Tuesday, December 01, 2009

पितृलाई पुस्तकको पिण्ड!!

प्रज्ञा प्रतिष्ठान छ राजधानीमा तर प्राज्ञहरू छैनन् । सरकारले प्राज्ञ भनेर नडामुञ्जेल विद्वान प्राज्ञ हुँदैन हाम्रो देशमा । त्यसैले प्रज्ञा प्रतिष्ठान सरकारको धर्मशालामा परिणत भएको छ यतिबेला । त्यो धर्मशालामा रमाईलो मेला लाग्छ, बोर्डिङको वार्षिकोत्सव हुन्छ, वित्तिय संस्थाहरूको खेलकुद हुन्छ ।

यसरी राजधानीको प्रज्ञा प्रतिष्ठान धर्मशालामा रूपान्तरित भएपछि म जनताले बनाएको प्रज्ञा प्रतिष्ठानतिर हान्निएँ शुक्रवारको दिन । शुक्रवार,अर्थात २०६६ साल मंसिर १२ गते, तद्अनुसार नोवेम्वर २७ तारिकका दिन ।

हेटौँडामा छ एउटा जनस्तरबाट स्थापित प्रज्ञा प्रतिष्ठान । हरेक महिना प्राज्ञहरू भेला हुन्छन् । सिर्जनाका कुरा गर्छन् । कुलपति आर.सी रिजालले घरको आँगन काटेर संस्थालाई जमिन दान दिएका छन् । हिजो आफैँ अघि सरेर सिमेण्टका वोरा बटुले । दानवीरहरूले इँटा दिए, छड दिए र विश्वासको पक्की घर बन्यो । घर बाहिर गेटमा सूचना पार्टी टाँसे:-............।
कोठाभरी सोफा र कुर्सी सजाए । न सरकारलाई लाछी भन्नुपर्यो । न सिमाना बाहिरका दानविरहरूको पाउ मुसार्नुपर्यो । न कसैको मुख ताक्नुपर्यो । सरकारले बनाई दिएको प्रज्ञा प्रतिष्ठान ऊ सँगै सतीजान सक्छ, जनता लागेर बनाए भने त्यो अजर-अमर हुन्छ ।
‘कोई न कोई पाखुरीनै पोई’ भनेको यहि त होला ।

अँ, हेटौँडा प्रस्थानका कुरा भन्दै थिएँ -

हो, शुक्रवार दिउँसो ११ बजे कथाकार घनश्याम शर्मा र कवि आनन्दराम पौडेल साथै लिएर हाम्रो गाडी थानकोट नाकाबाट बाहिरियो । ‘बाईरोडको बाटोमा धुलो उडाउँदै’ साँझ ६ बजे एभोकाडो होटलमा गाडी रोकियो । आ-आफ्ना झोला बोकेर १०६ नम्बर कोठाभित्र पस्यौँ । आयोजक प्राज्ञ निमेशनिखिल र श्याम बानियाँले चिसो मौसममा तातो स्वागत गरे । एकछिन कोठैमा जम्यौँ अनि रेष्टुरेण्टमा रम्यौँ । मर्यादित र अनुशासित रम्याई पारदर्शी र त्रिकालदर्शी भयो ।

१३ गते जनताको प्रज्ञा प्रतिष्ठानमा झरिलो र भरिलो उपस्थिति भयो । उद्घोषक रामशरण पुडासैनीले कार्यक्रम सुरू हुने घण्टी बजाए । हामीलाई आशन ग्रहण गराए । मलाई प्रमुख अतिथि बनाए । आनन्दराम र घनश्यामलाई अतिथिमा सजाए । निमेशनिखिलको सभापतित्वमा सभा अघि बढ्यो । कार्यक्रमको शीर्षक थियो..............................

आज कुलपति आर.सी रिजालले आमालाई तर्पण दिने दिन रहेछ । उनले सर्वप्रथम पुष्पलाल पुस्तकालयलाई ७ थान पुस्तक सिदा दिए । पितृका नाममा पिण्ड दिने होईन पुस्तक दिने चलन चलाए उनले । १४४० मुल्यका ६ ठेली पुस्तक उचाल्दा पुस्तकालयका सभापतिको काँधपनि लच्कियो ।

मोरङका कलाकार नविन सुवेदीले ढुंगामा कुँदेर बनाएको हाँस्यकलाकार भैरव अर्यालको शालिक छ हेटौँडामा । तिनै कुलपति रिजालले बनाउन लगाएका । हरेक वर्ष हाँस्यव्यङ्ग्यको विधामा ११ हजारको पुरस्कार दिने गरेका छन् । आमाको नाममा रिजालले पुस्तकको पिण्ड लडाइसकेपछि पुर्णप्रसाद अर्याल माइक्रोफोनमा उभिए । उनले अर्याल बन्धु समाज नेपालको तर्फबाट जातीय आरोप चैँ नलागोस् है भन्दै घोषणा गरे- ‘अवको भैरव जयन्तीदेखि ११ हजारको पुरस्कारको राशि हाम्रो समाजले उपलब्ध गराउनेछ ‘। प्राज्ञहरू रौशिए, हौसिए । उच्च रक्तचाप झर्नेगरी ताली बजाए । त्यसपछि गजलका मुठा, कविताका विटा र गीतका लहर वहर भएर दौडिन थाले । राधिका अधिकारी’आँशु’ले रचना वाचनको घुम्टो खोलिन् गजलको बहरबाट-

“सिउँदोभरी सिन्दुरको आशा बोकी रहेँ

देख्लान् सबले आँशु भनी आँखा रोकि रहेँ....”

फेरि गजलको दाम्लो चुँडाएर सरिता शशीले मैदान माडीन्-

“बाबुले छोरी कन्यादान गरेपछि आयौ

खाली सिउँदो पराईले भरेपछि आयौ...”

ढिलो आइएछ भनेर अतिथि घनश्याम शर्माले प्रमुख अतिथितिर आँखा फर्काए । “ठिक्क पर्यो, तिमीलाई कसले भद्रो हेरेर बस्न लगाएको थियो त यतिका वर्ष” भनेर लोपारी दिएँ । पाका प्राज्ञहरूले गीत बजारे त्यसपछि । ओहो! शम्भुप्रसाद बाँस्कोटाको स्वर कति राम्रो । लय नझारी गाए-

एउटा फुल देखेँ मैले बोटमा हाँसी झुलेको

टिप्न जाँदा सोधेँ मैले कसको लागि फुलेको ?

डा. गणेशकुमार पौडेल अनुहारको चमक हेरीहेरी जनमत पत्रिका बाँड्दै थिए- उद्घोषकले प्याट्टै नाम बोलाई दिए । डाक्टरले टेथिस्कोपको झोला कुर्सीमा बिसाएर माईक्रोफोन समाए-

“नजाऊ छोरी जर्मनी लाउडामा अव उडेर

बनीदेउन अव सुस्री बुबाको त्यो मुहान हँसाउन”

रउसे रहेछन् डाक्टर। मान्छेको स्वास्थ्य मात्र हैन राजनीतिको स्वास्थ्य पनि जाँच्दा रहेछन् । झम् झम् नाच्नेगरी गीत गाए । अझै पाका प्राज्ञ तुलसी घिमिरे भन्दै थिए-

“जाग जाग अव जागन जाग

भाग भाग वैरी हो भाग न भाग”

झण्डै दुईघण्टा कविताको वर्षा भइरह्यो । छवि अनित्य, वीरेन्द्र पौडेल, अभिषेक पौडेल, दिपक गौतम, सुभाष खनाल, रामकुमार एलन, खेम बोलखे, माधव भण्डारी, चिरञ्जीवी चकोर, अरूण खतिवडा, मोदनाथ पोख्रेल, देवराज खरेल, नरेन्द्र परासर, नवराज शर्मा, घनश्याम शर्मा, आर.सी रिजाल, आनन्दराम पौडेल आदि स्रष्टाहरूले सिङ्गो हललाई जुरूक्क उचाले । प्रताप विष्ट र भानुभक्त आचार्य पत्रकार रहेछन् । उनीहरू त घुटुक् घुटुक् थुक निलेर बसीरहे ।

कार्यक्रम सकिएपछि प्रमुख अतिथिले संस्कृति मन्त्रीलाई ईमेल पठाए-

मन्त्रीज्यू! त्यता नेवा:राज्यको प्रज्ञा प्रतिष्ठान के गर्दैछ? यता ताम्सालिङ राज्यको प्रज्ञा प्रतिष्ठान त क्रियाशील छ है

प्रस्तुति: अनिल पौडे

कार्यक्रमसँग सम्बन्धित केहि तस्विरहरू:-






21 Comments:

  1. स्थानीयबासिले आफ्नै पौरखले त्यत्रो संस्था ठडयाएको देख्दा गौरब लाग्यो | चाहने भने नेपालमा गर्न नसकिने केहि छैन |

    रमाईला कविता सहितको बर्णनको लागि अनिलजीलाई धन्यबाद |
    ReplyDelete
  2. विषयवस्तुले गौरवबोध दियो, प्रस्तुतिले आनन्द दियो। धन्यबाद जनताको प्रज्ञा-प्रतिष्ठान बनाउने कर्मशीलहरुलाई!
    ReplyDelete
  3. साहित्य सङ्गमलगायत मोफसलको सकृयता लोभलाग्दो छ साह्रै, बरु 'फसल' पो रित्तो छ ।
    बोलीचालीको भाषामा काव्य दिने अनिल दाइले आफ्नो त्यही विशेषता खर्चदै मोफसलको फसलप्रति आशलाग्दो विवरण प्रस्तुत गर्नुभयो । जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान त्यत्तिकै बन्या होइन रहेछ । टाउकेहरूको हिसाबकिताब नमिल्दा भुँडी पसारेर त्यत्रो ठाउँ ओगटेर बसेको राष्ट्रको प्रज्ञा प्रतिस्ठान बेकामी छ । बोर्डिङ स्कुलको उफ्रिपाफ्री कार्यक्रम र अन्य संस्थाको साधारण सभाका लागि हल भाडामा लगाउँदै 'असाधारण' खुबी देखाउँदो छ आफ्नो । साहित्य-कलाको लागि व्यक्तिगत प्रयासमाथि नै मुन्टो टेकाएर थाक्ने भएन राज्य ।
    ReplyDelete
  4. शुभकामना सिर्जनशिल हातहरूलाइ । धन्यवाद कवितासहितको पोस्टको लागि ।
    ReplyDelete
  5. आमालाई तर्पण दिने दिनमा पुस्तकको सिदा दिएको कुरा उदाहरणीय छ। जनताको प्रज्ञा-प्रतिष्ठानलाई शुभकामना मेरो पनि।
    ReplyDelete
  6. आहा…॥ मलाइ पनि जाउ जाउ लाग्यो नी कार्यक्रममा ।
    मिठो प्रस्तुतीले अझै कार्यक्रममा रौनक थपेको छ ।
    गाउमै जन्मेर हुर्केर होला शहरको अस्वस्थ कलमले तान्न सकेन अझैसम्म मलाइपनि ।
    झन घर बाहिर भएपछि त आफूले उडाएको धुलोको पनि माया हुदोरहेछ ।
    साच्चै मन छुने लेखाइहरु बाहिर आउनु पर्छ रातारात बजारमा आएको उरन्ठेउलो
    साहित्यबाट नेपाली साहित्यलाइ जोगाउन ।

    सिउदोभरी सिन्दुरको आशा बोकीरहें
    देख्लान सबले आशु भनी आखा रोकीरहें ।

    ओ…हो……। साच्चै राम्रो गजल छ

    मलाइ पनि अलिकति थप्न मन लाग्यो यहां ……

    कति चाडै विसर्िएका हाम्रा मिठा बातहरु
    अरुबाट लुकाएका योजनाका खातहरु

    हा………। हा……। राधिका अधिकारीलाइ अरु पनि लेख्न
    अनुरोध गर्छु ।
    अर्को
    एउटा फुल देखें मैले बोटमा हांसी झुलेको
    टिप्न जांदा सोधे मैले कसको लागि फुलेको
    यो पनि खतरा छ……॥
    बास्तबमा, हो फुल टिप्न जाने मान्छेले फुललाइ कसको गलामा सजिन मन लागेको छ एकपल्ट सोध्नै पर्छ होला हा……हा………
    यो साह्रै ठुलो ब्यंग हो जब्बरजस्तीहरुलाइ ।
    हाम्रो प्रज्ञालाइ नेपाली पार्टी सैनिक भर्ती क्याम्प नाम राखे बरु हुन्थ्यो होला । प्रज्ञा भन्दा प्रज्ञा शब्दले हाम्रा धेरै राम्रा लेखकहरु
    को इज्वत माथि प्रश्न उठाएको हो कि जस्तो लागेको छ मलाइ ।
    राम्रो लेखाइको लागि पलेरी पनि धन्यबाद है । यस्ता पढन पाइरहुं ।
    ReplyDelete
  7. धेरै चोटिलो लाग्यो लेख | कर्यक्रममा आफू पनि भएको भए भन्ने पनि भयो | निक्कै प्रेरणामूलक लेख छ |
    "मन्त्रीज्यू! त्यता नेवा:राज्यको प्रज्ञा प्रतिष्ठान के गर्दैछ ? यता ताम्सालिङ राज्यको प्रज्ञा प्रतिष्ठान त क्रियाशील छ है"- सारै कस्तो कस्तो प्रभाव पर्यो यीं दुई हरफहरूबाट | अनिलजी र अशेषजी दुबैमा धन्यबाद |
    ReplyDelete
  8. मेरोलागी यो नितान्त नयाँ खबर हो, तर पढ्दै जाँदा निक्कै रोमान्चीत भएँ।

    एकदमै प्रेरणात्मक थालनी भएको रहेछ यसका सबै अग्रजहरू प्रति हार्दिक आभार र साधुवाद ।
    ReplyDelete
  9. एकदम चाख लाग्दो लेख , पढ्दै जाँदा निकै रमाइलो लाग्दै गयो सुन्दर् गजल, मिठा कविता र साहित्यनुरागिहरुको तस्विर सहित लेख वास्तबमै खदिँलो लाग्यो मलाई त धन्यवाद ...
    ReplyDelete
  10. कतिपय सामाजिक कुप्रथाहरु जसले कसैलाई पनि फाइदा गर्दैन सबैलाई हानि मात्र गर्छ तिनमा सुधार गर्न मा सचेत वा प्राज्ञ हरुको नै प्रमुख भूमिका हुन्छ आमा को नाम मा पुस्तक तर्पण गर्ने काम राम्रो हो तर तेस्तो प्रयास लिपपोत गर्ने र देखावटी मात्र भयो भने पनि खासै अर्थपूर्ण नहोला

    म सबै प्राज्ञ हरु चाहे ति सरकारी प्राज्ञ हुन् वा जनता का तपैहरुले यदि व्यक्तिगत रुपमा गर्न गारो हुन्छ भने कमसे कम येस्तई जमघट बाटै भए पनि हामि आफ्नो, वा छोरा छोरि को बिहे मा दाइजो लिदैनौ, अनाबस्यक भोजभतेर गर्ने वा जाने छैनौ, तडक भडक प्रदर्शन गर्ने छैनौ, छुवा छुत गर्ने छैनौ, आदि जस्ता सयौ सकारात्मक र सान्तिपूर्ण समाज परिवर्तन का घोसणा किन गर्नुहुन्न ?

    होइन भने, सरकार ले हामिलाई प्राज्ञ भनेन तेसैले हामि आफै एक अर्कालाई प्राज्ञ भनौ भन्ने अर्थ मा मात्र येस्ता कार्यक्रम सिमिति रहे भने हामि हेर्ने र पढने लाइ खासै के मजा होला र ?

    जय नेपाल
    ReplyDelete
  11. गोपालDec 2, 2009 10:22 PM
    नेपाली साहित्यलाई उकास्नका लागि जनस्तरबाट हुने यस्ता कामहरू सधैँ कदरयोग्य हुन्छन्....धन्यवाद अनिल सरलाई यस्तो राम्रो जानकारीका लागि..
    ReplyDelete
  12. साह्रै सुन्दर कार्य। मेरो पनि हार्दिक शुभकामना अग्रजहरुलाई।
    ReplyDelete
  13. Ghanasyam SharmaDec 4, 2009 04:33 AM
    धेरै राम्रो कुरा....
    ReplyDelete
  14. साह्रै गौरवानुभूति भयो , अब यस्तो प्रतिष्ठानहरु देशैभरि उम्रदै जाउन, अनुकरणीय कार्यको थालनी गर्ने सिर्जनशील मनलाइ सलाम ।
    ReplyDelete
  15. क्या मज्जाको प्रस्तुती जति पढ्दै गयो त्यति पढिरहूँ लाग्यो मलाई ।
    साहित्यिकमा सहभागी हुन म पनि हौशिन्छु तर दूर्भाग्य भन्नुपर्छ त्यहाँको तुलनामा यहाँ साहित्यिक कार्यक्रमहरु औंलामा गन्न सकिने हुन्छन् ।
    ReplyDelete
  16. Thanks Anil Dai
    In fact we haven't done anything. Just trying to express our ideas and providing floor for the young generation. Love from elders like you is always expected. Thanks again to you as well as Ghanashyam Sharma and Ananda Ram dai too.
    Nimesh Nikhil
    9845299999
    9845236666
    9745029111
    057521585
    Hetauda
    Chairman
    Sahitya Sangam Makwanpur
    ReplyDelete
  17. आफ्नै पाखुरीको मझेरीमा रमेका ताम्सालिंग राज्यबासीलाई पढ्न पाउदा गदगद भए |
    लेखनाशैलीलाई मरमसला पुरयाएर पस्कनु भएकोमा धन्यबाद |
    ReplyDelete
  18. padhna laidhila vayae pani ramro postlagyo
    ReplyDelete
  19. रामशरण पुडासैनीDec 13, 2009 10:03 PM
    सुमधुर लेखाइ, याथार्थिक प्रस्तुति र बस्तुपरक विश्लेषण छन्, अनिल पौडेलको लेखाइमा । हामीले मकवानपुरे सिर्जनाकर्मीहरुलाई दीक्षित गराउन र अनुभूतिहरु आदानप्रदान गर्न सङ्गमको आँगन तेस्र्याएका हौँ । प्रचारप्रसारमा त्यति सशक्त उपस्थिति छैन, मकवानपुरे सिर्जनाकर्मीको । साहित्यसिर्जनालाई धर्म ठान्नेहरुले आफ्नो धर्मको प्रचारप्रसार गर्दैनन् र यसै राम्रो हो यसै गर्नुपर्छ पनि भन्दैनन् ।
    मोफसलमा हामी केही जमेका छौ, प्रचारपंसारको लालच छैन । समयान्तरले स्वयम् प्रचारप्रसार गर्छ– राम्रो गरेका रहेछौँ भने, भन्ने हामीलाई लागेको हो । पछिल्लो समय प्रचारका भोकले त होइन, मकवानपरमा दशकदेखि मेहनतले राम्रो (स्तरीय) सिर्जना गर्नेहरु थुप्रै जन्मेपछि उनीहरुको व्यापकताका लागि केही गर्नुपर्छ भन्ने लागिरहेको हो । स्थानीयस्तरमा साहित्यक संस्थाको क्रियाशीलता मात्र होइन, वर्तमान युग र भविश्यको चिन्ताले हेटौँडामा नगरपालिकाको साझेदारीमा जिल्लाकै ठूलो पुस्तकालय ७ वर्षदेखि सञ्चालन गरिरहेका छौँ ।
    हामीले अहिले आफ्नै वेवसाइट निर्माण गरेर मकवानपुरे साहित्य र हामीले गरेको काम साहित्य र सस्कृतिका शुभचिन्तकसम्म पु¥याउनुपर्छ भन्ने ठानेका छौँ । पुस्तकालय, सङ्गम, आरसी रिजालहरुको प्रचार हाम्रो पुस्ताले गर्नैपर्छ । अनिलदाइलाई थाह छ, आरसी रिजालले जिम्मामा सङ्गमलाई लिदा कस्तो थियो, अहिले कस्तो बनाएर अर्को पुस्तमा हस्तान्तरण गर्नुभएको छ । हामी सामजिक परिवर्तन र रुपान्तरमा कोसेढुङ्गा बनाउने प्रयत्नमा छौँ, जहाँ अनिलदाइले भन्नुभएजस्तै परिवर्तन जरुरी छ । आमाबुवाको श्राद्ध धेरैले गर्छन् तर रिजालले जुन शैलीमा श्राद्ध गर्नुभयो, विरलै कसैले गर्ला, यही परिवर्तन र परिवर्तनका पूर्वाधारहरु हामीले बेवमार्फत फिँजाउन चाहेका छौँ, जुन हाम्रो दायित्व हो । त्यो सङ्गमको यसैवर्षको कार्ययोजनामा छ । त्यसको प्रारम्भिक कडी गफगाफ डट कम मार्फत् अनिलदाइले जोडिदिनुभयो । साहित्य सङ्गम मकवानपुर र मकवानपुरे सिर्जनाकर्मीको तर्फबाट उहाँको मुक्तकण्ठले प्रशंसा गर्छु ।



    रामशरण पुडासैनी
    सचिव
    साहित्य सङ्गम मकवानपुर
    ReplyDelete
  20. लेख एकदमै राम्रो लाग्यो ।
    ReplyDelete
  21. संस्मरणात्मक रचना राम्रो लाग्यो ।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम