साथीको रूचि सङ्गीत र वैज्ञानिक आविस्कार हो । को प्रधानमन्त्री हुन्छ, को राष्ट्रपति हुन्छ खासै चासो राख्दैन । आफ्नै दुनियाँमा मस्त छ अनि आफ्नै दुनियाँमा हराएको हुन्छ । अझ मलाई पनि राजनीतिको बारेमा चासो राख्दा बरू पढ् न के समय खेर फाल्छस् भनेर सम्झाउँथ्यो । तर एक्कासि राजनीतिका ट्वाक्क परेका प्रश्न सोध्दा मलाई अचम्म लाग्यो ।
आफ्नो फेसबुक प्रोफाइलमा जहिल्यै पनि कि ब्याण्डको कि मोबाइलको कुरा राख्ने।
उसको अस्तिको फेसबुक स्टेटसले पनि मलाई आश्चर्यचकित बनायो । गणतन्त्र दिवसको दिन उसले ‘गणतन्त्रको एक वर्षमा के पायौँ हामीले ? यी नेता सधैँ कुर्सीकै लागि मात्रै कुदिरन्छन् ! के हामीले खोजेको गणतन्त्र यहि हो त ?” भनेर लेखेको पाएँ । केटोलाई चासो बढ्न थालेछ जस्तो लाग्यो ।
मेरो साथी अमृत एउटा प्रतिनिधि पात्र हो । उसका जस्तै जिज्ञासाहरू दिनदिनै सुनिन्छ राजनीतिका लागि नयाँ अनुहारहरूबाट । काठमाण्डौ विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू धेरैजसो राजनीतिमा रूचि राख्दैन थिए केहि अघिसम्म । तर पछिल्लो स्ववियु निर्वाचन, पत्रिकामा ठूलाठूला अक्षरमा जहिल्यै नेताका कुकार्य मात्रै छापिन थालेपछि अनि विश्वविद्यालयमा पनि विभिन्न संगठनको चलखेल बढ्दै गएपछि अहिले राजनीतिमा चासो राख्नेछ साथीहरूको संख्या दिनानुदिन बढ्दै छ । बाहिर चलेको हल्लाको भरमा राजनीतिक पार्टीको उचाइ नाप्दै हुन्छन् साथीहरू अनि नेताको कार्यशैलीका आधारमा देश कता मोडिन्छ भनेर पनि आँकलन गर्दै हुन्छन् । पत्रिकामा निस्किएका लेख नपढे पनि समाचारको शीर्षक पक्कै पढ्छन् ।
देशका ड्राइभर नेताहरूले देशलाई अगाडि हाँक्नुको सट्टा पछाडि सार्न थालेपछि देशको दिशा कतातिर हुने हो भनेर धेरैमा राजनीतिमा चासो बढ्दै छ । अझ हप्तैपिच्छे हुने गरेका बन्दले गरेर पनि धेरैले बुझ्ने मौका पाएका छन् । एकदिन बन्द भयो भने ‘आहा !! पढाइ नहुने भयो’ भनेर खुसी हुने साथीहरू अचेल कसले बन्द गरेछ ? के माग रहेछ ? कति दिन बन्द हुनेभयो ? लगायतका प्रश्नहरू सोध्ने गर्छन् अनि आफ्नो धारणा पनि बुझेसम्म पेश गर्छन् । केहि अगाडिसम्म पढाइका मात्रै कुरा गर्नेहरू आफूले पढेको ठाउँमा व्याप्त समस्याहरूलाई पनि देशको समस्यासँग दाँज्दै राजनैतिक समाधानका बारेमा सोच्न थालेका छन् । देशमा व्याप्त अवसरवादको राजनीतिलाई आफ्नो ठाउँमा स्थापित नगराई उपलब्धिमुलक राजनीतिका लागि आवाजहरू एकजुट भएर उठ्न थालेका छन् । केहि अघिसम्म राजनीति सुन्न नचाहनेहरू अहिले सकरात्मक र व्युत्पादक राजनीतिको पक्षमा उभिएका छन् ।
ठूलाबडाले गर्ने गरेको फोहोरी राजनीतिका कारण अव देश हामीले बनाउनुपर्छ भनेर युवामा भावना बढ्दै गएको छ । पढेपछि आफ्ना लागि भइहालो नि भनेर सोच्नेहरूको संख्या कम हुँदै गएको छ । पढेर देशमा कस्तो काम पाईन्छ भनेर देश बुझ्नतिर पनि लाग्दै छन् साथीहरू । प्राय: पढाइ सकेर विदेश भासिने सोच राखेकाहरू देशमै खुल्न लागेका ठूला हाइड्रोपावर र अन्य संरचनाका कारण उत्साहित भएर देशमै बस्ने सोच बनाउँदैछन् । सबैको संचालनसाँचो राजनीतिसँग हुन्छ भनेर पनि साथीहरू राजनीतितर्फ आकर्षित बन्दै गएका छन् । तर मुख्य कारण चाहिँ अवसरवादी राजनीतिको सस्तो प्रचार र मिडियाको उपस्थीतिको कारण भएको हो । जे होस् सबै कुराको सकरात्मक र नकरात्मक पाटो हुन्छ भनेझैँ यो गलत राजनीतिले युवाहरूमा देशप्रति सोच्न सिकाएको छ र राजनीतिका कलङ्कहरूलाई केलाउँदै यसका माध्यमबाट गर्न सकिने उपयोगी र विकासका कामका लागि सोच्न थालेका छन् अहिलेका युवाले । आशा गरौँ शिक्षित र मर्यादित युवाको देश चलाउने पालो आएपछि साँच्चै राजनीतिले देशमा नयाँ परिभाषा पाउनेछ ।

10 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!