Thursday, December 31, 2009

    म धेरै मातेको छु (नववर्षको शुभकामना सहित)



    नया वर्ष सबैले
    विगतका तिक्ततालाइ विर्सिने दिन
    विगतका रिक्ततालाइ पुरा गर्न कम्मर कस्ने दिन ।
    मनाउने आ-आफना शैली हुन्छन ।
    कोही खाएर विर्सन्छन्
    , कोही नखाएरै विर्सन्छन् ।
    कोही खाएर मात्छन्, कोही नखाएरै मात्छन् । नखाएर मात्नेहरुका पनि आफनै रहरहरु हुन्छन ।
    तिनै मनभित्र भएका तर भन्न नभ्याएका रहरलाइ लेख्ने कोशिस गरेकी छु मैले ।
    सबैलाइ नयाँ वर्षको धेरै धेरै शुभकामना

    -----------------------------------------------------------------------------------------------------------------

    आज म धेरै मातेको छु
    कुनैबेला
    एकपल्ट हेरेर मातेको छु
    कुनैबेला
    एकैपल्ट नहेरेर मातेको छु
    कत्रो शक्ति छ एकजोडी आँखामा
    आँखामा देखिएका तस्वीरहरुमा नै मातेको छु
    आज म नखाएरै मातेको छु ।


    न मताउने कुरा छ नजिक
    न बताउने कुरा छ नजिक
    त्यसै त्यसै म मातेको छु
    खै किन हो

    आज म धेरै मातेको छु ।


    कोही भन्छन केही पाएर मातें रे
    कोही भन्छन केही नपाएर मातें रे
    कसैले मलाइ लेख्न सकेनन्
    कसैले मलाइ देख्न सकेनन्
    पढ्नेले हल्लै हल्ला पढे
    लेख्नेले हल्लै हल्ला लेखे
    त्यसैले त
    म झन् धेरै मातेको छु ।



    प्रस्तुति: नम्रता गुरागाईँ
    अमेरिका

    Tuesday, December 29, 2009

    म,अमिर खान र मेरा गुरू

    निकै पहिले एउटा लेख पढेको थिएँ कान्तिपुरमा । 'कक्षामा हल्ला हुने मास्टरलाई खत्तम र सियो झर्दा पनि थाहा पाइने गरि विद्यार्थी शान्त राख्नसक्ने मास्टरलाई अब्बल दर्जाको भनेर चिनिन्छ नेपालमा' यस्तै यस्तै लेखिएको थियो । लेखका यी हरफहरू पढ्दैजाँदा मेरो आँखाअगाडि स्वर्णिमसमय कहलिएको स्कुलेजीवन चलचित्र हेरेजस्तै सलल बग्दै थियो । 'Pin Drop Silence ! Keep Silence !' शायद मलाई पढाउने गुरूहरूले ४० मिनेटको कक्षामा १५ पटक जति यहि वाक्य दोहोर्‍याउनुहुन्थ्यो । 'केहि बुझेको छैन भने मलाई सोध्ने, साथीलाई सोध्ने होइन' अर्को प्रख्यात उक्ति । शायद आफ्नै उमेरको साथीले व्याख्या गर्दा पो राम्ररी बुझिन्छ कि ! कसैलाई हेक्का छैन यसबारेमा । आफूले पढाउञ्जेल कक्षामा श्वास फेर्ने लासहरू बसिराखुन् भन्ने नेपाली गुरूहरूको मानसिकताले अझैपनि मास्टर र विद्यार्थीको बिच एउटा ठूलो पर्खाल खडा गरेको छ । घोप्टे, लामघारे, पुड्के, भुन्टेजस्ता नाम गुरूहरूको राखीदिएर पछाडि पछाडि बोलाउन त्यसै मजा आएको होइन विद्यार्थीलाई पनि ।

    लगभग २ वर्षअगाडि आएको अमिर खानको चलचित्र 'तारे जमिन पर'ले यस्तै यस्तै विषयको विश्लेषण गरेको थियो । स्कुलका शिक्षक शिक्षिका मात्र नभएर अभिभावकले पनि आफ्ना सन्तानमा लाद्ने स्वेच्छाचारीताले केटाकेटीमा पर्ने प्रभाव एकदमै राम्रो सँगले प्रस्तुत गरिएको थियो । धेरै मेरा साथीहरूले आफू त्यहि चलचित्रको पात्रझैँ भएको व्यथा पनि सुनाउने गर्थे । आज म इञ्जिनियरीङ्को विद्यार्थी भएपछि अर्को चलचित्र आयो अमिरकै '३ इडियट्स' । भारतको प्रतिष्ठित भनाउँदा कलेजको वास्तविकतालाई मुख्य विषयवस्तु बनाइएको उक्त चलचित्रले किन पनि अझै मन चोर्‍यो भने त्यसमा पनि मेकानिकल इञ्जिनियरीङ पढ्ने केटाहरूको कथा छ र म पनि त्यहि पढ्ने मान्छे । आफ्नै आफ्नै भएपछि त्यसमा विशेष चासो हुनु पनि स्वभाविकै भयो । बच्चा जन्मिएको १ मिनेटमा बाबुले 'मेरो छोरो इञ्जिनियर बन्छ' भनेको कुरा र 'मलाई कसैले कहिल्यै सोधेनन् कि के बन्न मन छ' भन्ने कुराले विशेष मन छोयो । यी दुई भनाइहरूले सिङ्गो चलचित्र बोकेका छन् । आज म मेकानिकल इञ्जिनियरीङ् तेश्रो वर्षको विद्यार्थी हुँ तर मोटरसाइकलको इञ्जिनमा के हुन्छ भनेर समेत म कसैलाई बुझाउन सक्दिनँ । ममात्रै होइन मेरा साथीहरू प्राय: कसैले पनि सक्दैनन् । Self ignition, spark plug, thermodyanamics, heat transfer यस्ता यस्ता कुरा त भन्न सकिएला तर चलचित्रमा अमिर खानले मेशिनलाई बुझाएजस्तो केहि कुरा पनि बुझाउने अवस्थामा छैनौँ हामी कोहिपनि । चतुर 'साइलेन्सर'ले दिएको जवाफजस्तो जवाफ फर्काउन सक्छन् कोहिकोहि घोकन्ते विद्याहरू, त्यति हो ।

    शिर्षक त राखेँ अमिर खान भनेर तर उसलेजस्तो व्यवहार देखाउन सक्ने कसैको पनि अनुहार सम्झनामा छैन । प्रोफेसर 'भाइरस'जस्ता मास्टरले गरेर आज हाम्रो शिक्षा यहाँसम्म आइपुगेको हो । बेलाबेला भेट्न गइरहने,साथीका कुरा लगाइदिने, लुसुक्क एक्लै गृहकार्य बुझाउन जाने र शब्दको अर्थ नै थाहा नपाई भट्याउने 'साईलेन्सर'हरूलाई ग्रेड दिँदा उच्चतम प्राथमिकता दिने 'भाइरस'हरूले गरेर नै यथार्थमा अमिर खानको जन्म हुन नसकेको हो । त्यस्ता मान्छे नभएका भने होइनन् । बुवाआमाले आफूप्रति गरेको लगानी र परीक्षाफलमा राम्रो अंकको अपेक्षा गर्दै, भएको प्रतिभा मारेर 'साइलेन्सर'तर्फ उन्मुख भएका धेरै अमिर खानहरू हामीसँगै पढ्दैछन् । गुरू भनेको जहिले पनि प्रेरणाको स्रोत त आदर्शको प्रतिमुर्ति हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । तर यसको ठिकविपरीत आफ्नो सन्किपनको सिकार विद्यार्थीलाई बनाउने र घरमा श्रीमतिको दुई डाडु खाएको झोँकमा विद्यार्थीमाथि ४ डाडु बर्साउन खोज्ने मास्टरहरू छन् हाम्रो देशमा । शिक्षक भनेको के हो, कस्तो हुनुपर्छ शिक्षक, विद्यार्थीलाई पनि आदर गर्न मनलाग्ने ठाउँ के के हुन् भनेर थाहा नपाएका मास्टरहरू आज इञ्जिनियर,डाक्टर उत्पादनमा क्रियाशील छन् ।

    कक्षामा स्वतन्त्रताको ठूलो पाठ पढाएर घरमा छोरालाई जसरी भएपनि डाक्टर बनाउनुपर्छ भनेर सोच्ने धेरै गुरूबाहरूको भीड छ । अरूका सन्तानलाई पढाउन जाँदा तलब थाप्नको लागि जबर्जस्ती गएजस्तो गर्ने अनि आफ्नो सन्तान पढ्ने महङ्गा शिक्षण संस्थामा गनगन गर्न गइरहने यस्ता मास्टरहरूले गर्दा वर्षैपिच्छेको एसएलसी परीक्षाको परीक्षाफल झनै भयावह बन्दैछ । पढ्ने सामाग्री कम गराएर धेर विद्यार्थी पास गर्न उद्धत छ सम्बन्धित निकाय । उच्च आकांक्षा र अभिलाषा बोकेका जागरूक र मेहनती युवाहरू आफ्नै गुरूबाका कारण आत्महत्याको सिकार बनिरहेका छन् ।

    अमेरिकामा मेकानिकल इञ्जिनियरीङ् पढ्ने मेरो साथीले Designing of Robot Arms पढ्दैछ रे, म भने कहिले चौथो वर्ष पुग्छु र थोत्रे स्प्लेण्डरको इञ्जिन हेर्न पाइएला भनेर दिन गन्दै बसिरहेको छु । त्यो पनि थोत्रे मोटरसाइकल पाइएन भनेर ईञ्जिनको defination (fulcrum,valve,bla bla bla.....) पढाएर किताबे इञ्जिनियर बनाइदिन बेर छैन मेरा प्रोफेसर 'भाइरस'हरूले !!

    तस्वीर : काठमाण्डौ विश्वविद्यालयमा हामी सँगै पढ्ने '३ इडियट्स'हरू..



    Wednesday, December 23, 2009

    नेपालवन्द र कविज्यू!!

    ३ दिनको नेपाल-वन्द!! वाहिर वाहिर “यो वन्दले त खत्तमै गर्यो” भनेर जतिसुकै डुक्रिए पनि तीन-तीन दिनको विदा सोचेर मनचैँ साह्रै खुसी थियो । हुन त आफै कुनै उध्योगको उध्योगपति भए देखि, ज्याला मजदुरी गरेर कमाउनु पर्ने भए देखि अथवा सानतिनो व्यापारी व्यवसायी नै भएदेखि पर्नलाई त पीर पनि पर्थ्यो होला नि यो मनमा । चिन्ता नपर्ने त कि सरकारी जागिरेलाई कि खासै पढ्न मन नपराउने २-४जना तोरीलाउरे विध्यार्थीहरूलाई!! म दोस्रोमा परेँ । दैनिकि पुरै विग्रियो यो तीन दिनमा । सुकला रातिको १ वजे अनि उठाई विहानको १०:३० वजे । वेईज्जती कुरा । अरूले सुनेभने पनि के भन्दा हुन् छ्या... त्यसो त देश हामीजस्ता जागरूक युवाहरूकै हातमा छ भनेर टपर्टुईयाँ गफ पनि नहानिने हैन वेला वेला । अनि यति जागरिला फूर्तिला युवाको निन्द्रा खुल्ने समय विहानको १०:३० वजे । आफैदेखि लाज लाग्न थालिसक्यो । एकमनले त ठीकै नि हो...भोलिदेखि त फेरि एकाविहानै कुकुरले खै के नि नखाईकनै क्याम्पसमा हाजिरहुनुपर्छ । सुतिदिऊँ न विदाभरी जे पर्ला । मरिलानु के नै छ र........

    जीवन कति सुखी हुन्थ्योहोला आफुले सोचेजस्तै भैदिए सबैकुराहरू । त्यही वन्दको तेस्रो दिन- मंगलवार, मेरो सुत्ने चाहनामाथि पानी खन्याउन एकाविहानै घरैमा आईपुगे एकजना कवि । आउन त वुवालाई भेट्न आएका तर फेला पर्यो यो सुतुवा जागरूक युवा... ‘वुवा त ईटहरी जानुभाको छ सर, अहिले यहाँ हुनुहुन्न’ । मैले ढोला नखोली उनको प्रश्नको उत्तर दिएँ । सोचेको थिएँ- यति भनेपछि फर्केलान् भनेर । हे फसाद...कविज्यूलाई भित्रै नआई भएन । भाउन्न छुट्ला जस्तो भयो मलाई । खिस्स देखावटी हाँसो निकाल्न नि साह्रै अप्ठेरो हुने भन्या । घडी हेरेँ- विहानको साढे ६ भएको रहेछ । रातीको अवेला सुताई... यि कविले विजोग पारे आज मलाई.......

    एकैछिनमा गफ सुरू भैहाल्यो वैठक कोठाभित्र । अलि अलि घरेलु वातचित सकिएपछि कविज्यु त्यै काम गर्न लागे जुन नहोस् भनेर म मनमनै प्रार्थना गरिरहेको थिएँ । अन्दाजी १००-१५० पानाको थोत्रो थोत्रो डायरी निस्कियो झोलावाट । अव घटिमा १५-२० वटा कविता सुन्नुपर्छ मैले त्यो पनि उज्यालो अनुहार बनाएर । लौन कसैले वचाउनुपर्यो मलाई...मनमनै गुहार पनि नमागिएको हैन । भाई....यि प्रगतिशिल लेखक भनाउँदाहरू नाम मात्रका छन् । कुन चाहिँ त्यस्ता लेखकले प्रगतिशिल लेखनलाई न्याय गरेका छन् भन त मलाई... उनी बोलीरहदाँ सँगसँगै आक्रोस पनि पोखिरहेका थिए । त्यो मोदनाथ प्रश्रीत कसरी प्रगतिशल भयो ? सेता पानामा थारा अक्षरलाई घाँस हाल्दैमा प्रगतिशिल भईन्छ ? उनी झन्-झन् चर्किदै थिए । अनि म...ठूलै दिव्यज्ञान प्राप्तगरेझैँ जवरजस्ती मूख च्यातेर हो मा हो मिलाउँदै थिएँ । कविज्यू झन् झन् अनुहार रातो वनाउँदै जोसिदै थिए । प्रगतिशिल लेखक मात्र भएर के गर्नु? हामीजस्ता ‘पाउर’ नभएका निरिह सर्जकहरूको त केहि सोधी खोजीनै हुँदोरहेनछ यो देशमा । मलाई त अचम्म लाग्छ भन्या । यो १-२ दिनको विचमै कसैले उनको मन नराम्ररी दुखाएछ भनेर सजिलै अड्कल काट्न सकेँ मैले । तर मैले गर्न सक्ने भनेको चुपचाप उनका कुरामा टाउको हल्लाएर सहमति जनाउने मात्र । यसैवीचमा पीरो मरिच हालेको चिया उनका अगाडि टक्राएँ । रगतै चुहेला जस्तो उनको अनुहार अलि मत्थर भयो । झ्याल वाहिर वातावरण सेताम्य छ हुस्सु लागेर । मुटुकाम्ने चिसोमा चियाको सर्को तान्दा पेटसम्मै तातो पुगेको आफैले महसुस गर्न सकिन्थ्यो । तर काम्न चाहिँ छोडिएको थिएन ।

    भाई...अंकलले मसँग किन यस्ता कुरा गर्या होला भनेर तिमीलाई अप्ठ्यारो लागिरहेको होला...उनी अझै बोल्न खोज्दै थिए, म बीचैमा प्वाक्क हान्निएँ:-“छैन अंकल के को अप्ठेरो लाग्नु नि । झन्न यतिका कुरा हजुरसँग सिक्न पाउँदा..। उनी एकछिन हाँसे । हाम्रा कुरा यस्तै हुन् भाई के गर्नु । तिमेरू अलि कलिलै छौ । वरू वुवालाई चैँ भेटेर दिनभरी गफ हान्ने विचार थियो वन्दको सदुपयोग नि हुन्थ्यो आज..हा हा हा.....। त्यै त अंकल, अव ३ दिनमा त आईहाल्नुहुन्छ अनि फेरि आउनुहोला नि । घुमाउरो पाराले विदा दिन खोजेँ मैले तर एकसुरे कविले किन पो वुझ्थे र !

    ल ठीकै छ त्यसोभए । बोरू भाईलाई पो साहित्यमा कत्तिको रूचि छ, म एउटा कविता सुनाउँछु है त । मेरो अनुहार हेर्न लायकको भयो । जवाफको प्रतिक्षा नगरीकनै उनी भट्याउन थाले,

    “सार्दूल आफैमा...................................................

    म आफैँ विचल्लित मनले....................................

    शिव ‌ॐ शिव ॐ शिव ॐ शिव ॐ...................”

    लौजा....छाँगाबाट खसेजस्तो भएँ म । आफूलाई भयङ्कर प्रगतिशिल भनाउने यि कविको कविता त कैलाश पर्वतमा सुनाउने खाल्को पो रहेछ.....त्यसै अघिदेखिको खिन्न मन, झनै बिग्रियो । उनी अरू पनि कविता भट्याईरहेका थिए तर मेरा कानवाट भित्र छिरेनन् । सुनेको जस्तो अनि मन परेको जस्तो मात्र गरिरहेँ । उनी ९ वजेतिर बाटो लागे ।

    धैरै कुराहरू खेल्नथाले त्यसपछि । यो प्रगतिशिल भन्ने वादमा लागेकाहरूले कस्तो रचनाहरूको सिर्जना गर्छन् त्यो त साह्रै थाहा भएन मलाई तर यति चैँ ठोकुवा गरेर भन्न सक्छु; प्रगतिशिल धारका लेखक साहित्यकारहरू भगवानलाई चाहिँ मान्दैनन् । अनि यि कवि चैँ कुन प्रकारका प्रगतिशिल परेछन् मैले थाहा पाउन सकिन ।भित्र भित्र के गर्नछन् त्यो त थाहा छैन तर कमसेकम लेखनीमा यस्ता कुरा आउनुलाई प्रगतिशिल साहित्य मानिदैन । भन्लाई त सर्वहाराको पक्षमा कलम चलाउने अनि अध्यात्मलाई त्यति महत्व नदिने भनेर चिनाउछन् आफैलाई तर मेरो मनको आफ्नै तर्क चैँ के भने यस्ता कुनै वादको पछि नलागी के असल साहित्यको सिर्जनै हुँदैन र? लौ भैगो यस्ता कुरा धेरै गर्दिन । कुरोको चुरोलाई समाउदा, वाद योस् या निर्वाद साहित्यको बाटो अग्रगामी हुनुपर्छ । यो विषयमा धेरै कुरा नगरम् । मेरो गुनासो यत्ति मात्र हो- केहि विवेकशुन्य र चेतनाहिनहरूले हाम्रो साहित्यमाथि गरेको छेडछाडलाई तमाम बौद्धिक वर्गमा समेत नजरअन्दाज गरिदा किन कसैबाट पनि पहलगामी कदम चालिदैन? कुन स्तरको चेतना भएका साहित्यकारको बिगबिगी छ हाम्रो साहित्याकाशमा ? यसबारे बिष्लेशण हुन जरूरी छ । म त भन्छु आफुलाई ठूलै सर्जक भन्न रूचाउने तर यथार्थमा टपर्टुईया कवि साहित्यकारहरूको जमात धेर भएर नै हाम्रो साहित्य उँभो नलागेको हो । हैन भने के हो मलाई बताईदिनुहोला । आफ्नो हैसियतको हेक्का नभई अरूलाई नानाभाती गालीगरी हिड्ने प्रवृति भएका यस्ता कु:लेखकहरू पुस्तक छपाईको नाममा वनस्पतिको नास मात्र गरिरहेका छन्। हुन पनि कविहरू धेरै वाक्ला र कविता चाहिँ पातला भएको वर्तमान हो हाम्रो । बरू ति देवकोटा र लेखनाथहरू, हिजोका युद्धप्रसाद-सिध्दिरणहरू अनि आजका प्रश्रित र धराबासीहरू पो के भन्दा हुन् नेपाली साहित्यको यो दुर्दशा देखेर । आफैलाई धिक्कार्दाहुन् अरू के पो गर्न सक्थे र!!!

    अँ...यौटा कुरा त भन्नै विर्सेछु । जाने बेलामा आफ्नो रित्तो झोला देखाउँदै कविज्यू मै तिर हेर्दै थिए । सायद कुनै पुस्तकको आशामा होला । मैले साफ साफ भनिदिएँ; “अंकल यि कितावहरू मेरो वुवाका परे । मलाई पढ्ने सम्म त अधिकार छ तर आदान प्रदानको अधिकार चैँ छैन । माफ गर्नुहोला है ।“ उनले एकछिन केहि सोचेजस्तो गरे अनि सरासर आफ्नो बाटो लागे । म मनमनै अर्को कुरा नि सोच्दै थिएँ.....आजको निन्द्राको हिसावकिताव चाहिँ भरे चाँढै सुतेर मिलाउनुपर्ला..........

    Tuesday, December 22, 2009

    गजल


    एक दुई प्याकले हजुरलाई मतायो कि कतै
    अतितका ती रातले सतायो कि कतै

    बारम्बार बाडुल्की त मलाई पनि आउँछ
    दुईजिउ मेरो बतासले बतायो कि कतै

    निदरीमा पनि त म सिरानीलाई च्याप्छु
    आफ्नै तनलाई गाली गर्छु छटायो कि कतै

    छल्दो रैछ अधेरीमा कोही छाम्छु छेउमा
    दैवले नै रातकोलागी खटायो कि कतै

    पीरमा डुब्छु बिहानीमा छामीहाल्छु पेट
    राक्षसले रातै यस्लाई घटायो कि कतै

    मधुर ती स्वरहरु अधुराछन् बूढा
    कोही आई तारहरु कटायो कि कतै


    Wednesday, December 16, 2009

    KFC संस्कृति र हाम्रो अर्थतन्त्र!!


    सुकेनास नलागेका खल्तीहरू अनि सहरिया संस्कृतिमा अभ्यस्त भएका र हुन खोज्दै गरेका तरूना केटाकेटीहरूमाझ अहिले गफ गर्नलाई एउटा हट ईस्यु छ:- ‘के.एफ.सी’ र ‘पिज्जा हट’ । हिजोआज कुनै त्यस्तो विशेष दिन छैन होला कलेजका विध्यार्थीमाझ यो विषयमा छलफल नभएको....मेरो त कान टट्टाईसक्यो सुन्दा सुन्दा!! यु.के मा वस्ने एकजना साथीसँग सुरूका दिनहरूमा मैले पनि खुब च्याट गरेँ यस विषयमा । उसलाई त दया लाग्यो रे के.एफ.सी अगाडी नेपालीको त्यत्रो ठूलो लर्को देखेर!! तर्कहरू भिन्नै किसिमका थिए उसका । तर म पुर्ण सहमत चाहिँ त्यतिवेला भएँ जव यो विषयमा मैले पनि धेरथोर खोज्ने प्रयास गरेँ ।

    हुनपनि एक दिनमा मोटामोटी २००० जना नेपालीहरू जाँदा रहेछन् यो नयाँ र विश्वस्तरिय स्वाद चाख्नका लागि । अनि दैनिक ८०० के.जीको हाराहारीमा मासुको खपत हुँदोरहेछ त्यहाँ । गरिवीको लिस्टमा नेपाल झन् माथि माथि चढ्नेक्रम बढ्दो छ । गरिवी शुचाङ्मा देश अझ गरिव भइरहेको प्रष्ट देखिन्छ तर मान्छेहरूसँग भने यतिधेरै पैसा!! म बेलाबेला छक्क पर्छु । हुनत सबै नेपालीहरूको जीवनशैली सिमित सहरिया मानिसहरूको जस्तो छैन । वहुसंख्यक जनता त अझै गरिवीकै रापमा पिल्सिरहेकै छन् । तर पैसा जतिसँग छ त्यो रकम खर्चहुने स्रोतवाट वहुसंख्यक नेपाली र सिङ्गो देशको उत्थान चैँ पक्कै भएको छैन । यो सत्यलाई सवैले स्विकार्नै पर्छ । नेपालमा पहिलो पटक भित्रिएको फास्ट फूड चेन केन्टुके फ्राइड चिकेन (केएफसी) र दिनानुदिन वढिरहेको यसको लोकप्रियताले हाम्रो अर्थतन्त्रको वहावलाई कसरी संकेत गरिरहेको छ म प्रस्ट पार्ने प्रयत्न गर्छु ।

    केहि समय अगाडि मनकामना केवुलकार संचालक तथा चितवन कोई प्रा.लिका अध्यक्ष लक्ष्मणवावु श्रेष्ठको कुराकानी पढेको थिएँ अखवारमा । उनको नव उध्योग चितवन कोई प्रा.लिको उद्देश्यको वारेमा थाहा पाएपछि म यो लेख नलेखी बस्नै सकिन । हामी एकपटक आफै मनन गरौँ; हालैको समयमा च्याउझैँ उम्रिएका वैँक तथा वित्तिय संस्थाहरूले नेपालको अर्थत्नत्रमा कस्तो प्रभाव पार्न सक्छन्? एकहिसावले हेर्दा वैकहरूको वढ्को चलखेलका कारण रोजगारीको लागि प्रसस्त अवसरहरू सिर्जना भएका छन् । हामीले विश्वस्तरिय वैंकिङ सेवा उपभोग गर्न पाएका छौँ । तर ग्राहकहरूवाट संकलित निक्षेप कुन क्षेत्रमा लगानी भईरहेको छ ? यसवारेमा हामी सबै जागरूक हुनु अत्यन्त जरूरी छ । वैँकको अत्यधिक लगानीको स्रोत रियल स्टेट(घर-जग्गा) व्यापार हो । त्यसबाहेक सवारीसाधन किन्नको लागि पनि प्रशस्तै ऋण प्रवाह गर्छन् वैंकहरूले । स्थिति यहाँसम्म पुगिसक्यो कि वैंकहरू आफै अस्वस्थ प्रतिस्पर्धामा उत्रेर कानुनले दिएको लगानीको सीमा छल्नका लागि व्यक्तिगत ऋण, सम्पति ऋण, व्यक्तिगत जमानी ऋण आदि नाममा यिनै क्षेत्रहरूमा ठूलो लगानी गरिरहेका छन् । थोरै व्याजमा जनताको निक्षेप संकलन गरेर घरजग्गा र सवारीसाधनमा लगानी गर्ने यो प्रवृति पनि एउटा प्रमूख कारक हो हाम्रो अर्थतन्त्रलाई ओरालो लगाउने । राष्ट्र वैँक आफैँ पनि यस्ता अनुत्पादक क्षेत्रमा भएको अधिक लगानीलाई रोक्न सक्दैन । सरकार निरिह छ । कुनै निति नियमहरू समयमै वनाएर परिस्थितिलाई नियन्त्रणमा राख्न अक्षम छ । आम जनताको वुझाई पनि वैँक चलाउनु भनेको घरजग्गा, गाडी किन्न ऋण दिनु हो भन्ने छ । तर यस्तो प्रवृतिले जनता र सिंगो देशलाई कुनै फाइदा पुग्दैन । वैंक गाउँको विकासको आधार बन्नुपर्छ ।गाउँ-गाउँमा हस्तकला उध्योगहरू छन, पशुपालन, खेतिपाति भईरहेको छ ।पुँजीको अभावमा उनीहरूले आफ्नो उत्पादन वढाउन सकेका छैनन । लगानीको आवश्यकता त त्यहाँ पो छ । तर कुन वैकले गाउँले जनतालाई लघु उध्योग संचालनगर्न अनि कृषि क्षेत्रमा लगानी गर्न ऋण दिन्छ ? अपवादलाई छोडेर यस्तो काम प्राय कसैले गर्दैनन् । अर्थात वैंकको लगानी गाउँ-गाउँ पुग्दैन । जनतालाई स्वाविलम्वी वनाउने क्षेत्रमा वैंकको लगानी हुँदैन । वचत जनताको- मालामाल हुने सिमित घर-जग्गा दलाल अनि मुनाफा जति सवै वैंक संचालकको खल्तीमा!! अनि हाम्रो आर्थिक उन्नति कसरी सम्भव छ?

    कुनै पनि मुलुक विकसित राष्ट्रका रूपमा चिनिन त्यहाँको कृषि क्षेत्र र औध्योगिक क्षेत्र सबल हुनुपर्छ । कृषिले जनताको आर्थिकोपार्जनमा टेवा पुर्याउँछ भने उध्योग धन्दाले देशको अर्थतन्त्रलाई मजवुत बनाउँछ । कृषि तथ्याङ्कलाई आधार मान्ने हो भने हामी झन् झन् गरिव हुनुको मुख्य कारण कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन(GDP)मा दिने योगदानमा ह्रास आउनु नै हो । अघिल्लो तथ्याङ्क अनुसार कृषिको GDP सेयर ९० प्रतिशत थियो र यसमा निहित जनसंख्या ९५ प्रतिशत थियो । आजको तथ्याङ्क हेर्ने हो भने GDP मा कृषिको सेयर ३२ प्रतिशतमा झरेको छ तर यसमा निहित जनसंख्या जतिको त्यतिनै अर्थात ९५ प्रतिशतकै हाराहारीमा छ । के यो गरिवीको सुचक हैन र?

    देशको अर्थतन्त्र गाउँमुखी हुनुपर्छ । अन्तराष्ट्रिय लगानी देशमा भित्रिनु पर्छ, त्यहाँबाट सहरहुँदै गाउँ-गाउँसम्म पुग्नुपर्छ । तर विडम्वना हाम्रोमा अर्थतन्त्रिय वहाव त्यसको ठीक उल्टो छ । गाउँको पैसा सहर पुग्छ र सहरको पैसा विदेशिन्छ । एउटा उदाहरण- वहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीको पहुँच हाम्रो देशको गाउँ-गाउँसम्म छ । जनताहरू ति उत्पादनहरूको खपत गर्छन् । पैसा सहरमा आईपुग्छ अनि वहुराष्ट्रिय कम्पनीको जन्मदेश(Parent Country)मा पुग्छ । पुँजी पलायन यसरी भईरहेको छ हाम्रोमा । स्थानिय उत्पादनको स्थानिय वजारसम्म मात्र पहुँच छ । लगानी को अभावमा, जनशक्तिको अभावमा, प्रस्ट आर्थिक नितिको अभावमा, शान्ति सुरक्षाको अभावमा र स्थिर नेतृत्वको अभावमा उध्योग-धन्दाको अवस्था अत्यन्तै नाजुक छ । भएका उध्योग धन्दापनि वन्द हुने स्थितिमा छन् । जव पुर्वाधार नै यस्तो छ भने विकाश कसरी हुन्छ ? KFC PIZZA HUT को नेपाल आगमनले पनि हाम्रो पुँजी पलायनलाई नै धेरै टेवा पुग्ने देखिन्छ । नेपालीले कुखुराको आपुर्ति सम्म पनि गर्न नपाउने, सवै ब्राजिलवाट आयात हुने (हुनत मासुको गुणस्तरको कुरा आउँछ यहाँ तर घाटा त फेरि पनि हामीलाई नै हुँदैछ नि!) तर मुनाफा जति सवै उनीहरूको देशमा मात्र । यस्तो कुरा गरेर मैले विश्वव्यापी खुल्ला वजारको अवधारणालाई अवमुल्यन गरेजस्तो देखिएला । जुन ब्राण्डले ग्राहकलाई गुणस्तरीय सामान सुलभ मुल्यमा दिन सक्छ वजारमा त्यसकै वर्चस्व हुन्छ । यो व्यापारको सिद्दान्त नै हो । देशकै उत्पादन मात्र खरिद गर्नुपर्छ भनेर ग्राहकलाई गुणस्तरहीन सामान र खाद्यान्न किन्न वाध्य पारिनु हुँदैन । KFC को चिकन सवैभन्दा मीठो हुन्छ भने त्यही खानपाउनु हाम्रो अधिकार हो । देशको अर्थतन्त्र जोगाउन हामीले आफ्नो खर्चगर्ने आनीवानीमै परिवर्तन गर्नुपर्छ भन्ने हैन । जुन सवैभन्दा राम्रो हो हामी त्यसैप्रति वफादार हुन्छौँ । यो ग्राहकिय सिद्दान्त हो । तर मैले के मात्र भन्न खोजेको हो भने यस्ता वहुराष्ट्रिय उध्योगरूले हाम्रो पुजीँ हामीवाटै खोसेर उनीहरूको देशमा भित्राउदै छन् । यो अवस्थामा हाम्रो भुमिका के हुने? केहि गर्न नसकेपनि जागरूक सम्म हुन सक्यौँ भने भोलि गएर केहि गर्न सकिन्छ भन्ने मलाई लाग्छ । लक्ष्मणवावु श्रेष्ठले यहि कुरालाई मनन गरेर चितवनमा दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उध्योग संचालनमा ल्याएका छन् । किसानहरुले उत्पादन गरेको दुध सवै यहि उध्योगले लिने गर्छ । यसवाहेक दिनमा ४० लिटर सम्म दूध दिने गाईहरू चीनवाट आयात गरिएको छ । ती गाईहरू किसानहरूलाई सरल किस्तामा बाँडिन्छ र उत्पादित दुध सवै उध्योगले खपत गरिदिन्छ । कति राम्रो अवधारणा छ यो!! यस्ता उध्योगहरूको सञ्चालनले पुजीँलाई गाऊकेन्द्रित वनाईदिन्छन् र यसको दिर्घकालिन सकारात्मक असर देशको अर्थतन्त्रमा पर्छ । सहरका मान्छेले दुग्धजन्य पदार्थ किनेपछि उध्योगलाई फाईदा हुन्छ । उध्योग फाईदामा गए किसानको आर्थिक उन्नति हुन्छ । समग्रमा देशकै अर्थतन्त्र वलियो हुन्छ ।

    म पनि KFC PIZZA HUT को स्वाद लिन दरवारमार्ग जान्छुहोला शुक्रवारतिर । तर मनमा अर्को चाहना चाहिँ रहिरहनेछ; “हाम्रो पुँजीले हाम्रै देशको माटो उर्वर वनाउन भविष्यमा केहि चाहिँ गर्नै पर्छ” ।

    Tuesday, December 01, 2009

    पितृलाई पुस्तकको पिण्ड!!

    प्रज्ञा प्रतिष्ठान छ राजधानीमा तर प्राज्ञहरू छैनन् । सरकारले प्राज्ञ भनेर नडामुञ्जेल विद्वान प्राज्ञ हुँदैन हाम्रो देशमा । त्यसैले प्रज्ञा प्रतिष्ठान सरकारको धर्मशालामा परिणत भएको छ यतिबेला । त्यो धर्मशालामा रमाईलो मेला लाग्छ, बोर्डिङको वार्षिकोत्सव हुन्छ, वित्तिय संस्थाहरूको खेलकुद हुन्छ ।

    यसरी राजधानीको प्रज्ञा प्रतिष्ठान धर्मशालामा रूपान्तरित भएपछि म जनताले बनाएको प्रज्ञा प्रतिष्ठानतिर हान्निएँ शुक्रवारको दिन । शुक्रवार,अर्थात २०६६ साल मंसिर १२ गते, तद्अनुसार नोवेम्वर २७ तारिकका दिन ।

    हेटौँडामा छ एउटा जनस्तरबाट स्थापित प्रज्ञा प्रतिष्ठान । हरेक महिना प्राज्ञहरू भेला हुन्छन् । सिर्जनाका कुरा गर्छन् । कुलपति आर.सी रिजालले घरको आँगन काटेर संस्थालाई जमिन दान दिएका छन् । हिजो आफैँ अघि सरेर सिमेण्टका वोरा बटुले । दानवीरहरूले इँटा दिए, छड दिए र विश्वासको पक्की घर बन्यो । घर बाहिर गेटमा सूचना पार्टी टाँसे:-............।
    कोठाभरी सोफा र कुर्सी सजाए । न सरकारलाई लाछी भन्नुपर्यो । न सिमाना बाहिरका दानविरहरूको पाउ मुसार्नुपर्यो । न कसैको मुख ताक्नुपर्यो । सरकारले बनाई दिएको प्रज्ञा प्रतिष्ठान ऊ सँगै सतीजान सक्छ, जनता लागेर बनाए भने त्यो अजर-अमर हुन्छ ।
    ‘कोई न कोई पाखुरीनै पोई’ भनेको यहि त होला ।

    अँ, हेटौँडा प्रस्थानका कुरा भन्दै थिएँ -

    हो, शुक्रवार दिउँसो ११ बजे कथाकार घनश्याम शर्मा र कवि आनन्दराम पौडेल साथै लिएर हाम्रो गाडी थानकोट नाकाबाट बाहिरियो । ‘बाईरोडको बाटोमा धुलो उडाउँदै’ साँझ ६ बजे एभोकाडो होटलमा गाडी रोकियो । आ-आफ्ना झोला बोकेर १०६ नम्बर कोठाभित्र पस्यौँ । आयोजक प्राज्ञ निमेशनिखिल र श्याम बानियाँले चिसो मौसममा तातो स्वागत गरे । एकछिन कोठैमा जम्यौँ अनि रेष्टुरेण्टमा रम्यौँ । मर्यादित र अनुशासित रम्याई पारदर्शी र त्रिकालदर्शी भयो ।

    १३ गते जनताको प्रज्ञा प्रतिष्ठानमा झरिलो र भरिलो उपस्थिति भयो । उद्घोषक रामशरण पुडासैनीले कार्यक्रम सुरू हुने घण्टी बजाए । हामीलाई आशन ग्रहण गराए । मलाई प्रमुख अतिथि बनाए । आनन्दराम र घनश्यामलाई अतिथिमा सजाए । निमेशनिखिलको सभापतित्वमा सभा अघि बढ्यो । कार्यक्रमको शीर्षक थियो..............................

    आज कुलपति आर.सी रिजालले आमालाई तर्पण दिने दिन रहेछ । उनले सर्वप्रथम पुष्पलाल पुस्तकालयलाई ७ थान पुस्तक सिदा दिए । पितृका नाममा पिण्ड दिने होईन पुस्तक दिने चलन चलाए उनले । १४४० मुल्यका ६ ठेली पुस्तक उचाल्दा पुस्तकालयका सभापतिको काँधपनि लच्कियो ।

    मोरङका कलाकार नविन सुवेदीले ढुंगामा कुँदेर बनाएको हाँस्यकलाकार भैरव अर्यालको शालिक छ हेटौँडामा । तिनै कुलपति रिजालले बनाउन लगाएका । हरेक वर्ष हाँस्यव्यङ्ग्यको विधामा ११ हजारको पुरस्कार दिने गरेका छन् । आमाको नाममा रिजालले पुस्तकको पिण्ड लडाइसकेपछि पुर्णप्रसाद अर्याल माइक्रोफोनमा उभिए । उनले अर्याल बन्धु समाज नेपालको तर्फबाट जातीय आरोप चैँ नलागोस् है भन्दै घोषणा गरे- ‘अवको भैरव जयन्तीदेखि ११ हजारको पुरस्कारको राशि हाम्रो समाजले उपलब्ध गराउनेछ ‘। प्राज्ञहरू रौशिए, हौसिए । उच्च रक्तचाप झर्नेगरी ताली बजाए । त्यसपछि गजलका मुठा, कविताका विटा र गीतका लहर वहर भएर दौडिन थाले । राधिका अधिकारी’आँशु’ले रचना वाचनको घुम्टो खोलिन् गजलको बहरबाट-

    “सिउँदोभरी सिन्दुरको आशा बोकी रहेँ

    देख्लान् सबले आँशु भनी आँखा रोकि रहेँ....”

    फेरि गजलको दाम्लो चुँडाएर सरिता शशीले मैदान माडीन्-

    “बाबुले छोरी कन्यादान गरेपछि आयौ

    खाली सिउँदो पराईले भरेपछि आयौ...”

    ढिलो आइएछ भनेर अतिथि घनश्याम शर्माले प्रमुख अतिथितिर आँखा फर्काए । “ठिक्क पर्यो, तिमीलाई कसले भद्रो हेरेर बस्न लगाएको थियो त यतिका वर्ष” भनेर लोपारी दिएँ । पाका प्राज्ञहरूले गीत बजारे त्यसपछि । ओहो! शम्भुप्रसाद बाँस्कोटाको स्वर कति राम्रो । लय नझारी गाए-

    एउटा फुल देखेँ मैले बोटमा हाँसी झुलेको

    टिप्न जाँदा सोधेँ मैले कसको लागि फुलेको ?

    डा. गणेशकुमार पौडेल अनुहारको चमक हेरीहेरी जनमत पत्रिका बाँड्दै थिए- उद्घोषकले प्याट्टै नाम बोलाई दिए । डाक्टरले टेथिस्कोपको झोला कुर्सीमा बिसाएर माईक्रोफोन समाए-

    “नजाऊ छोरी जर्मनी लाउडामा अव उडेर

    बनीदेउन अव सुस्री बुबाको त्यो मुहान हँसाउन”

    रउसे रहेछन् डाक्टर। मान्छेको स्वास्थ्य मात्र हैन राजनीतिको स्वास्थ्य पनि जाँच्दा रहेछन् । झम् झम् नाच्नेगरी गीत गाए । अझै पाका प्राज्ञ तुलसी घिमिरे भन्दै थिए-

    “जाग जाग अव जागन जाग

    भाग भाग वैरी हो भाग न भाग”

    झण्डै दुईघण्टा कविताको वर्षा भइरह्यो । छवि अनित्य, वीरेन्द्र पौडेल, अभिषेक पौडेल, दिपक गौतम, सुभाष खनाल, रामकुमार एलन, खेम बोलखे, माधव भण्डारी, चिरञ्जीवी चकोर, अरूण खतिवडा, मोदनाथ पोख्रेल, देवराज खरेल, नरेन्द्र परासर, नवराज शर्मा, घनश्याम शर्मा, आर.सी रिजाल, आनन्दराम पौडेल आदि स्रष्टाहरूले सिङ्गो हललाई जुरूक्क उचाले । प्रताप विष्ट र भानुभक्त आचार्य पत्रकार रहेछन् । उनीहरू त घुटुक् घुटुक् थुक निलेर बसीरहे ।

    कार्यक्रम सकिएपछि प्रमुख अतिथिले संस्कृति मन्त्रीलाई ईमेल पठाए-

    मन्त्रीज्यू! त्यता नेवा:राज्यको प्रज्ञा प्रतिष्ठान के गर्दैछ? यता ताम्सालिङ राज्यको प्रज्ञा प्रतिष्ठान त क्रियाशील छ है

    प्रस्तुति: अनिल पौडे

    कार्यक्रमसँग सम्बन्धित केहि तस्विरहरू:-






     

    About GufGaf

    About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

    Your GufGaf

    Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

    -- Copyright © 2009 गफगाफ डट कम