घरै घर छन् जताततै । वरिपरिका थरीथरीका । अनेक नामका । अनेक दामका । अनेक खालका । अनेक चालढालका । कतै ओढारे घर छन् । कतै बोक्रे छन् । कतै पराले छन् । कतै टाँढे छन् । कतै मुण्डे छन् । मान्छे जस्तामा पनि बसेका छन् । जसरी पनि बसेका छन् । एकपटक भावना र म बारी जोत्ने चौधरीलाई खोज्न खोक्सी गएका, घरका मान्छे उठेकै रहेनछन् । बाँसको खाँबाखुट्टी भएको भुइँघरभित्र हामी पस्यौँ । त्यत्रो घरमा पनि ढोका रहेछ । मलाई ढोकाले कौतुहलता जगायो । आखिर किन राखेको होला चौधरीले त्यो ढोका ? बाँसका भाटा सबै खुस्किसकेका छन् । जमिनबाट तीन फिटजतिमात्रै अग्लाई छ । आँगनबाट उभिएर हेर्दा भित्रको दृश्य सबै देखिन्छ । घरको वरिपरि माटोले लिपेर बासजस्तो बनाएको छ । हावा छिर्ने प्वाल कतै छैन । ढोकोछेऊमा उभिएर भित्र हेरेँ । पटेरको गुन्द्रीमाथि लामा छोटा ४-५ जना सुतेका छन् । सबै घुँडाले चिउँडो जोडेर कोल्टे फर्केका छन् । कात्तिकको महिना, जुटको पुरानो झल्ला लम्बाइतिरबाट ओढेका रहेछन् । छेऊतिर सुतेको चौधरी बुढो हुनुपर्छ, किनकि उसको छेऊमा पेपरका ठुटाठुटीहरू थिए र भूइँ कालै थियो । त्यो स्वर्गीय आनन्दमा रमाएको परिवारलाई हल्ला गरेर उठाउन मन लागेन । कति बहुमुल्य निन्द्रा थियो उनीहरूको ।

केही नभनी हामी बाहिर निस्कियौँ । बाटोमा आएर मैले पुलुक्क त्यो घरलाई हेरेँ । यो पनि त एउटा आनन्ददायी घर हो नि । चौधरी आफैँ आयो बारी जोत्न । तर ऊ घाम छिप्पिएपछि आयो । मध्यान्हसम्म जोत्यो । खाना खाएर एकछिन सुत्यो । फेरि उठेर फरूवा लिएर गयो । हँ..हँ..गर्दै छेऊकुना खन्यो । साँझ परेपछि मैले भनेँ,"चौधरी दाइ ! आज यहिँ सुत, माथि एउटा कोठा खाली छ ।"'नाईँ हजुर ! आफ्नै घरमा सुत्छु । मलाई अर्काको घरमा सुत्ने आदत छैन । ससुराली मेजमान खाना जाँदा त निन्द्रा लाग्दैन' उसले भन्यो । "साँच्चै सुत्दैनौ ?" मैले फेरि खेरेँ । "सत्ते सत्तेहोला हजुर, मलाई झुठो बोल्न आउँदैन ।" उसले अड्डी छाडेन ।
चौधरीको कुरा सुनेर म चकित भएँ । घरप्रतिको उसको प्रेम वर्णन गरिनसक्नुको थियो । मेरो काठको टाँडे र छाँट परेको घरलाई उसले एक नजर पनि लगाएन । मान्छेले बनाएको मात्र हैन, प्रकृतिले बनाएको घरमा पनि मान्छे बस्दा रहेछन् । त्यो कति न्यानो, राम्रो र सुरक्षित हुन्छ, उनीहरूलाई नै थाहा होला तर ढुङ्गाको ओढारमा पनि जीवन चलेको देखेर म अचम्मित भएँ ।
६-७ वर्षअघि प्ररायुसंघले पूर्णागिरी भ्रमणको आयोजना गर्यो । महाकालीको पूर्णागिरीमा भारतले एकतर्फी बाँध बनाएको हल्ला चलेर सदन पनि अबरूद्ध भयो । डडेलधुराको ३,४ वटा गाविस डुब्ने र ५०,६० हजार मान्छे घरबारविहिन हुने कुरा सुनेर बाँधस्थलको अवलोकन गर्न एउटा टोली पश्चिम लाग्यो । १५,२० जना सांसदहरू, पत्रकारहरू, सीमाविज्ञहरूको भीडभित्र साहित्यकारको कोटामा मेरो पनि नाम मनोनयन भयो । ९ दिने भ्रमणको छैठौँ दिन हामी डडेलधुरा जिल्लाको आलीताल गाविसमा पुग्यौँ । त्यहाँबाट बाँधस्थलसम्म पुग्न दिनभरिजसो जङ्गलै जङ्गल हिँड्नुपर्ने र बाटोमा केहि खानेकुरा नपाइने कुरा थाहा पाएपछि झोलाभरि चाउचाउका पोका बोक्यौँ । पानीका बोत्तल बोक्यौँ । दिनभरि कुरूमकुरूम चाउचाउ चपाउँदै हिँड्यौँ । जङ्गलमा भारतीय कर्मचारीले कोरेका विभिन्न चित्रहरू भेटिन्थ्यो । आफ्नो जमिनमा अर्काले कोरेको देखेर हाम्रा आँखा धपक्क बल्थे । किचिमिचि पारेर छाडिदिन्थ्यौँ । रूखका बोक्रा ताछेर लेखेको ठाउँमा धुलो दलिदिन्थ्यौँ ।
यसरी जङ्गलमा हिँड्दाहिँड्दै हामी अजङ्गको भीरमा पुग्यौँ । तल फेदमा नीलो माहाकाली नदी चुपचाप बगिरहेको थियो । पारिपट्टीको भारतीय पहाडमा कतैकतै मान्छे हिँडेका देखिन्थे । मध्यान्हको घामले डसेर उखरमाउलो भएको थियो । पानीको बोतल अघि नै रित्तिइसकेको थियो । थुक आउन छाडेर मुख चुइ
गमजस्तो भएको थियो । सुइँसुइँ हिँड्ने बाटो थिएन । जता खुट्टा टेक्न सजिलो हुन्छ, त्यतै झारजङ्गल समाएर हिँड्नुपर्थ्यो । म अलिक अघीअघि थिएँ । यस्तो हिँडाइ र यात्रा मेरोलागि सर्वथा नौलो र रोमाञ्चक थियो । त्यहीबेला म अजङ्गको ढुङ्गोमाथि पुगेँ । त्यो ढुङ्गा हात्ती बसेजस्तो थुप्रिएको थियो । ढुङ्गामाथि चढेर फेरि महाकालीलाई हेरेँ, तल कताकता पहाडको पिँध कोट्याएर हिँडिरहेको थियो ।
ढूङ्गोमुनि मान्छे बोलेजस्तो सुनेँ । हाम्रै साथीहरू भनेर बुटाबुटी समाउँदै ओर्लिएँ । ओहो ! त्यहाँ त घर पो रहेछ । मान्छे बस्दा रहेछन् । सिलभरे थालमा खानेकुरा खाँदै थिए । उनीहरू मलाई देखेर सशङ्कीत भए । केटाकेटी जुरूक्कै उठेर ढाँणको चेपमा बसे । मैले आफ्नो परिचय दिएँ । हामी ६०-७० जना छौँ, पुर्णागिरी बाँध हेर्न आएको भनेँ । उनीहरू त्यहिँ काम गर्दा रहेछन् । दुई महिना भयो अरे त्यो ओढारमा बसेको । थोरै नेपाली बुझिने भाषामा लोग्नेचाहिँले भने - हाम्रो त हजुर घर यहि हो । दिनभरि भारत सरकारको रोजगारी गर्छौँ, रात परेपछि यहिँ आएर सुत्छौँ । के गर्नु, गरिब भएपछि जहाँ टाउको लुकाउन पाइन्छ त्यहिँ बस्नुपर्यो नि ।
"अनि घर छैन ?" मैले आश्चर्य मान्दै सोधेँ ।
"यी क्या त हजुर, भगवानले यत्ना बढी दिया हुन् ।" पुरानो साडि लगाएकी आईमाई बोली ।
२-४ जना लोग्नेमान्छे पहेँला दाँत देखाएर हाँसे । म समुहबाट छोडिन्छु होला भनेर दौडिएँ । जिन्दगीमा पहिलोपल्ट देखेको त्यो घरले अहिले मलाई पनि चिमोटी रहन्छ ।
अँ, मेरो आफ्नै घर बनाउँदाको कथा पनि रमाईलो छ । २०४२ सालसम्म मेरो घर थिएन । घुमन्ते जीवन बिताउँथेँ । सङ्खुवासभा जिल्लाको हेदाङ्नामा जन्मिएँ । आफ्नै घरमा जन्मे पनि २ वर्षको हुँदा बुबा खस्नुभयो । बुबा खसेको २२ दिनपछि बहिनी जन्मिई । मैले बस्ने काखमा बहिनी आएर बसेपछि म घरबाट पाखा भएँ । ८ वर्षको हुञ्जेल ठूल्यामाको

घरमा बसेँ । त्यसपछी मामाको पछि लागेर मधेस झरेँ । केहि वर्षपछी पहाडबाट आमा आउनुभयो । अनि मामाले हामीलाई बस्न उहाँकै मतान दिनुभयो । टाँडमुनि गाईवस्तु बस्थे । माथि धान राख्ने खुल्ला टाँड थियो । त्यसको छेवैमा एउटा हावादार कोठामा हामी निर्वाह गर्थ्यौँ । आमाले बनिबुतो गरेर छाक टार्नुहुन्थ्यो । केहि वर्ष त्यहि मतान हाम्रो घर भयो । पछि आमा विवाह गरेकी जेठी छोरी पछ्याउँदै कान्छी छोरी चेपेर विराटचौक जानुभयो । बेलबारी जानुभयो । म भने पढ्ने बहानामा गाउँमै घुमीघुमी बस्न थालेँ । कहाँ बस्न सजिलो हुन्छ, कसले छोराछोरी पढाइदे भन्छ, त्यसकै घरमा गुडुल्किन थालेँ ।
२०४२ सालमा सुन्दरपुर बाँसबारीमा १ कठ्ठा जमिन किनेँ । जमिनको मालिक भएपछि अब मलाई घर चाहियो । घरपनि चाहिने थिएन होला तर भावनासँग मन साटासाट भएपछि विवाह गर्ने कुरा चल्यो । उनले एकदिन प्वाक्कै भनिन् - अनि मलाई चैँ कहाँ राख्छौ त ? कि तिमीलेजस्तै सुर्किने झोला बोकेर दिनभरि सँगै हिँड्यो अनि जहाँ रात पर्छ त्यहिँ बस्यो गर्नु ?
बल्ल मेरो आँखा खुले । घर चाहिने रै'छ भन्ने कुरा थाहा पाएँ । तर घर एक्लै बन्दोरहेनछ । साथीभाइ इष्टमित्र सबको सहयोग चाहिँदो रहेछ । यो कुरा थाहा पाएपछि मान्छेको घर घर पुगेँ । कसैसँग बाँस मागेँ, कसैसँग काठ मागेँ, कसैसँग जन मागेँ, कसैसँग धन मागेँ । सहयोग लिननसक्ने कुरामात्र पैसा हालेर किनेँ । सबैको साथ सहयोग रहेपछि अँगालोभरिका खाँबा गाडेर रहरलाग्दो घर बनाएँ । नयाँ घरमा मनले रोजेकी बेहुली भित्र्याएँ । सडकछाप भएर बसेकी आमालाई पनि ल्याएँ । हामी ३ जनाको छरितो परिवार नयाँ घरभित्र चुम्बकझैँ टाँसिएर बस्यो । ओहो ! घर बनाउँदाको दु:ख औँला भाँचेर भनिसाध्य छैन । के के चाहिएको के के, कतिकति चाहिएको कति । थुपारेको थुपार्यै गर्नुपर्ने, सोहोरेको सोहोर्यै गर्नुपर्ने । ठूला गोजी भए पो फुत्तफुत्त निकाल्नु र, सिला खोजेर ल्याउनुपर्ने । भाग हानीहानी पुर्याउनुपर्ने । काठले पुगेन । गाउँका गोरूगाडी मागेँ । साथीभाइ बटुलेँ । १०,१२ जना भएर जङ्गल गयौँ । गस्तीको डर, वनजाँचेको डर । एउटा कुदेर आउँथ्यो र 'सलकपुरबाट गस्ती पस्यो रे' भन्थ्यो । अर्को आउँथ्यो र 'गुरुङटोलमै देखेको रे' भन्थ्यो । तेस्रो आउँथ्यो र 'हँसेनीबाँधमा भाले खाँदै थिए रे' भन्थ्यो । 'रे' को हल्ला हैजासरी फैलिएर कुदेपछि मुटु ढुकढुक हुन्थ्यो । मुख च्यापाच्याप हुन्थ्यो र खुट्टा लगलगी काम्थे । अनि बटुलेका मान्छेहरू जाँचबुझै नगरिकन दौडिन थाल्थे । रित्ता गोरूगाडा घिसारेर खुई खुई गर्दै फर्किनुपर्थ्यो । हे भुर्न हत्ते, चारकोसे झाडीमा नरबहादुरलाई मुढाले किचेको घटना, कमल मामाका राँगा मुढो ठूलो भएर हिलामा गाडिएको घटना, ७ हल गोरूगाडी लिएर आउँदा भागाभाग भएको घटना, घर बनाउँदाका टिठलाग्दा सम्झनाहरू हुन् । तर जसरी भएपनि घर बनाएरै छाडेँ ।
२०४३ सालमा बनेको घर अहिले त बुढो भयो । घामपानीले खाएर बरण्डाका खाँवा थोत्रिए । रेलिङ भत्कियो । २०४५ सालको भुकम्पले मुल खाँबो भाँसियो । वरिपरि पक्का घर बनेका छन् । झलिमिलि सहर भइसक्यो बाँसाबारी । मलाई भने आफ्नै

बुढोघर प्रिय लाग्छ । पूर्व कोठामा झ्याल खोलेर बसेपछि कम स्वर्गीय आनन्द आउँदैन । मध्यान्हका ताता घाममा धापिएको मनपनि आफ्नो घरभित्र पसेपछी शीत्तल हुन्छ । आत्तिएको असन्तुलित मन पनि आफ्नो घरभित्र बसेपछि शान्त र सन्तुलित हुन्छ । घरले दिने ऊर्जा बर्णन गरि साध्य हुँदैन । असन्तुलित मन घरभित्त पसेपछि सन्तुलित र सुरक्षित भएको धेरै अनुभव छन् मसँग ।
आफ्ना हत्केला घोटेर बनाएको घरले दिएको शीतलता तपाईँले पनि पिउनुभएको छ ? अँ, म घरको कुरा गर्दै थिएँ । साथी वीरेश राईसँग एकपल्ट अर्का साथी भेट्न पथरी गएँ । हामीले उनको घर देखेका थिएनौँ । बल्लबल्ल बजारको पुच्छरमा बस्छन् भन्ने पत्ता लाग्यो । ओहो ! उनको घर त सखुवाको काँचा बोक्राले बेरेर पो बनाएको रहेछ । मैले काठमाण्डौमा सुर्यबहादुर थापाको घर देखेको छु । घरभित्रै पसेर चिया पनि खाएको छु । प्रधानमन्त्री भएको बेला २०४० सालयताका सबै पञ्चहरू, २०४६ सालपछिका सबै दलीय नेताका घरमा पसेको छु । कहिले पत्रिकालाई अन्तर्वार्ता लिने क्रममा, कहिले साहित्यिक, सामाजिक कार्यक्रमको प्रमुख अतिथि बनिदेऊ भन्ने काममा उनीहरूको घरघरमा पुगेछु । वैभवले, सम्पन्नताले बनिएका राजर्षि महलहरू हाम्रो परिभाषामा घरभित्र पर्छन् कि पर्दैनन्, मलाई थाहा छैन तर पथरीको साथीको घर भने मलाई अविस्मरणीय लाग्यो ।

केहि महिनापछि काठमाण्डौ आउँदा ती साथीसँग भेट भयो । हामी उनको घर गएको कुरा सुनाएको, गम्लङ्गै अँगालो मारौँलाझैँ गरे । तिम्रो गाउँमा गएँ भन्दापनि आश्चर्य मानेनन् । बुबाआमासँग भेट भयोभन्दा पनि अनौठौ मानेनन् तर घर गयौँ मात्र के भनेको थिएँ, अपनत्वले उनको आँट हर्हराएर आयो । राजधानीमा बस्दा पनि उनलाई झोडाको बोक्रे घरले तानिरहेको रहेछ । ओहो ! घरको तागत । घरको शक्ति । सबैथोक हुनु र घर नहुनु तर घर हुनु र सबैथोक नहुनु, कति फरक कुरा । जे.बि टुहुरेले नयाँ घर प्रवेश गर्नुभएको छ । मैले अस्ति भर्खरै सुनेँ ।
आफ्नो घर छाडेर पाहुन लाग्न जाँदा त्यो रात कहिले बित्लाजस्तो हुन्छ । औडाहा हुन्छ । छटपटी हुन्छ । ड्याम्म बस्दा पनि के भन्ने हुन् भन्ने हुन्छ । टुक्रुक्क बस्दा पनि बस्नै नजान्ने रहेछन् भन्लान् । चर्पी जाँदा पनि हतार गरी दिएँ कि,धेरै बेर लगाइदिएँ कि भन्ने हुन्छ । अर्काले कत्रो अभावमा कत्रा दु:खले कसरी बसौँला भनेर हाड घोटेर बनाएको घरमा रङरोगन गरिसकेपछि आफ्ना पुराना हाँडाभाँडा लिएर सुमुसुमु भित्र पस्न पाइला कसरी सर्दा हुन्, कसरी चित्तले मान्दो हो । ती कर्मीले कसरी स्थान दिँदा हुन् ? कसरी बसिरहेको घरलाई तिलाञ्जली दिएर अर्काको घरमा पस्न सकिँदो हो । कसरी सिन्को पनि नभाँची अर्काको घरमा बस्न सकिँदो हो ।
जति गहिरिएर सोच्छु उति काँडा उम्रिन्छ दिमागमा । गाँठो पर्छ छातीमा । जिन्दगीभरि रगत पसिना खर्चेर बनाएको घरभन्दा अर्काको परिवारले बनाएको घरमा साँच्चै मिठो निन्द्रा आउँछ होला ? साँची, नयाँ घर सर्नेहरूलाई पुरानो घरको मायाले पछ्याउँछ कि पछ्याउँदैन होला ?