Monday, May 03, 2010

वेतुकको गन्थन

'तेरो पार्टीले यसो गर्यो ।’ कड्किएर भन्यो उसले ।

‘मलाई त ठिक लाग्यो । तेरो पार्टीले पनि त यसो गर्यो नि ।’ म चैँ किन विस्तारो बोल्नु !

‘मेरो ले गरेको चैँ ठिक हो ।’ दुई फुट माथि उफ्रियो ।

‘मलाई मेरोले गरेको चैँ ठिक लाग्छ ।’ साढे दुई फुट माथि उफ्रिएँ म ।

‘अस्ति सुर्खेतमा तेरो पार्टीकालाई खेदाको हामीले ।’ बहादुरी पोख्यो ।

‘तैँलै त होइन नि !’ सोधेँ ।

‘हाम्रो पार्टीले हो ।’ नाकका पोरा ठुलै पारेर फुलायो ।

‘हामीले पनि त धनकुटामा नाकाबन्दी गरेरै हानेको हो ।’ अलिकति काँध उचालेँ मैले पनि ।

“ह्‍या मुलाहरू काम छैन, दारू खा’को छ, जहिले बाझेको छ, रातको २ बजिसक्यो । अहिले घरवेटी आउँछ र खेदाउँछ अनि थाहा पाउँछस् । कहाँ बस्न जाने अनि !” संविधानसभामा दुईटा मात्र सीट भ’काले हो कि दारू कम लागेर हो, राम्रै कुरा गर्‍यो अर्काले ।

एकछिन सबै चुप् । चित्त बुझ्यो सबैलाई दुई सीटे कुराले ।

‘तँ र म जति बाझेपनि सब उहि हुन् । हाम्रो बसेको कोठाभाडा तिरिदिने होइनन् कसैले । हामीले खाको भातको पैसा तिरिदिने होइनन् कसैले । बेकाममा बाझेर कोठाबाट निकाल्छन् मात्रै ।’ उसले भन्यो ।

अनुहार रातो पार्दै थिएँ त्यहिपनि चुप लागेँ । कुरा राम्रै लाग्यो । सिद्धान्त बेग्लै भयो भन्दैमा सहि कुराको विरोध पनि त गर्नुभएन नि !!!

एकछिन वातावरण शान्त भयो । कसैलाई केहि भन्न मन लागेनछ कि भनेर केहि हुँदैन भन्ने सोच आएछ । छेऊको कुरकुरे को टुक्रो चपाउँदै सुरूप्प पारियो फेरि एक सट् ।

‘कोहि काम छैन सालाहरू ! माथिमाथि आफू र्‍याडिसनमा भतेर खान जान्छन् राती भएपछि । हामी तल्ला तहकालाई बाझ्नको सास्ती मात्रै । न केहि पाउनु छ, न केहि गुमाउनु !’ भनिदिएँ मैले पनि ।

‘त्यहि त । बेकाममा दुनियाँ नाममा दस्ता बटुलेर युवा बिगार्ने मात्रै काम । छोड्दे सुतौँ, ३ बजिसक्यो, जति करायो उति आफ्नै निन्द्रा पुग्दैन ।’ एक सुरूप् पारेर भन्यो ।

‘अब यति बाँकि छ, सकेर सुतौँ न त ।’ मेरो प्रस्ताव स्वीकार्यो । २-२ ग्लास थपियो सैद्धान्तिक विचार फरक भएपनि व्यहवारिक विचारमाथि हो मा हो जनाउँदै ।

बिहान घाम चिरिक्क टाउकैमा पर्यो । कस्तो दुखेको यो टाउको । समाउँदै उठ्यौँ ।




Post a Comment

7 Comments:

Aakar said...

हा हा हा !
एकदम सहि कुरा हो !
वेतुक को गन्थन त हैन, तर सबै तिर सुनिने कुरा यहि नै हुन् ।

Dilip Acharya said...

गन्थन बेतुकको हैन बरु आखीरमा मेलमिलापमै टुङ्गीएछ । हाम्रा नेताहरुले यत्ती मात्रै सोच्दे पनि हुन्थ्यो के गर्ने ? ।

यिनिहरुलाई पनि र्‍याडिसनमा हैन साँईलीको भट्टीमा लगेर वार्ता गराउनु पर्ला जस्तो छ एकदिन। बरु त्यसो गर्दा कुरो मिल्थ्यो कि !। मलाई त यो पोस्ट पढेपछि यस्तो ज्ञान पो मिल्यो त ।

महेश said...

युबा हरुले जति छिटो बुझ्यो त्यति फाइदा

ametya said...

प्रवेशको बिमल निभा हुन सक्ने एउटा गतिलो छाँट - बेतुकको गन्थन । निश्चयनै गहकिलो बिषय बोकेको निभा स्तरिय एवं ठ्टयौलीयुक्त लेख छ - प्रवेशको यो वाण ।

सूर्य/सिकारु said...

यथार्त र नेपाली रहन सहनको मिठो शैली मा प्रस्तुत टासो मिठो र रमाइलो लाग्यो प्रवेश जी

रमेशमोहन अधिकारी said...

जनतानेर फरक देखिन खोजे पनि, सदन चलेपनि नचलेपनि भत्ता लिने बेलामा सबैको मन एकै हुन्छ क्यारे ! अनि पनि केको नाटक !
यही कुरा आए जस्तो लाग्छ रचनामा ।

दिनेश राज said...

Kuraa sahi ho . Haami sabaile rajanitiko baremaa gaf garera chup lagnathalyo janyau ra sahamati maa aayau bhane yi saalaa DUI char taauke haru kehi samayemaa taha laagi halchhan ni .

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick