Saturday, March 06, 2010

रेडियो,टिभी.......


“बाबु ! बिहे गर्ने भन्नुहुन्थ्यो । एउटी राम्री कन्याको फोट ल्याएको थिएँ । हेर्ने कि एकपटक ?”
“पख्नुस् न पुजारी बा ! म **** एफ. एम. सुन्दैछु ।“
काभ्रेपलाञ्चोकको धुलिखेलमा बस्दा एउटा स्थानीय एफ.एमको विज्ञापन सुन्दै हाँस्दै गर्थेँ म एक्लै ।

सबैका कमजोरी औँल्याउँदै, सबैका भण्डाफोर गर्दै उनीहरूकै भाषामा समाजका रूपान्तरणका लागि सन्देश दिने नेपाली मिडियामा प्रशारित सामाग्रीलाई निगरानी गर्ने र आवश्यक ठाउँहरूमा सच्याउने जरूरत टड्कारो रूपमा प्रस्तुत भएको छ । एफएम सुन्नका लागि कसैले बिहे गर्ने मन हुँदाहुँदै पनि केटी हेर्न भ्याउँदिन भन्छ भने त्योभन्दा हाँस्यासपद कुरा अरू के हुन सक्छ र ?
span class="fullpost">
सञ्चारमाध्यममा प्रशारित हुने समाचार पनि एकनासका हुँदैनन् । एउटै समाचारलाई मिडियैपिच्छेले भिन्न भिन्न रूपमा प्रस्तुत गरिदिन्छन् । जस्तो एकपटक माओवादी सरकार हुँदा पशुपतिनाथको पुजारी विवादमा एभिन्युज टिभीले माओवादीको अधिनायकवाद भट्याउँदै थियो भने एबिसि टेलिभिजनले माओवादीको परिवर्तनको एजेण्डास्वरूप भनेर चित्रित गरेको थियो । मिडयाले समाचार दिनु भनेको जे भएको हो त्यसैलाई जनतामार्फत् पुर्यासउनु हो कि आफ्नो तर्क दर्शकमा लाद्नु हो ? मैले बुझ्न नसकेको कुरा ।

अझ विज्ञापनले पार्ने विकराल प्रभावका बारेमा त कसैले कहिल्यै पनि सोधखोज गरेको पाइएको छैन । एउटा चिज बल्सको विज्ञापनमा बाबुआमा बच्चासहित एउटा चलचित्र हरिरहेका हुन्छन् । चिज बल्स किनिदिनु भनेर बच्चाले सबैलाई डिस्टर्व गरेपछि हाँस्दै बच्चाका बाबुले चिज बल्स किनिदिन्छन् र उनीहरू खुसीसाथ पुन: चलचित्र हेर्ने थाल्छन् । अब यो विज्ञापन हेर्ने बच्चाले के कुरा बुझ्छ ? आफूलाई केहि सामान चाहियो भने झगडा गर्ने, अरूलाई दु:ख दिने गर्नुपर्ने रै’छ अनि आफ्नो माग पुरा हुने रै’छ । यहि हैन त ? समाजमा र विशेषगरि केटाकेटीलाई नराम्रो बानीतर्फ प्रोत्साहित गर्ने यस्ताखालका विज्ञापनमा पनि चासो राख्न जरूरी छैन त ? हाम्रा घरका केटाकेटी र तपाईँहरूका घरका केटाकेटीले पनि टि.भी.मा हेर्ने भनेको यस्तै विज्ञापन हो । चाउचाउका विज्ञापनले पारेको प्रभावका बारेमा त हामी सबै सचेत नै छौँ होला सायद । चाउचाउ नकिनदिईकन स्कुलै जान नमान्ने केटाकेटीसमेत छन् ।

काखे कम्प्युटरमा औँला चलाउँदै गर्दा टिभीमा भर्खरै एउटा विज्ञापन आयो । ‘घर बनाउने सबै कुरा त तयार भयो, सिमेन्ट चैँ कुन प्रयोग गर्ने होला पण्डित बा ?’ निकै चिन्तित एक भद्रभलाद्मीले जजमाने पण्डितलाई प्रश्न गर्छन् । ‘किन चिन्ता गर्नुहुन्छ ? ** सिमेन्ट प्रयोग गर्नुस् ।‘ कर्मकाण्ड गर्ने पण्डितलाई थाहा हुन्छ कुन सिमेन्ट प्रयोग गर्नुपर्छ भनेर ? देखाउन पाएँ भन्दैमा जे पायो त्यहि त देखाउनु हुँदैन नि हौ । एउटा पण्डितले सिमेन्ट कुन प्रयोग गर्ने, अर्का पण्डितले छड, अर्काले ईट्टा अनि अर्काले घर-कोठा कत्रा कस्ता बनाउने हो भनेर भनिदिने भए त यत्रा ईञ्जिनियरहरू बेरोजगार भएनन् त ?

अब एफएममा प्रशारित हुने कार्यक्रम, तिनीहरूका प्रस्तोताको प्रस्तुति, बोल्ने भाषा, शैलीका कुरा त कति गर्नु ! नेपाली बोल्दाबोल्दै ‘definately, actually’ भनेन भने त इज्जतै घट्लाझैँ गर्छन् । फोन गर्ने कार्यक्रममा त के खानुभयो, कति खानुभयो देखि लिएर उठ्ने, बस्ने, सुत्नेलगायत सबै कुरा सोध्ने गर्छन् । फोन गर्ने पनि उस्तै, उठाउने पनि उस्तै !!!

आजको समयमा सबैभन्दा सशक्त सञ्चारमाध्यम भनेको एफ.एम रेडियो नै हो नेपालमा । गाँवैपिच्छे, टोलैपिच्छे खुलेका एफएमले स्थानीय समाचार त गतिविधिलाई उचित ठाउँ त दिएको छ तर सँगसँगै गुणस्तरहिन, जनजीवनमा नकरात्मक असर पार्नेखालका सामाग्री र विज्ञापनका नाममा वेतुकका शब्दका ठेलीसमेत प्रशारण गरिरहेका छन् ।

सञ्चारले हाम्रो जीवनमा पारेको सकरात्मक प्रभावको त जति प्रशंसा गरेपनि अपुग नै हुन्छ तर व्यवसायिकताको नाममा घट्दै गएको गुणस्तर र जनजीवनमा नकरात्मक पार्नेखालका सामाग्री प्रसारण नगर्न आफैँ सचेत भईदिए अझ कति राम्रो हुन्थ्यो होला । एउटा निकाय बनाएर गर्न लाग्यो भने त सेन्सरसीप लगायो भनेर फेरि गर्न खोज्नेको खोइरो खनिहाल्नुहुन्छ यहाँहरू । बरू आफैँ सचेत भइदिने हो कि ? त्यसो गरे कसो होला ?

तस्वीर स्रोत : यहाँ छ

12 Comments:

  1. हा हा हा ! रमाइलो नै रहेछ ! खै एफएम को सन्दर्भ मा के भन्ने, के भन्ने , कारण हामी सबै नै नेपाङ्ग्री भाषा नै बोल्छौँ । कति कुरा त हामी अंग्रेजी कै शब्द नभनि धर पाउँदैनौँ, नेपाली मा अर्थ लगाउन धेरै मुस्किल पर्छ ।
    तर टिभि रेडियो मा बज्ने विज्ञापन को त के कुरा गरिसाध्य छ र ! हैन ???
    ReplyDelete
  2. यथार्थपरक लेख ।
    मैले पनि प्राय: अनुभव गरेको हो । एफ. एम. बिचार र सूचना,समाचार र मनोरञ्जनको एकदमै सार्थक माध्यम हो तर हामीकहाँको हाल भने यस्तै छ । गजब गजबका शन्देस पो आउँदो रहेछ आजकल त एफ. एम. मा ।

    'हामीले तिरेको करबाट तलब खाने भएकाले हामीले कसैलाई पनि सम्मान गर्नु पर्दैन' भन्ने समेतका 'सचेतना' दिने शन्देस सुनें मैले ।

    एफ एम लाई अंकुश लगाउने हैन तर निगरानी गर्ने बेला भने भैसकेको छ जस्तो लाग्छ मलाई पनि ।
    ReplyDelete
  3. हा हा... गजब-गजबका विज्ञापनको चर्चा गर्नुभएको रहेछ। अरुको खोइरो खनेर नथाक्ने संचारमाध्यमले आफ्नै बारेमा चाहिँ कहिले सोँच्ने हुन् कुन्नी?
    ReplyDelete
  4. सान्दर्भिक विषयमा गम्भिर प्रस्तुति! गम्भिर बहस, प्रचारात्मक अभियान र अलिकति नियमन जरुरी भइसकेको छ यो विषयमा।
    ReplyDelete
  5. yes you r right.
    very interesting post!
    ReplyDelete
  6. दर्शक र श्रोताको ध्यान खिच्ने प्रयत्न विज्ञापनको कला हो, तर यसले गलत सन्देश प्रसारण गर्दा हाम्रो जनजीवनमा कतिको प्रतिकुल असर पर्छ भन्ने कुरा प्रसारकहरुले बुझ्नु अपरिहार्य छ।
    ReplyDelete
  7. हे हे ...रमाईलो बिज्ञापन बनाएछन.... बन्द व्यापार बिज्ञापन बिना झन्डै बन्दै हुन्छ.... उदाहरण अनुसार नै हो भने अहिले सम्म खासै बिग्रेको रहेनछ....
    ReplyDelete
  8. ज्यादै घतलाग्दो र प्रासंगिक लेख ।
    ReplyDelete
  9. प्रवेशजीले विज्ञापनहरूको एकदमै अध्ययन गर्नुभएको रहेछ । हामी प्राय यस्ता विज्ञापन सुन्छौँ र पचाइदिन्छौँ । किनकी हामी सँग छ डाबरको हजमोला जसले जे आउँछ मजाले पचाउँछ ।
    दुर्जेय सरले पनि एक पटक लेख्नुभएको थियो हाम्रा टेलिचलचित्रबारे । सायद हाम्रा टेलिचलिचत्रका संवाद कस्तो मुखैमा हान्दिउँ जस्तो भन्ने शिर्षकमा ।
    नेपालको संचारजतग् पनि आखिरमा जिम्मेवार त देखिएनन् ।
    ReplyDelete
  10. मैले पनि टेलीभिजनको भाषाको बारेमा केही कुराहरु पहिले पनि मेरो बल्गमा उठाएको थिए। ( http://doorjeya.blogspot.com/2009/08/blog-post_16.html)
    नेपाली कलाकार( केही बाहेक)हरु भनु वा रेडियो टेलिभिजनका प्रश्तोता,निकै लाज लाग्दो भाषा र शैली प्रयोग गर्छन। राम्रा पनि छन् तर अधिकाम्श अपचहुने खालकानै छन।
    तपाई यो लेख यथार्थ परक छ। यस बिषयमा आवाज उठाउनु जरुरी पनि छ।
    ReplyDelete
  11. सूचना , संचार र शिक्षा प्रबाह गर्ने ...... माध्यामहरु कै हालत यस्तो भए पछि .... ...??? त्यसैले यस्ता कमजोरी र खराबिहरुको निगरानी राख्ने निकाय हुनु जरुरी देखिन्छ !
    ReplyDelete
  12. कुरा ठिकै हुन् । सधैँ उठ्ने कुरा ।
    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम