Saturday, November 28, 2009

    म बुबा भएँ छोरीको!!!


    यस्ता कुरा लेखेर के हुन्छ ? आफ्नै मनको प्रश्न । मैले गतिलो उत्तर पाईनँ । नलेख्न सकिन अनि त्यै भएर लेखेँ । तर स्विकार्छु, आफ्नै मनलाई सम्झाउन सकिन । फेरि जुन मनले प्रश्न सोध्यो त्यै मनले नै हो उत्तर दिने । के औचित्य रह्यो त यो प्रश्न उत्तरको? म छोरीको बुवा भएँ । सबैले थाहा पाउनु जरूरी छ र ? कुनै पुरूशार्थको कुरो पनि भएन,सवैका हुन्छन् । मनमा दुबिधा चलिरह्यो । तर भावनाहरू सलबलाउन छोडेनन् । म छट्पटिन थालेँ । पोखौँ पोखौँ भयो अनुभवहरू.... अनि त्यै भएर पोखेँ ।

    म एकदमै खूसी छु । त्यो कलिलो अनुहार एकतमासले हेर्छु तर आफ्नै काखमा लिने आँट गरिसकेको छुईन । ऊ उसैकी आमासँग रमाएकी छे । म बोलाउन खोज्छु तर के भनेर बोलाउने?? ‘छोरी’ भन्नु कि ‘नानु’ भन्नु कि? मुख लाग्दैन मेरो । छोरीकी आमा पनि हाँसिन् मेरो अनुहार देखेर । म लाजले भुतुक्क भएँ । सायद छोरो मान्छेलाई पनि यतिसारो लाज लाग्दो रहेछ । आफ्नै बानी पहिलोपल्ट थाहा पाउँदै छु । ऊ अझै आमाकै छातीमा मुन्टो टाँसेर बसेकी छे । कति साह्रो भोक लागेको!! कि के हो थाहाछैन मलाई । म फेरि छोरीको अनुहार नियाल्ने कोसिस गर्छु । अघाईछ क्यार अब सुतीसुती खुट्टा उफार्न थाली । खुसी भएरै यसो गरेकी होला भन्ने अड्कल काटेँ । पुसको बेला, विहानभरि मुटु काम्ने जाडो थियो । अहिले उघ्रियो आकाश । अनि घाम पनि लाग्यो । छोरीको अनुहारनै त्यस्तो हो अथवा दिन उज्यालो भएर त्यस्तो देखियो मैले ठम्याउन सकिन । धपक्कै बलेको छ ! मेरी छोरी नै हैन जस्तो! धत् त्यसो नि भन्ने हो । हैन म अलि कालो छु नि त! मनभित्रको वार्तालाप । काखमा बोक्ने आँट गरेँ बल्ल । लौ रून पो थाली । सायद बोकाई मिलेन क्यार ! तर एकछिनमा चुप लागिहाली । अलिअलि अचम्मका आवाज निकालेँ मूखबाट उसलाई खूसी पार्न । यति चै जानेको रहेछू मैले । ऊ खुसी पनि भई । म झन् रमाउन थालेँ । कुन्नी कस्तो अनौठो अनुभव भयो मलाई । यस्तो अनुभव जुन मैले कहिल्यै थाहा पाएको थिइनँ । उसँग खेल्न साह्रै मज्जा लाग्यो मलाई । उसका बालसुलभ हाउभाउहरू देखेर मैले आफ्नै खुसी सम्हाल्न सकिनँ । म उसको निधारमा आफ्नो निधार जुधाउँछु अनि हातैले बोकी बोकी तलमाथि हल्लाईदिन्छु । ऊ मुखभरीका गिँजा देखाएर हाँस्छे । म झन् खुसी हुन्छु । वास्तवमा यो अदभुत आनन्द हो । मेरी छोरी, हाम्री छोरी....शव्दमा वर्णन गर्न सकिनँ त्यो अनुभव ।

    अनायसै म प्रतिक्षा गर्न थालेछु उसको बोलि फुट्ने दिनको । साँच्चै सुरूमा बाबा भन्छे कि आमा भन्छे होला ! तोते बोलीले सकिनसकि ‘बाबा’ भनेको सम्झिएँ । तर बोलि पो कस्तो हुने हो? अहिलेसम्म रूँदा मात्र सुनेको छू उसको आवाज । बोल्दा पनि त्यै आवाज हुन्छ कि अरूनै हुन्छ? यसको पनि जवाफ पाईँन । छोरीको अनुहार मेरो जस्तो छैन । काटिकुटी उसैकी आमातिर गएकी छे । झन् माया लागेर आयो मलाई । एउटै अनुहारका दुईजनै, आहा! कति भाग्यमानी रहेछु म त । छोरीलाई काँधमा बोकेर बाटाभरी सबैलाई देखाउँदै हिड्ने मन भयो । तर अलि सानै छे, काँधमा बस्न सक्दिन होला! भैगो अलि पछि त्यसो पनि गरौँला । तर मनमा अझै केहि गरौँ गरौँ जस्तो भइरह्यो । मलाई छोरीसँग बस्ने रहर पुगेन । अनि ऊ सँग खेल्ने पनि रहर पुगेन । मनमा खाली एउटै कुरो मात्र खेलिरह्यो- मेरी छोरी, हाम्री छोरी । मेरै रगत दौडिन्छ उसको नसामा पनि । वाह! संसारै जितेजस्तो अनुभव भयो मलाई । ठूलै पुरूषार्थ गरेझैँ लाग्यो । मनमा भावनाको कमी भएन एकछिन पनि । सोचाईले रोकिने नामै लिएन । अनि अनुहारबाट खुसी-त्यसले पनि झर्ने नामै लिएन । म संसारको सबैभन्दा खुसी व्यक्ति जस्तो लाग्यो । म संसारकै सबैभन्दा सुखी ब्यक्ति जस्तो लाग्यो । मेरो वसमा हुन्थ्यो भने म यतिनैबेला छोरीलाई ‘बाबा’ भन्न लगाउने थिएँ । वास्तवमा म व्याकुल छु यो आवाज सुन्नलाई । किन यतिसाह्रो अधैर्य? थाहाछैन । आफ्नै मुखले ‘बाबा’ भन्छु दुईचार पल्ट उसले सुन्नेगरी । तर छोरी हाँसीँमात्र रही अनौठो आवाज निकालेर । मेरो चाहना पुरा भएन ।

    उसको शरिर यति कमलो छ कि मेरो हातले भरै पाउन सकेको छैन । म उसलाई अलिकति पनि पिडा हुन दिन्न । औँला समाईदिन्छु कहिले, खुट्टा चलाईदिन्छु कहिले । कति न्यायो छ उसको शरिर.. अनि सवै कपासले बनेजस्तो मुलायम । उसको हँसाइमा निश्चलता छ, म त्यसै त्यसै हराएको छु ऊ भित्र । जीवन अनुभुतिको पुस्तकालय हो । नयाँ नयाँ अनुभवका पुस्तकले सजिएको पुस्तकालय । अनि यो कस्तो मायालु अनुभुति, सम्झिदा पनि जीउमा तरङ्ग उत्पन्न हुने । यति खुसी.....सायद कुनै दिन म फेरि हुन्छु हुन्न थाहा छैन तर आजको खुसीमा म जीवनको सार्थकता खोज्नेछू अनि सन्तुष्ट हुनेछु । ओहो ! छोरी त रून पो थाली । के भयो मैले मेसो पाईनँ । अनेक गरेँ फकाउन तर रून छोडिन । म अलमल्ल परेँ । अनि हतार हतार उसकी आमालाई लगेर बुझाईँदिएँ । भोक लागेको रहेछ विचरीलाई । मैले जति माया गरेँ पनि उसको भोक मेटाउने क्षमता प्रकृतिले दिएको छैन मलाई । त्यो त केवल उसकी आमासँग मात्र छ । एकछिन पछि फेरि आमाको काखैमा झन् खुसी भएर खेल्न थाली । मैले बोलाउँदा पनि आइन । जति गरेपनि सायद केहि कमि छ म भित्र । अनि यो सत्यलाई पनि मैले स्विकार्नै पर्छ म उसको बाबु हुँ आमा होईन । पहिलोचोटि हिनताबोध भयो मलाई । अनि लाग्यो म त्यो अभागि पुरूष हुँ जसले आमा बन्ने सौभाग्य कहिलै पाउँनेछुईन ।

    कति मीठो सपना!! तर कसैलाई भन्ने आँट पनि भएन । छोराछोरी ६-७ वर्षपछि होलान् मेरा पनि ; फेरि लाग्यो म त्यो भाग्यमानी पुरूष पनि हुँ जसले वावु हुँदाको अनुभव समय भन्दा ६-७ वर्ष अघिनै गरिसक्यो!!!!

    Thursday, November 26, 2009

    १ कप चिया र डोल्पाको जनस्वास्थ्य


    कहिलेकाहिँ थाहा भइरहेको कुरापनि अरूले भन्दाखेरि मात्र सम्झना आउँछ । यस्तै सम्झना आउने कुरा गरेका छन् भक्तपुरका युवा डाक्टरहरूको एउटा समुहले । भक्तपुरमा रहेको एक गैरसरकारी संस्था Educational Resource Center(ERC)ले डोल्पाको स्वास्थ्यस्थिति उकास्नका लागि एउटा सामान्य समाधनाको उपाय लिएर आएको छ - 'समाधान ५ रूपैयाँ ।' यो उपाय सामान्य सिद्धान्तमा आधारित रहेछ, २० जनाले दिनको ५ रूपैयाँ बचाउन सक्यौँ भने एक महिनामा ब्लड प्रेसर नाप्ने यन्त्र, स्थेथस्कोप र अन्य प्राथमिक उपचारका औषधि किन्न सकिन्छ । आउँदा महिनाका पैसाले पानी शुद्धिकरण प्रणाली, स्थानीय स्कुलका लागि शैक्षिक सामाग्री, स्वस्थ गाउँ निर्माणका साथै अन्य स्वास्थ्यसम्बन्धी काम पनि गर्ने योजना साँच्चै नै कदरयोग्य छ । यो सामान्य समाधानको उपायले डोल्पाको लागि अन्त्यहीन सम्भावनाहरूको ढोका खोल्नेछ ।

    डोल्पाको धो-तरापजस्ता ठाउँमा अझैपनि सामान्य उपचारले सञ्चो हुने रोगको कारण निमुखा जनताले मृत्युवरण गर्नुपर्ने अवस्था छ । यो ५ रूपैँये समाधानको बाटो धो-तरापहरूका लागि अमुल्य हुनेछ । छोटा अवधिको यो परियोजना सँगै शैक्षिक सामाग्री प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने ठूला कार्यक्रम पनि सम्भव छ । यस्ता कार्यक्रमको माध्यमबाट डोल्पाली जनताले ठूलो सहयोग हुनेछ र सयौँ जनता अकालमा ज्यान जानबाट जोगिन सक्छन् ।

    यी सबै कामका लागि चाहिने रकम हो जम्मा दिनको पाँच रूपैयाँ एक महिनाका लागि । सयौँ जनताको जीवनस्तर उकास्नका लागि यो एकदमै सामान्य रकम हो । हामी आफैँ नै आफ्नो राष्ट्रलाई समृद्धशाली बनाउन सक्छौँ भने किन विदेशीका अगाडि दयाको हात पसार्नु ? नयाँ सामाजिक कार्यको थालनी गर्नैपर्ने थियो हामीले हाम्रो मानवता देखाउन पनि । यहि विन्दुमा 'समाधना ५ रूपैयाँ' अगाडि आएको छ । यसमा धेरै दम छ अनि हामीले सोचेभन्दा पनि राम्रो हुनसक्छ यदि यसलाई यहि उत्साहका साथ र व्यवस्थित रूपमा अगाडि बढाउन सकियो भने ।

    काठमाण्डौ विश्वविद्यालयमा 'समाधान ५ रूपैयाँ'लाई महत्वका साथ हेरिएको छ र साथीहरू उत्साहका साथ यसमा लाग्नुभएको छ । "दिनको एक कप चिया कम खाएर हाम्रै दाजुभाइ दिदीबहिनीको स्वास्थ्य सुधार्न सक्छौँ भने किन नलाग्ने ?" सबैको मुखबाट यस्तै यस्तै कुरा सुनिन थालेको छ अचेल । म त लागेँ 'समाधान ५ रूपैयाँ'मा, तपाईँ नि ?

    संस्थाको ठेगाना :
    EDUCATIONAL RESOURCE CENTER BHAKTAPUR (ERC)
    managed by Bhaktapur Japanese Language Institute (BJLI)
    Tripurasundari-8, Tulachhen, Bhaktapur, Ph: 977-1-6611332 Fax:977-1-6613521
    वेब एड्रेस र ई-मेल फर्म फोटोकपि गर्दा मेटिएछ..भोलि खोजेर राख्छु

    Tuesday, November 24, 2009

    गढिमाईको म:म: खान पाइने भइयो

    भर्खरै : विभिन्न क्षेत्रबाट आएका दलितले ठेकेदारलाई मासु उठाउन नदिएकाले गढिमाईको मासु काठमाण्डौ नआउने भएछ । पुस्तौँदेखि आफूले पाउँदै आएको मासु बेच्न नपाउने भन्दै उनीहरूले विरोध जनाएर मासु उठाउन गएको गाडिसमेत तोडफोड गरेछन् । मासु उठाउने ठेकेदारले लाखौँको घाटा भयो भन्दै समितिमा उजुरी गरेछन् । भारतबाट समेत दलितहरू आएर मासु लगेछन् । स्थानीय दलित संघले भने सिनो नखान भन्दै स्थानीय दलितलाई आग्रह गरेको रहेछ
    --------------------------------------------------------------------------------------------------------------------------------------------------
    व्यापक विरोधका बाबजुद पनि गढिमाईको मेलामा हजारौँ राँगाको बलि दिएरै छाडिएछ । बमजनले अलौकिक शक्ति प्रयोग गरेर रोक्ने, बधस्थलमा प्रकट हुनेजस्ता बकम्फुसे हल्लाका बिच चलिआएको चलनलाई रोक्न सकेनन् कसैले । मिस नेपाल हुने दिन आयोजनस्थलको बाहिर धर्ना दिन बसेजस्तो गर्ने खगेन्द्र संग्रौलाहरूजस्तै केहि साकाहारी ठालुले बलि रोक्नका लागि अन्तिम समयमा आएर सस्तो पहल नगरेका पनि होइनन् । साँच्चै नै वलिप्रथा रोक्नैपर्ने भए राम्रोसँग तयारी गरेर अगाडिदेखि नै सम्बन्धित निकायअन्तर्गत काम गर्दै गए यो वर्ष नभए अर्को वर्ष, अर्को नभए त्यसपछिको अर्कोमा त बलिप्रथा रोक्न सकिन्थ्यो होला नि । तर, अब हुनेभयो भनेपछि बोल्नका लागि बोलिदिने ठालुहरूबाट केहि पनि लछारपाटो लागेन ।

    बलि त दिईन्छ तर त्यत्रा बीस हजार राँगालाई के गरिन्छ होला भन्ने मेरो मनमा पहिलेदेखि नै प्रश्न थियो । आज पो एउटा पत्रिकामा छापिएको देखेँ बलि दिइएका राँगा त एकजना मान्छेलाई ठेक्का दिइएको छ रे । मारेका राँगाजति सबै भेला पारेर काठमाण्डौमा सप्लाई गर्ने योजना रहेछ । अब तिनै खुल्लामखुल्ला ठाउँमा मनपरी तवरबाट मारिएका राँगाका मासु जनतालाई खानको लागि ल्याउने कस्तो योजना हो यो ? स्वस्थ र व्यवस्थित रूपमा मासु काट्ने र बनाउने बधशाला निर्माणको आवाज चौतर्फी रूपमा उठिरहेको बेला र सरकारले पनि यस्तो कामलाई प्रोत्साहन गरिरहेको बेला खालि चौरमा मनपरि ढङ्गले मारिएका राँगाका मासु अब जनतालाई खान दिने कुरा सञ्चारमाध्यममा आउँदा पनि कसैको ध्यान जान सकेको छैन । काठमाण्डौका म:म भट्टीमा अब गढिमाईमा बलि दिइएका राँगाको मासुका म:म पाक्ने भए । सस्तोमा मासु भेटेपछि राँगा मारिरहने दु:ख कसले गर्छ र !

    भर्खरै झाडापखालाको महामारीबाट देश सामान्य हुँदैछ । काठमाण्डौमा पनि मान्छेलाई दुनियाँथरि रोगले सताइरहेको छ । जण्डिस नहुने मान्छे भेट्न गाह्रो भइसक्यो । टाइफाइड, ज्वरो त सामान्य हुन थालिसक्यो काठमाण्डौबासीलाई । सरकारले दिएको खानेपानीमा समेत ढल मिसिएर आउँछ । स्वास्थ्यसम्बन्धी अवस्था यस्तो विकराल हुँदाहुँदै पनि अझ गढिमाईको राँगाको मासु पनि आइपुग्ने भयो काठमाण्डौ । त्यो काट्दा कस्तो फोहोर थियो होला ? काठमाण्डौ ल्याउँदा कसरी ल्याउँछन् होला ? कति फोहोर बनाएर ल्याउँछन् होला ? अनि त्यो मासु खाएर के हुन्छ होला काठमाण्डौवासीको हालत ? सोच्ने फुर्सद कसलाई छ र ! महामारी फैलियो भने सरकार छँदै छ नि, स्वास्थ्य केन्द्रमा नि:शुल्क जीवन जल बाँड्नलाई । जय होस् वलि दिएको मासु बेचेर जनता पोस्नेहरूको !!

    Wednesday, November 18, 2009

    नागरिक सर्वोच्चता!!



    खोर्सानीले कत्ति पनि पढेको छैन तर धेरैले खोर्सानीमाथिनै किन विद्ध्यावारिधि गरे ’? एउटा पढेलेखेको जान्नेभनाउँदो ठिटोलाई सन्ते दमाईले फर्काएको ओठे जवाफ हो यो ठिटो निक्कैवेरसम्म खित्का छोडेरै हाँसिरह्यो यो सन्ते दमाईको शैली हो जो कोहि चिनेजानेकासँग बोल्नै डराउँछन् उसले पढेको छैन तर तर्क गर्न कसैले भेट्न पनि सक्दैन अलिकति विजुली पानी चढाएपछि झन् जात्रा नै हुन्छ चियापसल अगाडि वुझिस्, आजकाल मलाई लामखूट्टेले टोक्दैन नि किन दाई ? छेवैको सिकारू चिया ग्राहकले सोध्यो अव जीउमा रगतै छैन कसरी टोक्छ हँ ? मेरो जीउ पनि महानगरको खानेपानी लिमिटेड जस्तै भै सक्यो लामखुट्टेका लागि बुझिस्? ठुलै हाँसोको फोहोरा छुट्यो त्यहाँ अर्को दिन गल्लीघरे भण्डारीले पनि अनुहार कालो पारे के सुर चढेर होतेरोअनुहार ध्वाँसे कराईको मोसो दले जत्तिको पनि छैन के ठूला कुरा गर्छस्भनेका मात्र के थिए सन्तेले तिनलाई पनि माथि-तल गर्दा तल्तिर कान्लैबाट हिड्ने बनाईदियो तोरीको दाना कोट्याएर हेर्दा कहाँनेरी तेल देखिन्छ लुभन् काठा त्यसोभए तोरीको दानामा तेलै हुँदैन भन्छस् ? भण्डारी गोडा दश-एक महिनासम्मै त्यो चियापसल झरेन
    त्यसो आफू बसेको गाउँठाउँमा साह्रो गाह्रो पर्दा ज्यान फालेरै सहयोग गर्ने पनि बानी उसको त्यसबाहेक रेडियो टिभीमा समाचार पनि खूब हेर्ने गर्छ आजकालनागरिक सर्वोच्चताभन्ने शब्द धेरै सुनेको उसले अर्थ थाहा पाएपछि चित्त पनि बुझ्यो अनि कार्यालय घेर्न पनि गयो सडकका नारामा पनि सहभागी बन्यो वास्तवमा पार्टीको पछि नलागेर नाराको पछि लागेको थियो त्यो नारा जसले जनतालाई शक्तिशालि बनाउँछ भन्ने उसको बुझाई थियो ज्यान फालेर साथ दियो आन्दोलनलाई तर अचानक अश्रु ग्यासको प्रभावले हुनसक्छ त्यो रात उसलाई हनहनी ज्वरो आयो अव होला, अव विसेक होला भन्दा भन्दै रात छर्लङ्ग वित्यो तर विमारले झर्ने नामै लिएन विहानको वजीसकेको थियो हतार हतार छिमेकी भाईले एम्बुलेन्स मगाए अस्पताल लान सन्तेकी बुढि महिनाको नावालक काखमा च्यापेर चढि एम्वुलेन्समा तर वीच बाटोमै रोकिए उनीहरू
    हिजोको आन्दोलन आज पनि जारी नै रहेछ अनेक विन्ति विसाउँदा पनि एम्बुलेन्स गुड्न पाएन जान दिएनन् नागरिक सर्वोच्चता कायम गराउनेहरूले यसैवीच सन्तेले एक पटक पानी माग्यो त्यसपछि...... केहि मागेन कहिल्यै केहि पनि मागेन महिनाकी नावालक एकतमासले आमाको छातीमा मुन्टो टाँसेर सुतेकी थिई अनि छोरीकी आमा जसोतसो आफूलाई सम्हाल्दै थिइ छोरीको कर्तव्य वोधले पर कताबाटनागरिक सर्वोच्चताकोचिल्लो भाषण पनि उसको कानमा परिरहेको थियो तर दिमागले केहि पनि सुनेन



    Monday, November 16, 2009

    एउटा सकरात्मक सुरुवात


    काठमाण्डौको एभरेष्ट नर्सिङ् होम प्राय: तनावमा रहने गर्छ । कारण, डाक्टरको लापरवाहीले विरामीको मृत्यु भयो भन्ने विरामीका आफन्तको आरोप । पोखराको मणिपाल अस्पताल पनि तनावग्रस्त रह्यो भर्खरै । उहि कारण । धरानको विपि मेमोरियलका डाक्टरले त राजीनामा नै दिए, लापरवाहि गरेर विरामी मार्‍यौ भन्ने आरोप आफन्तले लगाएर हातपात गरेकाले । अहिले प्राय: अस्पतालहरूमा यो समस्या एकदमै विकराल बन्दै गइरहेको छ । र, अझ आश्चर्यजनक कुरा त के हो भने यस्तो घटनाको कहिल्यै पनि अनुसन्धान भएको छैन । विरामीका आफन्तसित २-४ लाखको सौदा गरेर यी समस्या सुल्झिने गरेका छन् । साँच्चै डाक्टरको गल्ती हो कि भनेर शङ्का गरेर भविष्यमा हुने यस्ता घटनालाई निरूत्साहित गर्नका लागि कुनै पनि निकाय सक्रिय भएको देखिएको छैन । विदेशमा स्वास्थ्यको नारा लिएर चुनाव जित्छन्, नेपालमा भने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको हविगत यस्तो छ ।

    एउटा रमाईलो प्रसङ्ग पनि छ मैले सुनेको । एउटा ठाउँमा धेरै दुर्घटना हुन्थ्यो रे । अनि सम्बन्धित निकायमा त्यहाँका बासिन्दा उजुरी गर्न गएछन् । उजुरी गरिसकेपछि जिम्मेवार व्यक्तिले "तपाईँहरू चिन्तै नगर्नुस्, दुर्घटना भएको १० मिनटभित्र उद्धार टोली पठाउने व्यवस्था गर्छौँ" भनेछन् । अहिले मैले कुरा गर्न लागेको सकरात्मक शुरूवात पनि लगभग यस्तै हो । ११ वर्षअगाडि एकजना डाक्टर दिनेशविक्रम शाहको लापरवाहिका कारण एउटा आँखाको शक्ति र सौन्दर्य गुमाउनुपरेकी सिर्जना केसीलाई क्षतिपुर्ति दिनका लागि सर्वोच्च अदालतले आदेश दिएछ । नेपालमा स्वास्थ्यसम्बन्धि यस्तो कानुन स्पष्ट रूपमा नरहेका कारण आजसम्म अदालतबाट यस्तो निर्णय भएको रहेनछ । लगभग १८ लाख क्षतिपुर्ति दावी गरेको रिटमा सर्वोच्चले लगभग ६ लाख क्षतिपुर्ति उपलब्ध गराउन आदेश दिएको रहेछ । सिर्जनाको उपचारमा १३ लाखजति खर्च पनि भइसकेको रहेछ । निर्णय डाक्टरबाट हुने गल्ती सच्याउँदै भविष्यमा यस्तो घटना हुन नदिनका लागि भन्दा पनि भएपछि रोकथामका लागि आएको छ ।

    पैसामा दाँज्दा भलै यो फैसलाले केसी परिवारलाई फाइदा त नभएको नै होला तर यो एउटा सकरात्मक शुरूवात भएको छ । अब अस्पतालको उपचारसँग चित्त नबुझेमा अस्पतालको सिसा फुटाउनेलगायतका हिंसात्मक कार्यलाई निरूत्साहित गर्नका लागि यो निर्णयले महत्वपुर्ण भूमिका खेल्नेछ । अब दुर्घटना भइसकेपछि क्षतिपुर्ति उपलब्ध गराउने पद्धतिलाई कायम राख्दै अस्पताल, चिकित्सकको स्तरीयता र विश्वसनियतालाई अझ बलियो बनाउने कार्यहरू निकट भविष्यमै हुन् भन्ने आशा गर्ने ठाउँ प्रशस्तै रहेको छ ।

    तस्वीर स्रोत : यहाँ छ

    Saturday, November 14, 2009

    बारुलो











    खिल भएको
    विष भएको
    अर्काको ज्यान लिने
    रीस भएको
    ज्यानी
    खुनी
    बैगुनी
    कालो
    निखूर कालो हुन्छ बारूलो ।

    उस्तै प्वाँख उमारेर
    खिल लुकाएर
    घारको प्वालमा
    शिर झुकाएर
    स-गर्व आफूलाई सगोत्री भन्दै
    माहुरीको घारभित्र पस्यो बारूलो
    रानुको छेउमा वस्यो बारूलो ।

    लोकल
    मसिना
    दुब्ला माहुरीहरू
    फूलका थुँगा निमोठेर
    बजार लाने व्यापारीको गाउँमा
    रस चुस्न नपाएर वगरमा छरिएका
    जंगली फूल खोज्दै
    टाढा-टाढासम्म डुलेर थाकेका
    टिठलाग्दा माहुरीहरू
    आफू भोकै बसेर
    चाकामा अलिकति मह चुहाएर
    खडेरीमा सञ्चय गर्न
    ताँती लागेका माहुरीहरू,
    टुहुराको घारमा
    विदुवाको कमाई खान
    दक्षिणी प्वालबाट पस्यो बारूलो
    पखेटा फिँजाएर बस्यो बारूलो ।



    Saturday, November 07, 2009

    नयाँ नेपाल ?


    सुन्नुहोस् 'नयाँ नेपाल ?' कवि अनिल पौडेलकै आवाजमा :









    फूलबारी धुवाँमय छ
    पूजा कोठामा बारूद गन्हाउँछ
    कोक्रोमा बम हल्लिन्छ
    आमाहरू बङ्करभित्र
    प्रश्रवपिडाले छट्पटाएका छन्
    बिहान नजन्मी साँझ पर्छ
    कुमारी दिनहरू
    त्यसै ओइलाएर गएका छन्
    अक्सिजनको मूल्य
    मानव जीवन भन्दा महङ्गो हुन्छ
    कि पानीभन्दा सस्तो हुन्छ ?
    कामरेड प्रचण्डज्यू !
    नयाँ नेपाल कस्तो हुन्छ ?

    हात चूँडिएका शिक्षकहरू
    चकको छेउमा उभिएका छन्
    कक्षा कोठामा विध्यार्थीहरू
    टायरको महत्व पढिरहेछन्
    सुन फल्ने मलिलो भूमि
    नागरिकको छालासँगै फाटिरहेछ
    विखण्डनको खस्रो जिब्रोले
    हाम्रो राष्ट्रियता चाटिरहेछ
    भोलि
    मान्छेको जीन्दगी
    मृगको सुकुटीभन्दा महँगो हुन्छ
    कि व्वाइलर कुखुरोभन्दा सस्तो हुन्छ
    कामरेड झलनाथज्यू !
    नयाँ नेपाल कस्तो हुन्छ?

    नयाँ नेपालमा
    थोत्रे वावुको घर हुन्छ कि हुँदैन?
    नयाँ नेपालमा
    बुढी आमाको थर हुन्छ कि हुँदैन?
    हजुरवा हजुरआमालाई
    नातीनातीनीको डर हुन्छ कि हुँदैन?

    संविधान सभाको हल्ला
    विस्तारै सेलाउँछ कि!
    पार्टीका मुसालाई
    ढाडेले खेलाउँछ कि!
    राज्यको स्वरूप
    थेप्चो हुन्छ कि चुच्यो हुन्छ?
    नेप्टो हुन्छ कि वुच्चो हुन्छ?
    देशको मानचित्र
    टिष्टा र काङ्गडा जत्रो हुन्छ
    कि वाईसे-चौविसे जस्तो हुन्छ?
    ओ गिरिजाबाबु !
    नयाँ नेपाल कस्तो हुन्छ?




    फोटो स्रोत : मर्कन्टाइल कम्युनिकेसन

    Sunday, November 01, 2009

    किर्नु र गाई


    त्यो अस्तिको केटी क्या त, हामीले क्याफेमा भेटेको, मैले पट्याईसकेँ नि यार । उसले उरन्ठ्याउलो पारामा भन्यो । हिजो फकाएको त्यो पनि मानीसकी भन्या । मस्ती हुने भो आज त । अनि त्यतिकै मानी त ? मैले पुनं सोधेँ । कहाँ त्यतिकै मान्नु , ठूलै कथा बनाउनुपर्यो नि यार । यसरी बोलिरहेको थियो मानौ ऊ शिकार समाएर उन्मत्त भएको बाघ हो । अव ६ महिनामा मेरो जागिर फिक्स हुन्छ त्यसपछि विहे गर्ने हामी दुवै । मेरो वुवा आमासँग पनि कुरा गरिसकेँ मैले । यति भनिसक्दा त ओ साथी.........ठुलै हाँसोको फोहोरा छुट्यो उसको मूखबाट । म मुस्कुराएँ तर उसलाई साथ दिन मात्र । राति निन्द्रा परेन यो कुराले । सोचेँ हामी पुरूषहरूलाई पुरूषत्वको कति साह्रो घमण्ड छ ? अनि कति अभ्यस्त छौँ हामी नारी जातिलाई खेलाउने पुतलीको उपमा दिन? त्यसदिन त्यतिकै निदाएँ ।

    वोलीचालीको भनाई छ “ रगत चुस्ने किर्नु दुध दिने गाईको थुनमा गएर टाँसिए पनि त्यसले दूध चुस्दैन रगत नै चुस्छ”। तर यि किर्नालाई अस्तित्वहिन वनाउन मेरो भुमिका के त? आफ्नै मनले घच्घच्याईरह्यो मलाई पछिसम्म । नारी शसक्तिकरणको पक्षमा मनमनै भएनि कुर्लिन्थिस् अरूबेला, अस्ति अलिकति पनि बिझेन यो कुरा तँलाई ? गर्न केहि नसकेपनि आफ्नो विचार लेख्न त सक्छस् ? त्यहि भए पनि गर् । अन्तरमनको यो आदेशलाई शिरोपरि गर्ने जमर्को गरेँ मैले पनि।
    फेरि माथिकै ‘किर्नु र गाई’को प्रशंगमा आउँछु । गाई जननी हो, गाई सृष्टिकर्ता हो, गाईले अर्को आफूजस्तै प्राणीलाई जन्म दिन्छे र हुर्काउँछे । तर गाईका जीउभरि किर्ना छन्, ति कहिले दुध आउने थुनमा टाँसिएर रगत चुस्छन् । अमृतका धारा अव रगतका धारा बन्छन् । विचरो नबजात भोकै हुन्छ । सृष्टिको अन्त्य हुन्छ । वक्षस्थलको रगत चुस्न पाएका किर्नाहरू घमण्ड गरिरहेका हुन्छन् आफ्नो पुरूशार्थ प्रति । तर के थाहा तिनिहरूको पनि अन्त्य अव निश्चित भैसक्यो भनेर !
    म नारीलाई श्रद्धा गर्छु । तर हाम्रो समाजमा धेरै किर्नाहरूको वर्चस्व छ । स्वभाबैले रगत चुस्न पल्किएका रक्त पिपासूहरू। हिजो आज मात्र मौलाएका हैनन्, परापूर्वकालदेखिनै आफ्नो आडम्बर र बलमिच्याइको रापले खरानीबनाईरहेका छन् सृष्टिकै अस्तित्वलाई । मसँग एउटा अचम्मलाग्दो प्रशंग छ:

    महिला ईतिहास खोतल्दै जाँदा साह्रै अचम्मलाग्दा तथ्यहरू फेला परेका छन् । त्यसबेला महिलाहरूलाई पारिवारिक र व्यवहारिक शिक्षा दिन आमा-बाबु तथा सासु-ससुराहरूले हरसम्भव प्रयत्न गर्दथे । महिलाहरूले यज्ञपवीत धारण गरेर गायत्री-मन्त्रसहित वेदाध्यान गर्दथे । ऋग्वेदमा अपाला, वाग, वागम्भृणी, रोमसा आदि तथा ब्राह्मण, उपनिषद् आदि ग्रन्थहरूमा मैत्रेयी, गार्गी त्यस्तै गरी पुराणहरूमा मदालसा, रामायणमा कौशल्या, महाभारतमा कुन्ती, द्रौपदी आदि वेदज्ञ र नीतिज्ञ महिलाहरूको उल्लेख पाईन्छ । त्यसो त त्यतिबेला नै नारीको अस्मितामाथि खेलवाड गर्ने दुशासन जस्तो चरित्रको पनि वर्णन नभएको होईन महाभारतमा तर यसलाई मात्र अन्यायको, असत्यको र दुष्कर्मको प्रतिकको रूपमा उभ्याईएको छ । हाम्रो प्राचिन ईतिहासलाई राम्ररी चिन्तन मनन गर्दा महिलाहरूको प्रतिभालाई देखेर उनीहरूलाई उठ्न नदिनको लागि षड्यन्त्रपूर्वक प्रारम्भ गरिएको अभियान हो नारीशोषण र दमन । त्यस्तै अरू कैयौन् उदाहरणहरू छन् जसले नारी प्रभुत्वलाई दर्साउछन् । श्रीलक्ष्मी, श्रीसरस्वती, श्रीदुर्गा यि सबै देवीहरू महिलानै होईनन् र?
    दशैँमा दुर्गाको पूजा गरेर घरकी श्रीमति कुट्ने चेतनाहिन किर्नाहरूलाई सोधौँ कति धर्म कमाएका छन् उनीहरूले दुर्गाको पूजा गरेर ? पसलको धन बढोस् भनी लक्ष्मीको पूजा गरेर रात परेपछि त्यहिँ कामगर्ने वालिकाको यौन शोषण गर्ने यौनपिपाशुलाई सोधौँ कति धन थुपारेका छन् उनीहरूले लक्ष्मीको पूजा गरेर? जसले आफू वरीपरीकै देवी चिन्न सक्दैनन्, किन ढोङ रच्नु अनि पूजाको र धर्मको ? जवदेखि समाज जातिवादको भुमरीमा पर्यो र छुवाछुतको सङ्किर्ण विकृति व्याप्त बन्यो तवबाट यस्तो कुप्रथाले पनि प्रश्रय पाएको हो । केहि विवेकशून्य कट्टर व्राह्मणहरूले पनि यस पद्धतिलाई अपनाएर शिक्षा दिनवाट वञ्चित

    गरी आफ्नै छोरीबेटीहरूलाई समेत अन्याय र भेदभाव गर्न पुगे जसले गर्दा गलत परिपाटीले बढावा पायो । भन्नैपर्दा हामी यसरीनै विग्रियौँ । वर्तमान समयमा पनि कति महिला मन्त्री, राजदूत, न्यायाधीशहरूको पतिको नाम सर्वसाधारणले थाहा पाएको हँदैन । उनीहरू कसका अर्धाङ्गिनीहरू हुन् भन्ने कुरा पत्ता लगाउन गाह्रो पर्छ । तर समाजमा व्याप्त वहुसङ्ख्यक किर्नाहरू कहिल्यै आफ्नो पुरूषार्थ देखाउन पछि पर्दैनन् अनि निरन्तर प्राकृतिक तागतको आडमा नारीमाथि दमन गरिरहन्छन् ।
    यो परिपाटीको अन्त्य के त? तपाईँहरूलाई थाहै होला, निबूवाको बोक्राको धूलोले किर्नालाई मार्दछ । अव महिला निवुवाको बोक्राको धूलो बन्न सक्नुपर्छ । ‘किर्ना’ माथि दलिहालौँ त म भन्दिन तर यति डर भयोभने दूधदिने गाईको थुनमा गाडिएर रगत चुसिहाल्ने आँट त गर्ने थिएनन् कि ।

     

    About GufGaf

    About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

    Your GufGaf

    Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

    -- Copyright © 2009 गफगाफ डट कम