Wednesday, October 28, 2009

उफ् यो मानसिकता!!

अराजकताको हद! नागरिकमा आज यसै शिर्षकमा छापिएको समाचार पढेर आफैँ देखि दिक्क लाग्यो । कुरो के रहेछ भने पुर्वाञ्चल क्षेत्रिय रंगशाला इटहरीमै बन्नुपर्ने माग राखेर स्यानीयबासीहरू सडकमै ओर्लेछन् । अनि त्यहि नेपालीको पुरानै शैलीमा चक्काजाम,बन्द, तोडफोड, आगजनी…………..उफ् मलाई त दिक्क लागिसक्यो यो मानसिकताप्रति ।


फोटोमा दनदनी बलिरहेको यात्रुबाहक बस देखेर खपीसक्नु रीस उठेन मलाई । एउटा खेलकुद मैदानको मुद्दामा यति ठुलो आवेग !आफ्नो माग सम्बोधन गराउन गरिने यस्ता आपत्तिजनक कृयाकलापप्रति हामी कतिसम्म अभ्यस्त भइसकेछौँ भन्ने कुराको पछिल्लो उदाहरण मात्र हो यो । स्वयमं जनताका नुन खाएका नेता भनाउदाको त शैली यहि छ भने जनताले पनि आखिर सिखो न गर्ने हो , तर व्यक्तिगतरूपमा मलाई अनि सायद अरू जो कसैलाई पनि यस्तो अराजक व्यवहार पक्कै मन पर्दैन ।

आफ्नो जन्मथलो पनि ईटहरी नजिकैको सानो गाउँमा भएको नाताले यो सहरसँग आत्मिय सम्बन्ध छ मेरो । आफू जन्मिएको ठाउँको बारेमा केहि राम्रा कुरा लेखौँ र अरूसामु इटहरीको चिनारी मज्जैले गराउँभन्ने मनमा लागिरहेको बेला हालसालै ईटहरीबासीले देखाएको यो कार्यशैलीले मेरो मनमा गहिरै ठेस पुगेको छ । त्यसो त सरकारले क्षेत्रिय रंगशालाको लागि बजेट छुट्याएको तर स्थान किटान नगरिसकेको अवस्थामा आफ्नै क्षेत्रमा रंगशाला बन्नुपर्नेकुरामा पुर्वाञ्चलका तीन ठुला सहर ईटहरी, धरान र ईनरूवा वीच दशैंताकानै घम्साघम्सीपरिरहेको थियो । आफुपनि ईटहरीबासी भएको नाताले सोही स्थानमा रंगशाला बन्नुपर्ने पक्षमा म पनि थिएँ त्यसबेला (हुनत अरू कारणहरू पनि ससक्त छन् यस विषयमा), तर हालसालैको यो घटनाले मलाई आफ्नै जन्मथलोप्रति वितृष्णा जगाएको छ । कुनै पनि माग बलजफ्ती र डरधम्कीले पुरा हुँदैनन् भन्ने कुरा सवैले वुझ्न जरूरी छ । यदि इटहरी उपयुक्त स्थल हो भने रंगशाला पक्कै यहिँ बन्नेछ हैन भने यो आन्दोलनको कुनै औचित्य छैन । यो त आफ्नै मुखमा कालो पोत्नु सिवाय अरू केही होईन । अनि आक्रोशित भएर अराजक गतिबिधि देखाउदा नयाँ पिढिमा साथै अन्तराष्ट्रिय जगत् मा पनि कस्तो सन्देश पुग्छ भनेर आत्मालोचना गर्नु उत्तिकै जरूरी छ ईटहरी बासीले।

photo source: nagariknews.com


9 Comments:

  1. तपाईंको बिचार मा म पनि सहमति जनाउन चाहन्छु तर अचेल त यि, यस्ता आन्दोलनहरु त नभई नहुने आधारभुत आवश्यकता जस्तै भईसकेको छ अब त जे गर्न लाई पनि आन्दोलन नै पहिलो सुचिमा राखिने गलत छाप परिसकेछ जनमानसमा , म मान्दछु कि जनताको आवाज उठुनुपर्छ, सुनिनुपर्छ तर सभ्य तरिकाले ..
    ReplyDelete
  2. यो हाम्रो मानसिकता हत्तपत्त परिवर्तन होला जस्तो चाँहि लाग्दैन । यस्ता कुराहरु हामीलाई कहिले जायज लाग्छ अनि कहिले नाजायज ! आफ्नो अनुकुलता अनुसार, हामी आफ्नो मानसिकता प्रस्तुत गर्छौँ । साँच्चै भन्दा, यो गाडि जलाउने, ढुंगामुढा गर्ने जस्तो घृणित काम त अरु केही नहोला तर यो गाडि जलाउने हुललाई सोध्नुपर्छ, तिनले आफ्ना कुरा मज्जा ले वकालत गर्छन् । अनि त्यहीँ जाम मा फसेको व्यक्तिलाई सोध्नुपर्छ, उसलाई यस्ता हर्कत पटक्कै मन पर्दैन ।

    नहुने कुरा भइसकेको छ, साना-साना कुरा मा पनि यस्ता घटनाहरु घट्नु सामान्य झैँ लाग्न थालिसकेको छ । राज्य बलियो नभएसम्म, कानुनीराज स्थापित नभएसम्म, अनि राजनितिक स्थिरता नभएसम्म, यी कुराहरु यस्तै हुन् ।
    ReplyDelete
  3. मानसिकता भन्ने शब्द 'मन' बाट बनेको हो भने यो त मन हुनेले गर्ने काम नै हैन । म त यसलाई 'अमानसिकता' भन्छु ।

    हैन भने यसले मानसिकता हैन मानसिक असन्तुलन तर्फ संकेत गर्छ ।
    ReplyDelete
  4. साह्रै चित्तबुझ्दो कुरो अशेषको!
    हामी नेपाली यसैगरी झन्-झन् हिँस्रक र अपरिपक्व बन्दै गईरहेछौं। कसलाई दोष दिने खोई?
    हामीले सक्दो भने गर्नैपर्छ, यस्तो चिन्तनका विरुद्धको वैचारिक लडाईँ।
    ReplyDelete
  5. अशेषजीको मर्मकारी लेखोट चित्त बुझ्यो ।
    अरजकताको जगमा उभिएको लोकतान्त्रिक नेपालको पहाड देख्दा यस्तो लाग्छ, यो पहाड पग्लिनकै लागि चुलिएको हो, एकदिन पग्लिएरै खण्डहर हुनेछ र त्यतिबेला त्यसको दोष दिनलाई कोही बाँकी हुनेछैन ।
    माग जसको पनि हुन सक्छ, हुन्छ, तर आफ्नो माग पूरा गराउनका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने जमातका कारण विसङ्गती मौलाउँदैछ हामीमाझ । तरीका पुर्याएर होइन कि, जोरजबर्जस्तीकै राज छ ।
    इटहरीको नमुना एउटा आधारविन्दु मात्र हो, हामीकहाँ यस्तो गलत अभ्यास हरेक कुरामा छ ।
    ReplyDelete
  6. अशेष दाईको विचारमा मेरो पनि समर्थन छ। क्षेत्रीय रंगशालाका विषयमा इटहरी, धरान, इनरुवाको बाँझाबाँझ(म भन्छु)पनि भनि साध्य छैन् । राम्रो मागको लागि दबाब दिनु सकारात्मक कुरा हो तर त्यसको पद्धतीमा विचार नगर्दा धेरै ठूलो हानी भैरहेको छ ।

    इटहरीमा यतिखेर यातायात, बजार र शैक्षिक संस्थाहरु ठप्प पारिएका छन् । दशैं–तिहारको एकमहिना विदा पछि क्याम्पस जान पाइएको छैन् । यसबाट झनै ठूलो भार थपिएको छ । चुप लागेर हेर्नु सिवाय केही छैन ।
    ReplyDelete
  7. यस्तो कुकर्मप्रति मसँग बोल्न कुनै शब्द पनि छैन | मान्छेलाई मान्छे हुन युगौं लाग्यो होला पशु हुन कतिबेर पनि लाग्दो रहेनछ | पशुमा पनि थोरै त बिबेक हुन्छ जस्तो लाग्छ | के भन्ने अशेषजी ?
    ReplyDelete
  8. यस्तो बिग्रिएको मानसिकताको प्रवृति कताबाट आउने होला !!जसले जे गरे पनि हुने भै सक्यो देशमा, अरु के भन्ने र खै ?
    ReplyDelete
  9. ओ हो निकै राम्रो म त बसन्तजीको कुरामा सहमत छु
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम