
युवा शक्ति,जोश जाँगरको बारेमा पहिले अलिकति कुरा उठाएको थिएँ । सञ्जोग पनि कस्तो मिलेको, पहिले भुषको आगो भएर सल्किएको एमाले झगडा पछिल्लो समयमा पेट्रोल छर्केरै बालेजस्तो गरी दन्दनी दन्कियो । फेरि सुनेँ, केहि युवा नेताहरूको पहलमा तीन शीर्ष एमाले नेताहरूबीच छलफल सम्पन्न भयो भनेर । बधाई छ है एमाले-युवा पहललाई । पहिला आफ्नो घरमा स्थायित्व भए पो अर्काको घरको बारेमा पनि सोच्न सकिन्छ । हैन भने त बाँदरको उखानले काम गरिहाल्छ नि फेरि । न आफ्नो घर बनाउँने न अरूको बनाउन दिने । एमाले कदमको पुर्ण स्वागत गर्छु म त । साँच्चै भन्नुपर्दा, किन हामीवीच मनमुटाव भयो भनेर त आत्मालोचना गर्नै पर्दैन पार्टिले । सबैथोक छर्लङ्गै छ दुधको दुध पानीको पानी जस्तो । खासमा हामी हामी वीच फुट ल्याउने त ति विदेशी षड्यन्त्रकारीहरू पो हुन् त, तह त तिनीहरूलाई लगाउनुपर्छ अव । सवै राम्रो लाग्यो एमालेको खल्लो एउटै कुराको मात्र रह्यो, सर्वहारा वर्गको पार्टी भएर आफ्नै आन्तरिक कुरा मिलाउन ५ तारे होटललाई कार्यथलो बनाएकोमा । हुन पनि ठिकै हो पार्टीलाई भोटहाल्ने पो सर्वहरा वर्ग त, अव नेतानि त्यस्तै हुनुपर्छ भन्ने त कैँ लेख्या छैन नि ! त्यत्रो जिम्मेवारी बहन गरेको पार्टी नेकपा एमाले, माओवादी र कांग्रेस दुई धारमा हुँदा समझदारीको लागि दुबैतीरको कुरामा सहमत भएको पार्टी नेकपा एमाले, दुईचार ठाउँ चुनावमा हारे पनि जिम्मेवारी बोधले घच्घच्याएपछि राष्ट्रलाई अग्रगामी निकास दिन सिङ्गो सरकारकै नेतृत्व सम्हालेको पार्टी नेकपा एमाले । यो पार्टी नभइदिएको भए त देशै पो रहँदैनथ्यो कि भन्नुपर्ने अवस्थामा खाली आलोचना मात्र गरेर हुन्छ र भन्या? राम्रा कुरा पनि त हेर्नुपर्यो नि ।
नेपाली कांग्रेसमा सभापतिको अविभावकत्व देखेर त झन् चकितै भएको छु म त । उमेरलेनै ८५ टेक्न आँटेका अनि समकक्षी गणेशमान र कृष्णप्रसादले जिम्मेबारी पुरा गर्न नसक्लान् र पार्टी विगार्लान् भनेर हामी नजन्मिदै देखि आफैले पार्टी नेतृत्व लिएका युग पुरूषलाई ति हिजो अस्तिका फुस्राले केन्द्रिय कमिटिको धाक देखाएर कै नापिन्छ र ? भो क्यै नापिदैन । जब सम्म राष्ट्रिय झण्डामा चन्द्र सूर्य भैरहन्छ तबसम्म नेका को नेतृत्व पनि गिरिजाबाबूसँगै रहिरहन्छ । अब राष्ट्रिय झण्डै फेरिएको स्थितिमा भने म पनि केहि भन्न सक्तिन । त्यसपछि ति फुस्राको पनि पालो आउला कि? अब सुजतालाई नै किन त्यतिसाह्रो मन बिग्रिनेगरि गालि गर्नुपर्यो र भन्या सबैले? हाम्रो हिन्दु परम्परालेनै माता पिताको आदेश पालन गर्नु छोराछोरीको कर्तव्य हो भनेर सिकाएकै छ!! त्यहि धर्मलाई मानेर त्यसैको उल्टो काम त गर्न भएन नि । धर्म भन्दा ठुलो त राजनिति होईन होला । फेरि उनि अलिअलि भएपनि त्यतिसाह्रो कामै नलाग्ने महिला चैँ होईनन् है । अवसर पाए नारीले पनि केहि गरेर देखाउन सक्छन् भनेर हिजोआज जताततै महिलाहरू तातिरहेको अवस्थामा दिऊँ न त उनलाई एकपल्ट ‘उप’ को अवसर । भाषण गर्न, आफुभन्दा अग्रजसँग तमिजले बोल्न, वुवा विना पनि कांग्रेसमा टिकिरहन अवसर त चाहियो नि एकपल्ट । अनि पो सबैकुरा सिकिने हो र गरेर देखाउने हो । सुजताजी, म त पुरा तपाईँको पक्छ्यमा छु । गर्नुस् गर्नुस् यै हो गर्ने बेला भनेको । हैन भने त भोलि बुबा बैकुण्ठ गएपछि कि तपाईँ पनि उतै जानुपर्यो यहिँ बसेर त खै……..
माओवादीको त झन् कुरै नगरौँ । यत्तिको प्रजातान्त्रिक कार्यशैली त अरू पार्टीमा दिउँसै बत्ती बालेर खोजे पनि भेटिदैन होला । अझ देशलाई स्थायी निकास दिन वहाँहरूले गर्नुभएको योगदान त झन् खपिनसक्नुको छ । जति तारिफ गरेपनि शब्दहरू कमै हुन्छन् । ‘नागरिक सर्वोच्चता’ को अर्थ वहाँहरूकै कृपालेनै मैले नि बुझ्न पाएँ । हैन भने त सर्वसाधारणले यो कुरा कहिले बुझ्थे होला र ? अरू कुनै दलले यो कुरा उठाएकै होइनन् । दुई-चारजना जान्नेबुझ्ने भनाउँदाहरूले ‘देशमा बसोबास गर्ने प्रत्येक नागरिकको सर्वोपरि स्थान नै नागरिक सर्वोच्चता हो’ भनेर परिभाषा लाउँदैमा म मान्छु र ? नागरिक सर्वोच्चता भनेको त वन्दुके राजनितिको धमास देखाएर संविधानमा प्रावधानै नभएको संकल्प प्रस्ताव दर्ता गराएर राष्ट्रपतिलाई दोषी देखाउनु हो अनि सबै दललाई पाखा लगाएर आफुखुसी देशमा हैकम चलाउनु हो । “त्यसोभए त त्यो नागरिक सर्वोच्चता नभएर ‘माओवादी सर्वोच्चता’ भएन र?” भनेर प्रश्न गर्नुहुन्छ भने त्यसको उत्तर पनि छ मसँग । अव माओवादीकै भाषामा भन्नुपर्दा नागरिक भनेकै माओवादी हुन् । नहुन् पनि कसरी, सबैभन्दा धेरै जनताले उसैलाई भोट दिएका हुन् क्यारे । अनि माओबादी र नागरिक एकै भएपछि नागरिक सर्वोच्चता भनेकै माओवादि सर्वोच्चता भएन र ? सोच्नुहोस् है!! म त पुर्ण सहमत छु माओवादीको हतियारको राजनितिमा । आखिर त्यै हतियारले गरेर देशमा यत्रो परिवर्तन आयो । अझ भनौँ गणतन्त्रै आयो । हैन भने सोध्नुहोस् न माओवादी साथीहरूलाई? मैले भनेको होईन क्यारे । त्यसै यो कुरो गलत हो भन्न पाईन्छ ? दुई चारजना फुस्रे नेताले ७ दलको कार्यगत समझदारीले राजतन्त्र ढल्यो भनेर भन्दैमा हामी पत्याउँछौँ र ? जनआन्दोलन सफल पार्न त्यतिका नेपाली जनताले रगतको होली खेले भन्नेकुरा हामी मान्छौँ र ? राजतन्त्र ढल्यो त केबल माओवादीले गर्दा । अरू कसैले यस कुरामा जस लिन नखोजे हुन्छ ।
तराईको सबैभन्दा ठुलो दल मधेसी जनअधिकार फोरम एउटा नेतृत्वले मात्र मधेसीको माग सम्बोधन हुन सक्दैन भनेर उपेन्द्र यादवजी र गच्छदारजी छुट्टा छुट्टै नेतृत्व सम्हाल्दै हुनुहुन्छ । म सलाम गर्छु यो समर्पणलाई अनि यो त्यागलाई । यो पो हो त निस्वार्थ राजनिति भनेको । दुई गुटले पार्टी झन् ससक्त भयो भने त मधेसी जनताको सुखको दिन आईहाल्यो नि । अरू पार्टीले पनि फोरमको यो रणनितिलाई अंगाल्न सके झन् कति राम्रो हुन्थ्यो होला ? जुटको राजनितिले केहि लछारपाटो नलाए फुटको राजनिति नै ठिक । फुटाउनुहोस् फुटाउनुहोस् दुई मात्रै किन अझ चार पाँच टुक्रै बनाउनुहोस् । मेरो बधाई छ यादबजी र गच्छदारजीलाई । तपाईँको पार्टीलाई पनि मेरो पुर्ण समर्थन छ ।बाँकी सबै दलहरूले पनि आ-आफ्नो ठाउँबाट देशलाई अग्रगामी निकाश दिन हरसम्भव प्रयास गरिरहनुभएको छ । कसैलाई समर्थन दिएर सरकार बनाउन होस् अथवा समर्थन फिर्ता लिएर सरकार ढाल्न होस् जो होस् तपाईँहरूको काम पनि प्रशंसा लायक नै छ । आखिर राजनितिका मूल मन्त्रहरू यिनै त हुन् ।
अन्त्यमा, नेपालका सम्पुर्ण दलहरूलाई संविधान ढिलो भन्दा ढिलो बनाईदिनुहुन र हामी लेखकलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु । फेरि संविधान छिट्टै बन्यो र आलोचना गर्ने ठाउँ नै भएन भने हामीले व्लगमा के लेख्ने र फेरि??
Post a Comment

2 Comments:
लौ, यो विचार चाँहि गज्जब को लाग्यो है ! फेरि संविधान छिट्टै बन्यो र आलोचना गर्ने ठाउँ नै भएन भने हामीले व्लगमा के लेख्ने र फेरि??
हाहाहा ! तर जति भनेर नि नलाग्ने, जति लेखेर नि केही नहुने !
बरु ब्लग खाली नै राखौंला, तर संबिधान समयमै बनोस (के बन्ला र तर है!)
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!