
साँढे गोरू,
बाटामा कुप्रिएको हु्न्छ
र ट्राफिकलाई सघाउँदै हुन्छ
कहिले कन्टेनरमा थुप्रिएको हुन्छ
र हरियो झिँगा धपाउँदै हुन्छ
घामले तात्तीन्छ कहिले
हावाले बत्तीन्छ कहिले
र पनि
सत्तामा बस्नलाई
सहेजस्तो देखाउँछ
मौका मिल्नासाथ
आफ्नो जयजयगान लेखाउँछ
बाटैबाट तपाईँलाई आफूतिर तान्न सक्छ
जोगीएर हिँड्नुहोला
साँढे गोरूले हान्न सक्छ ।
आफू जान्दैन,
सिकाएको पनि मान्दैन
कुरोले देशै घिसार्छु भन्छ
कामले गाडा पनि तान्दैन
कहिले खुसीले पुच्छर कुदाउँदै हुन्छ
पलभरमै सिङ जुदाउँदै हुन्छ
चटक देखाएर तपाईँलाई
आफूतिर तान्न सक्छ
सावधान !
साँढे गोरू ठुलाको खुट्टा मसार्छ
सानालाई सीधै खाल्डामा धसार्छ
जोगीएर हिँड्नुहोला
साँढे गोरूले हान्न सक्छ ।
आफू घर बनाउँदैन,
बनेका पनि लडाउँछ
गिदीमा नाम्ले परिसक्यो
सद्देलाई पनि सढाउँछ
देश साँढे गोरूले चलेको छ
उभिनै नपाई ढलेको छ
साँढे गोरूहरू,
सिङ् तिखारेर बसेका छन्
निमुखाको भुँडिमा धसाउन
आज हाम्रै वस्तीमा पसेका छन् ।
सुन्छू हिजोआज
साँढेले
गणतन्त्रको खोल ओढेको छ
तपाईँलाई पनि खोल देखाएर तान्न सक्छ
रौसिएर नजानुहोला
साँढे गोरूले हान्न सक्छ ।

15 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!