Tuesday, February 02, 2010

'पाँच रूपैयाँ दिन्छ ?'


‘मालिक ! नमस्कार !’
मलाई अथवा मजस्ता जोहोकिलाई पनि देख्नेबित्तिकै यसो भन्छ उसले। एकछिन आँखा ठूला पारेर अनुहार हेर्छ अनि सरासर आफ्नै बाटो लाग्छ ।
‘म बजिया हो । म साले हो । म कुकुर हो ।‘
डुङ्ङ रक्सी गन्हाउँदै हाम्रो घरमा आइपुगेछ । ‘कसरी तिमी बजियो हो र?’ मेलै सोधेँ ।
‘मेरो बुढि मलाई त्यसै भन्छ ।‘ अनि हाँसेजस्तो गर्छ । फ्वाँ फ्वाँ श्वास फेर्छ । तर रिसाएको होइन । यसै गर्छ सधैँ ।

मैले आजसम्म यो मान्छेलाई सामान्य रूपमा देखेको छैन । यति धेरै रक्सी खान्छ कि रक्सी नखाएको बेलामा समेत झ्याप हुनेगर्छ । रक्सी खाएको हो कि होइन कहिल्यै पनि थाहा हुँदैन । खाएपनि, नखाएपनि सधैँ मातिरहन्छ, सधैँ गन्हाइरहन्छ । अचम्मको मान्छे !
‘अस्ति छोरीको बिहे हुँदा ३ दिन चैँ मातेन ।‘ मेरी हजुरआमाले भन्नुभयो ।
‘तपाईँ थाहा पाउनुहुन्छ त्यसले खा’को र नखा’को ?’
‘होइन, त्यसकि बुढीले भनेकी ।‘
अचम्म लागेन । कसैलाई पनि थाहा हुँदैन । उसकि बुढिलाई मात्रै थाहा हुन्छ त्यो पनि पसलेले भनेर । सुँघेर र व्यवहार हेरेर त उसले पनि थाहा पाउँदिन ।

पहिला रिक्सा कुदाउँथ्यो । इटहरी चोकभन्दा २ किलोमिटर पूर्व रहेको बाँसबारीबाट इटहरी चोकसम्म । गाउँलेले भन्दा, माथि चारकोसे झाडिसम्म पुगेर रिक्सामा दाउरा बोकिदिन्थ्यो । त्यतिबेला पनि खान्थ्यो । तर कहिल्यै पनि दुर्घटना गराएन । दसकसम्म महेन्द्र राजमार्गमा ‘झ्याप’ भएर रिक्सा कुदायो तर ऊसँगजस्तो सुरक्षित अरू कसैसँग पनि अनुभव गरेनन् बाँसबारीवासीले । पाँच रूपैयाँ उसको रेट हो जे गरेपनि । पाँच रूपैयाँमा एक ग्लास आउँछ ।

मान्छे बोक्दाबोक्दै उसको रिक्सा 'मालगाडि' भयो । जोकोहिले पनि जङ्गल पुर्या।उन थाले दाउरा बोकाउन । गाउँका भुस ओसार्न थाल्यो मान्छेलाई छोडेर । ऊ जसरी उभिन्थ्यो उसको रिक्सा पनि त्यसरी नै उभिन थाल्यो । कतिबेला पछाडि जान्छ र कतिबेला अगाडि आउँछ थाहै नहुनेगरि । मालिकले रिक्सा लग्यो र उसको दसकौँ लामो ड्राइभिङ् पेशा सङ्कटमा पर्यो ।
दिवा गाडिमा काठमाण्डौ जाँदा बिहान पाँचै बजे इटहरी पुग्नुपर्थ्यो झोलीतुम्बा बोकेर । इटहरीसम्म पुग्नलाई समस्या ।
‘बिहान ४ बजे आऊ है कोलिया ।‘ गाउँलेको आग्रहलाई कहिल्यै नाइँ भन्दैनथ्यो ।
हजुर उसको नाम 'कोलिया' नै हो । त्यसको अर्थ के हो मैले बुझेको छैन । थारू समुदायको मान्छे, उसैको भाषामा राखेको होला नाम । कोलियाको ड्राइभिङ् पेशा सङ्कटमा परेपछि दिवासेवाबाट काठमाण्डौ जाने बाँसवारीवासीलाई निकै अप्ठ्यारो पर्ने गरेको छ बिहान ईटहरीसम्म पुग्नलाई ।

“मरगेले हम् । मरगेले हम् । कथि करिछे रे !!! ओँकरा छोड्दे !!”
घरअगाडिको सानो खोलाबाट त्यहि कोलिया कराउँदै थियो । दारू खाएर झरेछ कि क्या हो भनेर हेर्न गाको त उसकी बुढिले पानीमा चोब्दै चप्पलै चप्पलले बजाउँदै रै’छे । बरा ! साह्रै भयो होला उसलाई पनि । सहनेसम्म त सहेकै थिई । आज सहनशीलताको बाँध फुटेछ क्यारे, मैले सोचेँ । लगभग आधा घण्टा लछारपछार पारि । अलि माथि उनीहरूकै घरको ट्वाइलटे जोडेका छन् त्यो खोलामा । तलपट्टी त्यहि खोलामा बुढाबुढि लडिबुडि गर्दैछन् । जय यिनीहरूको जुनी !! सोच्दै सोच्दै घर फर्किएँ । पानी फोहोर हुन्छ, ट्वाइलेट जोड्नु हुँदैन खोलामा भन्दा टेर्दैनन् । त्यहि पानीले मुख धुन्छन्, कुल्ला गर्छन्, भाँडा माझ्छन्, लुगा धुन्छन्, जुँगा धुन्छन्, पकाएर खान्छन् र खाएपछि पनि त्यसैमा आउने गरि व्यवस्था गरेका छन् । भनेको लाग्दैन ।

कोहिकोहि थारू समुदायका मान्छे त बुझ्झकि, राम्रा पनि छन् । हाम्रो वडाको पहिलाको वडाध्यक्ष पनि थारू समुदायकै मान्छे हो । बाहुन, क्षेत्री नभएका होइनन् । तर ऊ नै एकदम ठिक मान्छे थियो । वडाध्यक्ष हुँदा उसले पनि धेरै सम्झायो आफ्नो समुदायको मान्छेहरूलाई । अलिअलि पढेका, बुद्धि भएकाले टेरे । अरू जहाँको त्यहिँ ।

‘एक बोरा घाँस काटिदेऊ न कोलिया ।‘
घरअगाडि लर्बरिँदै गर्दा मम्मीले भन्नुभयो । रिक्सा साहुले लगेपछि बेरोजगार छ कोलिया । कहिले कसको हलो जोत्छ, कहिले कसको धान दाउनी गर्दै हुन्छ ।
‘पाँच रूपैयाँ दिन्छ ?’ यता फर्केर प्रश्न गर्छ ऊ ।
सहमति जनाएपछि प्लाष्टिकको बोरा र हँसिया लिएर खेततिर लड्खडाउँदै लाग्छ । जति दारू खाएपनि पाँच रूपैयाँ र पाँच रूपैयाँका लागि गरेको कामलाई कहिल्यै पनि हल्का रूपमा लिँदैन । पैसा दिनेलाई खुसी नै पार्छ कामले । यो उसको अनौठो विशेषता हो । तर योबाहेक घरपरिवार, अन्य कुरा उसलाई केहि पनि मतलब हुँदैन कहिल्यै । झ्याप भन्ने कि नभन्ने, दोधारमै परिन्छ कहिलेकाहिँ त ।

हिजो के भयो, कहाँ थिएँ, के गर्थेँ केहि थाहा हुँदैन कोलियालाई । रिक्सा कुदाउँथेँ भनेर पनि बिर्सिसक्यो । तर चढ्नेले बिर्सेका छैनन् । बुढिले कुटेको पनि बिर्सिसक्यो । हिजोका कुरा सबै बिर्सिन्छ ऊ । भोलि के हुन्छ पनि थाहा हुँदैन उसलाई । आज पैसा बचाएर भोलि सुखद् हुन्छ भन्ने कुरा कहिल्यै सोच्छ जस्तो लाग्दैन । छोराछोरीले के खालान् भोलिपल्ट, श्रीमतिको पेट के गरि पाल्नु हो, यी सबै कुरा उसको दैनिकिभन्दा टाढा पर्छन् । कोलियालाई मतलब छ त सिर्फ आजको । अहिलेको । अहिले दारू खाने पाँच रूपैयाँ कसरी जुटाउने ! सधैँ यसरी नै वर्तमानमा बाँच्छ ऊ ।

हरबखत टोलाइरहने केदारजीको बारेमा पढ्दा हामी सबैले वर्तमानमा बाँच्न नसकेको पीडा व्यक्त गर्यौँ अघिल्लो पोष्टमा । वर्तमानमा बाँच्ने सोख हुँदाहुँदै भुत र भविष्यमा अल्झेको आफ्नो वास्तविकतालाई केलायौँ । कोलियाले पाँच रूपैयाँको रक्सीको लागि सोच्ला, त्यसको सट्टा हामीले राम्रै खानाको बारेमा सोच्लाउँ, दालभातको बारेमा सोच्लाउँ, पिज्जाबर्गरको बारेमा सोच्लाउँ, यत्ति होइन त ? वर्तमानमा हामी बाँच्न खोज्दा कोलिया र हामीमा के फरक भयो खानेकुराको प्रकारबाहेक ? वर्तमानमा बाँच्दा मनोरञ्जन गर्ने एउटा स्रोतमा हराइरहन्छौँ । कोलियालाई दारू खानु नै मनोरञ्जनको साधन लाग्यो र खायो । हामीलेई पनि त्यस्तै एउटा साधन चाहिने त हो ।

मलाई लागेको कुरा चैँ हामीलाई वर्तमानमा बाँच्न नसकेकोमा पीडाबोध त छ तर वर्तमानमा बाँच्ने निहुँमा मानवजीवननै सार्थक नहुने हो कि भन्ने भयले पनि सँगसँगै सताउनेगर्छ । अनि सबै कुराको अनुभव गर्न र सबै प्रश्नका जवाफ पाउन त यो मानवजुनीनै पो निकै छोटो भएको हो कि !! एउटा हिन्दी गीतले ‘कन्फ्युजन हि कन्फ्युजन हे सोलुसनका पता नहिँ’ भन्थ्यो, साँच्चै यहि गीत गाउँदै पो जिन्दगीको अन्त्य हुन्छ कि क्या हो ? पीर लाग्न थाल्यो मलाई त !! यो जिन्दगी बाँच्ने कसरी हो ? जिन्दगीलाई उपलब्धिमुलक बनाउने कसरी हो ? आफूलाई मन लागेको कुरा गरेर हो कि समाजलाई चाहिएको कुरा गरेर ? भुत र भविष्यमा रूमल्लिएर हो कि वर्तमानमा ज्युनै निहुँमा क्षणिक स्वार्थ र मनोरञ्जनमा डुबेर ? प्रश्नैप्रश्नका ठेली उब्जिएका छन् । उत्तरको अपेक्षामा.....

14 Comments:

  1. यो पोष्ट पढ्न शुरू गर्दा मलाई त्यो कोलिया त कस्तो आनन्दी, रहेछ भन्ने लागेको थियो । बिन्दास पियो मस्त रह्यो भन्ने लागेको थियो तर अन्तिम दुई अनुच्छेदले चैँ आफ्नै अनुहार ऐनामा देखिएको जस्तो लाग्यो । हामीले आगत र विगतको बारेमा नसोचेर खाली वर्तमानमा नै सवैथोक ठान्ने गरेका छौँ यसले पक्कै पनि हामी ,हाम्रो समाज र राष्ट्रलाई नै राम्रो गर्दैन । उत्तम विचार प्रवेशजी ..........
    ReplyDelete
  2. पात्र र परिवेश दुबैसँग निकट भएझैं महसुस भयो । जिन्दगी कसरी बाँच्ने भन्ने चैं आफ्नो आफ्नो काईदा हुन्छ मान्छेको । यौटाको उत्तरले अर्कोको चित्त बुझ्ला र ?
    ReplyDelete
  3. वास्तबमा कोलियालाई नराम्रो भन्न मिल्दैननि किनकि सबैको आफ्नो तरिका हुन्छ बाच्नकोलागी होइन र ?
    ReplyDelete
  4. Lets not forget "I am what I am because of who we all are"
    ReplyDelete
  5. "कोलिया" जस्ता धेरै छन यो समाजमा, जसलाइ भविश्यको त के कुरा एक छीन पछाडि हुने कुराको ख्याल हुदैन, जे भए पनि

    कामलाई कहिल्यै पनि हल्का रूपमा लिँदैन । पैसा दिनेलाई खुसी नै पार्छ कामले । यो उसको अनौठो विशेषता हो । यस्तो बिसेस्ता भएको ब्यक्ति भेट्न गार्हो पर्छ,
    ReplyDelete
  6. साच्ची प्रवेश जी हाम्रो समाज मा 'कोलिया' जस्ता व्यक्ति नभएका होइन - जसलाई हाम्रो समाज ले अर्धपागल , बेकम्मा सम्झन्छन - तर तिनी हरुको निस्छल मन लाइ बुझ्न सक्दैनन ! यथार्थ चित्रण गर्नु भएको छ !

    अनि हिजो आज यो ब्लग मा ३इडीओटको प्रभाव निकै बढेको पाएको छु नि !
    ReplyDelete
  7. कोलियाको चित्रण साह्रै रमाइलोसंग गर्नुभएको छ | कोलिया पनि समाधान होइन ,जीवनका प्रश्नको | यो अर्कोखालको अति भयो बर्तमानको नाममा | जीबनलाई अलि बढ्ता सन्तुलनमा चलाउन सक्नुपर्छ जस्तो लाग्छ | सन्तुलन एउटा कला हो र त्यसैमा सन्तुष्टि निहित हुन्छ भन्ने मेरो सोचाइ हो आजसम्मको | (पौडेल बन्धुहरु दुबैजनाको लेखाइ जोडका तोड लाग्यो | )
    ReplyDelete
  8. कोलिया र हरबखत टोलाउने केदारजी दुवै चरित्र पढेपछि एक छिन टक्क अडिएँ ।

    प्रवेश जी,वर्तमानमा हामी एउटा न एउटा मनोरञ्जनकै पछि लागिरहेका हुन्छौँ भन्ने कुराप्रती मेरो असहमती छ । मनोरञ्जनकै पछि कुदेको भए तपाइँले सायदै यति गम्भिर भएर चरित चर्चा गर्नुहुन्थ्योहोला ।

    अन्तिममा उठाउनुभएको प्रश्नको जवाफ यहाँ भित्रै देखिरहेको छु । प्रत्येक पुस्तान्तर पछि जीवन अझ सरल बन्दै जान्छ जस्तो लाग्छ मलाइ त । हामी भन्दा अघिकाले गरेको मेहनतको फल हामीले पाइरहेकाछौँ । अनि यो पुस्ताले गर्ने गाम्भिर्यता अनि मेहनतको फल अर्को पुस्ताले पाउनेछ । वर्तमानमा नै आफ्नो जीवनको सार्थकता खोज्नु हतारो पो हुन्छ की ?
    ReplyDelete
  9. जिन्दगी कसरी बाँच्ने भन्ने त हजार जनाको हजारै सोच वा जबाफ होलान तर यो 'कोलिया'पात्र भने अनौठो नै लाग्यो । मेरो आफ्नै बिचारको कुरा गर्ने हो भने, कुनै दोस्रो व्यक्तिलाई नकारात्मक असर नगर्ने हदसम्मको सबै जिउने तरिका सहि लाग्छ मलाई ।
    ReplyDelete
  10. म पनि यस्तै जटिल प्रश्नहरुका ठेली लिएर विगत देखि वर्तमान सम्म उत्तरको अपेक्षामा भौतारि रहेको छु । मलाई जीन्दगी लामो लाग्छ, उपलब्धी केही छैन् । सधैँ त्यहि त हो नि खान र बाँच्नको लागि संघर्ष.....अरु केही छ नयाँ ????
    ReplyDelete
  11. बर्तमान को समय सबै नेपालीहरुको लागि अनिश्चयपूर्ण छ . तिब्र जीवन र असमान जीवनसैली ले सबैतिर प्रस्नहरु मात्र छन्... अब के हुन्छ ? एक किसिमले प्रस्नहरु उठ्नु राम्रो पनि हो . प्रस्नहरुले समाधान खोज्न घच्घच्याउछन्. हिजो कोलियाहरुको बारेमा कसैले समाधान नखोजेकोले आज धेरै प्रस्न उठेका छन्.

    तर सायद कहिँ कतै ग्रान्ड डिजाइन मै गडबड छ . सबैलाई ठुलो, धेरै, राम्रो, अव्वल हुनुपर्ने भन्ने मापदण्ड छ. तर यो कसरि हुन् सक्छ ? सरि.. अर्को प्रस्न जन्मेछ :)
    ReplyDelete
  12. निरपेक्ष रुपमा वर्तमानमा बाँच्नुपर्छ भन्नेहरुलाई मिठो जवाफ हो 'कोलिया'। माथि चैतन्य सरको कुरामा सही थाप्दै 'अति' हरुबीचको सन्तुलन नै जीवन बाँच्ने कला हो भन्छु म पनि। सार्थक जीवनको खोजीमा प्रश्नैप्रश्न उठ्न भने छाड्दैनन् फेरि पनि। जीवनको यो यात्रा त्यही उत्तरको खोजी पो हो कि (प्रश्न हुनेहरुका लागि, त्यसो त प्रश्नै नहुनेहरु पनि भेटिन्छन् थुप्रै !)?
    ReplyDelete
  13. ओ... हो... मलाइ पनि धेरैपल्ट कोलियाले इटहरी पुरयाएको छ नि । लौ घरबाट इटहरी हिडेजस्तै भयो अहिले यो कथा पढदा।
    विगतबाट केही सिक्नुपर्छ तर विगतले नै वर्तमानलाइ रुवाइरहनु हुदैन । सपनाहरु कहिल्यै पनि मर्दैनन । आशाहरु झनझन जल्दाबल्दा हुन्छन । आजको काम आजै सक्न कोशिश गर्नुपर्छ भविष्य नराम्रो हुदैन । वर्तमान लाइ जतिसक्लो राम्रो बनाउन खोज्नुपर्छ तर कोलियाले जस्तो सबै सिध्याएर होइन कि कसो....?
    ReplyDelete
  14. जति पठे पनि सकिने पो होकी भन्ने पीरले छोडेन। पठी रहु जस्तो। निकै चलचित्र हेरेजस्तो गरी लेख्नु भयो। जीवन दर्शन र यथार्थपरक लेखहरु तपाईको बिशेषतानै हो। निकै रोचक कथा (कथै भनु यस्लाई)। तर कलिया वा कलियाहरुले सोच्नै पर्छ, देशी वा बिदेशी कलियाहरुले आफु बाच्नुलाई बाचेको मान्ने क्रम छोडिनु पर्छ। आफू सगै आफ्नाहरु सगँ बाच्नु मात्र बाच्नु हो। कोही नभए छुट्टै कुरा तर यहाँ सबैका कोही न कोही छन्। सुन्दर लेख लेख्नु भयो। साह्रै चित्त बुझ्यो।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम