
त्यो अस्तिको केटी क्या त, हामीले क्याफेमा भेटेको, मैले पट्याईसकेँ नि यार । उसले उरन्ठ्याउलो पारामा भन्यो । हिजो फकाएको त्यो पनि मानीसकी भन्या । मस्ती हुने भो आज त । अनि त्यतिकै मानी त ? मैले पुनं सोधेँ । कहाँ त्यतिकै मान्नु , ठूलै कथा बनाउनुपर्यो नि यार । यसरी बोलिरहेको थियो मानौ ऊ शिकार समाएर उन्मत्त भएको बाघ हो । अव ६ महिनामा मेरो जागिर फिक्स हुन्छ त्यसपछि विहे गर्ने हामी दुवै । मेरो वुवा आमासँग पनि कुरा गरिसकेँ मैले । यति भनिसक्दा त ओ साथी.........ठुलै हाँसोको फोहोरा छुट्यो उसको मूखबाट । म मुस्कुराएँ तर उसलाई साथ दिन मात्र । राति निन्द्रा परेन यो कुराले । सोचेँ हामी पुरूषहरूलाई पुरूषत्वको कति साह्रो घमण्ड छ ? अनि कति अभ्यस्त छौँ हामी नारी जातिलाई खेलाउने पुतलीको उपमा दिन? त्यसदिन त्यतिकै निदाएँ ।

वोलीचालीको भनाई छ “ रगत चुस्ने किर्नु दुध दिने गाईको थुनमा गएर टाँसिए पनि त्यसले दूध चुस्दैन रगत नै चुस्छ”। तर यि किर्नालाई अस्तित्वहिन वनाउन मेरो भुमिका के त? आफ्नै मनले घच्घच्याईरह्यो मलाई पछिसम्म । नारी शसक्तिकरणको पक्षमा मनमनै भएनि कुर्लिन्थिस् अरूबेला, अस्ति अलिकति पनि बिझेन यो कुरा तँलाई ? गर्न केहि नसकेपनि आफ्नो विचार लेख्न त सक्छस् ? त्यहि भए पनि गर् । अन्तरमनको यो आदेशलाई शिरोपरि गर्ने जमर्को गरेँ मैले पनि।
फेरि माथिकै ‘किर्नु र गाई’को प्रशंगमा आउँछु । गाई जननी हो, गाई सृष्टिकर्ता हो, गाईले अर्को आफूजस्तै प्राणीलाई जन्म दिन्छे र हुर्काउँछे । तर गाईका जीउभरि किर्ना छन्, ति कहिले दुध आउने थुनमा टाँसिएर रगत चुस्छन् । अमृतका धारा अव रगतका धारा बन्छन् । विचरो नबजात भोकै हुन्छ । सृष्टिको अन्त्य हुन्छ । वक्षस्थलको रगत चुस्न पाएका किर्नाहरू घमण्ड गरिरहेका हुन्छन् आफ्नो पुरूशार्थ प्रति । तर के थाहा तिनिहरूको पनि अन्त्य अव निश्चित भैसक्यो भनेर !
म नारीलाई श्रद्धा गर्छु । तर हाम्रो समाजमा धेरै किर्नाहरूको वर्चस्व छ । स्वभाबैले रगत चुस्न पल्किएका रक्त पिपासूहरू। हिजो आज मात्र मौलाएका हैनन्, परापूर्वकालदेखिनै आफ्नो आडम्बर र बलमिच्याइको रापले खरानीबनाईरहेका छन् सृष्टिकै अस्तित्वलाई । मसँग एउटा अचम्मलाग्दो प्रशंग छ:

महिला ईतिहास खोतल्दै जाँदा साह्रै अचम्मलाग्दा तथ्यहरू फेला परेका छन् । त्यसबेला महिलाहरूलाई पारिवारिक र व्यवहारिक शिक्षा दिन आमा-बाबु तथा सासु-ससुराहरूले हरसम्भव प्रयत्न गर्दथे । महिलाहरूले यज्ञपवीत धारण गरेर गायत्री-मन्त्रसहित वेदाध्यान गर्दथे । ऋग्वेदमा अपाला, वाग, वागम्भृणी, रोमसा आदि तथा ब्राह्मण, उपनिषद् आदि ग्रन्थहरूमा मैत्रेयी, गार्गी त्यस्तै गरी पुराणहरूमा मदालसा, रामायणमा कौशल्या, महाभारतमा कुन्ती, द्रौपदी आदि वेदज्ञ र नीतिज्ञ महिलाहरूको उल्लेख पाईन्छ । त्यसो त त्यतिबेला नै नारीको अस्मितामाथि खेलवाड गर्ने दुशासन जस्तो चरित्रको पनि वर्णन नभएको होईन महाभारतमा तर यसलाई मात्र अन्यायको, असत्यको र दुष्कर्मको प्रतिकको रूपमा उभ्याईएको छ । हाम्रो प्राचिन ईतिहासलाई राम्ररी चिन्तन मनन गर्दा महिलाहरूको प्रतिभालाई देखेर उनीहरूलाई उठ्न नदिनको लागि षड्यन्त्रपूर्वक प्रारम्भ गरिएको अभियान हो नारीशोषण र दमन । त्यस्तै अरू कैयौन् उदाहरणहरू छन् जसले नारी प्रभुत्वलाई दर्साउछन् । श्रीलक्ष्मी, श्रीसरस्वती, श्रीदुर्गा यि सबै देवीहरू महिलानै होईनन् र?
दशैँमा दुर्गाको पूजा गरेर घरकी श्रीमति कुट्ने चेतनाहिन किर्नाहरूलाई सोधौँ कति धर्म कमाएका छन् उनीहरूले दुर्गाको पूजा गरेर ? पसलको धन बढोस् भनी लक्ष्मीको पूजा गरेर रात परेपछि त्यहिँ कामगर्ने वालिकाको यौन शोषण गर्ने यौनपिपाशुलाई सोधौँ कति धन थुपारेका छन् उनीहरूले लक्ष्मीको पूजा गरेर? जसले आफू वरीपरीकै देवी चिन्न सक्दैनन्, किन ढोङ रच्नु अनि पूजाको र धर्मको ? जवदेखि समाज जातिवादको भुमरीमा पर्यो र छुवाछुतको सङ्किर्ण विकृति व्याप्त बन्यो तवबाट यस्तो कुप्रथाले पनि प्रश्रय पाएको हो । केहि विवेकशून्य कट्टर व्राह्मणहरूले पनि यस पद्धतिलाई अपनाएर शिक्षा दिनवाट वञ्चित

गरी आफ्नै छोरीबेटीहरूलाई समेत अन्याय र भेदभाव गर्न पुगे जसले गर्दा गलत परिपाटीले बढावा पायो । भन्नैपर्दा हामी यसरीनै विग्रियौँ । वर्तमान समयमा पनि कति महिला मन्त्री, राजदूत, न्यायाधीशहरूको पतिको नाम सर्वसाधारणले थाहा पाएको हँदैन । उनीहरू कसका अर्धाङ्गिनीहरू हुन् भन्ने कुरा पत्ता लगाउन गाह्रो पर्छ । तर समाजमा व्याप्त वहुसङ्ख्यक किर्नाहरू कहिल्यै आफ्नो पुरूषार्थ देखाउन पछि पर्दैनन् अनि निरन्तर प्राकृतिक तागतको आडमा नारीमाथि दमन गरिरहन्छन् ।
यो परिपाटीको अन्त्य के त? तपाईँहरूलाई थाहै होला, निबूवाको बोक्राको धूलोले किर्नालाई मार्दछ । अव महिला निवुवाको बोक्राको धूलो बन्न सक्नुपर्छ । ‘किर्ना’ माथि दलिहालौँ त म भन्दिन तर यति डर भयोभने दूधदिने गाईको थुनमा गाडिएर रगत चुसिहाल्ने आँट त गर्ने थिएनन् कि ।

13 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!