
सुकेनास नलागेका खल्तीहरू अनि सहरिया संस्कृतिमा अभ्यस्त भएका र हुन खोज्दै गरेका तरूना केटाकेटीहरूमाझ अहिले गफ गर्नलाई एउटा हट ईस्यु छ:- ‘के.एफ.सी’ र ‘पिज्जा हट’ । हिजोआज कुनै त्यस्तो विशेष दिन छैन होला कलेजका विध्यार्थीमाझ यो विषयमा छलफल नभएको....मेरो त कान टट्टाईसक्यो सुन्दा सुन्दा!! यु.के मा वस्ने एकजना साथीसँग सुरूका दिनहरूमा मैले पनि खुब च्याट गरेँ यस विषयमा । उसलाई त दया लाग्यो रे के.एफ.सी अगाडी नेपालीको त्यत्रो ठूलो लर्को देखेर!! तर्कहरू भिन्नै किसिमका थिए उसका । तर म पुर्ण सहमत चाहिँ त्यतिवेला भएँ जव यो विषयमा मैले पनि धेरथोर खोज्ने प्रयास गरेँ ।
हुनपनि एक दिनमा मोटामोटी २००० जना नेपालीहरू जाँदा रहेछन् यो नयाँ र विश्वस्तरिय स्वाद चाख्नका लागि । अनि दैनिक ८०० के.जीको हाराहारीमा मासुको खपत हुँदोरहेछ त्यहाँ । गरिवीको लिस्टमा नेपाल झन् माथि माथि चढ्नेक्रम बढ्दो छ । गरिवी शुचाङ्मा देश अझ गरिव भइरहेको प्रष्ट देखिन्छ तर मान्छेहरूसँग भने यतिधेरै पैसा!! म बेलाबेला छक्क पर्छु । हुनत सबै नेपालीहरूको जीवनशैली सिमित सहरिया मानिसहरूको जस्तो छैन । वहुसंख्यक जनता त अझै गरिवीकै रापमा पिल्सिरहेकै छन् । तर पैसा जतिसँग छ त्यो रकम खर्चहुने स्रोतवाट वहुसंख्यक नेपाली र सिङ्गो देशको उत्थान चैँ पक्कै भएको छैन । यो सत्यलाई सवैले स्विकार्नै पर्छ । नेपालमा पहिलो पटक भित्रिएको फास्ट फूड चेन केन्टुके फ्राइड चिकेन (केएफसी) र दिनानुदिन वढिरहेको यसको लोकप्रियताले हाम्रो अर्थतन्त्रको वहावलाई कसरी संकेत गरिरहेको छ म प्रस्ट पार्ने प्रयत्न गर्छु ।
केहि समय अगाडि मनकामना केवुलकार संचालक तथा चितवन कोई प्रा.लिका अध्यक्ष लक्ष्मणवावु श्रेष्ठको कुराकानी पढेको थिएँ अखवारमा । उनको नव उध्योग चितवन कोई प्रा.लिको उद्देश्यको वारेमा थाहा पाएपछि म यो लेख नलेखी बस्नै सकिन । हामी एकपटक आफै मनन गरौँ; हालैको समयमा च्याउझैँ उम्रिएका वैँक तथा वित्तिय संस्थाहरूले नेपालको अर्थत्नत्रमा कस्तो प्रभाव पार्न सक्छन्? एकहिसावले हेर्दा वैकहरूको वढ्को चलखेलका कारण रोजगारीको लागि प्रसस्त अवसरहरू सिर्जना भएका छन् । हामीले विश्वस्तरिय वैंकिङ सेवा उपभोग गर्न पाएका छौँ । तर ग्राहकहरूवाट संकलित निक्षेप कुन क्षेत्रमा लगानी भईरहेको छ ? यसवारेमा हामी सबै जागरूक हुनु अत्यन्त जरूरी छ । वैँकको अत्यधिक लगानीको स्रोत रियल स्टेट(घर-जग्गा) व्यापार हो । त्यसबाहेक सवारीसाधन किन्नको लागि पनि प्रशस्तै ऋण प्रवाह गर्छन् वैंकहरूले । स्थिति यहाँसम्म पुगिसक्यो कि वैंकहरू आफै अस्वस्थ प्रतिस्पर्धामा उत्रेर कानुनले दिएको लगानीको सीमा छल्नका लागि व्यक्तिगत ऋण, सम्पति ऋण, व्यक्तिगत जमानी ऋण आदि नाममा यिनै क्षेत्रहरूमा ठूलो लगानी गरिरहेका छन् । थोरै व्याजमा जनताको निक्षेप संकलन गरेर घरजग्गा र सवारीसाधनमा लगानी गर्ने यो प्रवृति पनि एउटा प्रमूख कारक हो हाम्रो अर्थतन्त्रलाई ओरालो लगाउने । राष्ट्र वैँक आफैँ पनि यस्ता अनुत्पादक क्षेत्रमा भएको अधिक लगानीलाई रोक्न सक्दैन । सरकार निरिह छ । कुनै निति नियमहरू समयमै वनाएर परिस्थितिलाई नियन्त्रणमा राख्न अक्षम छ । आम जनताको वुझाई पनि वैँक चलाउनु भनेको घरजग्गा, गाडी किन्न ऋण दिनु हो भन्ने छ । तर यस्तो प्रवृतिले जनता र सिंगो देशलाई कुनै फाइदा पुग्दैन । वैंक गाउँको विकासको आधार बन्नुपर्छ ।गाउँ-गाउँमा हस्तकला उध्योगहरू छन, पशुपालन, खेतिपाति भईरहेको छ ।पुँजीको अभावमा उनीहरूले आफ्नो उत्पादन वढाउन सकेका छैनन । लगानीको आवश्यकता त त्यहाँ पो छ । तर कुन वैकले गाउँले जनतालाई लघु उध्योग संचालनगर्न अनि कृषि क्षेत्रमा लगानी गर्न ऋण दिन्छ ? अपवादलाई छोडेर यस्तो काम प्राय कसैले गर्दैनन् । अर्थात वैंकको लगानी गाउँ-गाउँ पुग्दैन । जनतालाई स्वाविलम्वी वनाउने क्षेत्रमा वैंकको लगानी हुँदैन । वचत जनताको- मालामाल हुने सिमित घर-जग्गा दलाल अनि मुनाफा जति सवै वैंक संचालकको खल्तीमा!! अनि हाम्रो आर्थिक उन्नति कसरी सम्भव छ?
कुनै पनि मुलुक विकसित राष्ट्रका रूपमा चिनिन त्यहाँको कृषि क्षेत्र र औध्योगिक क्षेत्र सबल हुनुपर्छ । कृषिले जनताको आर्थिकोपार्जनमा टेवा पुर्याउँछ भने उध्योग धन्दाले देशको अर्थतन्त्रलाई मजवुत बनाउँछ । कृषि तथ्याङ्कलाई आधार मान्ने हो भने हामी झन् झन् गरिव हुनुको मुख्य कारण कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन(GDP)मा दिने योगदानमा ह्रास आउनु नै हो । अघिल्लो तथ्याङ्क अनुसार कृषिको GDP सेयर ९० प्रतिशत थियो र यसमा निहित जनसंख्या ९५ प्रतिशत थियो । आजको तथ्याङ्क हेर्ने हो भने GDP मा कृषिको सेयर ३२ प्रतिशतमा झरेको छ तर यसमा निहित जनसंख्या जतिको त्यतिनै अर्थात ९५ प्रतिशतकै हाराहारीमा छ । के यो गरिवीको सुचक हैन र?
देशको अर्थतन्त्र गाउँमुखी हुनुपर्छ । अन्तराष्ट्रिय लगानी देशमा भित्रिनु पर्छ, त्यहाँबाट सहरहुँदै गाउँ-गाउँसम्म पुग्नुपर्छ । तर विडम्वना हाम्रोमा अर्थतन्त्रिय वहाव त्यसको ठीक उल्टो छ । गाउँको पैसा सहर पुग्छ र सहरको पैसा विदेशिन्छ । एउटा उदाहरण- वहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीको पहुँच हाम्रो देशको गाउँ-गाउँसम्म छ । जनताहरू ति उत्पादनहरूको खपत गर्छन् । पैसा सहरमा आईपुग्छ अनि वहुराष्ट्रिय कम्पनीको जन्मदेश(Parent Country)मा पुग्छ । पुँजी पलायन यसरी भईरहेको छ हाम्रोमा । स्थानिय उत्पादनको स्थानिय वजारसम्म मात्र पहुँच छ । लगानी को अभावमा, जनशक्तिको अभावमा, प्रस्ट आर्थिक नितिको अभावमा, शान्ति सुरक्षाको अभावमा र स्थिर नेतृत्वको अभावमा उध्योग-धन्दाको अवस्था अत्यन्तै नाजुक छ । भएका उध्योग धन्दापनि वन्द हुने स्थितिमा छन् । जव पुर्वाधार नै यस्तो छ भने विकाश कसरी हुन्छ ? KFC र PIZZA HUT को नेपाल आगमनले पनि हाम्रो पुँजी पलायनलाई नै धेरै टेवा पुग्ने देखिन्छ । नेपालीले कुखुराको आपुर्ति सम्म पनि गर्न नपाउने, सवै ब्राजिलवाट आयात हुने (हुनत मासुको गुणस्तरको कुरा आउँछ यहाँ तर घाटा त फेरि पनि हामीलाई नै हुँदैछ नि!) तर मुनाफा जति सवै उनीहरूको देशमा मात्र । यस्तो कुरा गरेर मैले विश्वव्यापी खुल्ला वजारको अवधारणालाई अवमुल्यन गरेजस्तो देखिएला । जुन ब्राण्डले ग्राहकलाई गुणस्तरीय सामान सुलभ मुल्यमा दिन सक्छ वजारमा त्यसकै वर्चस्व हुन्छ । यो व्यापारको सिद्दान्त नै हो । देशकै उत्पादन मात्र खरिद गर्नुपर्छ भनेर ग्राहकलाई गुणस्तरहीन सामान र खाद्यान्न किन्न वाध्य पारिनु हुँदैन । KFC को चिकन सवैभन्दा मीठो हुन्छ भने त्यही खानपाउनु हाम्रो अधिकार हो । देशको अर्थतन्त्र जोगाउन हामीले आफ्नो खर्चगर्ने आनीवानीमै परिवर्तन गर्नुपर्छ भन्ने हैन । जुन सवैभन्दा राम्रो हो हामी त्यसैप्रति वफादार हुन्छौँ । यो ग्राहकिय सिद्दान्त हो । तर मैले के मात्र भन्न खोजेको हो भने यस्ता वहुराष्ट्रिय उध्योगरूले हाम्रो पुजीँ हामीवाटै खोसेर उनीहरूको देशमा भित्राउदै छन् । यो अवस्थामा हाम्रो भुमिका के हुने? केहि गर्न नसकेपनि जागरूक सम्म हुन सक्यौँ भने भोलि गएर केहि गर्न सकिन्छ भन्ने मलाई लाग्छ । लक्ष्मणवावु श्रेष्ठले यहि कुरालाई मनन गरेर चितवनमा दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उध्योग संचालनमा ल्याएका छन् । किसानहरुले उत्पादन गरेको दुध सवै यहि उध्योगले लिने गर्छ । यसवाहेक दिनमा ४० लिटर सम्म दूध दिने गाईहरू चीनवाट आयात गरिएको छ । ती गाईहरू किसानहरूलाई सरल किस्तामा बाँडिन्छ र उत्पादित दुध सवै उध्योगले खपत गरिदिन्छ । कति राम्रो अवधारणा छ यो!! यस्ता उध्योगहरूको सञ्चालनले पुजीँलाई गाऊकेन्द्रित वनाईदिन्छन् र यसको दिर्घकालिन सकारात्मक असर देशको अर्थतन्त्रमा पर्छ । सहरका मान्छेले दुग्धजन्य पदार्थ किनेपछि उध्योगलाई फाईदा हुन्छ । उध्योग फाईदामा गए किसानको आर्थिक उन्नति हुन्छ । समग्रमा देशकै अर्थतन्त्र वलियो हुन्छ ।
म पनि KFC र PIZZA HUT को स्वाद लिन दरवारमार्ग जान्छुहोला शुक्रवारतिर । तर मनमा अर्को चाहना चाहिँ रहिरहनेछ; “हाम्रो पुँजीले हाम्रै देशको माटो उर्वर वनाउन भविष्यमा केहि चाहिँ गर्नै पर्छ” ।

19 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!