
‘खोर्सानीले कत्ति पनि पढेको छैन तर धेरैले खोर्सानीमाथिनै किन विद्ध्यावारिधि गरे त’? एउटा पढेलेखेको जान्नेभनाउँदो ठिटोलाई सन्ते दमाईले फर्काएको ओठे जवाफ हो यो । ठिटो निक्कैवेरसम्म खित्का छोडेरै हाँसिरह्यो । यो सन्ते दमाईको शैली हो । जो कोहि चिनेजानेका ऊ सँग बोल्नै डराउँछन् । उसले पढेको छैन तर तर्क गर्न कसैले भेट्न पनि सक्दैन । अलिकति विजुली पानी चढाएपछि त झन् जात्रा नै हुन्छ चियापसल अगाडि । वुझिस्, आजकाल मलाई लामखूट्टेले टोक्दैन नि । किन र दाई ? छेवैको सिकारू चिया ग्राहकले सोध्यो । अव जीउमा रगतै छैन त कसरी टोक्छ हँ ? मेरो जीउ पनि महानगरको खानेपानी लिमिटेड जस्तै भै सक्यो लामखुट्टेका लागि बुझिस्? ठुलै हाँसोको फोहोरा छुट्यो त्यहाँ । अर्को दिन गल्लीघरे भण्डारीले पनि अनुहार कालो पारे । के सुर चढेर हो ‘तेरोअनुहार त ध्वाँसे कराईको मोसो दले जत्तिको पनि छैन के ठूला कुरा गर्छस्’ भनेका मात्र के थिए सन्तेले तिनलाई पनि माथि-तल गर्दा तल्तिर कान्लैबाट हिड्ने बनाईदियो । तोरीको दाना कोट्याएर हेर्दा कहाँनेरी तेल देखिन्छ लुभन् ए काठा । त्यसोभए तोरीको दानामा तेलै हुँदैन भन्छस् त? भण्डारी गोडा दश-एक महिनासम्मै त्यो चियापसल झरेन ।

त्यसो त आफू बसेको गाउँ –ठाउँमा साह्रो गाह्रो पर्दा ज्यान फालेरै सहयोग गर्ने पनि बानी छ उसको । त्यसबाहेक रेडियो टिभीमा समाचार पनि खूब हेर्ने गर्छ । आजकाल ‘नागरिक सर्वोच्चता” भन्ने शब्द धेरै सुनेको छ उसले । अर्थ थाहा पाएपछि चित्त पनि बुझ्यो । अनि कार्यालय घेर्न पनि गयो । सडकका नारामा पनि सहभागी बन्यो । वास्तवमा ऊ पार्टीको पछि नलागेर नाराको पछि लागेको थियो । त्यो नारा जसले जनतालाई शक्तिशालि बनाउँछ भन्ने उसको बुझाई थियो । ज्यान फालेर साथ दियो आन्दोलनलाई । तर अचानक अश्रु ग्यासको प्रभावले हुनसक्छ त्यो रात उसलाई हनहनी ज्वरो आयो । अव होला, अव विसेक होला भन्दा भन्दै रात छर्लङ्ग वित्यो तर विमारले झर्ने नामै लिएन । विहानको ५ वजीसकेको थियो । हतार हतार छिमेकी भाईले एम्बुलेन्स मगाए अस्पताल लान । सन्तेकी बुढि ५ महिनाको नावालक काखमा च्यापेर चढि एम्वुलेन्समा । तर वीच बाटोमै रोकिए उनीहरू ।

हिजोको आन्दोलन आज पनि जारी नै रहेछ । अनेक विन्ति विसाउँदा पनि एम्बुलेन्स गुड्न पाएन । जान दिएनन् नागरिक सर्वोच्चता कायम गराउनेहरूले । यसैवीच सन्तेले एक पटक पानी माग्यो त्यसपछि...... केहि मागेन । कहिल्यै केहि पनि मागेन । ५ महिनाकी नावालक एकतमासले आमाको छातीमा मुन्टो टाँसेर सुतेकी थिई । अनि छोरीकी आमा जसोतसो आफूलाई सम्हाल्दै थिइ छोरीको कर्तव्य वोधले । पर कताबाट ‘नागरिक सर्वोच्चताको’ चिल्लो भाषण पनि उसको कानमा परिरहेको थियो । तर दिमागले केहि पनि सुनेन ।

16 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!