Wednesday, December 23, 2009

नेपालवन्द र कविज्यू!!

३ दिनको नेपाल-वन्द!! वाहिर वाहिर “यो वन्दले त खत्तमै गर्यो” भनेर जतिसुकै डुक्रिए पनि तीन-तीन दिनको विदा सोचेर मनचैँ साह्रै खुसी थियो । हुन त आफै कुनै उध्योगको उध्योगपति भए देखि, ज्याला मजदुरी गरेर कमाउनु पर्ने भए देखि अथवा सानतिनो व्यापारी व्यवसायी नै भएदेखि पर्नलाई त पीर पनि पर्थ्यो होला नि यो मनमा । चिन्ता नपर्ने त कि सरकारी जागिरेलाई कि खासै पढ्न मन नपराउने २-४जना तोरीलाउरे विध्यार्थीहरूलाई!! म दोस्रोमा परेँ । दैनिकि पुरै विग्रियो यो तीन दिनमा । सुकला रातिको १ वजे अनि उठाई विहानको १०:३० वजे । वेईज्जती कुरा । अरूले सुनेभने पनि के भन्दा हुन् छ्या... त्यसो त देश हामीजस्ता जागरूक युवाहरूकै हातमा छ भनेर टपर्टुईयाँ गफ पनि नहानिने हैन वेला वेला । अनि यति जागरिला फूर्तिला युवाको निन्द्रा खुल्ने समय विहानको १०:३० वजे । आफैदेखि लाज लाग्न थालिसक्यो । एकमनले त ठीकै नि हो...भोलिदेखि त फेरि एकाविहानै कुकुरले खै के नि नखाईकनै क्याम्पसमा हाजिरहुनुपर्छ । सुतिदिऊँ न विदाभरी जे पर्ला । मरिलानु के नै छ र........

जीवन कति सुखी हुन्थ्योहोला आफुले सोचेजस्तै भैदिए सबैकुराहरू । त्यही वन्दको तेस्रो दिन- मंगलवार, मेरो सुत्ने चाहनामाथि पानी खन्याउन एकाविहानै घरैमा आईपुगे एकजना कवि । आउन त वुवालाई भेट्न आएका तर फेला पर्यो यो सुतुवा जागरूक युवा... ‘वुवा त ईटहरी जानुभाको छ सर, अहिले यहाँ हुनुहुन्न’ । मैले ढोला नखोली उनको प्रश्नको उत्तर दिएँ । सोचेको थिएँ- यति भनेपछि फर्केलान् भनेर । हे फसाद...कविज्यूलाई भित्रै नआई भएन । भाउन्न छुट्ला जस्तो भयो मलाई । खिस्स देखावटी हाँसो निकाल्न नि साह्रै अप्ठेरो हुने भन्या । घडी हेरेँ- विहानको साढे ६ भएको रहेछ । रातीको अवेला सुताई... यि कविले विजोग पारे आज मलाई.......

एकैछिनमा गफ सुरू भैहाल्यो वैठक कोठाभित्र । अलि अलि घरेलु वातचित सकिएपछि कविज्यु त्यै काम गर्न लागे जुन नहोस् भनेर म मनमनै प्रार्थना गरिरहेको थिएँ । अन्दाजी १००-१५० पानाको थोत्रो थोत्रो डायरी निस्कियो झोलावाट । अव घटिमा १५-२० वटा कविता सुन्नुपर्छ मैले त्यो पनि उज्यालो अनुहार बनाएर । लौन कसैले वचाउनुपर्यो मलाई...मनमनै गुहार पनि नमागिएको हैन । भाई....यि प्रगतिशिल लेखक भनाउँदाहरू नाम मात्रका छन् । कुन चाहिँ त्यस्ता लेखकले प्रगतिशिल लेखनलाई न्याय गरेका छन् भन त मलाई... उनी बोलीरहदाँ सँगसँगै आक्रोस पनि पोखिरहेका थिए । त्यो मोदनाथ प्रश्रीत कसरी प्रगतिशल भयो ? सेता पानामा थारा अक्षरलाई घाँस हाल्दैमा प्रगतिशिल भईन्छ ? उनी झन्-झन् चर्किदै थिए । अनि म...ठूलै दिव्यज्ञान प्राप्तगरेझैँ जवरजस्ती मूख च्यातेर हो मा हो मिलाउँदै थिएँ । कविज्यू झन् झन् अनुहार रातो वनाउँदै जोसिदै थिए । प्रगतिशिल लेखक मात्र भएर के गर्नु? हामीजस्ता ‘पाउर’ नभएका निरिह सर्जकहरूको त केहि सोधी खोजीनै हुँदोरहेनछ यो देशमा । मलाई त अचम्म लाग्छ भन्या । यो १-२ दिनको विचमै कसैले उनको मन नराम्ररी दुखाएछ भनेर सजिलै अड्कल काट्न सकेँ मैले । तर मैले गर्न सक्ने भनेको चुपचाप उनका कुरामा टाउको हल्लाएर सहमति जनाउने मात्र । यसैवीचमा पीरो मरिच हालेको चिया उनका अगाडि टक्राएँ । रगतै चुहेला जस्तो उनको अनुहार अलि मत्थर भयो । झ्याल वाहिर वातावरण सेताम्य छ हुस्सु लागेर । मुटुकाम्ने चिसोमा चियाको सर्को तान्दा पेटसम्मै तातो पुगेको आफैले महसुस गर्न सकिन्थ्यो । तर काम्न चाहिँ छोडिएको थिएन ।

भाई...अंकलले मसँग किन यस्ता कुरा गर्या होला भनेर तिमीलाई अप्ठ्यारो लागिरहेको होला...उनी अझै बोल्न खोज्दै थिए, म बीचैमा प्वाक्क हान्निएँ:-“छैन अंकल के को अप्ठेरो लाग्नु नि । झन्न यतिका कुरा हजुरसँग सिक्न पाउँदा..। उनी एकछिन हाँसे । हाम्रा कुरा यस्तै हुन् भाई के गर्नु । तिमेरू अलि कलिलै छौ । वरू वुवालाई चैँ भेटेर दिनभरी गफ हान्ने विचार थियो वन्दको सदुपयोग नि हुन्थ्यो आज..हा हा हा.....। त्यै त अंकल, अव ३ दिनमा त आईहाल्नुहुन्छ अनि फेरि आउनुहोला नि । घुमाउरो पाराले विदा दिन खोजेँ मैले तर एकसुरे कविले किन पो वुझ्थे र !

ल ठीकै छ त्यसोभए । बोरू भाईलाई पो साहित्यमा कत्तिको रूचि छ, म एउटा कविता सुनाउँछु है त । मेरो अनुहार हेर्न लायकको भयो । जवाफको प्रतिक्षा नगरीकनै उनी भट्याउन थाले,

“सार्दूल आफैमा...................................................

म आफैँ विचल्लित मनले....................................

शिव ‌ॐ शिव ॐ शिव ॐ शिव ॐ...................”

लौजा....छाँगाबाट खसेजस्तो भएँ म । आफूलाई भयङ्कर प्रगतिशिल भनाउने यि कविको कविता त कैलाश पर्वतमा सुनाउने खाल्को पो रहेछ.....त्यसै अघिदेखिको खिन्न मन, झनै बिग्रियो । उनी अरू पनि कविता भट्याईरहेका थिए तर मेरा कानवाट भित्र छिरेनन् । सुनेको जस्तो अनि मन परेको जस्तो मात्र गरिरहेँ । उनी ९ वजेतिर बाटो लागे ।

धैरै कुराहरू खेल्नथाले त्यसपछि । यो प्रगतिशिल भन्ने वादमा लागेकाहरूले कस्तो रचनाहरूको सिर्जना गर्छन् त्यो त साह्रै थाहा भएन मलाई तर यति चैँ ठोकुवा गरेर भन्न सक्छु; प्रगतिशिल धारका लेखक साहित्यकारहरू भगवानलाई चाहिँ मान्दैनन् । अनि यि कवि चैँ कुन प्रकारका प्रगतिशिल परेछन् मैले थाहा पाउन सकिन ।भित्र भित्र के गर्नछन् त्यो त थाहा छैन तर कमसेकम लेखनीमा यस्ता कुरा आउनुलाई प्रगतिशिल साहित्य मानिदैन । भन्लाई त सर्वहाराको पक्षमा कलम चलाउने अनि अध्यात्मलाई त्यति महत्व नदिने भनेर चिनाउछन् आफैलाई तर मेरो मनको आफ्नै तर्क चैँ के भने यस्ता कुनै वादको पछि नलागी के असल साहित्यको सिर्जनै हुँदैन र? लौ भैगो यस्ता कुरा धेरै गर्दिन । कुरोको चुरोलाई समाउदा, वाद योस् या निर्वाद साहित्यको बाटो अग्रगामी हुनुपर्छ । यो विषयमा धेरै कुरा नगरम् । मेरो गुनासो यत्ति मात्र हो- केहि विवेकशुन्य र चेतनाहिनहरूले हाम्रो साहित्यमाथि गरेको छेडछाडलाई तमाम बौद्धिक वर्गमा समेत नजरअन्दाज गरिदा किन कसैबाट पनि पहलगामी कदम चालिदैन? कुन स्तरको चेतना भएका साहित्यकारको बिगबिगी छ हाम्रो साहित्याकाशमा ? यसबारे बिष्लेशण हुन जरूरी छ । म त भन्छु आफुलाई ठूलै सर्जक भन्न रूचाउने तर यथार्थमा टपर्टुईया कवि साहित्यकारहरूको जमात धेर भएर नै हाम्रो साहित्य उँभो नलागेको हो । हैन भने के हो मलाई बताईदिनुहोला । आफ्नो हैसियतको हेक्का नभई अरूलाई नानाभाती गालीगरी हिड्ने प्रवृति भएका यस्ता कु:लेखकहरू पुस्तक छपाईको नाममा वनस्पतिको नास मात्र गरिरहेका छन्। हुन पनि कविहरू धेरै वाक्ला र कविता चाहिँ पातला भएको वर्तमान हो हाम्रो । बरू ति देवकोटा र लेखनाथहरू, हिजोका युद्धप्रसाद-सिध्दिरणहरू अनि आजका प्रश्रित र धराबासीहरू पो के भन्दा हुन् नेपाली साहित्यको यो दुर्दशा देखेर । आफैलाई धिक्कार्दाहुन् अरू के पो गर्न सक्थे र!!!

अँ...यौटा कुरा त भन्नै विर्सेछु । जाने बेलामा आफ्नो रित्तो झोला देखाउँदै कविज्यू मै तिर हेर्दै थिए । सायद कुनै पुस्तकको आशामा होला । मैले साफ साफ भनिदिएँ; “अंकल यि कितावहरू मेरो वुवाका परे । मलाई पढ्ने सम्म त अधिकार छ तर आदान प्रदानको अधिकार चैँ छैन । माफ गर्नुहोला है ।“ उनले एकछिन केहि सोचेजस्तो गरे अनि सरासर आफ्नो बाटो लागे । म मनमनै अर्को कुरा नि सोच्दै थिएँ.....आजको निन्द्राको हिसावकिताव चाहिँ भरे चाँढै सुतेर मिलाउनुपर्ला..........

14 Comments:

Prabesh on December 23, 2009 7:36 PM said...

हा हा हा....म पनि परेको छु यी कविसँग....शिव ओम् शिव ओम्....हा हा

Dilip Acharya on December 23, 2009 8:15 PM said...

सुरुको लाईन
वाहिर वाहिर “यो वन्दले त खत्तमै गर्यो” भनेर जतिसुकै डुक्रिए पनि तीन-तीन दिनको विदा सोचेर मनचैँ साह्रै खुसी थियो ....

देखि अन्तसम्म समान मिठास अनि पाठकीय आकर्षण रहेको छ पुरै लेखमा । एकै सासमा पढेर सक्काएँ र निक्कै मजा आयो पढ्न ।

लेखको वहाब देखी शब्द चयन सम्म सबै चित्त बुझ्ने र रसीलो लाग्यो । मजा आयो...दोहोर्‍याए पढेपनि रमाईलो हुने लेख रहेछ वाह !

दूर्जेय चेतना on December 24, 2009 5:11 AM said...

साह्रै मिठौ तवरले राख्नु भयो। "आफूलाई ठूलै सर्जक भन्न रूचाउने तर यथार्थमा टपर्टुईया कवि साहित्यकारहरूको जमात धेरै भएर नै हाम्रो साहित्य उँभो नलागेको हो" सही कुरा उठान गर्नु भयो। चित्त बुझ्यो। निकै गहन र यथार्थ प्रश्न पनि खडा गरेको छ यो लेखले आडम्बरी लेखकहरु लागि अझ तपाईकै भाषामा भन्ने हो भने टपरटुई्या लेखकहरुको लागि। सुन्दर लेखको लागि धन्यवाद है।

sanju silwal said...

ha ha ha ha...........धन्न म चाहिं परेकी छैन यी कबि संग

हावा De Wind on December 24, 2009 11:09 AM said...

हा हा हा प्रवेश ब्रो, तपाई बन्द मा बाहिर निसक्नु भएनछ.. अनि कोठे प्रगतिसिल कबि ज्यु को फेला पर्नु हुने नै भो

लु सुन्नुस मैले आन्दोलन मा सुनेको प्रगतिसिल गीत को अंस :

यादव माधव ज्ञानेन्द्र दाइ जस्तो
पस्पति को बादरे भाइ जस्तो

;)

Dhruba Panthi on December 24, 2009 9:30 PM said...

मज्जाले स्वाद लिएर पढेँ अशिषजी तपाईंको लेख। आफूलाई कुनै अमूक वादको मसिहा ठान्ने तर आत्ममूल्यांकन गर्न कहिल्यै नजान्ने यस्तै झोले (अन्यथा अर्थ नलागोस्!) साहित्यकारहरुले नेपाली साहित्यको मानमर्दन गराइरहेका छन् भन्ने कुरामा शंका छैन।

सूर्य/सिकारु on December 24, 2009 9:54 PM said...

मिठो, रोचक अनि मननयोग्य लेख !

Ramesh Mohan Adhikari on December 25, 2009 10:00 AM said...

राम्रो लाग्यो, अन्तिम चाहिँ आक्रामक भयो कि ! यस्ता प्रवृत्तिप्रति प्रहार भने गर्नै पर्छ ।

Pralad on December 25, 2009 6:59 PM said...

Intresting post

राजेश बुढाथोकी 'नताम्स' on December 26, 2009 2:05 AM said...

तपाईले निकै समय सान्दर्भिक विषयबस्तुमा छेड हान्नु भएछ । पोष्टमा मेरो समर्थन छ । आफुलाई प्रगतिशिल भन्न रुचाउनेहरुको यस्तो चालामाला देखेर एकचोटी हाँस्न मन लागेको छ । हे..हे...हे

वसन्त बलामी on December 27, 2009 5:44 PM said...

अशेषजी को कुरामा मेरो पनि पूर्ण समर्थन छ ।

Umesh Gajurel on December 28, 2009 12:21 AM said...

हुन पनि हो मोरो पनि कहीले काहाँी यस्तै हुन्छ, मज्जाले सुतुम ला भनेको हुनछ तर कोही न कोही दिमाग खाने अाइ हाल्छ,


.आजको निन्द्राको हिसावकिताव चाहिँ भरे चाँढै सुतेर मिलाउनुपर्ला।।।
यो चही गज्जब छ है,

बेदनाथ पुलामी ( उमेश ) on December 29, 2009 2:55 AM said...

आशेष जी ! प्रगतिशील कविवर जी ले – निकै दु:ख दिनु भएछ अब अर्को ३ दिन या ४ दिने बन्द आयो भने सायदै अघिल्लो दिन नै – साथीको घर तिर कुलेलाम ठोक्नु हुन्छ होला है ! हा..हा..ह ....’

अनि साच्ची यस्तो फसादमा – ‘खिस्स देखावटी हाँसो निकाल्न नि साह्रै अप्ठेरो हुने' ! अनि यी कस्ता खाल्का प्रगतिशील कवी कुनी ? किताब किनेर हैन – मागेर पढ्ने जस्ता रहेछन – यिनले लेखक लाइ ‘खिस बुढी हिस दात’ बनाउने रहेछन |

Namrata said...

सेता पानामा थारा अक्षरलाई घाँस हाल्दैमा प्रगतिशिल भईन्छ ?

I like this line very much.
ho lekhai ma weight hunu ni parchha. Quality sasto bhaunu ramro sathya hoina.

Good job!!!

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम