
म र मेरो साथी प्रशान्त रातभरि पढ्यौँ । म अलि कम जान्ने ऊ अलि धेर जान्ने भएकाले मलाई नआएको कुरा पनि उसले सिकायो र हामीले सँगै एकदमै मजाले पढ्यौँ । उसले सात कक्षादेखि नै ऐच्छिक गणित पढेको रहेछ मैले चाहिँ आठमा पुगेर बल्ल पढेको हुनाले मलाई अलिकति गाह्रो भयो । तर मलाई सबै आयो पढ्दाखेरि । किताबका सबै हिसाब पनि गर्यौँ । भोलिपल्ट परीक्षा दिने दिन थियो । म उसकै कोठामा बसेको थिएँ । बिहान सँगै परीक्षा दिन गयौँ । दुवैजनाको नाम 'P' बाट शुरू हुने भएकाले हाम्रो सीट अगाडि-पछाडि पर्थ्यो जाँचको बेला । र त्यो बेला पनि त्यहि भयो । म अगाडि प्रशान्त पछाडि । १० बजेको घण्टी लाग्यो र प्रश्नपत्र बाँडियो ।
मैले सरर प्रश्न हेरेँ । कत्ति सजिलो ! सबै हिजो गरेका प्रश्नहरू, त्यो पनि दोहोर्याई तेहेर्याई । फटाफट गर्न थालेँ। पहिला एक नम्बरको प्रश्न गरेँ, २-३ लाइनपछाडि त के हो के हो जस्तो भयो । त्यसलाई छाडिदिएँ अनि २ नम्बरको थालेँ । फेरि उस्तै भयो । अब म आत्तिएँ । अरू जानेका कुरा पनि सबै बिर्सिएँ । अनुहार रातो भयो । जीऊ तातेर आयो । म त लुगलुग काम्न थालेँ । अनि आँसु पो झार्न थालेँछु । हाम्रो परिक्षामा गार्ड चैँ नेपाली सर बस्नुभएको थियो । त्यतिबेला म नेपालीमा राम्रो भएकाले र समग्र सबै विषयमा पनि राम्रो भएकाले उहाँले मलाई अलि धेरै माया गर्नुहुन्थ्यो । नजिक आएको सोध्नुभयो के भएछ भनेर । म त बोल्नै सकिनँ अनि झन् पो रून आएछ । सरले कुरा बुझिहाल्नुभयो अनि प्रशान्तको अलिअलि हेर अड्किएको ठाउँमा भन्नुभयो । अनि बल्ल अलि तागत आयो जीऊमा । सबै कुरा बिर्सिसकेको त थिएँ । पछाडि फर्केर सारेँ मैले त सबै । ५० नम्बरको परीक्षामा ४८ नम्बरको सारेँछु ।
नेपालमा व्याप्त तीन घण्टे मुल्याङ्कन प्रणालीमा आफूले भोगेको एउटा घटना स्मरण मात्रै गरेको हुँ मैले । वर्षभरि पढेको कुरा ३ घण्टाले निर्धारण गर्छ । परीक्षाको बेला जति दिमागमा हुल्न सक्यो र ३ घण्टामा जति दिमागको कुरा वमन गर्न सक्यो विद्यार्थी उति नै जान्ने भनेर मुल्याङ्कन हुन्छ । वर्षभरि बुझाएका होमवर्क, वर्षभरि कक्षामा देखाएका गतिविधि आदिको लागि कुनैपनि नम्बर छुट्याइएको हुँदैन । विद्यार्थीको विभाजनको रेखा ३ घण्टे परीक्षाले कोर्ने गर्छ ।
यसै सन्दर्भमा सरकारले अब ७ कक्षासम्म सबैलाई पास हुने व्यवस्था गरेछ । पढाइको अर्थ पास फेलमात्र नभई सीप सिक्नु पनि हो भनेर यस्तो व्यवस्था लागु गर्न लागेको अरे । फेल हुँदा पर्ने मानसिक प्रभावलाई न्युनिकरण गरि जीवनमुखि शिक्षा दिनका लागि यस्तो व्वस्था गर्न लागिएको भनेर आजको कान्तिपुरमा प्रकाशित गरिएको छ । निरन्तर मुल्याङ्कन र कक्षोन्नति प्रणालीअन्तर्गत विद्यार्थीलाई कक्षा चढाउने भनेर उल्लेख गरिएको रहेछ । तीन घण्टाको वार्षिक परीक्षाको साटो बाह्य तथा आन्तरिक मूल्यांकन गरी विषयगत आधारमा कक्षा चढाइने यो पद्धतिको व्यवहारिक पाटो भने नेपालको अवस्थामा कस्तो हुने हो त्यो भने निकै नै मननीय विषय हो ।
"पढ्न जानु पर्दैन भैँसी हेर्न जा ।"
"तँ स्कुल गइस् भने घरको काम कसले गर्छ ?"
"स्कुल गएर खान पुग्छ ? जा माथ्ला घरको धान काट्न ।"
गाउँतिर निम्नवर्गीय परिवारमा धेरै सुनिने कुरा हुन् यी । अहिले खाएर भरे के खाउँ भन्ने परिवारमा पढ्नुलाई भन्दा थोरै पैसा ल्याएर छाक टार्नुलाई प्राथमिकतामा राखिन्छ । यो उनीहरूको रहर होइन बाध्यता हो । धान रोप्ने र काट्ने बेलामा कति स्कुल त बन्दै भएको कुरा पनि समाचारमा आउँछ । तीन घण्टा परीक्षामा उतीर्ण भएपछि बल्ल कक्षा चढ्न पाउने विद्यमान नियम हुँदा त ग्रामीण भैगमा यस्तो अवस्था छ भने अब परीक्षा नै नदिईकन कक्षा चढ्न पाउने भएपछि झन् अवस्था भयावह पो हुने हो कि ? फेरि आन्तरिक मुल्याङ्कन के का आधारमा गरिने र एउटा विद्यार्थीले त्यो विषयको व्यवहारिक ज्ञान पायो भनेर कसरी थाहा पाउने ? त्यो सबै कुरा पहिले नै परिभाषिर गर्न जरूरी छ ।
"किन जानुपर्यो पढ्न ? त्यतिकै क्लास चढिहाल्छस् नि ।" भनेर परिवारका मान्छेले भन्दा "हो त है ! किन जानुपर्यो र" भन्ने भावना विद्यार्थीमा जाग्ने पो हो कि ? यसतर्फ पनि सचेत हुन जरूरी छ । यो व्यवस्था एकदमै ठिक हो हुन त तर देशअनुसारको भेष गर्नुपर्ने भएकाले उचित अध्ययनबिना यो पद्धति ल्याईहाल्न हतार पो गर्नुहुँदैन कि ? फेरि यो नियम भनेको सरकारी स्कुलका लागि हो र मैले माथि वर्णन गरेको अवस्था मुलत: सरकारी स्कुलमै पढ्ने विद्यार्थीहरूको हो । ग्रामीण क्षेत्रका निम्नवर्गीय परिवार धेरै सरकारी स्कुलमा पढ्ने भएकाले सबै पक्षको उचित अध्ययन गरेर मात्रै यो व्वयस्था लागु गर्नुपर्छ । तीन घन्टे परीक्षाको विकल्प त सोच्नैपर्ने बेला आइसकेको छ तर हतारहतारमा यसको विकल्प ल्याउँदा झन् भयावह अवस्था आउने पो हो कि ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।
तस्वीर स्रोत : यहाँ छ


5 Comments:
लेखाइ को स्टाइल चाँहि साह्रो मन पर्यो, उसमाथि विषयवस्तु नि निकै चित्तबुझ्दो छ ।
"किन जानुपर्यो पढ्न ? त्यतिकै क्लास चढिहाल्छस् नि ।" भनेर परिवारका मान्छेले भन्दा "हो त है ! किन जानुपर्यो र" भन्ने भावना विद्यार्थीमा जाग्ने पो हो कि ?
I think the better concept would be to pass the students who perform better in term/monthly exams ...
The aim should be on learning.
प्रवेश दाई प्रस्तुतीकरण निकै राम्रो लाग्यो मलाई तपाईको ।
तपाईले टाँसेको सहि हो । त्यसै हचुवाका भरमा माथी टढाएर त्यसले निश्चित रुपमा नै विकराल स्थिति ल्याउँछ । नेपालको शैक्षिक प्रणाली खस्कदो रहेको कुरा घामझैँ र्छलङ छ । वर्षरिको पर्ढाई ३ घण्टाले कदापि मूल्याकंन गर्न सक्दैन । लादिएको शिक्षाबाट हामी ग्रसित छौं । यस बारेमा टाउँकेहरुले सोचेर काम गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ
Good coverage!
k ho yaar...dami cha ta...ma lai taha thiyena tero testo bhayeko thiyo bhanera....roshan sir le prashanta ko her bhaneko????!!la....hami lai chai strict...thik cha..pakh,,hehe..!!
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!