Saturday, July 10, 2010

Weekend

‘आज लास्ट ह्याङ् भइर’छ यार, बङ्क हान्दिऊँ !’

‘कसको क्लास रै’छ चैँ सोधौँ न ।’ साथीलाई फोन गर्यो मोबाइलबाट ।

‘ए !! त्यसको पो ! वाल हो ! सुत्दिम् मस्तले ।’

कति सजिलो पढ्नलाई । मन लागेको दिन गयो, मन नलागेको दिन आनन्दले सुत्ने । १-२ घण्टी पढेपछि मन मर्‍यो भने छोडेर घर फर्किँदा पनि हुने । साँच्चै विद्यार्थी जीवनलाई त्यतिकै स्वर्णिम समय भनेएको होइन रहेछ ।

पढाइको छैठौँ र आठौँ सेमेस्टरमा हुने ईण्टर्नशीप (उद्योगमा गएर गरिने काम) अन्तर्गत छैठौँ सेमेस्टरको ईन्टर्नशीपमा विराटनगर दुग्ध विकास संस्थान आइपुगेका छौँ हामी चारजना साथीहरू । छेवैको सुर्य नेपालमा अरू पाँच जना छन् । बिहान १० बजे पुग्नुपर्ने, ४ बजेसम्म बस्नैपर्ने । झिँगा मारेरै भएपनि ।

अस्तिको आइतवार सुर्य नेपालको साथिहरूलाई छुट्टी दिएछ । जाम् घुम्नलाई भन्न थाले । मैले चैँ अफिसै बङ्क हानिदिने विचार गरेँ र उकालो लाग्यौँ भेडेटारतिर । धरानसम्म यात्रुबसमा र त्यसपछी माइक्रो बसको छतमा चढेर शायद नेपालकै सबैभन्दा राम्रो हाइवे ‘मदन भण्डारी मार्ग’बाट लाग्यौँ भेडेटारतर्फ । विराटनगरको मान्छे उमाल्ने गर्मी पार गरेको आधा घण्टामै चिसो स्याँठले हान्दा ला्ग्यो नेपाल कति राम्रो छ । आधा घण्टाको अन्तरमा यस्तो दुई भिन्न प्रकृतिको वातावरणमा रमाउन सक्छौँ ।

17102008107

फोटो : अलि अगाडि नमोबुद्ध घुम्न जाँदा

जीऊभरि काँडा उमार्दै बेलुकाको खाना खाइसकेपछि घुम्न हिँडेका हामी चार जना नै डल्लो परिहाल्यौँ दुईवटा खाट जोडेर । तातो सिरकभित्र, कति मज्जा आयो, आयो । बिहान भयो । चिसो उस्तै । अब जागीरमा पुग्नुपर्ने सबैजनाको । उठ्न कसैलाई मन छैन । माघको जाडोमा काठमाण्डौमा बिहान ४ बजे सिरक छोड्नुपर्ने जस्तो छ मौसम ।

‘आज बङ्क हान्दिऊँ ! भन्न पनि नमिल्ने यार । कस्तो घाँडो हो यो ।’ एउटाले भन्यो ।

अनि कुरा शुरू हुन थालो । बरू पढ्नै कति रमाईलो, मन ला्ग्दा गयो,नलाग्दा नगयो । टेन्सनै साफ । यसमा नजाँदा त गाली गरेर मार्ला भन्ने पीर । अझ पैसा आउने ठाउँमा त पैसा रोकिदेला भन्ने पीर । अझ उस्तै ठाउँमा त समय नै नपुगी निकाल्देला भन्ने पीर । साह्रै गाह्रो रै’छ अफिस धाउन । गन्थन गर्दागर्दै बिहानको ८ बजे बल्लबल्ल ओरालो लाग्यौँ काँकडभिट्टे बसमा ।

हिजो बङ्क हानेको गाली स्वादले खाएँ मैले पनि अफिसमा । दुनियाँ बहाना त बनाएँ, तर हाम्रो सुपरभाइजर पनि ईञ्जिनियर नै, बुझिहाल्छ नि कुरो, आफूले पनि पढ्दा त्यसै गरेको हुन्छ । के मान्थ्यो !  बल्ल बल्ल कुरा सल्टियो ।

आज शनिवार ! जन्मेदेखि सधैँ स्कुल गइयो,पढयो, शनिवार कुरियो, तर यति प्यारो शनिवार कहिल्यै लागेको थिएन । अहिले ईन्टर्नशीप गर्दा त यति प्यारो छ शनिवार, साँच्चै काम गरेर, जागीरै खान थालेपछि त कति प्यारो हुँदो हो ? यसो सोच्दैछु । पास आउट भएर जागीर खान थाल्नु १ वर्षअगाडि बल्ल ‘weekend’ को महत्व बुझ्न थाल्दैछु ईन्टर्नशीपमा ।




Post a Comment

6 Comments:

Chaitanya said...

Great ! Weekends have great value! Wait for a thousand sweet weekends ahead.

Aakar said...

Weekends को महत्व त अब थाहा हुँदैछ । हा हा
:)

RRijal said...

तपाईँको लेख पढेर यो भिडियो सम्झेँ, हो त्यस्तै हुन्छ काम गर्न थाले पछि :
http://www.youtube.com/watch?v=Fu8LvgpZ1e4&feature=player_embedded

Dilip Acharya said...

एकदम रमाइलो पोस्ट । सप्ताहन्त आएर पनि छुट्टी नपाएपछि यो Weekends को महत्व अझै थाहा हुन्छ । मलाई पनि शनिबारको दिन पनि मोबाईल स्विच अफ गरेर घर बस्नु परेको एक-दुईवटा पुराना घटनाहरु याद आए :)

वेदनाथ पुलामी (उमेश) said...

हो नि ! यो weekend मा अफिसको कामको कुनै कामका बारेमा फोन आउला भन्ने पिर लाग्छ ! अनि दिलिप दाइले भन्नु भा'जस्तो मोबाइलको स्वीच अफ गर्यो ........ अनि ..(बाल भो ! ) भन्न मनलाग्छ !

D DUS' World said...

weekend ुर्नुको मज्जा बेग्लैा, र weekend मा रमाउनुको मज्जा बेग्लैा, एक दिनको छु६टीमा पढाइ, काम सबै छोडेर बिन्दास भएर हप्ताभरको तिष्णा मेटाउने, वा क्या मज्जा,

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick