
भर्खरै : विभिन्न क्षेत्रबाट आएका दलितले ठेकेदारलाई मासु उठाउन नदिएकाले गढिमाईको मासु काठमाण्डौ नआउने भएछ । पुस्तौँदेखि आफूले पाउँदै आएको मासु बेच्न नपाउने भन्दै उनीहरूले विरोध जनाएर मासु उठाउन गएको गाडिसमेत तोडफोड गरेछन् । मासु उठाउने ठेकेदारले लाखौँको घाटा भयो भन्दै समितिमा उजुरी गरेछन् । भारतबाट समेत दलितहरू आएर मासु लगेछन् । स्थानीय दलित संघले भने सिनो नखान भन्दै स्थानीय दलितलाई आग्रह गरेको रहेछ ।
--------------------------------------------------------------------------------------------------------------------------------------------------
व्यापक विरोधका बाबजुद पनि गढिमाईको मेलामा हजारौँ राँगाको बलि दिएरै छाडिएछ । बमजनले अलौकिक शक्ति प्रयोग गरेर रोक्ने, बधस्थलमा प्रकट हुनेजस्ता बकम्फुसे हल्लाका बिच चलिआएको चलनलाई रोक्न सकेनन् कसैले । मिस नेपाल हुने दिन आयोजनस्थलको बाहिर धर्ना दिन बसेजस्तो गर्ने खगेन्द्र संग्रौलाहरूजस्तै केहि साकाहारी ठालुले बलि रोक्नका लागि अन्तिम समयमा आएर सस्तो पहल नगरेका पनि होइनन् । साँच्चै नै वलिप्रथा रोक्नैपर्ने भए राम्रोसँग तयारी गरेर अगाडिदेखि नै सम्बन्धित निकायअन्तर्गत काम गर्दै गए यो वर्ष नभए अर्को वर्ष, अर्को नभए त्यसपछिको अर्कोमा त बलिप्रथा रोक्न सकिन्थ्यो होला नि । तर, अब हुनेभयो भनेपछि बोल्नका लागि बोलिदिने ठालुहरूबाट केहि पनि लछारपाटो लागेन ।
बलि त दिईन्छ तर त्यत्रा बीस हजार राँगालाई के गरिन्छ होला भन्ने मेरो मनमा पहिलेदेखि नै प्रश्न थियो । आज पो एउटा पत्रिकामा छापिएको देखेँ बलि दिइएका राँगा त एकजना मान्छेलाई ठेक्का दिइएको छ रे । मारेका राँगाजति सबै भेला पारेर काठमाण्डौमा सप्लाई गर्ने योजना रहेछ । अब तिनै खुल्लामखुल्ला ठाउँमा मनपरी तवरबाट मारिएका राँगाका मासु जनतालाई खानको लागि ल्याउने कस्तो योजना हो यो ? स्वस्थ र व्यवस्थित रूपमा मासु काट्ने र बनाउने बधशाला निर्माणको आवाज चौतर्फी रूपमा उठिरहेको बेला र सरकारले पनि यस्तो कामलाई प्रोत्साहन गरिरहेको बेला खालि चौरमा मनपरि ढङ्गले मारिएका राँगाका मासु अब जनतालाई खान दिने कुरा सञ्चारमाध्यममा आउँदा पनि कसैको ध्यान जान सकेको छैन । काठमाण्डौका म:म भट्टीमा अब गढिमाईमा बलि दिइएका राँगाको मासुका म:म पाक्ने भए । सस्तोमा मासु भेटेपछि राँगा मारिरहने दु:ख कसले गर्छ र !
भर्खरै झाडापखालाको महामारीबाट देश सामान्य हुँदैछ । काठमाण्डौमा पनि मान्छेलाई दुनियाँथरि रोगले सताइरहेको छ । जण्डिस नहुने मान्छे भेट्न गाह्रो भइसक्यो । टाइफाइड, ज्वरो त सामान्य हुन थालिसक्यो काठमाण्डौबासीलाई । सरकारले दिएको खानेपानीमा समेत ढल मिसिएर आउँछ । स्वास्थ्यसम्बन्धी अवस्था यस्तो विकराल हुँदाहुँदै पनि अझ गढिमाईको राँगाको मासु पनि आइपुग्ने भयो काठमाण्डौ । त्यो काट्दा कस्तो फोहोर थियो होला ? काठमाण्डौ ल्याउँदा कसरी ल्याउँछन् होला ? कति फोहोर बनाएर ल्याउँछन् होला ? अनि त्यो मासु खाएर के हुन्छ होला काठमाण्डौवासीको हालत ? सोच्ने फुर्सद कसलाई छ र ! महामारी फैलियो भने सरकार छँदै छ नि, स्वास्थ्य केन्द्रमा नि:शुल्क जीवन जल बाँड्नलाई । जय होस् वलि दिएको मासु बेचेर जनता पोस्नेहरूको !!

12 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!