
बिहान साढे साततिर ‘गणेश भक्ति’को भजन गाउँदै धरानबाट बोलाइनुभएका लुईँटेल गुरूले साताव्यापी श्रीमद् भागवत् महापुराणको शुरूवात गर्दा सबैजना ताली बजाउँदै धुनमा स्वर थप्न मस्त थिए । भजन सकियो । अब बुहारीहरू र छोरीमान्छे ठूलाठूला भाँडामा सुख्खा रोटी बनाउनलाई पीठो मुछ्न थाले भने फुर्सदमा हुनेहरू, गुरागाईँका छोरापार्टी र छोरीपार्टी श्रीमद् भागवत् महापुराण श्रवणका लागि बसे ।
“भगवान श्री कृष्ण कन्हैया कि !!!”
“जय !”
मञ्चबाट गुरूले नारा लाउँदा भक्तजन सबै ‘जय’ भन्थे । आन्दोलनमा जिन्दाबाद र मुर्दाबाद भनेजस्तो ।
संस्कृतमा लेखिएका अध्यायहरू भटाभटी पढ्न थाल्नुभयो लुईँटेल गुरू । २-३ वटा अध्यायपश्चात् त्यसको नेपाली रूपान्तरण भन्दा चैँ रमाईलो हुन्थ्यो सुन्नलाई । ‘तारे जमिन पर’ फिल्ममा ‘letters are dancing’ भन्थ्यो, त्यस्तै लाग्ने संस्कृत श्लोक चैँ ।
“हल्ला नगर न !” छेऊमा बसेकी आस्थालाई मैले भनेँ ।
“तपाईँले संस्कृत पढ्नुभा’को छ र ? के बुझिन्छ र सुनेर बस्नु त ? लु भन्नु ! आयुश्मानेपिण्डे भनेको के हो ?” स्वादले जवाफ फर्काई मलाई । त्यो आयुश्मानेपिण्डे भन्ने शब्द छ कि छैन पनि थाहा छैन मलाई । उसले भनेको कुरा पनि ठिकै हो....तर हल्ला पनि त गर्नुभएन नि । भन्ने मान्छेले श्रोतामा रूचि जगाउन नसक्दा खासै मजा पनि हुँदो रहेनछ यो पुराण सुन्नलाई । पण्डित दीनबन्धु पोखरेल भनेपछि चैँ मरिहेर्छन् मान्छेहरू, जुरूक् जुरूक् उचाल्छन् रे भक्तजनहरूलाई नाच्न, गाउन, दान दिनलाई । यो पुराण सुनेपछि उनको चैँ एकपटक सुनौँजस्तो लाग्यो ।
“अब राजालाई श्राप दिने रिषि राजदरबारमा आउँदा राजाले बडो सत्कार गरे उनलाई । उनलाई दरबारमै राखेर मिठो मिठो फलफूल जस्तै स्याऊ, मेवाहरू खान दिए राजाले । अब तिनै रिषिजस्तै हामी पनि मिठो मिठो भोजन गरौँ अनि फेरि बाँकि अध्यायहरू श्रवण गर्नतर्फ लागौँला ।“ लुईँटेल गुरूले मध्यान्ह भएको घोषणा गरे है अब । पुराण लगाउने गुरागाईँ खलकले चैँ सुख्खा रोटी खानुपर्छ रे त्यो पनि चोखो तरकारीसँग । रोटी बेल्दै र पकाउँदै गरेका करिब एक दर्जन छोरीबुहारीले दुई दर्जनभन्दा धेरै गुरागाईँ परिवार र अन्य उपस्थितलाई रोटी बाँड्न थाले । यो खानेबेला भने बडा मजा लाग्यो मलाई ।
घरका बुहारीहरू नआइकन त्यहाँ खुवाउन नपुग्ने । बुहारी आएपछि घरमा खाना पकाउने कोहीपनि नहुने । त्यहि भएर सबै वरिपरिका गाउँका मान्छेलाई पनि पुराण लगाउनेले नै खुवाउनुपर्ने भयो । घरकी महिला आएपछि उनको श्रीमानले पनि त्यहिँ खानुपर्योम । छोराछोरीले पनि त्यहिँ खानुपर्योु । यो चाहिँ बडा रमाईलो लाग्यो मलाई । बिहानदेखि भोकै बसेकाले छिटो खान पाऊन् भनेर अलि ढिलोढिलै गरि पसेको त रोटी सकिईहालेछ । चिउरामा फेला परेँ म चैँ । बिहान घरबाटै भात बजाएर गएकाले अलिअलि चिउरा खाएर उठेँ ।
एकघन्टाजति विश्रामपछि गुरूले फेरि नयाँ अध्यायबाट पुराण शुरू गर्नुभयो । म चैँ माथि चढेर एक निन्द्रा सुतेर उठ्ने भाको त खाना खाने बेला भइसकेछ । दिउँसोभरि पुराण भन्नेले भनिरहनुभयो, सुन्नेले सुनिरहे । भन्नेमान्छे फेरिएनन् सुन्ने मान्छे फेरिए होलान् त्यति हो । खाना खइसकेपछि भजन गाएर बस्ने रमाईलो प्रचलन रहेछ । भजन गाउनकै लागि भनेर सुन्दरपुर-८ को भजन टोली चारवटा मोटरसाइकलमा हुइँकिँदै पुग्यो बेलुका ७ बजेतिर । हार्मोनियम, तबला, मादल, छ्याङ् छ्याङ् गर्ने बाजा लिएर पुगेका टोलीमा बालकृष्ण सिग्देल, नारायण घिमिरे, नघु सिग्देल, यमनाथ सिग्देल, कृष्ण गुरागाईँ, भावना पौडेल आदि थिए ।

‘भगवान श्री रामचन्द्रकि !!!’
‘जय !’
यसरी नै शुरू गरे बालकृष्ण सिग्देलले भजन गाउन पनि ।
‘माटाको खेलौना माटैमा मिल्ने भो ! माटाको खेलौना माटामै मिल्ने भो !’
शुरूवाती यो भजनसँग उमेर छिप्पिएका आमा बुवा अलि चाख मानेर सुन्न थाल्नुभयो ।
‘हाम्रो घरमा आऊ है कन्हैया, हाम्रो घरमा आऊ है कन्हैया, हामी जानै दिँदैनौँ ‘
भावना पौडेल छमछम नाच्न थाल्नुभयो कन्हैयालाई बोलाउनलाई । साथमा योजना गुरागाईँ, अञ्जु गुरागाईँ पनि उठेर कम्मर मर्काउन थाले ।
यस्तै गर्दागर्दै भजन टोलीले जुरूक् जुरूक् उचाल्यो सबैलाई नाच्नलाई ।
‘वर्षौँदेखि थसुल्लिएको जीऊ अलि हलुका भयो । ओहो ! गलेर भुतुक्क भईयो ।‘ गीता खनाल भन्दैथिइन् ।
यसो गर्दागर्दै रातीको दस बजेछ । सप्ताह पुराण हो । फेरि भोलिदेखि सबैले बिहानै उठेर काम थाल्नुपर्छ आफ्नो आफ्नो । भन्ने काम, सुन्ने काम, पकाउने काम, खाने काम सबै । सुतौँ है अब भन्ने कुरा आयो । भोलिपल्ट पनि भजन टोलीलाई आउन निम्ता दिँदै पुराण लगाउने मुख्य व्यक्ति मेरा मामा पुरूषोत्तम गुरागाईँले उनीहरूलाई आजका लागि बिदाइ गर्नुभयो । यसरी नै श्रीमद् भागवत महापुराणको पहिलो दिनको समाप्ती भयो । अब यसैगरि बाँकि ६ दिन पनि बित्नेछन् ।
पितृलाई उद्धार गर्न भनेर लगाइने यस्ता पुराणहरूले साँच्चै उद्धार गर्लान् त पितृको ? हुन त मनको सन्तोष हो, साँच्चै हुन्छ कि हूँदैन त के जान्नु ! आफ्नो परेपछि थाहा पाईन्छ कि ? त्यहाँ उपस्थित सबैजना यसै भन्दै थिए । नेपाली समाजमा बडो अचम्मको प्रचलन छ । बाँचुञ्जेल कसैले राम्रो नभन्ने अनि मरेपछि मिष्ठभाषी, सहयोगी, मिलनसार भन्दै हिँड्ने । यस्तै धेरै घरहरूमा हामीले देखेका छौँ, घरका बुढाबुढिलाई हेलाको दृष्टिकोणले हेरेर अझ वृद्धाश्रममै लगेर राखीदिने पनि गर्छन् छोराबुहारीहरू । अनि उनीहरू नै पितृको उद्धार गर्न भनेर मरेपछि लाग्छन् । गुरागाईँ परिवारको यो पुराण पनि पितृकै उद्धारका लागि लगाइएको थियो । तर उहाँहरूले बाँचुञ्जेल पनि एकदमै राम्रो गरेर राख्नुभएको थियो हजुरबुवा धरणीधर गुरागाईँलाई । यसकारण मैले गरेको पितृउद्धारको कुरा गुरागाईँपरिवारजस्तै बाँचुञ्जेल पनि घरका बुढाबुढिको स्याहार गर्नेका लागि होइन । वृद्धाश्रममा लगेर थन्काइदिने घरका ज्योति मानिने हजुरबुवा हजुरआमाको परिवाका लागि हो ।
बाँचुञ्जेल हेलाको दृष्टिले हेरेर मरेपछि उद्धार गर्दा उद्धार होला त पितृको ? कि बाँचुञ्जेल बुढाबुढिको इच्छाअनुसार गरिदिने, मानसम्मान गर्ने, राम्रो खान-लाउन दिने, आफूसँगै राख्ने गर्दा उद्धार हुन्छ पितृको ? जसले बुढाबुढिलाई बाँचुञ्जेल हेला गरेर मरेपछि उद्धार गर्न लाग्छन् उनीहरूले पितृको उद्धार नभई आफ्नो पाप पखालिन्छ कि भनेर गरेको ढोङ्ग हो । तर बाँचुञ्जेल पनि सम्मान गर्ने अनि बितिसकेपछि पनि उद्धार गर्ने गुरागाईँ परिवारको यो महान् कार्यले उहाँहरूप्रति नतमस्कत छौँ हामी सुन्दरपुरवासी ।

6 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!