Tuesday, December 29, 2009

म,अमिर खान र मेरा गुरू

निकै पहिले एउटा लेख पढेको थिएँ कान्तिपुरमा । 'कक्षामा हल्ला हुने मास्टरलाई खत्तम र सियो झर्दा पनि थाहा पाइने गरि विद्यार्थी शान्त राख्नसक्ने मास्टरलाई अब्बल दर्जाको भनेर चिनिन्छ नेपालमा' यस्तै यस्तै लेखिएको थियो । लेखका यी हरफहरू पढ्दैजाँदा मेरो आँखाअगाडि स्वर्णिमसमय कहलिएको स्कुलेजीवन चलचित्र हेरेजस्तै सलल बग्दै थियो । 'Pin Drop Silence ! Keep Silence !' शायद मलाई पढाउने गुरूहरूले ४० मिनेटको कक्षामा १५ पटक जति यहि वाक्य दोहोर्‍याउनुहुन्थ्यो । 'केहि बुझेको छैन भने मलाई सोध्ने, साथीलाई सोध्ने होइन' अर्को प्रख्यात उक्ति । शायद आफ्नै उमेरको साथीले व्याख्या गर्दा पो राम्ररी बुझिन्छ कि ! कसैलाई हेक्का छैन यसबारेमा । आफूले पढाउञ्जेल कक्षामा श्वास फेर्ने लासहरू बसिराखुन् भन्ने नेपाली गुरूहरूको मानसिकताले अझैपनि मास्टर र विद्यार्थीको बिच एउटा ठूलो पर्खाल खडा गरेको छ । घोप्टे, लामघारे, पुड्के, भुन्टेजस्ता नाम गुरूहरूको राखीदिएर पछाडि पछाडि बोलाउन त्यसै मजा आएको होइन विद्यार्थीलाई पनि ।

लगभग २ वर्षअगाडि आएको अमिर खानको चलचित्र 'तारे जमिन पर'ले यस्तै यस्तै विषयको विश्लेषण गरेको थियो । स्कुलका शिक्षक शिक्षिका मात्र नभएर अभिभावकले पनि आफ्ना सन्तानमा लाद्ने स्वेच्छाचारीताले केटाकेटीमा पर्ने प्रभाव एकदमै राम्रो सँगले प्रस्तुत गरिएको थियो । धेरै मेरा साथीहरूले आफू त्यहि चलचित्रको पात्रझैँ भएको व्यथा पनि सुनाउने गर्थे । आज म इञ्जिनियरीङ्को विद्यार्थी भएपछि अर्को चलचित्र आयो अमिरकै '३ इडियट्स' । भारतको प्रतिष्ठित भनाउँदा कलेजको वास्तविकतालाई मुख्य विषयवस्तु बनाइएको उक्त चलचित्रले किन पनि अझै मन चोर्‍यो भने त्यसमा पनि मेकानिकल इञ्जिनियरीङ पढ्ने केटाहरूको कथा छ र म पनि त्यहि पढ्ने मान्छे । आफ्नै आफ्नै भएपछि त्यसमा विशेष चासो हुनु पनि स्वभाविकै भयो । बच्चा जन्मिएको १ मिनेटमा बाबुले 'मेरो छोरो इञ्जिनियर बन्छ' भनेको कुरा र 'मलाई कसैले कहिल्यै सोधेनन् कि के बन्न मन छ' भन्ने कुराले विशेष मन छोयो । यी दुई भनाइहरूले सिङ्गो चलचित्र बोकेका छन् । आज म मेकानिकल इञ्जिनियरीङ् तेश्रो वर्षको विद्यार्थी हुँ तर मोटरसाइकलको इञ्जिनमा के हुन्छ भनेर समेत म कसैलाई बुझाउन सक्दिनँ । ममात्रै होइन मेरा साथीहरू प्राय: कसैले पनि सक्दैनन् । Self ignition, spark plug, thermodyanamics, heat transfer यस्ता यस्ता कुरा त भन्न सकिएला तर चलचित्रमा अमिर खानले मेशिनलाई बुझाएजस्तो केहि कुरा पनि बुझाउने अवस्थामा छैनौँ हामी कोहिपनि । चतुर 'साइलेन्सर'ले दिएको जवाफजस्तो जवाफ फर्काउन सक्छन् कोहिकोहि घोकन्ते विद्याहरू, त्यति हो ।

शिर्षक त राखेँ अमिर खान भनेर तर उसलेजस्तो व्यवहार देखाउन सक्ने कसैको पनि अनुहार सम्झनामा छैन । प्रोफेसर 'भाइरस'जस्ता मास्टरले गरेर आज हाम्रो शिक्षा यहाँसम्म आइपुगेको हो । बेलाबेला भेट्न गइरहने,साथीका कुरा लगाइदिने, लुसुक्क एक्लै गृहकार्य बुझाउन जाने र शब्दको अर्थ नै थाहा नपाई भट्याउने 'साईलेन्सर'हरूलाई ग्रेड दिँदा उच्चतम प्राथमिकता दिने 'भाइरस'हरूले गरेर नै यथार्थमा अमिर खानको जन्म हुन नसकेको हो । त्यस्ता मान्छे नभएका भने होइनन् । बुवाआमाले आफूप्रति गरेको लगानी र परीक्षाफलमा राम्रो अंकको अपेक्षा गर्दै, भएको प्रतिभा मारेर 'साइलेन्सर'तर्फ उन्मुख भएका धेरै अमिर खानहरू हामीसँगै पढ्दैछन् । गुरू भनेको जहिले पनि प्रेरणाको स्रोत त आदर्शको प्रतिमुर्ति हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । तर यसको ठिकविपरीत आफ्नो सन्किपनको सिकार विद्यार्थीलाई बनाउने र घरमा श्रीमतिको दुई डाडु खाएको झोँकमा विद्यार्थीमाथि ४ डाडु बर्साउन खोज्ने मास्टरहरू छन् हाम्रो देशमा । शिक्षक भनेको के हो, कस्तो हुनुपर्छ शिक्षक, विद्यार्थीलाई पनि आदर गर्न मनलाग्ने ठाउँ के के हुन् भनेर थाहा नपाएका मास्टरहरू आज इञ्जिनियर,डाक्टर उत्पादनमा क्रियाशील छन् ।

कक्षामा स्वतन्त्रताको ठूलो पाठ पढाएर घरमा छोरालाई जसरी भएपनि डाक्टर बनाउनुपर्छ भनेर सोच्ने धेरै गुरूबाहरूको भीड छ । अरूका सन्तानलाई पढाउन जाँदा तलब थाप्नको लागि जबर्जस्ती गएजस्तो गर्ने अनि आफ्नो सन्तान पढ्ने महङ्गा शिक्षण संस्थामा गनगन गर्न गइरहने यस्ता मास्टरहरूले गर्दा वर्षैपिच्छेको एसएलसी परीक्षाको परीक्षाफल झनै भयावह बन्दैछ । पढ्ने सामाग्री कम गराएर धेर विद्यार्थी पास गर्न उद्धत छ सम्बन्धित निकाय । उच्च आकांक्षा र अभिलाषा बोकेका जागरूक र मेहनती युवाहरू आफ्नै गुरूबाका कारण आत्महत्याको सिकार बनिरहेका छन् ।

अमेरिकामा मेकानिकल इञ्जिनियरीङ् पढ्ने मेरो साथीले Designing of Robot Arms पढ्दैछ रे, म भने कहिले चौथो वर्ष पुग्छु र थोत्रे स्प्लेण्डरको इञ्जिन हेर्न पाइएला भनेर दिन गन्दै बसिरहेको छु । त्यो पनि थोत्रे मोटरसाइकल पाइएन भनेर ईञ्जिनको defination (fulcrum,valve,bla bla bla.....) पढाएर किताबे इञ्जिनियर बनाइदिन बेर छैन मेरा प्रोफेसर 'भाइरस'हरूले !!

तस्वीर : काठमाण्डौ विश्वविद्यालयमा हामी सँगै पढ्ने '३ इडियट्स'हरू..



16 Comments:

Govinda wagle said...

ल प्रबेश जि तपाईंको यो लेखम एउटा कुनै लेख नभए बसतबिक्ता छ ।
अब एस्तै अरु लेख हरु को लागी यो सोझो केटा को तर्फ बाट उतर उत्तर कामना छ ।

Aakar on December 29, 2009 7:48 PM said...

जे लेख्यौ सहि लेख्यौ !

रमेशमोहन अधिकारी said...

तपाईँको यो रचना राम्रो छ । सबै शिक्षक एकै प्रकारका छैनन् कि ?

bini said...

good job ......la la aru pani yestai lekhdai garnu ...hami padaula ani comment garaula ...

Ashesh on December 29, 2009 10:08 PM said...

हा हा हा....ईडियट्सहरूको फोटो त लाजवाफ छ!!

यता हामीपनि फष्ट पिरियडमा मास्टर साहेवसँगै मिलेर राष्ट्रवैँककै धितोपत्र किनिदिन्छौँ अनि अन्तिम पिरियडका अग्रणी प्रोफेसर साहेवलाई वेचिदिन्छौँ !!
सवैको व्यथा उस्तै उस्तै.....

Bijay Mishra on December 30, 2009 1:15 PM said...

ramro lagyo daami chha !!

HAWA on December 30, 2009 1:53 PM said...
This post has been removed by the author.
HAWA on December 30, 2009 1:56 PM said...

नेपाल मा साचै भन्ने हो भने थोत्रे बाइक को पनि होइन बरु पानी घट्ट, सुधारिएको हलो, चुलो आदि बनाउने इन्जीनियरहरुले धेरै योगदान गर्न सक्छन होला

Dilip Acharya on December 30, 2009 4:42 PM said...

'पिन ड्रप साईलेन्स' र 'गुरुडम' को सोचबाट शिक्षकहरु मुक्त हुन सकेभने पक्कै पनि बिद्यार्थी र शिक्षक दुबैलाई राम्रो हुन्छ ।

पहिलो पल्ट चिनमा पढ्न पुगेपछि, शिक्षक र बिद्यार्थी बीचको यो मानसिक दूरी जत्ती कम भयो शिक्षा क्षेत्रको लागि त्यत्ती नै राम्रो हुने कुराको बोध भएको थियो मलाई पनि ।

तर सबैकुरा शिक्षकमाथी थोपरेर पनि हुँदैन, समाजको सम्पूर्ण संरचनामा परिवर्तन आउन समय त लाग्छ नै ।

रमाईलो लेख ।

ametya on December 30, 2009 10:53 PM said...

मन छोयो यार लेखले ...........घोकन्ते शैलिबाट कहिले पार पाइएला र खै ???

Dhruba Panthi on December 30, 2009 11:11 PM said...

प्रवेश भाइ, तपाईं पनि मेकानिकल इन्जिनियरिङ फिल्डकै हुनुहुँदो रहेछ, खुशी लाग्यो। मेकानिकल इन्जिनियरिङ पढ्ने केटाहरुकै कथा भएको '३ इडियट्स' अझै हेर्न पाएको छैन, तर छिट्टै हेर्ने विचार छ। जहाँसम्म शिक्षकको व्यवहार र हाम्रो शिक्षाप्रणालीको कुरा छ, त्यसमा खोटहरु पक्कै पनि छन् तर तपाईंको गुनासो अलि बढी भयो कि जस्तो पनि लाग्छ हो मलाई त। मलाई पनि पुल्चोक क्याम्पसमा BE पढ्दा थ्योरी मात्रै बढी पढियो कि जस्तो लाग्थ्यो। तर अहिले सोँच्दा इन्जिनियरिङ शिक्षाको प्रकृति नै केही हदसम्म त्यस्तै खालको हो कि जस्तो लाग्छ। दु:खको कुरा चाहिँ के हो हामीले पढ्ने 'ठूल्ठूला' सैद्धान्तिक कुराहरु व्यवहारिक कुरासँग कसरी अन्तर्सम्बन्धित छन् भनेर सिकाइँदैन वा ती कुराहरु नेपालको सन्दर्भमा लागु नै हुँदैनन्। तर त्यसो भन्दैमा मेकानिकल इन्जिनियर भनेको गाडी वा मोटरसाइकलका पाटपूर्जामा दक्खल भएको अनि इलेक्ट्रिकल इन्जिनियर भनेको हाउस वायरिङको राम्रो जानकारी राख्ने व्यक्ति भनेर मात्रै पनि त बुझ्नु भएन। त्यसैले किताबे इन्जिनियर भइन्छ कि भनेर नतर्सिनुहोला। सैद्धान्तिक होउन् कि व्यवहारिक कुरा, सिक्दै जाने क्रम त सधैं चलिरहन्छ नै।

दीपक जडित on December 31, 2009 5:59 AM said...

अलिकति फरक पार्ला कि ? उल्लेखित चलचित्रकै कुरा गर्ने हो भने 3 इडियट्स् मध्येको मुख्य इडियटले कहिल्यै कुनै कुराको कम्प्लेन गर्दैन । भाइरस प्रोफेसरहरुसँगै धेरै सिक्छ बरु । यस्तो कुराले चैं असर पारे हुने हो ।

sanju silwal said...

prabesh ji dheri ramro kura lekhnu vaya6 teacher ko barema.........'तारे जमिन पर ta hereko ho aba '३ इडियट्स' pani herna parla

वसन्त बलामी on December 31, 2009 6:48 PM said...

प्रवेश जीको 'Pin Drop Silence पढेपछि मलाइ एउटा कुरा याद अायो । केही दिन अघिमात्रको कुरा हो , इतिहास पढ्ने साथिहरू क्याम्पस प्रशासनमा एकहूल बाँधिएर गएका थिए । म पनि किन,के भएछ? भनेर हेर्न गएको थिएँ । उनिहरू पनि प्रोफेसरको कम्पलेन गराउन गएका रहेछन् । कुरा के परेछ भने ति प्रोफेसरले कक्षामा पढाइरहेको समयमा बिचमा प्रश्न गर्न नपाउने रे । प्रोफेसरले सिधै भनेछन् ′म पुरै तयारी गरेर घोकेर अाएको हुन्छु तपाइँहरूले बीचमा प्रश्न गर्नुभयो भने त्यो पनि भूल्छु , पछि घाटा तपाइँहरूलाइ नै होला है त्यसैले बीचमा प्रश्न नगर्नुहोला । ′ अनि प्रशासनले भनेको चाहीँ मैले नै सुनेँ -"हेर्नुस् ,उहाँलाइ हामी सम्झाउँछौ, तर तपाइँहरूले पनि अलिकति मिलाएर बुझिदिनुहोला । उहाँ यहाँको पुरानो प्रोफेसर हुनुहुन्छ । सिधै हामीले भन्न पनि गाह्रो छ ।" यस्तो प्रोफेसर रहँदा सम्म कसरी हुन्छ शिक्षा प्रणालीमा सुधार ?

राजेश बुढाथोकी 'नताम्स' on December 31, 2009 8:17 PM said...

प्रवेश दाई, पोष्टले चित्त बुझ्यो मेरो । फेसबुक र ब्लगहरुमा ‘थ्री इडियट्स’को चर्चा सुनेर घरमै बसेर सो फिल्म हेरे मैँले । फिल्म सार्है मार्मिक र संन्देशमूलक लाग्यो मलाई ।

नेपालीको शैक्षिक प्रणाली नै दोष दिन्छु म त यस्तो दृष्टान्तहरु जन्माउनमा । सबै कुरा सैद्धान्तिक कुरामा अडिएको हुन्छ । यस्तो होइन त सर भन्दा पनि ‘चुप लाग तिमी कसरी पढाउनुपर्छ भन्ने म जान्दछु’ भनेर उल्टै मुख चुप गराइदिन्छन् बेकारमा अरु विद्यार्थीको छेऊमा लज्जित हुनुपर्छ । मेरै क्याम्पसमा सरले गलत पढाईरहेको

prelude on January 10, 2010 12:50 AM said...

Ur post sank me in while I read it...Very true and heart penetrating write up!

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

-- Copyright © 2009 गफगाफ डट कम