Friday, January 08, 2010

अलविदा विष्णुलाल.....

कहिले कहिले त नाकवाट अक्सिजन पनि भित्र छिर्न नपाएर अलमलिदो हो है? आजकाल यस्तो लाग्छ साँझ परेपछि । पुसको जाडो अनि विध्दुत प्राधिकरणको उपहार - लोडसेडिङ....। अँध्यारै अँध्यारो जतैपनि । आँखाले देखेजति अंधकारै भएपनि वरू यो मन चैँ उज्यालै छ है भनेर चित्त बुझाउने ठाउँ सम्म छैन । भित्रै अँध्यारो वाहिरै अँध्यारो । Critical Thinking and Decision Making भन्ने विषय पोहोर साल पढिएको थियो क्याम्पसमा । त्यहाँ लेखिएको एउटा कुरो अझै पनि घरी घरी दिमागमा रूमल्लिरहन्छ । "लेख्नको लागि सोच्ने हैन...सोचेको कुरा लेख्ने हो " । अंग्रेजीमा लेखिएको यो भनाईको मुलभाव मात्र याद छ, ठ्याक्कै शव्द आएन । अनि नेपालीमा उल्था गरेर कनीकुथी लेख्न खोज्दा फेद न टुप्पाको भयो कुरो । म लेख्नुभन्दा अगाडि प्राय सोच्ने गर्छु; के म साँच्चै सोच्छु अनि सोचेको कुरा लेख्छु अथवा लेख्नैपर्छ भनेर जवरजस्ती सोच्नखोज्छु ? यो स्वयं आफैलाई थाहा नभएको तर नितान्त व्यक्तिगत कुरो परेछ !!! आज चैँ अस्तिदेखि सोचेकै कुरो लेख्दैछु है ।

जनआन्दोलन-२ का योद्दा विष्णुलाल महर्जनले अस्ति १८ गते शनिवार शाहदत प्राप्त गरे । त्यो दिन रेडियो-टि.भीमा राष्ट्र भक्तीले ओत्प्रोत भएका धेरै गीतहरू बजाईए । सवैले श्रद्धाञ्जली दिए अनि राष्ट्र बनाउने जिम्मा पाएका हाम्रा महान् हिमायतिहरूले त झन् शोक पुस्तिकामा हस्ताक्षर सहित ठूला ठूला वाणीहरू नै लेख्न भ्याए । माधवजी, झलनाथजी, पुष्पकमलजी, युवा नेता गगनजी अनि अरू धेरै देश वनाउने जिम्मेवारी पाएका महा-मानवहरूको हस्ताक्षरले शोक-पुस्तिका पुरै भरिएको थियो । यि सव चर्तिकालाको रमिते म पनि भएको थिएँ टेलिभिजन सेट अगाडि । झलक्क विष्णुलालको आँखावाट झरेको आँशुको पुरानो दृष्य टि.भीले देखाएको थियो एकपटक । त्यो आँशु मनमा यसरी बिझ्यो....म वर्णन गर्नसक्ने स्थितिमा छुईन ।
आफ्नो शारिरिक अवस्थाका कारणले रोएका थिए होलान् उनी तर उनको आँशुले समग्र देशलाईनै रूजाएको भान हुन्थ्यो । उनले देखेको सपना, हामीले देखेको सपना धेरै मिल्छ एकआपसमा । तर कति सजिलै तुहिदै छन् ति सपनाहरू । यसको हेक्का कसैलाई नभएको त पक्कै हैन तर कोहि विवस छन् भने कोहि थाहा नपाएको अभिनय गरिरहेका छन् । अनि ति देश वनाउने ठेक्का लिएकाहरूको त झन् के कुरा गरी साध्ये र । सहिदका सपनाले पिरोलुन् तिनलाई । भनेको पुग्ने भए म यहि कामना गर्ने थिएँ ।

देश अराजक भएको छ । दण्डहिनता व्याप्त छ । मनमानीको हैकम छ । जसले जे गरे नि हुँने । सडकवाटै गणराज्य घोषणा गर्न नि हुने , कोपनहेगनको किस्सा सेलाउन नपाउँदै, आफ्नै नाताका मान्छेलाई विना रोकटोक उच्चस्तरीय निरिक्षण समितिको सदस्य वनाएर अर्को चर्तिकाला देखाईदिन नि हुने...यस्तो नि हुने त्यस्तो नि हुने....यस्तै कुरा गर्ने हो भने त लामै सुची वन्ला भन्ने डर । जेहोस् राष्ट्र र जनतालाई जोताएर आफ्नै स्वार्थको वाली रोप्ने काम कसरी हुँदैछ यि जनप्रतिनिधिहरूवाट, सवैसामु उधाङ्ग छ । हामी राजनितिको अराजक र नाङ्गो नाच हेर्न विवश छौँ । विष्णुलालको आँशु मलाई बिझ्ला तपाईँलाई विझ्ला तर यिनलाई विझ्दैन ।

संविधानसभाको म्याद सकिने दिन झन् झन् नजिकिदै छ । समयमा संविधान जारी हुन नसके देशमा राजनीतिक गतिरोध आउने प्राय निस्चितै छ । हामी सोचेभन्दा धेरै ठुलो राजनीतिक संकटमा पर्नेर्छौँ । तर सरकार वनाउने र गिराउने झिँगे खेलवाट राजनिति माथि उठ्न सकेको छैन । मुल मुद्दाहरू ओझेलमा परेका छन् । आफ्नै पहिचान खोज्न हम्मे हम्मे परेको छ जनतालाई । वर्षौँदेखि हाडछाला जोतेको आफ्नै ठाउँमा आफैँ विरानो भईएको छ । देशै विरानो लाग्ने यो कस्तो परिवर्तन ल्यायौँ हामीले ? म सोच्ने गर्छु बेलावेला । के दलिय स्वार्थ नै सवैथोक हो ? म माओवादी समर्थक भन्दैमा उसले गरेका सवै कामको आँखा चिम्लेर समर्थन गर्नै पर्ने केही छ ? एमाले समर्थक भन्दैमा माधव नेपालले गरेका झिँगे निर्णय र नियुक्तिहरूमा ताली वजाएर खुसी हुनैपर्छ भन्ने केही छ ? अथवा कांग्रेस हुँ भनेर गिरिजा र उनकी छोरीको हरहालतमा जयजयकार गर्नुपर्ने केही छ ? म तपाईँ पाठकको जवाफको पर्खाईमा छु । आफ्नै विचार भन्ने हो भने त मलाई आफु कुनै दल विशेषको मान्छे हुँ भनेर भित्रैबाट भन्नै मन लाग्दैन । दलिय स्वार्थ भन्दा धेरै माथि के राष्ट्रिय स्वार्थ छैन र? अनि यो स्वार्थ पुर्तीका लागि कुनै दलविशेषकै हनुमान हुनैपर्छ भन्ने केहि छ ? आफ्नो पार्टीको सरकार आए जागिरमा नियुक्ति हुने, पधोन्नति हुने तर स्वतन्त्र विचार राख्ने र कुनै दल विशेषलाई समर्थन नगर्ने चाहिँ सधैँ जहाँको त्यहिँ । यै परिपाटीले गाँजेको छ राष्ट्रलाई । अनि हामी वाध्य छौँ आफुलाई कुनै फलानोको हनुमान वनाउन र आँखा चिम्लिएर ताली वजाउन । बिडम्वनाका साथ भन्नुपर्छ, म पनि बाध्य छु । म एमालेलाई समर्थन गरूँला तर साँच्चै गगन थापा मेरो क्षेत्रबाट उठेभने म कांग्रेसलाई भोट हाल्नेछु, भाषणमा ठुला ठुला कुरा गर्ने माओवादीले साँच्चै राष्ट्रलाई अग्रगामी दिशा दिन सके गोलाकार भित्रको हँसिया हतौडालाई भोट हाल्नेछु अथवा केहि मन नपरे त्यतिकै तटस्थ बस्नेछु । यो आत्म निर्णयको अधिकार कहिले व्यवहारका उतार्ने होला हामीले? कहिले दलिय स्वार्थसँग आफ्नो स्वार्थ पनि मिसाउने होला हामीले ? म त्यो दिनको व्यग्र प्रतिक्षामा छु ।

आज जुन राजनितिक अन्यौलको परिस्थितिमा हामी उभिएका छौँ त्यसले मुलुक र जनतालाई प्रतिगमनको बाटोतर्फ धकेल्ने सिवाय अरू केहि गर्न सक्दैन । हामी देशमा शान्ति, स्थायित्व, राजनितिक गतिरोधको अन्त्य र गणतन्त्रलाई पुर्ण संस्थागन गरिएको हेर्न चाहन्छौँ । ति सहिदका आँशुको मुल्यलाई सस्तो नठानौ । विष्णुलालहरू आफु घाईते बनेर सरकारले तला थपिदिने र मासिक १० हजार भत्ता दिने आस्वासनमा ६२-६३ को जनसागरमा मिसिएका थिएनन् । मिसिएका थिए त केवल एउटा सपना वुनेर.....नयाँ नेपालको सपना वुनेर । म लाचार छु । मात्र धम्की दिन सक्छु सहिदको आँशुले पिरोल्छ भनेर । तर सके त्यो आँशुले मलाई पिरोल्ला तर ति ६०१ का अगुवाहरूलाई पिरोल्दैन । अलविदा शहिद विष्णुलाललाई । म हिम्मत हार्दिन । तिमीले देखेको सपना हामीले देखेको सपना एकदिन अवस्य पुरा हुनेछ ।

8 Comments:

  1. "कविता भनेको ह्रदयको अनुभुती हो" स्वामी चन्द्रेशले भनेको यो वाक्यले मनलाई झक्झकाईरहन्छ कविता लेख्न खोज्दा । हो नि ,मनले लेख्ने हो कविता ....त्यसैले त कवितामा मन छताछुल्ल भएर पोखीएको हुन्छ ।

    माथिको लाइन कवितासँग उपयुक्त भए झै "लेख्नको लागि सोच्ने हैन...सोचेको कुरा लेख्ने हो " ले कुनै लेख लेख्न खोज्दा साथ दिने भयो ।
    ReplyDelete
  2. ashesh,
    sabda dherai majhiachan..tillikka talkina dherai din kurnu naparla aaba aru lekhma...timro bicharlai ma salute nagari basna sakdina..timro soch ajha analytical bandaijane kurama biswasta chhu....
    ReplyDelete
  3. देशलाई आफ्नो पारिवारिक र दलीय स्वार्थभन्दा माथि राख्न सक्ने नेताहरु धेरै नहुञ्जेल धेरै विष्णुलालहरुको शहादत ब्यर्थ जस्तो देखिईरहनेछ। अब पनि देशको लागि गम्भिर भएनन् भने शहीदको आत्मा र तिनका परिवारको आँसुले यी पातकी नेताहरुलाई नराम्रोगरी पोल्नेछ।
    श्रद्धाञ्जली शहीद विष्णुलालमा!
    ReplyDelete
  4. दलिय स्वार्थले गर्दा केही गर्न नसकिएको भन्ने कुरामा मेरो पनि पूर्ण समर्थन छ । यहाँ दलिय मात्र होइन नेताका व्यक्तिगत स्वार्थ पनि मिसिएको छ । केवल आफ्नो स्वार्थ पूरा भए पुग्ने भएको छ यिनलाइ त ।
    अशेष जी, दलगत रूपमा विभाजित जनलाइ पनि त्यसभन्दा माथि उठाउन ब्लगिङ र यस्तै स्वतन्त्र मिडियाको खाँचो छ यहाँ ।
    ReplyDelete
  5. हो, हाम्रो देशमा 'मपाईँ नेता' जन्मे, 'तपाईँ नेता' जन्मेनन् ; त्यसैले मुलुकको यो दुर्गति भएको हो, अझ कति हुने हो !
    ReplyDelete
  6. अशेषजी, कस्तो चित्तबुझ्दो कुरा गर्नुभयो। जबसम्म हामी नागरिकहरु नै संकीर्ण स्वार्थको घेराबाट माथि उठेर विवेकशील र इमान्दार भई सोँच्दैनौँ, तबसम्म यो विडम्बनापूर्ण स्थिति सुध्रिने छाँट देख्दिन म पनि। दिनभरि नेताहरुलाई सराप्ने अनि साँझपख तीनै नेताको चाकडी बजाएर आफ्नो दुनो सोझ्याउने हामीबीचको काइते प्रवृत्तिप्रति बढी घृणा लाग्छ मलाई त यी नेताहरुप्रतिभन्दा पनि।

    शहीद विष्णुलालमा मेरो पनि हार्दिक श्रद्धाञ्जली।
    ReplyDelete
  7. एकदमै चित्त बुझ्ने गरी लेख्‍नु भएछ ।

    हुन त तपाईले लेखि सक्नु भएको छ (र मलाई पनि त्यस्तै लाग्छ) :

    ...तर सके त्यो आँशुले मलाई पिरोल्ला तर ति ६०१ का अगुवाहरूलाई पिरोल्दैन ।

    तैपनि आशावादी हुनु बाहेकको अर्को विकल्प छैन ।
    ReplyDelete
  8. कतै हामि नेताहरुलाई मात्र गालि गरेर आफ्नो जिम्मेवारी /कमजोरी ढाकछोप त गरिरहेका छैनौ ? नेताहरुलाई देशको लागि नीतिगत काम गर्न दबाब दिनु भन्दा पनि कुनै जागिर, स्कोलार्शिप, सरुवा, बढुवा, भिसा, बैंक लोन, भन् सुन आदि गर्न लाएर नेताहरुको मति बिगार्ने के हामि पढेलेखेका भनिने मान्छेहरु नै होइनौ ?

    के हुन्छ एउटा बिस्नुलाल मरेको मा श्रद्धान्जली को पाखण्ड गरेर ? कि आफ्नो पनि तेस्तै हालत होला भनेर हामि डराएका पो हौ कि ?
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम