"अब मंगलबार विदा भईहाल्यो, बुधवार एक दिन हो, विहिवार हाम्रो प्रोजेक्ट डे नगएपनि हुन्छ अनि शुक्रवार त दीक्षान्त समारोह भईहाल्यो । शनिवारतिर धुलिखेल कलेज गए हुन्छ ।" मेरो साथीले भाइटीकाको दिन फोन गरेर भन्यो ।
"के गर्ने त उसो भए ? यत्तिका दिन के गरेर बस्ने ?" मैले भनेँ ।
"अस्ति नागरिक पत्रिकामा पढेको थिएँ चिसापानीको बारेमा, जाऔँ घुम्नलाई । यहाँबाट सुन्दरीजलहुँदै चिसापानी एक दिन अनि चिसापानीदेखि नगरकोट १ दिन । हिँडेको दोस्रो दिन काठमाण्डौ नै आइपुगिन्छ । अनि ट्रेकिङ रमाईलो पनि हुन्छ ।" उसले भन्यो ।
यहि सल्लाहअनुसार सँगै पढ्ने साथीहरू खोज्दै जाँदा हामी यो यात्राका लागि जम्म ६ जना तयार भयौँ । अनि बुधवार(भाइटिकाको पर्सिपल्ट)हिँड्ने योजना बनायौँ । बुधवार बिहान ७ बजे नेपाल वायुसेवा निगमको अफिसअगाडि भेला भएर सुन्दरीजलको माइक्रो चढ्यौँ । फेसबुकको फोटोमा माइक्रो लेख्दा साथी सञ्जुले बोइङ ७५७ लेख् भनेको थियो, नेवानिबाट चढेको भएर । करिब डेढ घण्टाको माइक्रोयात्रापश्चात् कार्डसहित जनही २५ रूपैयाँ माइक्रोलाई बुझाएर पैदल यात्राको शुरूवात भयो । बाटामा भेटिएका ढुङ्गा र झरनाको फोटो खिच्दै करिब १५ मिनेटपछि हामी शिवपुरी राष्ट्रिय निकुञ्जको हातामा प्रवेश गर्यौँ । विदेशीलाई २५० रूपैयाँ र नेपालीलाई १० रूपैयाँ प्रवेश शुल्क लाग्ने रहेछ । हाम्रो त्यस दिनको गन्तव्य चिसापानी २२ किलोमिटर पर रहेको कुरा त्यहाँ राखिएको बोर्डमा उल्लेख थियो ।
जङ्गलको बिचैबिच सानो बाटो, कतै ढुङ्गालो छापेको, कतै माटैमाटो पार गर्दै सुन्दरीजलको बाँधबाट करिब साढे नौ बजे उकालो लाग्यौँ । बाटामा भेटिएका धाराको चिसो पानी खाँदै टन्टलापुर घाममा हाम्रो यात्रा जारी थियो ।
"दिदी खाना पाईन्छ होला ?" मुलखर्क पुगेपछि एउटा होटलमा सोध्यौँ दिउँसोको १२ बजेतिर ।
"पाईँदैन यहाँ, ऊ त्यो पसलमा सोध्नुस् ! चाउचाउ मात्रै हुन्छ यहाँ ।" खासै मिठोगरि जवाफ दिइनन् ती दिदीले ।
२-३ वटा पसलमा खोज्दा पनि खाना खान नपाएपछि अन्त्यमा त्यहि दिदीले पकाएको चाउचाउले चित्त बुझाउँदै फेरि उकालो लाग्यौँ ।
"दाइ चिसापानी जान अब कति लाग्छ होला ?" ठूलो विदेशीको भारी बोकेर गोसाईँकुण्ड जान भनेर हिँडेका दाइलाई मैले सोधेँ ।
"अब त्यस्तै २ घण्टामा पुगिन्छ ।" दिनको साढे एक बज्दा यो वार्तालाप भएको थियो हाम्रो । पुगिहालिन्छ नि छिट्टै भनेर हतार नगरि बिसाई बिसाई गयौँ हामी । मुलखर्कभन्दा उताको बाटो चैँ पुरै जङ्गलको बिचबाट हिँड्नुपर्ने रहेछ ।
यसरी जिस्किँदै, बस्दै बेलुका ४ बजेतिर चिसापानीको चिसो हावा खान पुगियो ।
एकैछिनमा आकाश खुल्ने एकैछिन् झ्याप्पै छोप्ने बडा अचम्मको कुहिरो लाग्दो रहेछ चिसापानीमा । चिसोले गरेर होला सबैका मोबाइलका ब्याट्री एकैचोटि रित्तिए । फेरि बिजुली पुगेको रहेनछ चिसापानीमा । सोलारको भर गरेर बस्नुपर्ने रहेछ । बसेको रू.२५० र सादा खानाको रू.१०० मा कुरा मिलाएर हामी हिमालयन बिबिसी होटलमा बस्यौँ । साथी सञ्जयलाई चिसो मजाले लागेछ एकछीनमा मासु भात खाएपछि मात्रै तङ्ग्रियो । हिँडाइले धेरै थाकिएछ घुप्लुक्क निदायौँ सबैजना बेलै नभई ।
बिहान ७ बजे उठेपछि नगरकोट जाने हाम्रो पूर्वनिर्धारीत तालिकाअनुसार साथीहरू तयार हुन थाले । तल ओर्लेर एक कप मिठो कफी खाएपछी लाग्यौँ हामी ७ घण्टाको बाटो नगरकोटतर्फ । सुन्दरीजल झर्ने बाटोको आधा लगभग ३ घण्टा हिँडेपछि झुले भन्ने ठाउँबाट नगरकोट जाने बाटो छुट्टिने रहेछ । चिसापानीबाट नगरकोट जाने बाटो चाहिँ सुन्दरीजलबाट चिसापानी जानेभन्दा पनि राम्रो रहेछ । घना जङ्गलबाट हिँड्नुपर्ने । घाम लागेपनी खासै असर नपर्ने । एकदम रमाईलो भयो ।
झुलेमा चैँ भात खान पाइयो है ११ बजे । साह्रै मजा आयो । बरेलाको तरकारी र भात यस्तो मिठो कहिल्यै लागेको थिएन । हल्याण्डबाट आएका केहि विदेशी पाहुनासँग भलाकुसारी गर्दै खाना खायौँ ।
"म अर्को पटक आउँदा यो पहाडहरूमा पुल बनेको हेर्न पाउँ, तिमी त ईञ्जिनियरीङ्को बिद्यार्थी" उसले भन्यो ।
"तपाईँको लगानीको पर्खाइमा छौँ हामी यसका लागि" मैले पनि यथार्थ ओकलेँ ।
उसले आफ्नो गाइडतर्फ हेरेर भन्यो,"मैले धेरै लगानी गरेको छू हेर त यो गाइडको भुँडि कत्रो भइसक्यो ।" एकछिन हाँस्यौँ सबैजना । त्यसपछि उनीहरूसँग बिदा भएर हामी ओरालो झर्यौँ लप्सीफेदीतिर ।
करिब साढे २ बजे कात्तिके भन्ने नगरकोटको डाँडा भन्दा ४ किलोमिटर वरको गाउँ आइपुगेपछि खुट्टाले साथीहरू सबैलाई धोका दियो । पाइताला पोल्ने, घुँडामुनिको भाग चस् चस् गरेर दुख्नेले सामान्य विरामी बनायो साथीहरूलाई । अब ४ किलोमिटर हिँडेपछि हामी नगरकोटको टावर पुग्ने थियौँ । साथीहरूले गइरहेकै ठाउँ त हो नि भने र गाडि चढेर साँखुको बाटो हुँदै काठमाण्डौ फर्कियौँ । घर आइपुग्दा साँझको ६ बजिसकेको थियो ।
थप फोटो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला ।
Post a Comment

10 Comments:
Interesting travel diary. Nepal has so many places like this. This one is close from Kathmandu and I think many people can benefit from this hiking route. I enjoyed reading your post.
Liked your travelogue! nice one.
Interesting. When I went Chisapani, I didn't know that we could have gone to Nagarkot so returned same way. I missed the interesting route.
सुन्दरीजल, शिवपुरी राष्ट्रिय निकुञ्ज र नगरकोटसम्म पुगे पनि यो चिसापानी चाही पुगेको छैन। तपाईको पोष्ट पढेपछि भने मलाई पनि जान मन लाग्यो ।
लैखोटको बयानजत्ती भने फोटोले देखाएन है!। फोटोहरु छन भने अरु पनि हाल्नुस न । हामी पनि यसो Armchair travel गरौं न !
थप फोटोको लागि मैले मेरो फेसबुक फोटो एल्बमको लिङ्क राखिदिएको छु दाइ पोष्टको अन्तिममा । त्यसलाई क्लिक गरेर थप फोटो हेर्न सक्नुहुन्छ ।
धेरै चिसो पो रै'छ !
:)
नामै चिसापानी चिसो त हुने नै भयो नि !। । यता पढेर उता फेसबुकमा फोटो हेरेपछि भने बल्ल तालमेल मिल्यो है मेरो पनि । रमाईलो यात्रा गर्नु भएछ,पढन पनि रमाईलो भयो ।
ho ra aba ta malai pani jaam jaam lagyooo
तपाईंको यात्रा संस्मरण रमाइलो लाग्यो , निकै रमाइलो गर्नुभएछ नि पढ्दा मात्रै पनि खुब उत्साह जागेर आयो :)
Its a lovely place.I have been there.We started our hiking at sundarijal and ended at Dhulikhel (Sundarijal-Chisapani-Nagarkot-Dhulikhel).You can even start at Budhanilkantha.I recommend it for all.Its even good for bike riding.hehe.I have also been there on a bike.
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!