Wednesday, October 28, 2009

उफ् यो मानसिकता!!

अराजकताको हद! नागरिकमा आज यसै शिर्षकमा छापिएको समाचार पढेर आफैँ देखि दिक्क लाग्यो । कुरो के रहेछ भने पुर्वाञ्चल क्षेत्रिय रंगशाला इटहरीमै बन्नुपर्ने माग राखेर स्यानीयबासीहरू सडकमै ओर्लेछन् । अनि त्यहि नेपालीको पुरानै शैलीमा चक्काजाम,बन्द, तोडफोड, आगजनी…………..उफ् मलाई त दिक्क लागिसक्यो यो मानसिकताप्रति ।


फोटोमा दनदनी बलिरहेको यात्रुबाहक बस देखेर खपीसक्नु रीस उठेन मलाई । एउटा खेलकुद मैदानको मुद्दामा यति ठुलो आवेग !आफ्नो माग सम्बोधन गराउन गरिने यस्ता आपत्तिजनक कृयाकलापप्रति हामी कतिसम्म अभ्यस्त भइसकेछौँ भन्ने कुराको पछिल्लो उदाहरण मात्र हो यो । स्वयमं जनताका नुन खाएका नेता भनाउदाको त शैली यहि छ भने जनताले पनि आखिर सिखो न गर्ने हो , तर व्यक्तिगतरूपमा मलाई अनि सायद अरू जो कसैलाई पनि यस्तो अराजक व्यवहार पक्कै मन पर्दैन ।

आफ्नो जन्मथलो पनि ईटहरी नजिकैको सानो गाउँमा भएको नाताले यो सहरसँग आत्मिय सम्बन्ध छ मेरो । आफू जन्मिएको ठाउँको बारेमा केहि राम्रा कुरा लेखौँ र अरूसामु इटहरीको चिनारी मज्जैले गराउँभन्ने मनमा लागिरहेको बेला हालसालै ईटहरीबासीले देखाएको यो कार्यशैलीले मेरो मनमा गहिरै ठेस पुगेको छ । त्यसो त सरकारले क्षेत्रिय रंगशालाको लागि बजेट छुट्याएको तर स्थान किटान नगरिसकेको अवस्थामा आफ्नै क्षेत्रमा रंगशाला बन्नुपर्नेकुरामा पुर्वाञ्चलका तीन ठुला सहर ईटहरी, धरान र ईनरूवा वीच दशैंताकानै घम्साघम्सीपरिरहेको थियो । आफुपनि ईटहरीबासी भएको नाताले सोही स्थानमा रंगशाला बन्नुपर्ने पक्षमा म पनि थिएँ त्यसबेला (हुनत अरू कारणहरू पनि ससक्त छन् यस विषयमा), तर हालसालैको यो घटनाले मलाई आफ्नै जन्मथलोप्रति वितृष्णा जगाएको छ । कुनै पनि माग बलजफ्ती र डरधम्कीले पुरा हुँदैनन् भन्ने कुरा सवैले वुझ्न जरूरी छ । यदि इटहरी उपयुक्त स्थल हो भने रंगशाला पक्कै यहिँ बन्नेछ हैन भने यो आन्दोलनको कुनै औचित्य छैन । यो त आफ्नै मुखमा कालो पोत्नु सिवाय अरू केही होईन । अनि आक्रोशित भएर अराजक गतिबिधि देखाउदा नयाँ पिढिमा साथै अन्तराष्ट्रिय जगत् मा पनि कस्तो सन्देश पुग्छ भनेर आत्मालोचना गर्नु उत्तिकै जरूरी छ ईटहरी बासीले।

photo source: nagariknews.com


Monday, October 26, 2009

अब पप्पु पास हुनेभयो.........


म र मेरो साथी प्रशान्त रातभरि पढ्यौँ । म अलि कम जान्ने ऊ अलि धेर जान्ने भएकाले मलाई नआएको कुरा पनि उसले सिकायो र हामीले सँगै एकदमै मजाले पढ्यौँ । उसले सात कक्षादेखि नै ऐच्छिक गणित पढेको रहेछ मैले चाहिँ आठमा पुगेर बल्ल पढेको हुनाले मलाई अलिकति गाह्रो भयो । तर मलाई सबै आयो पढ्दाखेरि । किताबका सबै हिसाब पनि गर्‍यौँ । भोलिपल्ट परीक्षा दिने दिन थियो । म उसकै कोठामा बसेको थिएँ । बिहान सँगै परीक्षा दिन गयौँ । दुवैजनाको नाम 'P' बाट शुरू हुने भएकाले हाम्रो सीट अगाडि-पछाडि पर्थ्यो जाँचको बेला । र त्यो बेला पनि त्यहि भयो । म अगाडि प्रशान्त पछाडि । १० बजेको घण्टी लाग्यो र प्रश्नपत्र बाँडियो ।

मैले सरर प्रश्न हेरेँ । कत्ति सजिलो ! सबै हिजो गरेका प्रश्नहरू, त्यो पनि दोहोर्‍याई तेहेर्‍याई । फटाफट गर्न थालेँ। पहिला एक नम्बरको प्रश्न गरेँ, २-३ लाइनपछाडि त के हो के हो जस्तो भयो । त्यसलाई छाडिदिएँ अनि २ नम्बरको थालेँ । फेरि उस्तै भयो । अब म आत्तिएँ । अरू जानेका कुरा पनि सबै बिर्सिएँ । अनुहार रातो भयो । जीऊ तातेर आयो । म त लुगलुग काम्न थालेँ । अनि आँसु पो झार्न थालेँछु । हाम्रो परिक्षामा गार्ड चैँ नेपाली सर बस्नुभएको थियो । त्यतिबेला म नेपालीमा राम्रो भएकाले र समग्र सबै विषयमा पनि राम्रो भएकाले उहाँले मलाई अलि धेरै माया गर्नुहुन्थ्यो । नजिक आएको सोध्नुभयो के भएछ भनेर । म त बोल्नै सकिनँ अनि झन् पो रून आएछ । सरले कुरा बुझिहाल्नुभयो अनि प्रशान्तको अलिअलि हेर अड्किएको ठाउँमा भन्नुभयो । अनि बल्ल अलि तागत आयो जीऊमा । सबै कुरा बिर्सिसकेको त थिएँ । पछाडि फर्केर सारेँ मैले त सबै । ५० नम्बरको परीक्षामा ४८ नम्बरको सारेँछु ।

नेपालमा व्याप्त तीन घण्टे मुल्याङ्कन प्रणालीमा आफूले भोगेको एउटा घटना स्मरण मात्रै गरेको हुँ मैले । वर्षभरि पढेको कुरा ३ घण्टाले निर्धारण गर्छ । परीक्षाको बेला जति दिमागमा हुल्न सक्यो र ३ घण्टामा जति दिमागको कुरा वमन गर्न सक्यो विद्यार्थी उति नै जान्ने भनेर मुल्याङ्कन हुन्छ । वर्षभरि बुझाएका होमवर्क, वर्षभरि कक्षामा देखाएका गतिविधि आदिको लागि कुनैपनि नम्बर छुट्याइएको हुँदैन । विद्यार्थीको विभाजनको रेखा ३ घण्टे परीक्षाले कोर्ने गर्छ ।

यसै सन्दर्भमा सरकारले अब ७ कक्षासम्म सबैलाई पास हुने व्यवस्था गरेछ । पढाइको अर्थ पास फेलमात्र नभई सीप सिक्नु पनि हो भनेर यस्तो व्यवस्था लागु गर्न लागेको अरे । फेल हुँदा पर्ने मानसिक प्रभावलाई न्युनिकरण गरि जीवनमुखि शिक्षा दिनका लागि यस्तो व्वस्था गर्न लागिएको भनेर आजको कान्तिपुरमा प्रकाशित गरिएको छ । निरन्तर मुल्याङ्कन र कक्षोन्नति प्रणालीअन्तर्गत विद्यार्थीलाई कक्षा चढाउने भनेर उल्लेख गरिएको रहेछ । तीन घण्टाको वार्षिक परीक्षाको साटो बाह्य तथा आन्तरिक मूल्यांकन गरी विषयगत आधारमा कक्षा चढाइने यो पद्धतिको व्यवहारिक पाटो भने नेपालको अवस्थामा कस्तो हुने हो त्यो भने निकै नै मननीय विषय हो ।

"पढ्न जानु पर्दैन भैँसी हेर्न जा ।"
"तँ स्कुल गइस् भने घरको काम कसले गर्छ ?"
"स्कुल गएर खान पुग्छ ? जा माथ्ला घरको धान काट्न ।"
गाउँतिर निम्नवर्गीय परिवारमा धेरै सुनिने कुरा हुन् यी । अहिले खाएर भरे के खाउँ भन्ने परिवारमा पढ्नुलाई भन्दा थोरै पैसा ल्याएर छाक टार्नुलाई प्राथमिकतामा राखिन्छ । यो उनीहरूको रहर होइन बाध्यता हो । धान रोप्ने र काट्ने बेलामा कति स्कुल त बन्दै भएको कुरा पनि समाचारमा आउँछ । तीन घण्टा परीक्षामा उतीर्ण भएपछि बल्ल कक्षा चढ्न पाउने विद्यमान नियम हुँदा त ग्रामीण भैगमा यस्तो अवस्था छ भने अब परीक्षा नै नदिईकन कक्षा चढ्न पाउने भएपछि झन् अवस्था भयावह पो हुने हो कि ? फेरि आन्तरिक मुल्याङ्कन के का आधारमा गरिने र एउटा विद्यार्थीले त्यो विषयको व्यवहारिक ज्ञान पायो भनेर कसरी थाहा पाउने ? त्यो सबै कुरा पहिले नै परिभाषिर गर्न जरूरी छ ।

"किन जानुपर्‍यो पढ्न ? त्यतिकै क्लास चढिहाल्छस् नि ।" भनेर परिवारका मान्छेले भन्दा "हो त है ! किन जानुपर्‍यो र" भन्ने भावना विद्यार्थीमा जाग्ने पो हो कि ? यसतर्फ पनि सचेत हुन जरूरी छ । यो व्यवस्था एकदमै ठिक हो हुन त तर देशअनुसारको भेष गर्नुपर्ने भएकाले उचित अध्ययनबिना यो पद्धति ल्याईहाल्न हतार पो गर्नुहुँदैन कि ? फेरि यो नियम भनेको सरकारी स्कुलका लागि हो र मैले माथि वर्णन गरेको अवस्था मुलत: सरकारी स्कुलमै पढ्ने विद्यार्थीहरूको हो । ग्रामीण क्षेत्रका निम्नवर्गीय परिवार धेरै सरकारी स्कुलमा पढ्ने भएकाले सबै पक्षको उचित अध्ययन गरेर मात्रै यो व्वयस्था लागु गर्नुपर्छ । तीन घन्टे परीक्षाको विकल्प त सोच्नैपर्ने बेला आइसकेको छ तर हतारहतारमा यसको विकल्प ल्याउँदा झन् भयावह अवस्था आउने पो हो कि ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।

तस्वीर स्रोत : यहाँ छ

Sunday, October 25, 2009

तस्विर आफैँ बोल्छ!!



भो मलाई धेरै केहि भन्नु छैन यसबारेमा । वास्तवमा “तस्विर आफै बोल्छ”। तपाईँहरू गलत सोच्दै हुनुहुन्छ, म नेपालको ट्राफिक व्यवस्थापनलाई गाली गर्न गईरहेको छैन न त कोहि सरोकारवालाहरूसँग स्पस्टिकरणको माग गर्दैछु । यि वृद्धलाई कसले उक्सायो होला र त्यसरी गाडीको पछाडि टाँसिनलाई । दोष प्रत्यक्ष कसैको छैन । छ त केवल नियतिको-नेपाली हुनुको नियतिको । आफ्नो बुताले भ्याउनेभए यि पनि कार चढेर हिड्थे होला अनि म पनि आफ्नै सवारीमा कतै घुम्न हिडेको हुन्थेँ होला । किन माइक्रोको अगाडि सिटमा बसेर यि बुढाको फोटो खिचिरहनुपर्थ्यो र मलाई पनि???


प्रशंग अलिकति बदल्छु । केहि समय अगाडि कामविशेषले नेपालमा चल्ने सवारीसाधनको वारेमा सानो रिपोर्ट तयार गरेको थिएँ । नेपालमा सवारीको मूल्य अरू देशको तुलनामा कति बढिपर्ने रहेछ भनेर बिस्तृत रूपमा वुझिसकेपछि मलाई नेपालमा जन्मिएकोमा पहिलोपटक हिनताबोध भयो (यद्यपि देशको वारेमा सकारात्मक सोच राख्नेमा म पनि एक हुँ) । एउटा उदाहरण दिन चाहन्छु:-
भारतीय वजारमा टोयोटा कम्पनीको Corolla ALTIS मोडलको कारको दाम भारू दश लाख पर्दो रहेछ । अर्थात गोजीमा दशलाख रूपैयाँ भए भारतीयहरूले टोयोटाकै कार चढ्न पाउने रहेछन् । अव नेपालमा त्यहि कारको मूल्य यसरी बन्दो रहेछ:-


अर्थात त्यहि कार नेपालीहरूले चढ्नुपर्यो भने पच्पन्न लाख(५५ लाख)को हाराहारी पैसा पर्छ । विचरा हामी! कहाँबाट ल्याउनु त्यत्रो पैसा र कार किन्नु । अनि बसभित्र सिट नभएपछि बाहिरै भए नि झुण्डिनु परेन त!! यहि हो नेपाली भएर जन्मनुको नियति भनेको । एउटा नेपाली र अर्को भारतीयले बराबर पैसा कमाएपनि पहिलोलाई दोस्रोको जीवनस्तर ज्युन लगभग ५ गुना बढि समय लाग्ने रहेछ । अर्थात एउटा भारतीयले ३० वर्षको उमेरमा दश लाखको कार किन्ने हैसियत राख्छ भने त्यहि कामगर्न नेपालीलाई (३०*५)‍= १५०वर्ष लाग्ने रहेछ !!लौ भो बढि कुरा गर्दिन अव म । नत्र पागल भन्नेठान्नुहोला मलाई । कार किन्दैमा ठुलो भईन्छ भन्ने हैन, यो त एउटा उदाहरण मात्र हो तर देश गरिव भयो भन्दैमा जनताले यति ठूलो भारी बोक्नुपर्छ भन्ने त छैन नि । यस्ता कयौँ उदाहरण छन् जसले हाम्रो जीवनस्तरलाई झल्काइरहेछ । भारतीय सिमा वजार जोगवनीमा नेरू ५३ रूपैयाँ प्रति किलो पर्ने चिनी यता नेपालमा ६५-७० रूपैयाँको हाराहारी पर्छ । प्रति १ सिलिण्डर लगभग ५०० भारू पर्ने एल.पी ग्यास नेपालमा ११०० भन्दा बढि पर्छ । बेरोजगारीको समस्या अनि आकासिदो महङ्गी त्यसमाथि चर्को राजस्व । सबैकुरा समायोजन गर्न पैसै बढि लाग्ने अनि पैसा जोगाउन पहल गर्दा माथि तस्विरकै वृद्धको जस्तो नियति हुने । वास्तवमा यो तस्विर तपाईँ हामी सबैको हो । कठै हामी!! आउँछन् हाम्रा सुखका दिन पनि आउँछन् हेर्दै गरौँ न ।


यहि हो हाम्रो नयाँ विन्डोज, विन्डोज ७

" दुइ छाक भात पनि खान नपाउने गाउलेलाई क मतलब Windows 7 को .."


















ए बा, ऊ त्या हेर्नु हेर्नु ... नया windows मा त हाम्रो स्कूल कहाँ छ भनेर पनि हेर्न मिल्दो रैछ |

Saturday, October 24, 2009

आफ्नै देशको डिजेलले गाडि सरर.......

अहिले बजारमा डिजेल,पेट्रोललगायतका पेट्रोलियम पदार्थको कृत्रिम अभाव छ । कारण, सरकारले छैठपछाडि पेट्रोलियम पदार्थको भाऊ बढाउँदैछ । सस्तो मुल्यमा ल्याएको पेट्रोलियम महङ्गो मुल्यमा बेच्न पाइने भएकाले जनतालाई बाँड्नभन्दा गोदाममा हालेर जोगाउन तम्सिएका छन् पेट्रोलियम बेच्ने व्यवसायीहरू । भारतमा पेट्रोलियम पदार्थको मुल्यमा समायोजन भएपछि अहिले भारतमा भन्दा नेपालमा डिजेल,पेट्रोलको भाऊ सस्तो छ । नेपालमा ग्यालिन बोकेर आएर भारत तेल ओसार्ने काम पनि धमाधम हुँदैछ सीमावर्ती नाकामा । यसैलाई न्युनिकरण गर्न र आयल निगमको घाटालाई कम गर्न सरकारले मुल्य समायोजन गर्ने भएको हो ।

अन्तराष्ट्रिय क्षेत्रमा कच्चा तेलको मुल्यवृद्धिसँगै भारतबाट आयात गर्दा तेल महङ्गो भएकाले पोहोर साल लामै समयसम्म पेट्रोलियम पदार्थको अभाव भएको थियो । अब भने एउटा खुसीको खबर छ नेपाल र नेपालीका लागि । केहि समयअगाडि पत्रिकामा आएको थियो पाल्पाका कृषकले सजीवनको तेलको प्रयोगले ट्रयाक्ट्रर कुदाए भनेर । त्यसैगरि काठमाण्डौ विश्वविद्यालयमा पनि केहि समय अगाडि भएको एउटा संयुक्त प्रोजेक्टले बायोडिजेलको मद्दतले नेपाल भ्रमण नै गरेका थिए । पश्चिम नेपालमा पनि सजीवनको तेलबाट ट्रक कुदाएको कुरा समाचारमा आएको थियो । बाहिर के के भएको छ कुन्नि, तर नेपालमै यो प्रमाणित भइसकेको छ कि सजीवनबाट निकालेको तेलबाट गाडि मजाले कुद्‍न सक्छ । केहि समयअगाडि तत्कालीन् विज्ञानमन्त्री गणेश शाहले पनि सजीवनको विरूवा लाहानमा रोपेको कुरा उहाँको ब्लगमा उल्लेख गरिएको छ ।

अब भने सजीवनको तेल व्यवसायिक रूपमा उत्पादन हुने भएको छ । एभरेष्ट बायोडिजेल नामक कम्पनीले चितवनमा २ बिगाहा जग्गा खरिद गरेर सजीवनको व्यवसायिक खेतीको शुरूवात गरिसकेको छ र छोटो समयमा नै तेल पेल्ने उपकरण र वायोडिजल प्रशोधन उपकरण जडान गर्ने भएको छ । डिजलप्रतिको परनिर्भरता हटाउन यो कार्यले नेपाल र नेपालीलाई एकदमै सहयोग गर्नेछ । सजीवन खेती गर्ने स्थान र स्रोत नेपालमा प्रशस्तै भएकाले यस उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि लान सकिन्छ । आशा गरौँ अब तपाईँ हामीले नेपालमा गाडि चलाउँदा आफ्नै देशको सजीवनको तेलले गाडि चलाउन पाऔँ । यसले वातावरण पनि जोगाउँछ अनि आफ्नो पैसालाई देशबाहिर जान पनि दिँदैन । साथै पेट्रोलियमका लागि बाहिरि देशसँगको परनिर्भरता पनि हटाउनेछ ।

तस्वीर स्रोत : यहाँ छ

Friday, October 23, 2009

साँच्चै चिसो रहेछ चिसापानी.......


"अब मंगलबार विदा भईहाल्यो, बुधवार एक दिन हो, विहिवार हाम्रो प्रोजेक्ट डे नगएपनि हुन्छ अनि शुक्रवार त दीक्षान्त समारोह भईहाल्यो । शनिवारतिर धुलिखेल कलेज गए हुन्छ ।" मेरो साथीले भाइटीकाको दिन फोन गरेर भन्यो ।
"के गर्ने त उसो भए ? यत्तिका दिन के गरेर बस्ने ?" मैले भनेँ ।
"अस्ति नागरिक पत्रिकामा पढेको थिएँ चिसापानीको बारेमा, जाऔँ घुम्नलाई । यहाँबाट सुन्दरीजलहुँदै चिसापानी एक दिन अनि चिसापानीदेखि नगरकोट १ दिन । हिँडेको दोस्रो दिन काठमाण्डौ नै आइपुगिन्छ । अनि ट्रेकिङ रमाईलो पनि हुन्छ ।" उसले भन्यो ।
यहि सल्लाहअनुसार सँगै पढ्ने साथीहरू खोज्दै जाँदा हामी यो यात्राका लागि जम्म ६ जना तयार भयौँ । अनि बुधवार(भाइटिकाको पर्सिपल्ट)हिँड्ने योजना बनायौँ । बुधवार बिहान ७ बजे नेपाल वायुसेवा निगमको अफिसअगाडि भेला भएर सुन्दरीजलको माइक्रो चढ्यौँ । फेसबुकको फोटोमा माइक्रो लेख्दा साथी सञ्जुले बोइङ ७५७ लेख् भनेको थियो, नेवानिबाट चढेको भएर । करिब डेढ घण्टाको माइक्रोयात्रापश्चात् कार्डसहित जनही २५ रूपैयाँ माइक्रोलाई बुझाएर पैदल यात्राको शुरूवात भयो । बाटामा भेटिएका ढुङ्गा र झरनाको फोटो खिच्दै करिब १५ मिनेटपछि हामी शिवपुरी राष्ट्रिय निकुञ्जको हातामा प्रवेश गर्‍यौँ । विदेशीलाई २५० रूपैयाँ र नेपालीलाई १० रूपैयाँ प्रवेश शुल्क लाग्ने रहेछ । हाम्रो त्यस दिनको गन्तव्य चिसापानी २२ किलोमिटर पर रहेको कुरा त्यहाँ राखिएको बोर्डमा उल्लेख थियो ।

जङ्गलको बिचैबिच सानो बाटो, कतै ढुङ्गालो छापेको, कतै माटैमाटो पार गर्दै सुन्दरीजलको बाँधबाट करिब साढे नौ बजे उकालो लाग्यौँ । बाटामा भेटिएका धाराको चिसो पानी खाँदै टन्टलापुर घाममा हाम्रो यात्रा जारी थियो ।
"दिदी खाना पाईन्छ होला ?" मुलखर्क पुगेपछि एउटा होटलमा सोध्यौँ दिउँसोको १२ बजेतिर ।
"पाईँदैन यहाँ, ऊ त्यो पसलमा सोध्नुस् ! चाउचाउ मात्रै हुन्छ यहाँ ।" खासै मिठोगरि जवाफ दिइनन् ती दिदीले ।
२-३ वटा पसलमा खोज्दा पनि खाना खान नपाएपछि अन्त्यमा त्यहि दिदीले पकाएको चाउचाउले चित्त बुझाउँदै फेरि उकालो लाग्यौँ ।

"दाइ चिसापानी जान अब कति लाग्छ होला ?" ठूलो विदेशीको भारी बोकेर गोसाईँकुण्ड जान भनेर हिँडेका दाइलाई मैले सोधेँ ।
"अब त्यस्तै २ घण्टामा पुगिन्छ ।" दिनको साढे एक बज्दा यो वार्तालाप भएको थियो हाम्रो । पुगिहालिन्छ नि छिट्टै भनेर हतार नगरि बिसाई बिसाई गयौँ हामी । मुलखर्कभन्दा उताको बाटो चैँ पुरै जङ्गलको बिचबाट हिँड्नुपर्ने रहेछ ।
यसरी जिस्किँदै, बस्दै बेलुका ४ बजेतिर चिसापानीको चिसो हावा खान पुगियो ।

एकैछिनमा आकाश खुल्ने एकैछिन् झ्याप्पै छोप्ने बडा अचम्मको कुहिरो लाग्दो रहेछ चिसापानीमा । चिसोले गरेर होला सबैका मोबाइलका ब्याट्री एकैचोटि रित्तिए । फेरि बिजुली पुगेको रहेनछ चिसापानीमा । सोलारको भर गरेर बस्नुपर्ने रहेछ । बसेको रू.२५० र सादा खानाको रू.१०० मा कुरा मिलाएर हामी हिमालयन बिबिसी होटलमा बस्यौँ । साथी सञ्जयलाई चिसो मजाले लागेछ एकछीनमा मासु भात खाएपछि मात्रै तङ्ग्रियो । हिँडाइले धेरै थाकिएछ घुप्लुक्क निदायौँ सबैजना बेलै नभई ।

बिहान ७ बजे उठेपछि नगरकोट जाने हाम्रो पूर्वनिर्धारीत तालिकाअनुसार साथीहरू तयार हुन थाले । तल ओर्लेर एक कप मिठो कफी खाएपछी लाग्यौँ हामी ७ घण्टाको बाटो नगरकोटतर्फ । सुन्दरीजल झर्ने बाटोको आधा लगभग ३ घण्टा हिँडेपछि झुले भन्ने ठाउँबाट नगरकोट जाने बाटो छुट्टिने रहेछ । चिसापानीबाट नगरकोट जाने बाटो चाहिँ सुन्दरीजलबाट चिसापानी जानेभन्दा पनि राम्रो रहेछ । घना जङ्गलबाट हिँड्नुपर्ने । घाम लागेपनी खासै असर नपर्ने । एकदम रमाईलो भयो ।

झुलेमा चैँ भात खान पाइयो है ११ बजे । साह्रै मजा आयो । बरेलाको तरकारी र भात यस्तो मिठो कहिल्यै लागेको थिएन । हल्याण्डबाट आएका केहि विदेशी पाहुनासँग भलाकुसारी गर्दै खाना खायौँ ।
"म अर्को पटक आउँदा यो पहाडहरूमा पुल बनेको हेर्न पाउँ, तिमी त ईञ्जिनियरीङ्को बिद्यार्थी" उसले भन्यो ।
"तपाईँको लगानीको पर्खाइमा छौँ हामी यसका लागि" मैले पनि यथार्थ ओकलेँ ।
उसले आफ्नो गाइडतर्फ हेरेर भन्यो,"मैले धेरै लगानी गरेको छू हेर त यो गाइडको भुँडि कत्रो भइसक्यो ।" एकछिन हाँस्यौँ सबैजना । त्यसपछि उनीहरूसँग बिदा भएर हामी ओरालो झर्यौँ लप्सीफेदीतिर ।

करिब साढे २ बजे कात्तिके भन्ने नगरकोटको डाँडा भन्दा ४ किलोमिटर वरको गाउँ आइपुगेपछि खुट्टाले साथीहरू सबैलाई धोका दियो । पाइताला पोल्ने, घुँडामुनिको भाग चस् चस् गरेर दुख्‍नेले सामान्य विरामी बनायो साथीहरूलाई । अब ४ किलोमिटर हिँडेपछि हामी नगरकोटको टावर पुग्ने थियौँ । साथीहरूले गइरहेकै ठाउँ त हो नि भने र गाडि चढेर साँखुको बाटो हुँदै काठमाण्डौ फर्कियौँ । घर आइपुग्दा साँझको ६ बजिसकेको थियो ।

थप फोटो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला ।

Thursday, October 22, 2009

सर्वदलिय समर्थन!!


युवा शक्ति,जोश जाँगरको बारेमा पहिले अलिकति कुरा उठाएको थिएँ । सञ्जोग पनि कस्तो मिलेको, पहिले भुषको आगो भएर सल्किएको एमाले झगडा पछिल्लो समयमा पेट्रोल छर्केरै बालेजस्तो गरी दन्दनी दन्कियो । फेरि सुनेँ, केहि युवा नेताहरूको पहलमा तीन शीर्ष एमाले नेताहरूबीच छलफल सम्पन्न भयो भनेर । बधाई छ है एमाले-युवा पहललाई । पहिला आफ्नो घरमा स्थायित्व भए पो अर्काको घरको बारेमा पनि सोच्न सकिन्छ । हैन भने त बाँदरको उखानले काम गरिहाल्छ नि फेरि । न आफ्नो घर बनाउँने न अरूको बनाउन दिने । एमाले कदमको पुर्ण स्वागत गर्छु म त । साँच्चै भन्नुपर्दा, किन हामीवीच मनमुटाव भयो भनेर त आत्मालोचना गर्नै पर्दैन पार्टिले । सबैथोक छर्लङ्गै छ दुधको दुध पानीको पानी जस्तो । खासमा हामी हामी वीच फुट ल्याउने त ति विदेशी षड्यन्त्रकारीहरू पो हुन् त, तह त तिनीहरूलाई लगाउनुपर्छ अव । सवै राम्रो लाग्यो एमालेको खल्लो एउटै कुराको मात्र रह्यो, सर्वहारा वर्गको पार्टी भएर आफ्नै आन्तरिक कुरा मिलाउन ५ तारे होटललाई कार्यथलो बनाएकोमा । हुन पनि ठिकै हो पार्टीलाई भोटहाल्ने पो सर्वहरा वर्ग त, अव नेतानि त्यस्तै हुनुपर्छ भन्ने त कैँ लेख्या छैन नि ! त्यत्रो जिम्मेवारी बहन गरेको पार्टी नेकपा एमाले, माओवादी र कांग्रेस दुई धारमा हुँदा समझदारीको लागि दुबैतीरको कुरामा सहमत भएको पार्टी नेकपा एमाले, दुईचार ठाउँ चुनावमा हारे पनि जिम्मेवारी बोधले घच्घच्याएपछि राष्ट्रलाई अग्रगामी निकास दिन सिङ्गो सरकारकै नेतृत्व सम्हालेको पार्टी नेकपा एमाले । यो पार्टी नभइदिएको भए त देशै पो रहँदैनथ्यो कि भन्नुपर्ने अवस्थामा खाली आलोचना मात्र गरेर हुन्छ र भन्या? राम्रा कुरा पनि त हेर्नुपर्यो नि ।

नेपाली कांग्रेसमा सभापतिको अविभावकत्व देखेर त झन् चकितै भएको छु म त । उमेरलेनै ८५ टेक्न आँटेका अनि समकक्षी गणेशमान र कृष्णप्रसादले जिम्मेबारी पुरा गर्न नसक्लान् र पार्टी विगार्लान् भनेर हामी नजन्मिदै देखि आफैले पार्टी नेतृत्व लिएका युग पुरूषलाई ति हिजो अस्तिका फुस्राले केन्द्रिय कमिटिको धाक देखाएर कै नापिन्छ र ? भो क्यै नापिदैन । जब सम्म राष्ट्रिय झण्डामा चन्द्र सूर्य भैरहन्छ तबसम्म नेका को नेतृत्व पनि गिरिजाबाबूसँगै रहिरहन्छ । अब राष्ट्रिय झण्डै फेरिएको स्थितिमा भने म पनि केहि भन्न सक्तिन । त्यसपछि ति फुस्राको पनि पालो आउला कि? अब सुजतालाई नै किन त्यतिसाह्रो मन बिग्रिनेगरि गालि गर्नुपर्यो र भन्या सबैले? हाम्रो हिन्दु परम्परालेनै माता पिताको आदेश पालन गर्नु छोराछोरीको कर्तव्य हो भनेर सिकाएकै छ!! त्यहि धर्मलाई मानेर त्यसैको उल्टो काम त गर्न भएन नि । धर्म भन्दा ठुलो त राजनिति होईन होला । फेरि उनि अलिअलि भएपनि त्यतिसाह्रो कामै नलाग्ने महिला चैँ होईनन् है । अवसर पाए नारीले पनि केहि गरेर देखाउन सक्छन् भनेर हिजोआज जताततै महिलाहरू तातिरहेको अवस्थामा दिऊँ न त उनलाई एकपल्ट ‘उप’ को अवसर । भाषण गर्न, आफुभन्दा अग्रजसँग तमिजले बोल्न, वुवा विना पनि कांग्रेसमा टिकिरहन अवसर त चाहियो नि एकपल्ट । अनि पो सबैकुरा सिकिने हो र गरेर देखाउने हो । सुजताजी, म त पुरा तपाईँको पक्छ्यमा छु । गर्नुस् गर्नुस् यै हो गर्ने बेला भनेको । हैन भने त भोलि बुबा बैकुण्ठ गएपछि कि तपाईँ पनि उतै जानुपर्यो यहिँ बसेर त खै……..


माओवादीको त झन् कुरै नगरौँ । यत्तिको प्रजातान्त्रिक कार्यशैली त अरू पार्टीमा दिउँसै बत्ती बालेर खोजे पनि भेटिदैन होला । अझ देशलाई स्थायी निकास दिन वहाँहरूले गर्नुभएको योगदान त झन् खपिनसक्नुको छ । जति तारिफ गरेपनि शब्दहरू कमै हुन्छन् । ‘नागरिक सर्वोच्चता’ को अर्थ वहाँहरूकै कृपालेनै मैले नि बुझ्न पाएँ । हैन भने त सर्वसाधारणले यो कुरा कहिले बुझ्थे होला र ? अरू कुनै दलले यो कुरा उठाएकै होइनन् । दुई-चारजना जान्नेबुझ्ने भनाउँदाहरूले ‘देशमा बसोबास गर्ने प्रत्येक नागरिकको सर्वोपरि स्थान नै नागरिक सर्वोच्चता हो’ भनेर परिभाषा लाउँदैमा म मान्छु र ? नागरिक सर्वोच्चता भनेको त वन्दुके राजनितिको धमास देखाएर संविधानमा प्रावधानै नभएको संकल्प प्रस्ताव दर्ता गराएर राष्ट्रपतिलाई दोषी देखाउनु हो अनि सबै दललाई पाखा लगाएर आफुखुसी देशमा हैकम चलाउनु हो । “त्यसोभए त त्यो नागरिक सर्वोच्चता नभएर ‘माओवादी सर्वोच्चता’ भएन र?” भनेर प्रश्न गर्नुहुन्छ भने त्यसको उत्तर पनि छ मसँग । अव माओवादीकै भाषामा भन्नुपर्दा नागरिक भनेकै माओवादी हुन् । नहुन् पनि कसरी, सबैभन्दा धेरै जनताले उसैलाई भोट दिएका हुन् क्यारे । अनि माओबादी र नागरिक एकै भएपछि नागरिक सर्वोच्चता भनेकै माओवादि सर्वोच्चता भएन र ? सोच्नुहोस् है!! म त पुर्ण सहमत छु माओवादीको हतियारको राजनितिमा । आखिर त्यै हतियारले गरेर देशमा यत्रो परिवर्तन आयो । अझ भनौँ गणतन्त्रै आयो । हैन भने सोध्नुहोस् न माओवादी साथीहरूलाई? मैले भनेको होईन क्यारे । त्यसै यो कुरो गलत हो भन्न पाईन्छ ? दुई चारजना फुस्रे नेताले ७ दलको कार्यगत समझदारीले राजतन्त्र ढल्यो भनेर भन्दैमा हामी पत्याउँछौँ र ? जनआन्दोलन सफल पार्न त्यतिका नेपाली जनताले रगतको होली खेले भन्नेकुरा हामी मान्छौँ र ? राजतन्त्र ढल्यो त केबल माओवादीले गर्दा । अरू कसैले यस कुरामा जस लिन नखोजे हुन्छ ।

तराईको सबैभन्दा ठुलो दल मधेसी जनअधिकार फोरम एउटा नेतृत्वले मात्र मधेसीको माग सम्बोधन हुन सक्दैन भनेर उपेन्द्र यादवजी र गच्छदारजी छुट्टा छुट्टै नेतृत्व सम्हाल्दै हुनुहुन्छ । म सलाम गर्छु यो समर्पणलाई अनि यो त्यागलाई । यो पो हो त निस्वार्थ राजनिति भनेको । दुई गुटले पार्टी झन् ससक्त भयो भने त मधेसी जनताको सुखको दिन आईहाल्यो नि । अरू पार्टीले पनि फोरमको यो रणनितिलाई अंगाल्न सके झन् कति राम्रो हुन्थ्यो होला ? जुटको राजनितिले केहि लछारपाटो नलाए फुटको राजनिति नै ठिक । फुटाउनुहोस् फुटाउनुहोस् दुई मात्रै किन अझ चार पाँच टुक्रै बनाउनुहोस् । मेरो बधाई छ यादबजी र गच्छदारजीलाई । तपाईँको पार्टीलाई पनि मेरो पुर्ण समर्थन छ ।

बाँकी सबै दलहरूले पनि आ-आफ्नो ठाउँबाट देशलाई अग्रगामी निकाश दिन हरसम्भव प्रयास गरिरहनुभएको छ । कसैलाई समर्थन दिएर सरकार बनाउन होस् अथवा समर्थन फिर्ता लिएर सरकार ढाल्न होस् जो होस् तपाईँहरूको काम पनि प्रशंसा लायक नै छ । आखिर राजनितिका मूल मन्त्रहरू यिनै त हुन् ।


अन्त्यमा, नेपालका सम्पुर्ण दलहरूलाई संविधान ढिलो भन्दा ढिलो बनाईदिनुहुन र हामी लेखकलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु । फेरि संविधान छिट्टै बन्यो र आलोचना गर्ने ठाउँ नै भएन भने हामीले व्लगमा के लेख्ने र फेरि??


Tuesday, October 20, 2009

घर


घरै घर छन् जताततै । वरिपरिका थरीथरीका । अनेक नामका । अनेक दामका । अनेक खालका । अनेक चालढालका । कतै ओढारे घर छन् । कतै बोक्रे छन् । कतै पराले छन् । कतै टाँढे छन् । कतै मुण्डे छन् । मान्छे जस्तामा पनि बसेका छन् । जसरी पनि बसेका छन् । एकपटक भावना र म बारी जोत्‍ने चौधरीलाई खोज्न खोक्सी गएका, घरका मान्छे उठेकै रहेनछन् । बाँसको खाँबाखुट्टी भएको भुइँघरभित्र हामी पस्यौँ । त्यत्रो घरमा पनि ढोका रहेछ । मलाई ढोकाले कौतुहलता जगायो । आखिर किन राखेको होला चौधरीले त्यो ढोका ? बाँसका भाटा सबै खुस्किसकेका छन् । जमिनबाट तीन फिटजतिमात्रै अग्लाई छ । आँगनबाट उभिएर हेर्दा भित्रको दृश्य सबै देखिन्छ । घरको वरिपरि माटोले लिपेर बासजस्तो बनाएको छ । हावा छिर्ने प्वाल कतै छैन । ढोकोछेऊमा उभिएर भित्र हेरेँ । पटेरको गुन्द्रीमाथि लामा छोटा ४-५ जना सुतेका छन् । सबै घुँडाले चिउँडो जोडेर कोल्टे फर्केका छन् । कात्तिकको महिना, जुटको पुरानो झल्ला लम्बाइतिरबाट ओढेका रहेछन् । छेऊतिर सुतेको चौधरी बुढो हुनुपर्छ, किनकि उसको छेऊमा पेपरका ठुटाठुटीहरू थिए र भूइँ कालै थियो । त्यो स्वर्गीय आनन्दमा रमाएको परिवारलाई हल्ला गरेर उठाउन मन लागेन । कति बहुमुल्य निन्द्रा थियो उनीहरूको ।

केही नभनी हामी बाहिर निस्कियौँ । बाटोमा आएर मैले पुलुक्क त्यो घरलाई हेरेँ । यो पनि त एउटा आनन्ददायी घर हो नि । चौधरी आफैँ आयो बारी जोत्‍न । तर ऊ घाम छिप्पिएपछि आयो । मध्यान्हसम्म जोत्यो । खाना खाएर एकछिन सुत्यो । फेरि उठेर फरूवा लिएर गयो । हँ..हँ..गर्दै छेऊकुना खन्यो । साँझ परेपछि मैले भनेँ,"चौधरी दाइ ! आज यहिँ सुत, माथि एउटा कोठा खाली छ ।"'नाईँ हजुर ! आफ्नै घरमा सुत्छु । मलाई अर्काको घरमा सुत्‍ने आदत छैन । ससुराली मेजमान खाना जाँदा त निन्द्रा लाग्दैन' उसले भन्यो । "साँच्चै सुत्दैनौ ?" मैले फेरि खेरेँ । "सत्ते सत्तेहोला हजुर, मलाई झुठो बोल्न आउँदैन ।" उसले अड्डी छाडेन ।

चौधरीको कुरा सुनेर म चकित भएँ । घरप्रतिको उसको प्रेम वर्णन गरिनसक्नुको थियो । मेरो काठको टाँडे र छाँट परेको घरलाई उसले एक नजर पनि लगाएन । मान्छेले बनाएको मात्र हैन, प्रकृतिले बनाएको घरमा पनि मान्छे बस्दा रहेछन् । त्यो कति न्यानो, राम्रो र सुरक्षित हुन्छ, उनीहरूलाई नै थाहा होला तर ढुङ्गाको ओढारमा पनि जीवन चलेको देखेर म अचम्मित भएँ ।

६-७ वर्षअघि प्ररायुसंघले पूर्णागिरी भ्रमणको आयोजना गर्‍यो । महाकालीको पूर्णागिरीमा भारतले एकतर्फी बाँध बनाएको हल्ला चलेर सदन पनि अबरूद्ध भयो । डडेलधुराको ३,४ वटा गाविस डुब्ने र ५०,६० हजार मान्छे घरबारविहिन हुने कुरा सुनेर बाँधस्थलको अवलोकन गर्न एउटा टोली पश्चिम लाग्यो । १५,२० जना सांसदहरू, पत्रकारहरू, सीमाविज्ञहरूको भीडभित्र साहित्यकारको कोटामा मेरो पनि नाम मनोनयन भयो । ९ दिने भ्रमणको छैठौँ दिन हामी डडेलधुरा जिल्लाको आलीताल गाविसमा पुग्यौँ । त्यहाँबाट बाँधस्थलसम्म पुग्न दिनभरिजसो जङ्गलै जङ्गल हिँड्नुपर्ने र बाटोमा केहि खानेकुरा नपाइने कुरा थाहा पाएपछि झोलाभरि चाउचाउका पोका बोक्यौँ । पानीका बोत्तल बोक्यौँ । दिनभरि कुरूमकुरूम चाउचाउ चपाउँदै हिँड्यौँ । जङ्गलमा भारतीय कर्मचारीले कोरेका विभिन्न चित्रहरू भेटिन्थ्यो । आफ्नो जमिनमा अर्काले कोरेको देखेर हाम्रा आँखा धपक्क बल्थे । किचिमिचि पारेर छाडिदिन्थ्यौँ । रूखका बोक्रा ताछेर लेखेको ठाउँमा धुलो दलिदिन्थ्यौँ ।

यसरी जङ्गलमा हिँड्दाहिँड्दै हामी अजङ्गको भीरमा पुग्यौँ । तल फेदमा नीलो माहाकाली नदी चुपचाप बगिरहेको थियो । पारिपट्टीको भारतीय पहाडमा कतैकतै मान्छे हिँडेका देखिन्थे । मध्यान्हको घामले डसेर उखरमाउलो भएको थियो । पानीको बोतल अघि नै रित्तिइसकेको थियो । थुक आउन छाडेर मुख चुइ
गमजस्तो भएको थियो । सुइँसुइँ हिँड्ने बाटो थिएन । जता खुट्टा टेक्न सजिलो हुन्छ, त्यतै झारजङ्गल समाएर हिँड्नुपर्थ्यो । म अलिक अघीअघि थिएँ । यस्तो हिँडाइ र यात्रा मेरोलागि सर्वथा नौलो र रोमाञ्चक थियो । त्यहीबेला म अजङ्गको ढुङ्गोमाथि पुगेँ । त्यो ढुङ्गा हात्ती बसेजस्तो थुप्रिएको थियो । ढुङ्गामाथि चढेर फेरि महाकालीलाई हेरेँ, तल कताकता पहाडको पिँध कोट्याएर हिँडिरहेको थियो ।

ढूङ्गोमुनि मान्छे बोलेजस्तो सुनेँ । हाम्रै साथीहरू भनेर बुटाबुटी समाउँदै ओर्लिएँ । ओहो ! त्यहाँ त घर पो रहेछ । मान्छे बस्दा रहेछन् । सिलभरे थालमा खानेकुरा खाँदै थिए । उनीहरू मलाई देखेर सशङ्कीत भए । केटाकेटी जुरूक्कै उठेर ढाँणको चेपमा बसे । मैले आफ्नो परिचय दिएँ । हामी ६०-७० जना छौँ, पुर्णागिरी बाँध हेर्न आएको भनेँ । उनीहरू त्यहिँ काम गर्दा रहेछन् । दुई महिना भयो अरे त्यो ओढारमा बसेको । थोरै नेपाली बुझिने भाषामा लोग्नेचाहिँले भने - हाम्रो त हजुर घर यहि हो । दिनभरि भारत सरकारको रोजगारी गर्छौँ, रात परेपछि यहिँ आएर सुत्छौँ । के गर्नु, गरिब भएपछि जहाँ टाउको लुकाउन पाइन्छ त्यहिँ बस्नुपर्‍यो नि ।
"अनि घर छैन ?" मैले आश्चर्य मान्दै सोधेँ ।
"यी क्या त हजुर, भगवानले यत्‍ना बढी दिया हुन् ।" पुरानो साडि लगाएकी आईमाई बोली ।
२-४ जना लोग्नेमान्छे पहेँला दाँत देखाएर हाँसे । म समुहबाट छोडिन्छु होला भनेर दौडिएँ । जिन्दगीमा पहिलोपल्ट देखेको त्यो घरले अहिले मलाई पनि चिमोटी रहन्छ ।

अँ, मेरो आफ्नै घर बनाउँदाको कथा पनि रमाईलो छ । २०४२ सालसम्म मेरो घर थिएन । घुमन्ते जीवन बिताउँथेँ । सङ्खुवासभा जिल्लाको हेदाङ्नामा जन्मिएँ । आफ्नै घरमा जन्मे पनि २ वर्षको हुँदा बुबा खस्नुभयो । बुबा खसेको २२ दिनपछि बहिनी जन्मिई । मैले बस्ने काखमा बहिनी आएर बसेपछि म घरबाट पाखा भएँ । ८ वर्षको हुञ्जेल ठूल्यामाको
घरमा बसेँ । त्यसपछी मामाको पछि लागेर मधेस झरेँ । केहि वर्षपछी पहाडबाट आमा आउनुभयो । अनि मामाले हामीलाई बस्न उहाँकै मतान दिनुभयो । टाँडमुनि गाईवस्तु बस्थे । माथि धान राख्‍ने खुल्ला टाँड थियो । त्यसको छेवैमा एउटा हावादार कोठामा हामी निर्वाह गर्थ्यौँ । आमाले बनिबुतो गरेर छाक टार्नुहुन्थ्यो । केहि वर्ष त्यहि मतान हाम्रो घर भयो । पछि आमा विवाह गरेकी जेठी छोरी पछ्याउँदै कान्छी छोरी चेपेर विराटचौक जानुभयो । बेलबारी जानुभयो । म भने पढ्ने बहानामा गाउँमै घुमीघुमी बस्न थालेँ । कहाँ बस्न सजिलो हुन्छ, कसले छोराछोरी पढाइदे भन्छ, त्यसकै घरमा गुडुल्किन थालेँ ।

२०४२ सालमा सुन्दरपुर बाँसबारीमा १ कठ्ठा जमिन किनेँ । जमिनको मालिक भएपछि अब मलाई घर चाहियो । घरपनि चाहिने थिएन होला तर भावनासँग मन साटासाट भएपछि विवाह गर्ने कुरा चल्यो । उनले एकदिन प्वाक्कै भनिन् - अनि मलाई चैँ कहाँ राख्छौ त ? कि तिमीलेजस्तै सुर्किने झोला बोकेर दिनभरि सँगै हिँड्यो अनि जहाँ रात पर्छ त्यहिँ बस्यो गर्नु ?

बल्ल मेरो आँखा खुले । घर चाहिने रै'छ भन्ने कुरा थाहा पाएँ । तर घर एक्लै बन्दोरहेनछ । साथीभाइ इष्टमित्र सबको सहयोग चाहिँदो रहेछ । यो कुरा थाहा पाएपछि मान्छेको घर घर पुगेँ । कसैसँग बाँस मागेँ, कसैसँग काठ मागेँ, कसैसँग जन मागेँ, कसैसँग धन मागेँ । सहयोग लिननसक्ने कुरामात्र पैसा हालेर किनेँ । सबैको साथ सहयोग रहेपछि अँगालोभरिका खाँबा गाडेर रहरलाग्दो घर बनाएँ । नयाँ घरमा मनले रोजेकी बेहुली भित्र्याएँ । सडकछाप भएर बसेकी आमालाई पनि ल्याएँ । हामी ३ जनाको छरितो परिवार नयाँ घरभित्र चुम्बकझैँ टाँसिएर बस्यो । ओहो ! घर बनाउँदाको दु:ख औँला भाँचेर भनिसाध्य छैन । के के चाहिएको के के, कतिकति चाहिएको कति । थुपारेको थुपार्‍यै गर्नुपर्ने, सोहोरेको सोहोर्‍यै गर्नुपर्ने । ठूला गोजी भए पो फुत्तफुत्त निकाल्नु र, सिला खोजेर ल्याउनुपर्ने । भाग हानीहानी पुर्‍याउनुपर्ने । काठले पुगेन । गाउँका गोरूगाडी मागेँ । साथीभाइ बटुलेँ । १०,१२ जना भएर जङ्गल गयौँ । गस्तीको डर, वनजाँचेको डर । एउटा कुदेर आउँथ्यो र 'सलकपुरबाट गस्ती पस्यो रे' भन्थ्यो । अर्को आउँथ्यो र 'गुरुङटोलमै देखेको रे' भन्थ्यो । तेस्रो आउँथ्यो र 'हँसेनीबाँधमा भाले खाँदै थिए रे' भन्थ्यो । 'रे' को हल्ला हैजासरी फैलिएर कुदेपछि मुटु ढुकढुक हुन्थ्यो । मुख च्यापाच्याप हुन्थ्यो र खुट्टा लगलगी काम्थे । अनि बटुलेका मान्छेहरू जाँचबुझै नगरिकन दौडिन थाल्थे । रित्ता गोरूगाडा घिसारेर खुई खुई गर्दै फर्किनुपर्थ्यो । हे भुर्न हत्ते, चारकोसे झाडीमा नरबहादुरलाई मुढाले किचेको घटना, कमल मामाका राँगा मुढो ठूलो भएर हिलामा गाडिएको घटना, ७ हल गोरूगाडी लिएर आउँदा भागाभाग भएको घटना, घर बनाउँदाका टिठलाग्दा सम्झनाहरू हुन् । तर जसरी भएपनि घर बनाएरै छाडेँ ।

२०४३ सालमा बनेको घर अहिले त बुढो भयो । घामपानीले खाएर बरण्डाका खाँवा थोत्रिए । रेलिङ भत्कियो । २०४५ सालको भुकम्पले मुल खाँबो भाँसियो । वरिपरि पक्का घर बनेका छन् । झलिमिलि सहर भइसक्यो बाँसाबारी । मलाई भने आफ्नै
बुढोघर प्रिय लाग्छ । पूर्व कोठामा झ्याल खोलेर बसेपछि कम स्वर्गीय आनन्द आउँदैन । मध्यान्हका ताता घाममा धापिएको मनपनि आफ्नो घरभित्र पसेपछी शीत्तल हुन्छ । आत्तिएको असन्तुलित मन पनि आफ्नो घरभित्र बसेपछि शान्त र सन्तुलित हुन्छ । घरले दिने ऊर्जा बर्णन गरि साध्य हुँदैन । असन्तुलित मन घरभित्त पसेपछि सन्तुलित र सुरक्षित भएको धेरै अनुभव छन् मसँग ।

आफ्ना हत्केला घोटेर बनाएको घरले दिएको शीतलता तपाईँले पनि पिउनुभएको छ ? अँ, म घरको कुरा गर्दै थिएँ । साथी वीरेश राईसँग एकपल्ट अर्का साथी भेट्न पथरी गएँ । हामीले उनको घर देखेका थिएनौँ । बल्लबल्ल बजारको पुच्छरमा बस्छन् भन्ने पत्ता लाग्यो । ओहो ! उनको घर त सखुवाको काँचा बोक्राले बेरेर पो बनाएको रहेछ । मैले काठमाण्डौमा सुर्यबहादुर थापाको घर देखेको छु । घरभित्रै पसेर चिया पनि खाएको छु । प्रधानमन्त्री भएको बेला २०४० सालयताका सबै पञ्चहरू, २०४६ सालपछिका सबै दलीय नेताका घरमा पसेको छु । कहिले पत्रिकालाई अन्तर्वार्ता लिने क्रममा, कहिले साहित्यिक, सामाजिक कार्यक्रमको प्रमुख अतिथि बनिदेऊ भन्ने काममा उनीहरूको घरघरमा पुगेछु । वैभवले, सम्पन्नताले बनिएका राजर्षि महलहरू हाम्रो परिभाषामा घरभित्र पर्छन् कि पर्दैनन्, मलाई थाहा छैन तर पथरीको साथीको घर भने मलाई अविस्मरणीय लाग्यो ।

केहि महिनापछि काठमाण्डौ आउँदा ती साथीसँग भेट भयो । हामी उनको घर गएको कुरा सुनाएको, गम्लङ्गै अँगालो मारौँलाझैँ गरे । तिम्रो गाउँमा गएँ भन्दापनि आश्चर्य मानेनन् । बुबाआमासँग भेट भयोभन्दा पनि अनौठौ मानेनन् तर घर गयौँ मात्र के भनेको थिएँ, अपनत्वले उनको आँट हर्हराएर आयो । राजधानीमा बस्दा पनि उनलाई झोडाको बोक्रे घरले तानिरहेको रहेछ । ओहो ! घरको तागत । घरको शक्ति । सबैथोक हुनु र घर नहुनु तर घर हुनु र सबैथोक नहुनु, कति फरक कुरा । जे.बि टुहुरेले नयाँ घर प्रवेश गर्नुभएको छ । मैले अस्ति भर्खरै सुनेँ ।

आफ्नो घर छाडेर पाहुन लाग्न जाँदा त्यो रात कहिले बित्लाजस्तो हुन्छ । औडाहा हुन्छ । छटपटी हुन्छ । ड्याम्म बस्दा पनि के भन्ने हुन् भन्ने हुन्छ । टुक्रुक्क बस्दा पनि बस्नै नजान्ने रहेछन् भन्लान् । चर्पी जाँदा पनि हतार गरी दिएँ कि,धेरै बेर लगाइदिएँ कि भन्ने हुन्छ । अर्काले कत्रो अभावमा कत्रा दु:खले कसरी बसौँला भनेर हाड घोटेर बनाएको घरमा रङरोगन गरिसकेपछि आफ्ना पुराना हाँडाभाँडा लिएर सुमुसुमु भित्र पस्न पाइला कसरी सर्दा हुन्, कसरी चित्तले मान्दो हो । ती कर्मीले कसरी स्थान दिँदा हुन् ? कसरी बसिरहेको घरलाई तिलाञ्जली दिएर अर्काको घरमा पस्न सकिँदो हो । कसरी सिन्को पनि नभाँची अर्काको घरमा बस्न सकिँदो हो ।

जति गहिरिएर सोच्छु उति काँडा उम्रिन्छ दिमागमा । गाँठो पर्छ छातीमा । जिन्दगीभरि रगत पसिना खर्चेर बनाएको घरभन्दा अर्काको परिवारले बनाएको घरमा साँच्चै मिठो निन्द्रा आउँछ होला ? साँची, नयाँ घर सर्नेहरूलाई पुरानो घरको मायाले पछ्याउँछ कि पछ्याउँदैन होला ?

Friday, October 16, 2009

लौ न अब त केहि गरौँ

गफगाफ डट कमलाई १ वर्षभन्दा बढि आफैँले व्यक्तिगत रूपमा चलाउँदै छु । ईन्टरनेटको बढ्दो सुविधाका कारण अब नेपाल विशेषगरि काठमाण्डौमा ईन्टरनेट निकै सर्वसुलभ हुन थालेको छ । म धुलिखेमा बस्दा यहाँ ईन्टरनेटको सुविधा थियो तर घरमा अहिलेसम्म जोडिएको थिएन । अब हाम्रो घरमा पनि ईन्टरनेट जडान भएको छ । गफगाफ डट कमको आजसम्मको मेरो व्यक्तिगत प्रयासमा साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । अब गफगाफ डट कमलाई पारिवारिक ब्लगको रूपमा विकास गर्दै हाम्रो परिवारको साझा ब्लग बनाउने अभियानमा लागेका छौँ । जसको फलस्वरूप अमेरिकामा रहेको सक्षमले ब्लगमा देखापर्ने प्राविधिक समस्या र रोचक फोटाहरू साथै अमेरिकामा रहेका साथीहरूको रचना (के यस्तै हुनु पर्ने हो त हाम्रो देश को राष्ट्रिय झण्डा,पल्ला गाऊको ओर्क सोल्टा..,A Drunkard's Tale) पोष्ट गरिरहेको छन् । अब घरमा पनि ईन्टरनेट जडान भएकाले मेरो दाजु अशेष पौडेल, म प्रवेश पौडेल र सक्षम(दाइ भन्नु कि भाइ !! हामी सँगसँगैको हो)को संयुक्त ब्लगका रूपमा गफगाफ अघि बढाउने छौँ । मेरो बुवा अनिल पौडेल अनि अमेरिकामै बस्ने सानिमा नम्रता गुरागाईँका कविता तथा लेखहरू पनि यो ब्लगमा पोष्ट गरेर अब सामुहिक पारिवारिक ब्लगका रूपमा गफगाफलाई अगाडि बढाउन पाउँदा हामीलाई धेरै खुसी लागेको छ । यहाँहरूको न्यानो माया र साथको निरन्तरताको हामी सधैँ आशा गरिरहने छौँ । प्रविधिक कुरा मिलाएर कसको पोष्ट हो भनेर Author मा आउने गरि मिलाउने छौँ । अशेष पौडेलको पहिलो पोष्ट :


एउटा उखान धेरै पहिले सुनेको थिएँ; “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन” । बास्तबमा बोल्यो भने सबैथोक हुने रहेछ ! सायद यही उखानलाई अनुसरण गरेर होला हामीकहाँ बोल्ने मान्छेको कमी छैन । पीठो बिकाउनु वा चामल बिकाउनु ठुलो कुरा होईन, ठूलो कुरा भनेको त त्यो पीठो र चामललाई उत्पादन गर्नु पो हो । फगत बोल्नलाई पैसा लाग्दैन । अनि बोल्नलाई गर्नु पनि आखिर केही पर्दैन । बस् बोलिदिए पुग्छ । यदि गर्ने मान्छेले मात्र बोल्न मिल्नेभए सायद यहाँ धेरैलाई अप्ठ्यारो पर्ने थियो । किनभने हाम्रोमा काम गर्ने थोरै र बोल्ने धेरै छन् । अल्लारे केटालाई सोधूँ, “ओइ किन बिदेश जान आँटेको तँ?” तुरून्त जवाफ फर्काईहाल्छ; “के गर्नु र ह्याँ नेपालमा बसेर ? जागिर कहीँ पाइँदैन, सधैँको बन्द, हड्ताल......” । यस्ता जवाफ आजकाल कसैका लागि नौलो छैन । भाई तैले नेपालमा बसेर के शिप सिकेको छस् र जागिर पाउँछस् भनेर सोध्यो भने ऊ जवाफहिन हुन्छ । आखिर शिप त आफुसँग केही छैन अनि फेरि उहि कुरा; बोल्नलाई पैसा लाग्दैन, किन त त्यसो भनेर कसैले सोध्दा पनि सोध्दैन अनि नेपाललाई सराप्दा कसैको टाउको पनि त दुख्दैन। क्या गजवको परम्परा बसिसक्यो हामीमाझ ! दिनभर बेकाम बस्यो-सुत्यो बेलुका २-४ जना भेला भयो अनि यो देशमा केही अबसर छैन भनेर रात परून्जेल बात मार्यो, फेरि बेलुका भात खायो सुत्यो ।

मैले हामी सबैनै यस्तै छौँ भन्न चाहिँ खोजेको होईन । हामीकहाँ धेरै कर्मठ साथीहरू-अग्रजहरू हुनुहुन्छ। वास्तवमा वहाँहरूको प्रेरणाले नै आफु पनि केहि गर्न सकिन्छ कि भन्ने मलाई पनि लाग्छ । तर म आम प्रबृतिको कुरा गर्दैछु । के हामी आफ्नो आङको भैँसी नहेरी अरूको आङको जुम्रा हेर्न पछि पर्छौँ त ? पक्कै पर्दैनौँ । यो त हाम्रो परम्परा हो । अरूको कुरा काट्ने अनि आफ्नो महिमा गाउने! ठुला मान्छेले त कामको, सोचाईको र जुक्तिकोपो कुरा गर्छन् । कसरी हामी यस्ता नराम्रा प्रबृतिमा अभ्यस्त भयौँ त? वास्तवमा हाम्रो समाज जुन चिन्तनमा चलिरहेको छ हामी पनि धेरथोर त्यस्तै नै हुन्छौँ । आफु अनुकुल समाजलाई बनाउनु अथवा समाज अनुकुल आफुँ बन्नुमा पछिल्लो कुरा सजिलो छ । यो सर्वसत्य हो । तर विद्यालय-विश्वविद्यालय गएर दुई चार कुरा जानीसीकी गरेपछि सहि र गलत छुट्याउने सीपलाई हामीले आत्मसात गर्नै पर्छ । यसैले नै समाजलाई अग्रगमन तर्फ धकेल्न टेवा पुग्छ । मुख आँ गरेर बस्दैमा कसैले चारो ल्याएर दिदैन, आफ्नो लागि आफैले गर्नसक्नुपर्छ ।

आकाशबाट बर्सेको पानी दलितको कुवामा खस्यो भने अछुतो हुने अनि गङ्गा नदीमा पर्यो भने गङ्गा-जल हुने, कस्तो गजबको कुरा! पानी त आखिर पानी नै हो तर हाम्रो मान्यताले हाम्रो परम्पराले र हाम्रो प्रवृतिले त्यसलाई शुद्ध- अशुद्ध बनाउछ । के यो विडम्वना हैन र? यस्ता चिन्तनलाई परिवर्तन गरौँ । बोल्नैपरे बरू यस्ता कुरामा आफ्नो शब्द खर्च गरौँ । रूडिबादी मान्यताको बिरूद्दमा बोलौँ, गलत कार्यशैलीको बिरूद्धमा बोलौँ तर अनावश्यक कुरामा आफ्नो बोली खेर फालेर कसैको भलो हुँदैन । देशलाई निरिह देखाएर आफू उम्किने प्रयास नगरौँ । बोलेर कामगर्ने परम्परा भन्दा काम गरेर बोल्ने प्रबृतिको बिकास गरौँ । हामी त यहाँ अझ केहिनै नगरी बोल्छौँ जुन सबैभन्दा नराम्रो प्रवृति हो ।

अवसर र चुनौति भनेको आफैले सिर्जना गर्न सक्नुपर्छ । देश छोडेर बिदेशीदैमा धनी भईने होईन । जहाँपनि दु:ख भनेको उस्तै हो ।आफु अब्बल भए जतासुकै अवसर पाईन्छ आफैँ कमजोर भए अरूलाई अवसर मिल्छ । देश यतिबेला सङ्क्रमणकालमा छ । हो, हामी सबल भएरै पनि भनेजस्तो अवसर नपाउन सक्छौँ । म पनि सहमत छु यस कुरामा तर सधैँ यही स्थिति त पक्कै रहँदैन होला? देशलाई स्थाई गन्तब्यमा पुर्याऊने जिम्मेबारी त हाम्रो पनि काँधमा छ हैन र? अरूले अवसर नदिए आफै उद्यमी बनौँ । पैसा नभए बैँकबाट ऋण लिऊँ, धितो नभए आफैँसँग भएको सानो पुँजीको व्यवसाय गरौँ र बिस्तारै बिस्तार गरौँ । पैसाले पैसै जन्माउने हो । देशप्रति सकरात्मक सोच राख्ने र आफ्नो गच्छेअनुसार आफ्नै गाऊँ टोल समाजबाट देश निर्माणमा सहयोग गर्ने हो भने पक्कै पनि हामीले सोचेकै जस्तो देश बन्नेछ ।

लौन अब त केही गरौँ !!

के यस्तै हुनु पर्ने हो त हाम्रो देश को राष्ट्रिय झंडा ?



भारत , मावोवादी , कांग्रेस , एमाले र कीचकिचे बिरोध आन्दोलनलाई समग्रमा ल्याउने बैकल्पिक झंडा यै मात्र हुन सक्छ |











तस्बीर स्रोत: प्रितुश मुनान्कर्मी

Tuesday, October 13, 2009

पल्ला गाऊको ओर्क सोल्टा....


मलाई ढाका टोपीमा एक्दमै राम्रो देखिन्च रे | बा ले भन्नु भाको ....


 
Hast for Allaclick