Saturday, November 28, 2009

म बुबा भएँ छोरीको!!!


यस्ता कुरा लेखेर के हुन्छ ? आफ्नै मनको प्रश्न । मैले गतिलो उत्तर पाईनँ । नलेख्न सकिन अनि त्यै भएर लेखेँ । तर स्विकार्छु, आफ्नै मनलाई सम्झाउन सकिन । फेरि जुन मनले प्रश्न सोध्यो त्यै मनले नै हो उत्तर दिने । के औचित्य रह्यो त यो प्रश्न उत्तरको? म छोरीको बुवा भएँ । सबैले थाहा पाउनु जरूरी छ र ? कुनै पुरूशार्थको कुरो पनि भएन,सवैका हुन्छन् । मनमा दुबिधा चलिरह्यो । तर भावनाहरू सलबलाउन छोडेनन् । म छट्पटिन थालेँ । पोखौँ पोखौँ भयो अनुभवहरू.... अनि त्यै भएर पोखेँ ।

म एकदमै खूसी छु । त्यो कलिलो अनुहार एकतमासले हेर्छु तर आफ्नै काखमा लिने आँट गरिसकेको छुईन । ऊ उसैकी आमासँग रमाएकी छे । म बोलाउन खोज्छु तर के भनेर बोलाउने?? ‘छोरी’ भन्नु कि ‘नानु’ भन्नु कि? मुख लाग्दैन मेरो । छोरीकी आमा पनि हाँसिन् मेरो अनुहार देखेर । म लाजले भुतुक्क भएँ । सायद छोरो मान्छेलाई पनि यतिसारो लाज लाग्दो रहेछ । आफ्नै बानी पहिलोपल्ट थाहा पाउँदै छु । ऊ अझै आमाकै छातीमा मुन्टो टाँसेर बसेकी छे । कति साह्रो भोक लागेको!! कि के हो थाहाछैन मलाई । म फेरि छोरीको अनुहार नियाल्ने कोसिस गर्छु । अघाईछ क्यार अब सुतीसुती खुट्टा उफार्न थाली । खुसी भएरै यसो गरेकी होला भन्ने अड्कल काटेँ । पुसको बेला, विहानभरि मुटु काम्ने जाडो थियो । अहिले उघ्रियो आकाश । अनि घाम पनि लाग्यो । छोरीको अनुहारनै त्यस्तो हो अथवा दिन उज्यालो भएर त्यस्तो देखियो मैले ठम्याउन सकिन । धपक्कै बलेको छ ! मेरी छोरी नै हैन जस्तो! धत् त्यसो नि भन्ने हो । हैन म अलि कालो छु नि त! मनभित्रको वार्तालाप । काखमा बोक्ने आँट गरेँ बल्ल । लौ रून पो थाली । सायद बोकाई मिलेन क्यार ! तर एकछिनमा चुप लागिहाली । अलिअलि अचम्मका आवाज निकालेँ मूखबाट उसलाई खूसी पार्न । यति चै जानेको रहेछू मैले । ऊ खुसी पनि भई । म झन् रमाउन थालेँ । कुन्नी कस्तो अनौठो अनुभव भयो मलाई । यस्तो अनुभव जुन मैले कहिल्यै थाहा पाएको थिइनँ । उसँग खेल्न साह्रै मज्जा लाग्यो मलाई । उसका बालसुलभ हाउभाउहरू देखेर मैले आफ्नै खुसी सम्हाल्न सकिनँ । म उसको निधारमा आफ्नो निधार जुधाउँछु अनि हातैले बोकी बोकी तलमाथि हल्लाईदिन्छु । ऊ मुखभरीका गिँजा देखाएर हाँस्छे । म झन् खुसी हुन्छु । वास्तवमा यो अदभुत आनन्द हो । मेरी छोरी, हाम्री छोरी....शव्दमा वर्णन गर्न सकिनँ त्यो अनुभव ।

अनायसै म प्रतिक्षा गर्न थालेछु उसको बोलि फुट्ने दिनको । साँच्चै सुरूमा बाबा भन्छे कि आमा भन्छे होला ! तोते बोलीले सकिनसकि ‘बाबा’ भनेको सम्झिएँ । तर बोलि पो कस्तो हुने हो? अहिलेसम्म रूँदा मात्र सुनेको छू उसको आवाज । बोल्दा पनि त्यै आवाज हुन्छ कि अरूनै हुन्छ? यसको पनि जवाफ पाईँन । छोरीको अनुहार मेरो जस्तो छैन । काटिकुटी उसैकी आमातिर गएकी छे । झन् माया लागेर आयो मलाई । एउटै अनुहारका दुईजनै, आहा! कति भाग्यमानी रहेछु म त । छोरीलाई काँधमा बोकेर बाटाभरी सबैलाई देखाउँदै हिड्ने मन भयो । तर अलि सानै छे, काँधमा बस्न सक्दिन होला! भैगो अलि पछि त्यसो पनि गरौँला । तर मनमा अझै केहि गरौँ गरौँ जस्तो भइरह्यो । मलाई छोरीसँग बस्ने रहर पुगेन । अनि ऊ सँग खेल्ने पनि रहर पुगेन । मनमा खाली एउटै कुरो मात्र खेलिरह्यो- मेरी छोरी, हाम्री छोरी । मेरै रगत दौडिन्छ उसको नसामा पनि । वाह! संसारै जितेजस्तो अनुभव भयो मलाई । ठूलै पुरूषार्थ गरेझैँ लाग्यो । मनमा भावनाको कमी भएन एकछिन पनि । सोचाईले रोकिने नामै लिएन । अनि अनुहारबाट खुसी-त्यसले पनि झर्ने नामै लिएन । म संसारको सबैभन्दा खुसी व्यक्ति जस्तो लाग्यो । म संसारकै सबैभन्दा सुखी ब्यक्ति जस्तो लाग्यो । मेरो वसमा हुन्थ्यो भने म यतिनैबेला छोरीलाई ‘बाबा’ भन्न लगाउने थिएँ । वास्तवमा म व्याकुल छु यो आवाज सुन्नलाई । किन यतिसाह्रो अधैर्य? थाहाछैन । आफ्नै मुखले ‘बाबा’ भन्छु दुईचार पल्ट उसले सुन्नेगरी । तर छोरी हाँसीँमात्र रही अनौठो आवाज निकालेर । मेरो चाहना पुरा भएन ।

उसको शरिर यति कमलो छ कि मेरो हातले भरै पाउन सकेको छैन । म उसलाई अलिकति पनि पिडा हुन दिन्न । औँला समाईदिन्छु कहिले, खुट्टा चलाईदिन्छु कहिले । कति न्यायो छ उसको शरिर.. अनि सवै कपासले बनेजस्तो मुलायम । उसको हँसाइमा निश्चलता छ, म त्यसै त्यसै हराएको छु ऊ भित्र । जीवन अनुभुतिको पुस्तकालय हो । नयाँ नयाँ अनुभवका पुस्तकले सजिएको पुस्तकालय । अनि यो कस्तो मायालु अनुभुति, सम्झिदा पनि जीउमा तरङ्ग उत्पन्न हुने । यति खुसी.....सायद कुनै दिन म फेरि हुन्छु हुन्न थाहा छैन तर आजको खुसीमा म जीवनको सार्थकता खोज्नेछू अनि सन्तुष्ट हुनेछु । ओहो ! छोरी त रून पो थाली । के भयो मैले मेसो पाईनँ । अनेक गरेँ फकाउन तर रून छोडिन । म अलमल्ल परेँ । अनि हतार हतार उसकी आमालाई लगेर बुझाईँदिएँ । भोक लागेको रहेछ विचरीलाई । मैले जति माया गरेँ पनि उसको भोक मेटाउने क्षमता प्रकृतिले दिएको छैन मलाई । त्यो त केवल उसकी आमासँग मात्र छ । एकछिन पछि फेरि आमाको काखैमा झन् खुसी भएर खेल्न थाली । मैले बोलाउँदा पनि आइन । जति गरेपनि सायद केहि कमि छ म भित्र । अनि यो सत्यलाई पनि मैले स्विकार्नै पर्छ म उसको बाबु हुँ आमा होईन । पहिलोचोटि हिनताबोध भयो मलाई । अनि लाग्यो म त्यो अभागि पुरूष हुँ जसले आमा बन्ने सौभाग्य कहिलै पाउँनेछुईन ।

कति मीठो सपना!! तर कसैलाई भन्ने आँट पनि भएन । छोराछोरी ६-७ वर्षपछि होलान् मेरा पनि ; फेरि लाग्यो म त्यो भाग्यमानी पुरूष पनि हुँ जसले वावु हुँदाको अनुभव समय भन्दा ६-७ वर्ष अघिनै गरिसक्यो!!!!

25 Comments:

  1. Honestly, you have written your feelings so truly that a reader can feel it..I have never ever thought about that a father will be happy like this for the first time he becomes father...

    And the last lines...are touchy though...that males are unable to breastfeed their child....

    We are humans...and everyone is born with his her own specialty..and there is nothing to regret about Ashesh....

    Cheers...for the one who became father so early...and is so happy... :)
    ReplyDelete
  2. थाहा छैन किन हो मलाई पनि एकदमै खुसी लाग्यो..पढ्दै जाँदा अक्षर र शब्दहरूसँगै मैले पनि वर्णन गरेको कुरा भोग्न थालेछु । साँच्चै म पनि बाउ भएर छोरी खेलाको कल्पनामा शब्दसँगै बगेछु । कस्तो अनौठो अनुभुति भयो । 'Words have Power' भन्ने कुरा साँच्चै रहेछ । तर शब्दलाई शक्तिशाली भने बनाउन जान्नुपर्छ जुन कुरा यो टाँसोको प्रमुख विशेषता बनेको छ । मज्जा लाग्यो मलाई त !
    ReplyDelete
  3. तपाईले खेलाएका शब्दको संजाल र मिठौ कल्पना मेरा लागि चाहिँ साच्चै नौलो हैन। कारण मेरो साच्चिकै छोरी छिन। तर अनुभवको हिसाबले तपाईले लेखे जस्तै हुने गर्छ। तर बच्चा पाई सके पछि तपाईले पहिलो पटक आमाको मुख हेर्नु भयो वा छोरीको त्यो चाहिँ लेख्नु भएन, सायद कुनै कुराको अनुमान लगाउन सकिन्थ्यो। तर तपाईको लेखाईले मेरो भोगाईलाई हु-बहु उतार्‍यो। तपाईको लेखाई सरल र सरर बगेकै पाए यस पाली पनि। मन छोयो है निकै।
    ReplyDelete
  4. विवेक राज श्रेष्ठ" तथास्तु"Nov 28, 2009 06:43 AM
    साच्चै नै शब्द-शब्द मा अनुभूति भरेका छौ अशेष तिमीले यो लेखमा।तिमीलाई धेरै-धेरै धन्यबाद मलाई पनि यो उमेर मा नै बाउ हुने खुशि महसुस गराइदियौ तिमीले। अनि धन्य तिम्रो लेख अनि धन्य तिम्रो सोच नारी को यति राम्रो र सशक्त बर्नण गरेको मा। जो कोहि होस,चाहे तिम्री आमा या तिम्री पत्नि, तिम्रो यो लेख को लागि तिमी प्रति सदा गर्व गर्ने नै छन्। त्यो भन्दा अझ हरेक नारी जो यो लेख पढ्नेछन् ती सब आफै माथि पनि गर्व को अनुभव गर्नेछन्। यो सब को लागि तिमीलाई धेरै बधै छ अशेष।
    ReplyDelete
  5. निमेशNov 28, 2009 07:38 AM
    अहो!!!!अशेष दजुले साह्रै राम्रो लेख लेख्नु गर्नु भएछ, मलाइ त साह्रै राम्रो लाग्यो। वास्तबमै दाजुले बहुतै भावनामा डुबेर लेख्नु भएछ। मलाइ त साह्रै घत पर्यो दाजुको लेख!!!!
    ReplyDelete
  6. kasto ramailo dhanga le lekhnu bhako dai. padhda kheri aafunai buba bhako jasto lagyo...
    ReplyDelete
  7. Was it dream?? really ?? ha.....ha...
    Good one. Keep it up ashu.
    ReplyDelete
  8. सुभाषNov 28, 2009 10:02 AM
    हेर मित्र छोरा र छोरी एकै हुन आमा नभए के भो त हामीले दिने माया र स्नेह त आमा भन्दा कम छैन तर पनि पुरूषको जिवनमा त्यति हो कमि्।।।केहि छैन मित्र जे छ त्यसमा खुशी हुनु राम्रो हो्।।।लेख त राम्रो छ।।मलाई खुब मन परयो।।।।
    स्याबास्
    ReplyDelete
  9. Chori bhaneko ghar ko laxmi bhanya sahi nai rahechha ! dada, hajur ko post ley mann chuyo aaja..
    ReplyDelete
  10. वाह, कल्पनालाइ यसरी छुने गरे लेख्नसक्ने तपाइँको शब्दमा जादु छ । बधाइ अनि धन्यवाद छ यति मिठो लेखको निम्ति ।
    ReplyDelete
  11. wow........greatly expressed..i love it...keep on writing!!
    ReplyDelete
  12. This comment has been removed by the author.
    ReplyDelete
  13. अशेश ब्रो, मलाई पनि आट आयो तपाईंको एस्तो सपना सुनेर.. शायद म पनि अझै केही गर्न सक्छु होला..फेरी तपाईंलाई वाक वाक आउने खान मन नलाग्ने अमिलो कुरा मात्र खान मन लाग्ने त भाछैन ?.. केही गडबडी पो छ जस्तो लाग्यो है.. एकपटक बाथ रूम मा गएर चेक् गर्नुस् त ;)
    ReplyDelete
  14. जीवन अनुभुतिको पुस्तकालय हो । नयाँ नयाँ अनुभवका पुस्तकले सजिएको पुस्तकालय ।
    ReplyDelete
  15. आफैं पनि सानी छोरको बाऊ भएकाले, यो आलेख मेरोलागि पनि निक्कै रोचक र भावनापूर्ण रह्‍यो । उत्कृष्ट !!
    ReplyDelete
  16. ल तपाईंलाई बधाई छ छोरी को कल्पना गर्नु भएको मा
    ReplyDelete
  17. लेख पढ्दा पढ्दै मेरी सानी छोरी ओछ्यानमा उठ्न लागिछे | ऊ रोएको देखेर भान्सामा खाना तयार गर्दै गरेकी मेरी श्रीमतीले मलाई हेरी सकेकी छन् | र मैले उनलाई बुझिसकेको पनि छु |
    फेरी यो त मेरो रहरको बिषय पनि हो अशेशजीको जस्तै |
    ReplyDelete
  18. very good writing.., keep it up...
    ReplyDelete
  19. वाह ! क्या मज्जाको विम्ब । हरेक महिलाहरुको आमा बन्ने चाहना र रहर हुन्छ भन्छन् तर यस पोष्ट पढिसकेपछि त पुरुषहरु पनि बाबा बन्न चाहन्छन् जस्तो लाग्यो । त्यो सोभाग्य प्रदान गर्नुभएकोमा धन्यवाद ।
    ReplyDelete
  20. आहा कति मिठो अनुभूति ...
    पढिसकेपछी कसैले कल्पनाकै भरमा अनुभूतिका यति सुन्दर तरंगहरु पस्कन सक्दो रहेछ भन्ने लाग्यो ।
    प्रस्तुति सुन्दर छ ।
    ReplyDelete
  21. कति मजाले भावनात्मक मितेरी गाँस्यो यो अनुभूतिको वेगले । शायद यस्तै गर्नुपर्ने हो कि पछि बच्चाबच्ची हुँदा, बाटो खुले झैँ लाग्यो । ;)

    निकै जीवन्त र चित्रमय अनुभूति लाग्यो, जुन विपनाको फुरुङ्गभन्दा कम आवेगपूर्ण छैन ।
    ReplyDelete
  22. sachai chori nai najanmai kana real babu banne prayas sarthak bhako cha ashesh ji.....
    ReplyDelete
  23. sachai dheri ramro rahe6 mali pani man paryo
    ReplyDelete
  24. दाजु साह्रै नै राम्रो लाग्यो लेख। फुर्सतै नभएर लामो समयपछी तपाईंका लेखहरु पढ्दै छु। यो लेखले त मेरो मन नै छोयो। बेला त अली भाछैन तर पनि मनमा काउकुती लगायो। सबैलाई यस्तै लाग्छ होला हैन त? बाँकी कुरा अब आँफैलाई परेपछी बुझिएला।
    ReplyDelete
  25. सपना या कल्पना?? !!! सुन्दर अभिब्यक्ति म त अचम्म परिराकी छु तिम्रो लेख देखेर .....वास्तब मै तिमी धैरै भावनामा बग्ने मान्छे हौ त्यो त मलाई थाहा छ !--कुनै दिन यहि कुरो सत्य हुनेछ हैन र? :)
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम