Sunday, November 28, 2010

साइकलको ट्युबदेखि हिरोसिमासम्म..

अस्ति घरबाट अलिकति खर्च बोकेर हिँडेँ धुलिखेलतिर । काठमाण्डौ विश्वविद्यालयको फिस् तिरेर अलिकति पैसा बाँच्ने र'छ । यसो सोचेँ, चिसो पनि बढ्न थालो । लोकतन्त्रमा मान्छेलाई बोल्ने छुट भएझैँ जुत्ताको शोलले पनि बोल्ने मुखको विकास गरिसकेको थियो । एकजोर जुत्ता किन्नुपर्यो ।

प्रोजेक्टको सिलसिलामा टेकुको अपाचे मोटरसाइकलको सर्भिसिङ् सेन्टर गा'को थिएँ । धेरै कुरा हेरेँ, सिकेँ अनि नयाँनयाँ आविष्कारको बारेमा सोच्न पनि आयो । सबै सोचलाई थाती राख्दै जुत्ता किन्न हिँडेँ । यसो न्युरोडतिर जानुपर्यो भनेर । दशरथ रङ्गशालालाई दाहिने पार्दै "थोपा थोपा पानी बचाऊँ" भनेर खानेपानीको अफिसअगाडि लेखेका अक्षर पढ्दै पश्चिम तेर्सिएँ । काठमाण्डौ महानगरपालिकाको अफिस अगाडि आएपछि यसो चाइना टाउनतिर छिर्ने सोच आयो । धेरै भयो नगा'को..डुब्यो डुब्यो भन्छन्...एकपटक हेर्न जाऊँ न त भन्ने सोचले डोर्‍याएर पुर्‍यायो चाइना टाउन ।
"दिदी !! जुत्ताहरू हेरौँ न !" टेबलमा केहि लेखिराखेकी पसलमा बसेकी महिलालाई सोधेँ ।
"डिजाइन त्यहि हो, बाहिरबाट हेर्नुस् !" शोकेसतिर औँलो तेर्स्याई र फेरि लेख्न थाली ।
ग्राहकलाई नै नगन्ने यस्तो पसलमा के किन्नु !!! यस्तै सोचेर हिँडेँ ।
"यसको चैँ कति ?" अर्को पसलमा सोधेँ एउटा जुत्ता ठिकै लागेर ।
"अठ्ठाइस सय पचास ! मिलाइदिन्छु नि !" भनी ।
धत् !! चाइना टाउनमा पनि त्यत्रो पैसा हाल्छ कसैले !! फेरि सोचेर कुलेलाम ठोकेँ त्यहाँबाट ।

निस्किनै लागेको थिएँ, एउटा पसलमा अलि राम्रो देखेँ । भित्र छिरेको मात्रै के थिएँ, एकजना सानी सानी कदकी महिला कुद्दै आइपुगिन् । 
"यो जुत्ताको कति ?" मैले सोधेँ ।
"एक्काइस सय !! पख्नु है त म मिलाइदिन्छु !" बडो मस्किँदै, हाँस्दै भनी ।
उसको बोल्ने र प्रस्तुत हुने शैली नै यस्तो थियो कि भयो भनेर छोडेर हिँड्नै नसकिने !
" अठार सय दिनुस् न त !" क्यालकुलेटर थिचेजस्तो गरेर भनी ।
"पन्ध्र सयमात्रै छ । म त फिस तिर्न हिँडेको, पैसा छैन" भनेँ ।
"अलि पोसाउँदैन, लु सोह्र सय दिनुहोस् न त ।" फेरि हल्का मस्किँदै भनी ।
"मोजा पनि किन्नुहुन्छ ?" मलाई मस्किँदै मख्ख पार्दै फसाउन खोजिहाली ।
नाइँ भन्नै सकिनँ र एकसयको मोजा पनि थपेँ । अन्तिममा एउटा उपहार कुपनमा फोन नम्बर लेख्न लगाई ।
"पुरस्कार पर्‍यो भने फोन गर्दिनु है !" 
"परेन भने पनि गरौँला नि के भयो र !" मस्किँदै भनी । मख्ख परेर हिँडेँ त्यहाँबाट । 

धरहराको फेद हुँदै खिचापोखरी छिरेर एउटा वायरलेस माउस किन्ने विचार पनि गरेको थिएँ । खासै काम त होइन, बेड टेबलमा सुतेर यसो ल्यापटप चलाउँदा सिरकभित्रै त्यो माउसलाई पनि हालेर चलाउन पाइन्छ भनेर हो । धुलिखेलमा अलि चिसो छ काठमाण्डौमा भन्दा । त्यहि भएर चिसोको ओखती खोजेको । २-३ थरि हेरेर एउटा किनेँ डेल्टा लेखेको । किनेर बाटोमा हिँड्दै गर्दा यति सोचेँ नि माउस चलाउने बारे ! सिरकभित्र पसेर चलाउँछु, फेरि भित्र हाल्दा राम्ररी नचल्ने पो हो कि ? आ...माउसले त्यो डिभाइसलाई देख्नै पर्दैन नि, रेञ्जमा परेपछि चल्छ भन्दै मन बुझाउँछु...बत्ती चैँ गा'को नहोस् है !!! जानेबित्तिकै चलाउनुपर्छ.....के के सोचेँ सोचेँ । सोचको गहिराइमा डुब्दाडुब्दै खुलामञ्चको छेऊबाट पुरानो बसपार्क आपइपुगिसकेको पत्तो नै पाइनछु ।

धुलिखेल !! धुलिखेल !!!
एउटा सानो भाइले बसको ढोकाछेऊमा ढक्ढक्याउँदै कराउँदै थियो । भित्र बसेँ । फेरि दिउँसो बस दक्षिण फर्केको हुन्छ बसपार्कबाट बाहिर निस्किन लागेको बेला, अनि घाम आफू छिर्दाछिर्दैको दाहिनेपट्टिको सिटमा लागेको हुन्छ । एकचोटि त्यसरी नै घाम नलागेको बेला देब्रेपट्टिको सिटमा बसेको बसपार्कबाट निस्किनेबित्तिकै बस पूर्व लागेपछि त्योपट्टि चैँ झलमल हुँदो रै'छ । चिसो बढेपनी आँखैमा घाम आ'को खप्न सकिँदैन । त्यहि दिन सम्झेर दाहिनेपट्टि बसेँ । बस कुद्यो घाम अर्कापट्टि लागो, म मख्ख परेर बसिराखेँ । अगाडिको सिटमा एउटा मान्छे आएर झ्याल पुरै खोलो उसको पट्टि । मेरोपट्टि ड्याम्म लगाएर । यसो विस्तारै ठेलेँ आधासम्म पुर्‍याएँ । अनि थाहा नपाउने गरि ठेल्दै ठेल्दै गरिराखेँ । त्यो दिन अलि गर्मी नै थियो काठमाण्डौ । मेरो मनमा त्यतिखेर अलिकति भएपनि बढि झ्याल खोलिहालौँ भन्नेबाहेक केहि थिएन ।

तस्वीर स्रोत : यहाँ छ
एकछिन त्यसैगरेपछि झ्वाट्ट दिमागमा एउटा कुरा खेल्यो । साँच्ची हाम्रो 'सोच'को सीमा कत्रो छ है !! अघिसम्म अपाचीको शोरूममा हुँदा बाइकमा मोडिफिकेसन गरेर निकाल्ने सोच्दै थिएँ, एकछिनमा जुत्ता किन्दा झण्डै लभ परो (हुन त त्यसैले गर्दा मुर्गा भइयो जुत्ता किन्दा), वायरलेस माउस किन्दा प्रविधिको विकासको बारेमा सोचेँ र अहिले झ्याल थाहा नपाउने गरि ठेलेर अलिकति धेरै हावा खान पाइन्छ कि भन्ने सोचमा । बिचबिचमा अरू कुराहरु पनि आए, कुनै राम्रो गाडि देख्दा म पनि पछि यस्तै किन्छु ; नराम्रो देख्दा, के किनेका होलान् मान्छेले यस्तो ! राम्री केटी देखो भने कस्तो कस्तो सोच !! कतिथोक सोचियो सोचियो एकैछिनमा टेकुबाट गाडि चढ्दासम्म । बाइकको सिस्टममा मोडिफिकेसन ल्याउनेदेखि झ्याल अलिकति ठेल्ने सम्म !! बाह्र क्लासमा नेपाली पढ्दा एउटा निबन्धमा "बाहुन बाजेले साइकलको ट्यव पड्केदेखि हिरोसिमामा बम पड्केसम्मका कुरा गर्छन्" भनेर लेखिएको थियो ।...............ती बाजेले सोचेर भन्दा रहेछन्...हामी सोच्दा मात्र रहेछौँ, भन्दा रहेनछौँ...फरक त्यति लागो आफू र ती बाहुनबाजेसँग । हामी के चैँ सोच्न सक्दैनौँ ? यहि सोच्दैछु अहिले....




Post a Comment

12 Comments:

Dilip Acharya said...

हेर्दा सामान्य जस्तो लाग्ने विषयवस्तुको तारतम्य तर एकदमै रोचक शैली र प्रस्तुती । निकै रमाइलो मानेर पढेँ है मैले चैँ :) । सायद यस्तैलाई भन्ने होला: Simplicity @ it's best !

Aakar said...

हा हा हा ! दामी ला'गो मलाई त !!!
:)

दीपक जडित said...

साँच्चै रउसे गफ । अझै पढ्न पाए हुन्थ्यो झैं ।

pramod construction company said...

हि हा हा... म त यिनले पोर्जेक्ट गर्दैछन भन्ने था'थ्यो "बम" बनाउन थालेछन भन्ठान्या, लास्टाँ त झ्याल पो घचेट्दै र'छन !! :P

त्यो डल्लीको फुन नम्बर कति नि ?? :D

"साधारण रुपमा गरिएको प्रस्तुती मन पर्यो"- कलम चलिरहोस || शुभकामना !!

SandipN said...

विषय रोचक त छँदै छ तर उत्तिकै गम्य छ ।

वेदनाथ पुलामी said...

हाहा .... लास्टमा फेरी सोच्ननै पुगियो है ...प्रवेश जी !

bishesh said...

prabesh ramro lago....u have sweet writing style....keep it up..

Chaitanya said...

Great!

Sadhana Sharma said...

:)

gambhir said...

La padhdapadhdai kati khera sakyo pattai bhayena ta. Lekh sangai afaisochna thaliyea6..dami hai

gambhir said...

La padhdapadhdai kati khera sakyo pattai bhayena ta. Lekh sangai afaisochna thaliyea6..dami hai

Pradeep Kumar Singh said...

Dherai Kura Simple ani ekdum ramro...

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick