यसरी राजधानीको प्रज्ञा प्रतिष्ठान धर्मशालामा रूपान्तरित भएपछि म जनताले बनाएको प्रज्ञा प्रतिष्ठानतिर हान्निएँ शुक्रवारको दिन । शुक्रवार,अर्थात २०६६ साल मंसिर १२ गते, तद्अनुसार नोवेम्वर २७ तारिकका दिन ।
हेटौँडामा छ एउटा जनस्तरबाट स्थापित प्रज्ञा प्रतिष्ठान । हरेक महिना प्राज्ञहरू भेला हुन्छन् । सिर्जनाका कुरा गर्छन् । कुलपति आर.सी रिजालले घरको आँगन काटेर संस्थालाई जमिन दान दिएका छन् । हिजो आफैँ अघि सरेर सिमेण्टका वोरा बटुले । दानवीरहरूले इँटा दिए, छड दिए र विश्वासको पक्की घर बन्यो । घर बाहिर गेटमा सूचना पार्टी टाँसे:-............।
कोठाभरी सोफा र कुर्सी सजाए । न सरकारलाई लाछी भन्नुपर्यो । न सिमाना बाहिरका दानविरहरूको पाउ मुसार्नुपर्यो । न कसैको मुख ताक्नुपर्यो । सरकारले बनाई दिएको प्रज्ञा प्रतिष्ठान ऊ सँगै सतीजान सक्छ, जनता लागेर बनाए भने त्यो अजर-अमर हुन्छ । ‘कोई न कोई पाखुरीनै पोई’ भनेको यहि त होला ।
अँ, हेटौँडा प्रस्थानका कुरा भन्दै थिएँ -
हो, शुक्रवार दिउँसो ११ बजे कथाकार घनश्याम शर्मा र कवि आनन्दराम पौडेल साथै लिएर हाम्रो गाडी थानकोट नाकाबाट बाहिरियो । ‘बाईरोडको बाटोमा धुलो उडाउँदै’ साँझ ६ बजे एभोकाडो होटलमा गाडी रोकियो । आ-आफ्ना झोला बोकेर १०६ नम्बर कोठाभित्र पस्यौँ । आयोजक प्राज्ञ निमेशनिखिल र श्याम बानियाँले चिसो मौसममा तातो स्वागत गरे । एकछिन कोठैमा जम्यौँ अनि रेष्टुरेण्टमा रम्यौँ । मर्यादित र अनुशासित रम्याई पारदर्शी र त्रिकालदर्शी भयो ।
१३ गते जनताको प्रज्ञा प्रतिष्ठानमा झरिलो र भरिलो उपस्थिति भयो । उद्घोषक रामशरण पुडासैनीले कार्यक्रम सुरू हुने घण्टी बजाए । हामीलाई आशन ग्रहण गराए । मलाई प्रमुख अतिथि बनाए । आनन्दराम र घनश्यामलाई अतिथिमा सजाए । निमेशनिखिलको सभापतित्वमा सभा अघि बढ्यो । कार्यक्रमको शीर्षक थियो..............................
आज कुलपति आर.सी रिजालले आमालाई तर्पण दिने दिन रहेछ । उनले सर्वप्रथम पुष्पलाल पुस्तकालयलाई ७ थान पुस्तक सिदा दिए । पितृका नाममा पिण्ड दिने होईन पुस्तक दिने चलन चलाए उनले । १४४० मुल्यका ६ ठेली पुस्तक उचाल्दा पुस्तकालयका सभापतिको काँधपनि लच्कियो ।
मोरङका कलाकार नविन सुवेदीले ढुंगामा कुँदेर बनाएको हाँस्यकलाकार भैरव अर्यालको शालिक छ हेटौँडामा । तिनै कुलपति रिजालले बनाउन लगाएका । हरेक वर्ष हाँस्यव्यङ्ग्यको विधामा ११ हजारको पुरस्कार दिने गरेका छन् । आमाको नाममा रिजालले पुस्तकको पिण्ड लडाइसकेपछि पुर्णप्रसाद अर्याल माइक्रोफोनमा उभिए । उनले अर्याल बन्धु समाज नेपालको तर्फबाट जातीय आरोप चैँ नलागोस् है भन्दै घोषणा गरे- ‘अवको भैरव जयन्तीदेखि ११ हजारको पुरस्कारको राशि हाम्रो समाजले उपलब्ध गराउनेछ ‘। प्राज्ञहरू रौशिए, हौसिए । उच्च रक्तचाप झर्नेगरी ताली बजाए । त्यसपछि गजलका मुठा, कविताका विटा र गीतका लहर वहर भएर दौडिन थाले । राधिका अधिकारी’आँशु’ले रचना वाचनको घुम्टो खोलिन् गजलको बहरबाट-
“सिउँदोभरी सिन्दुरको आशा बोकी रहेँ
देख्लान् सबले आँशु भनी आँखा रोकि रहेँ....”
फेरि गजलको दाम्लो चुँडाएर सरिता शशीले मैदान माडीन्-
“बाबुले छोरी कन्यादान गरेपछि आयौ
खाली सिउँदो पराईले भरेपछि आयौ...”
ढिलो आइएछ भनेर अतिथि घनश्याम शर्माले प्रमुख अतिथितिर आँखा फर्काए । “ठिक्क पर्यो, तिमीलाई कसले भद्रो हेरेर बस्न लगाएको थियो त यतिका वर्ष” भनेर लोपारी दिएँ । पाका प्राज्ञहरूले गीत बजारे त्यसपछि । ओहो! शम्भुप्रसाद बाँस्कोटाको स्वर कति राम्रो । लय नझारी गाए-
एउटा फुल देखेँ मैले बोटमा हाँसी झुलेको
टिप्न जाँदा सोधेँ मैले कसको लागि फुलेको ?
डा. गणेशकुमार पौडेल अनुहारको चमक हेरीहेरी जनमत पत्रिका बाँड्दै थिए- उद्घोषकले प्याट्टै नाम बोलाई दिए । डाक्टरले टेथिस्कोपको झोला कुर्सीमा बिसाएर माईक्रोफोन समाए-
“नजाऊ छोरी जर्मनी लाउडामा अव उडेर
बनीदेउन अव सुस्री बुबाको त्यो मुहान हँसाउन”
रउसे रहेछन् डाक्टर। मान्छेको स्वास्थ्य मात्र हैन राजनीतिको स्वास्थ्य पनि जाँच्दा रहेछन् । झम् झम् नाच्नेगरी गीत गाए । अझै पाका प्राज्ञ तुलसी घिमिरे भन्दै थिए-
“जाग जाग अव जागन जाग
भाग भाग वैरी हो भाग न भाग”
झण्डै दुईघण्टा कविताको वर्षा भइरह्यो । छवि अनित्य, वीरेन्द्र पौडेल, अभिषेक पौडेल, दिपक गौतम, सुभाष खनाल, रामकुमार एलन, खेम बोलखे, माधव भण्डारी, चिरञ्जीवी चकोर, अरूण खतिवडा, मोदनाथ पोख्रेल, देवराज खरेल, नरेन्द्र परासर, नवराज शर्मा, घनश्याम शर्मा, आर.सी रिजाल, आनन्दराम पौडेल आदि स्रष्टाहरूले सिङ्गो हललाई जुरूक्क उचाले । प्रताप विष्ट र भानुभक्त आचार्य पत्रकार रहेछन् । उनीहरू त घुटुक् घुटुक् थुक निलेर बसीरहे ।
कार्यक्रम सकिएपछि प्रमुख अतिथिले संस्कृति मन्त्रीलाई ईमेल पठाए-
मन्त्रीज्यू! त्यता नेवा:राज्यको प्रज्ञा प्रतिष्ठान के गर्दैछ? यता ताम्सालिङ राज्यको प्रज्ञा प्रतिष्ठान त क्रियाशील छ है ।
प्रस्तुति: अनिल पौडेल
कार्यक्रमसँग सम्बन्धित केहि तस्विरहरू:-