Twitter

Friday, January 22, 2010

केदारजी हरवखत टोलाईरहनु हुन्छ..



कहिले कहिले त सोचाईको 'ओभर-डोज'नै हुन्छ । भावनाका ज्वारभाटाहरूले यहाँसम्म उथल पुथल वनाईदिन्छन् कि केदारजीको मस्तिष्क समयसमयमा तत्कालिन हाईटीको 'पोर्ट अउ प्रिन्स'जस्तै हुनेगर्छ । किन यतिधेरै सोचिन्छ भनेर पुनश्च त्यसमाथि पनि नसोचिनै हैन । व्याजको नि प्याज भनेजस्तो । वालकुमारीबाट कोटेश्वर जुत्ता वजाउँदै हाँनिदा मनोहरा पुल तरेको प्राय होसै हुँदैन अनि माथिवाट टाउको घोप्ट्याएर तल बगेको कालो पानी हेर्ने धोको प्राय अधुरै रहन्छ । वाटोमा हिड्दा छेवैमा आएर वोलाउनुस् त तपाई..अहँ.. वहाँको कानमा तरङ्गै उत्पन्न हुँदैन । घरमा रहँदा होस् या अरू कुनै वेला यो सिलसिलामा कुनै क्रम-भङ्गताको स्थिति देखापर्ने सम्भावना ज्यादै न्युन छ । मोटामोटी कुरा भन्नुपर्दा मैले यसैलाई जोड दिनुपर्ने हुन्छ; "केदारजी हरवखत टोलाईरहनु हुन्छ" ।
सपना त्यसैको पुरा हुन्छ जसले सपना देख्न जानेको हुन्छ । यो वाक्यले सानैदेखि मनमा गहिरो प्रभाव पारेको छ । अनि हरवखत सपना देख्नुहुन्छ सुनौलो भविष्यको......सायद पुरा हुने आशामा । वहाँ चिन्तनशील व्यक्ति हो अथवा फगत भावनाका कुहिरि मन्डलमा हराउने कुहिराको काग । निर्णय लिन त्यति सजिलो देखिदैन यहाँनेरि । त्यसो त धेरै सोच्ने भन्दैमा वोल्दै नवोल्ने मान्छे चाहिँ पक्कै हैन । गफ पनि हुन्छन् नि वेला वेला घर परिवारसँग, साथीभाईसँग अथवा अरू जो कोहिसँग । गएको महिना नगरकोट वनभोज जाने कुरा भएको रहेछ अफिसमा । हिड्ने निर्धारित दिनभन्दा एक हप्ता अगाडिदेखि केदारजीले यहि वनभोजको वारेमानै सोच्नुभयो । कसरी तयारी हुने, को को जाने, के के गर्ने.........। अनि निर्धारित दिनमा जव नगरकोट पुग्नुभो वनभोजका लागि, खुवसँग जम्नुभो साथीभाई माझ राजनितिका कुरामा, देशको दुर्दशाको कुरामा , जागिरका कुरामा अनि हरू के के हो के के मा । आज वहाँलाई टोलाउने त्यति धेरै फुर्सदै भएन । साँझ घर आईपुगेपछि पो दिउँसोका डाँडा काँडा, वन-जङ्गल, हरियाली सवै एकतमासले सलवलाउन थाले स्मृतिमा । ओहो!! कुरै कुरामा लागेर पुगेको ठाउँको त आनन्दै पो उठाउन विर्सिएछ त,हत्तेरी । दिउँसोका थोत्रा कुरा त अफिसतिरै गरेको भए नि भैहाल्नेथियो नि किन नगरकोटै पुग्नुपर्नेथ्यो र? प्राय भविष्य सोचेर एकोहोरिने केदारजी आज केहि क्षण अघिको समय सम्झेर पछुताउन थाल्नुभयो अनि त्यसैमा टोलाउन पनि......।
समय गतिशिल छ । यस्तैउस्तै गर्दै घरि के हुँदै घरि के हुँदै दिन महिना अनि वर्षै गएको नि पत्तो नहुने । केदारजीको हकमा नि त्यहि भयो । सँगै हुँदा गफ गर्दै अनि एक्लै हुँदा टोलाउँदै, सोच्दै...वहाँका नि निकैवटा वसन्त वाटो लागे । प्राय हरबखत विगतको पश्चातप अनि भविष्यको चिन्ता मात्र । के यसैगरी मात्र जीवन चल्ने हो ? वेलावेला साह्रै औडाहा महसुस हुनेगर्छ । अलिअलि चेत खुलेको विरामी जस्तो देखिनुभो केदारजी । साथसाथै ठुलो प्रश्नवाचक खडा भयो आफ्नै अगाडि । तर गर्ने पो के ? घरपरिवार अनि छोराछोरीको भविष्य वनाउन, आफ्नै गतिलो जीन्दगी वनाउन, सुखसँग वाँच्न, ठुलो ओहदामा पुग्न, सवैसामु चिनिन आदि इत्यादिका लागि सँधैँ परको मात्र सोचियो । ठूलो लक्ष्य वोकियो, धेरे थोर पुरा नि गरियो तर अचानक, आज आएर केदारजीलाई भयङकर ठुलो गल्ती गरेको महसुत हुँदैछ ।
विगतलाई राम्रोसँग नियाल्ने हो भने वहाँको जीवन साह्रै गहिरो भास भएको दलदल जस्तो वन्छ एकपटक फेरि । पहिले सानामा सधैँ मीठो खानलाई मरि मेटियो । अलि ठुलो भएपचि धेरै पढेर पी.एच.डी गर्न मरि मेटियो । राम्रो जागिर खान, विहे गर्न, छोराछोरी पाउन, वुढेसकालमा आनन्दको रिटायर्ड जीन्दगी विताउन........। यि सवै पुरा नि भए । तर एकदिन जीन्दगीले साह्रै गहिरो प्रश्न गह्यो केदारजीलाई । तँ वर्तमानमा चैँ कहिले वाँचिस्??? हो, समय दौरानमा खोजेका जति सवै कुरा पाएँ मैले, सवै सपना पुरा भए, तर तिनै सपना पुरा गर्ने निहुँमा म वर्तमानमा ज्युन सकिन । म वर्तमानमा कहिल्यै रमाउन सकिन । सधैँ विगत र भविष्य मात्र हावी भयो जीवनभर । तपाईँ भुलेर पनि मेरो गल्ती नदोहोर्याउनुहोला है । जीवनमा सधैँ वर्तमानमा वाँच्न सिक्नुहोला नभए मेरो नियति तपाईले नि भोग्नुपर्ने हुनसक्छ । यो केदारजीको सुझाव हो अथवा अरू केहि? जेहोस् वहाँ यस्तै यस्तै वर्वराईरहनुभएको छ आज तर टोलाउनुभएको चाहिँ छैन ।





Tuesday, January 12, 2010

‘आल इज वेल’


काठमाण्डौ विश्वविद्यालय मेकानिकल इञ्जिनियरीङ् चौथो वर्षमा अध्ययनरत अभय श्रेष्ठ कागजमा ‘आल इज वेल’ लेखेर साथीहरूको छातीमा टाँसीदिँदै थिए । साथीहरू छक्क । ‘के गर्छ यो ?’ ‘अभय बौलाएछ’ यस्तै यस्तै भन्दै छाती थाप्दैथिए उनीहरू । बुझ्दै जाँदा त ढोका ढक्ढक्याइसकेको परीक्षामा साथीहरूलाई नआत्तिन भन्दै राम्ररी पढुन् भनेर पो साङ्केतिक रमाईलो गरेका रहेछन् अभयले । हो, आझ विद्यार्थीमाझ निकै नै लोकप्रिय बन्दैछ ‘आल इज वेल ।‘

हुन त नेपाली टेलिभिजनमा पनि हाँस्य कार्यक्रमहरूको बहार आएदेखि तात्तो न छारोका विभिन्न थेगोहरू जनमानसका मुखमा झुण्डिएका छन् । सीताराम कट्टेल (धुर्मुस)को ‘मर्छु कि क्या हो !’, केदार शर्मा (माग्ने बुढा)को ‘लात्तले हानेर बारीका पाटामा पुर्या इदिन्छु’, जितु नेपाल (मुन्द्रे)को ‘एसएलसी एसएलसी पास भएको मान्छे’ अहिलेका केहि लोकप्रिय थेगोहरू हुन् । बालबालिकाहरू खेल्दाखेरि यिनै थेगोहरूको प्रयोग गर्दै मजा लिइरहेको देखिन्छ भने अधवैँसे र युवा उमेरका साथीभाइ पनि यस्तै थेगोहरूमा रमाईरहेको देखिन्छ । किरण केसीको ‘ए राता मकै !’ थेगो त रिङ्गरोड वरिपरि घुम्ने सार्वजनिक बसमा समेत लेखेको देखिन्छ । सवारी चालक साथीहरू पनि बेलाबेला शिबहरि पौडेलजस्तै ‘मुखाँ हान्नुजस्तो’ भन्दै साथीभाइलाई सौहाद्रपुर्ण गाली गरिरहेको सुनिन्छ । नेपालमा त एउटा थेगो नबनाई हाँस्य कार्यक्रमहरू नै नचल्नेजस्तो अवस्था सिर्जना भइसकेको छ । एउटा हाँस्य कलाकारलाई देख्नेबित्तिकै टिभी हेरिरहेका बालबालिका उसले भन्ने गरेको थेगो भन्दै हाँस्न थाल्छन् ।

भर्खरै प्रदर्शनमा आएको आमिर खानको मुख्य भूमिका रहेको चलचित्र थ्री इडियट्समा उनले प्रयोग गर्ने थेगो ‘आल इज वेल’ले नेपाली विद्यार्थीहरूमाझ दह्रो पकड जमाएको छ । परीक्षा को तयारी गरिरहेका विश्वास पौडेलले त आफ्नो कोठाको ढोकामा नै ‘आल इज वेल’ लेखेर टाँसेका छन् । बिद्यार्थीका समस्याग्रस्त फेसबुक स्टेटसमा अचुक समाधानझैँ “आल इज वेल” कमेन्टमा झुल्किएको प्रशस्त देखिन्छ । नेपाली कार्यक्रमका थेगोहरू मात्र मनोरञ्जनका लागि वजन नभएका शब्दहरू हुलेर जबर्जस्ती हँसाउनका लागि बनाएको जस्तो देखिन्छ । न कुनै अर्थ छ, न कुनै भाव । ‘आल इज वेल’ले आत्मविश्वास बढाउने अचुक उपाय लिएर आएको छ । अझ चलचित्रमा गरिएको यो थेगोको व्याख्याले झनै मन छोएको छ सबैको । चलचित्रमा भनिएको छ ‘छातीमा हात राख्दै ‘आल इज वेल’ भन्दा समस्या समाधान त हुँदैन तर समस्या सँग जुध्ने आत्मविश्वास पैदा हुन्छ ।‘

टुटेफुटेका बकम्फुसे थेगो बोल्ने बानी भइसकेका नेपाली विद्यार्थीलाई ‘आल इज वेल’ एउटा महत्वपुर्ण कडि भएको छ । जाँचको समयमा हुने बोझलाई हल्का गर्न धेरै साथीहरू ‘आल इज वेल’ भन्दै जाँचसँग नडराउने आत्मविश्वास पैदा गर्दैछन् । तपाईँहरूलाई पनि केहि समस्या पर्यो भने छातीमा हात राखेर ‘आल इज वेल’ भन्ने हो कि ? शायद हतारिएर काम बिगार्नुभन्दा यसो गरेर विस्तारै काम गर्दा सफल भई पो हालिन्छ कि !

Friday, January 08, 2010

अलविदा विष्णुलाल.....

कहिले कहिले त नाकवाट अक्सिजन पनि भित्र छिर्न नपाएर अलमलिदो हो है? आजकाल यस्तो लाग्छ साँझ परेपछि । पुसको जाडो अनि विध्दुत प्राधिकरणको उपहार - लोडसेडिङ....। अँध्यारै अँध्यारो जतैपनि । आँखाले देखेजति अंधकारै भएपनि वरू यो मन चैँ उज्यालै छ है भनेर चित्त बुझाउने ठाउँ सम्म छैन । भित्रै अँध्यारो वाहिरै अँध्यारो । Critical Thinking and Decision Making भन्ने विषय पोहोर साल पढिएको थियो क्याम्पसमा । त्यहाँ लेखिएको एउटा कुरो अझै पनि घरी घरी दिमागमा रूमल्लिरहन्छ । "लेख्नको लागि सोच्ने हैन...सोचेको कुरा लेख्ने हो " । अंग्रेजीमा लेखिएको यो भनाईको मुलभाव मात्र याद छ, ठ्याक्कै शव्द आएन । अनि नेपालीमा उल्था गरेर कनीकुथी लेख्न खोज्दा फेद न टुप्पाको भयो कुरो । म लेख्नुभन्दा अगाडि प्राय सोच्ने गर्छु; के म साँच्चै सोच्छु अनि सोचेको कुरा लेख्छु अथवा लेख्नैपर्छ भनेर जवरजस्ती सोच्नखोज्छु ? यो स्वयं आफैलाई थाहा नभएको तर नितान्त व्यक्तिगत कुरो परेछ !!! आज चैँ अस्तिदेखि सोचेकै कुरो लेख्दैछु है ।

जनआन्दोलन-२ का योद्दा विष्णुलाल महर्जनले अस्ति १८ गते शनिवार शाहदत प्राप्त गरे । त्यो दिन रेडियो-टि.भीमा राष्ट्र भक्तीले ओत्प्रोत भएका धेरै गीतहरू बजाईए । सवैले श्रद्धाञ्जली दिए अनि राष्ट्र बनाउने जिम्मा पाएका हाम्रा महान् हिमायतिहरूले त झन् शोक पुस्तिकामा हस्ताक्षर सहित ठूला ठूला वाणीहरू नै लेख्न भ्याए । माधवजी, झलनाथजी, पुष्पकमलजी, युवा नेता गगनजी अनि अरू धेरै देश वनाउने जिम्मेवारी पाएका महा-मानवहरूको हस्ताक्षरले शोक-पुस्तिका पुरै भरिएको थियो । यि सव चर्तिकालाको रमिते म पनि भएको थिएँ टेलिभिजन सेट अगाडि । झलक्क विष्णुलालको आँखावाट झरेको आँशुको पुरानो दृष्य टि.भीले देखाएको थियो एकपटक । त्यो आँशु मनमा यसरी बिझ्यो....म वर्णन गर्नसक्ने स्थितिमा छुईन ।
आफ्नो शारिरिक अवस्थाका कारणले रोएका थिए होलान् उनी तर उनको आँशुले समग्र देशलाईनै रूजाएको भान हुन्थ्यो । उनले देखेको सपना, हामीले देखेको सपना धेरै मिल्छ एकआपसमा । तर कति सजिलै तुहिदै छन् ति सपनाहरू । यसको हेक्का कसैलाई नभएको त पक्कै हैन तर कोहि विवस छन् भने कोहि थाहा नपाएको अभिनय गरिरहेका छन् । अनि ति देश वनाउने ठेक्का लिएकाहरूको त झन् के कुरा गरी साध्ये र । सहिदका सपनाले पिरोलुन् तिनलाई । भनेको पुग्ने भए म यहि कामना गर्ने थिएँ ।

देश अराजक भएको छ । दण्डहिनता व्याप्त छ । मनमानीको हैकम छ । जसले जे गरे नि हुँने । सडकवाटै गणराज्य घोषणा गर्न नि हुने , कोपनहेगनको किस्सा सेलाउन नपाउँदै, आफ्नै नाताका मान्छेलाई विना रोकटोक उच्चस्तरीय निरिक्षण समितिको सदस्य वनाएर अर्को चर्तिकाला देखाईदिन नि हुने...यस्तो नि हुने त्यस्तो नि हुने....यस्तै कुरा गर्ने हो भने त लामै सुची वन्ला भन्ने डर । जेहोस् राष्ट्र र जनतालाई जोताएर आफ्नै स्वार्थको वाली रोप्ने काम कसरी हुँदैछ यि जनप्रतिनिधिहरूवाट, सवैसामु उधाङ्ग छ । हामी राजनितिको अराजक र नाङ्गो नाच हेर्न विवश छौँ । विष्णुलालको आँशु मलाई बिझ्ला तपाईँलाई विझ्ला तर यिनलाई विझ्दैन ।

संविधानसभाको म्याद सकिने दिन झन् झन् नजिकिदै छ । समयमा संविधान जारी हुन नसके देशमा राजनीतिक गतिरोध आउने प्राय निस्चितै छ । हामी सोचेभन्दा धेरै ठुलो राजनीतिक संकटमा पर्नेर्छौँ । तर सरकार वनाउने र गिराउने झिँगे खेलवाट राजनिति माथि उठ्न सकेको छैन । मुल मुद्दाहरू ओझेलमा परेका छन् । आफ्नै पहिचान खोज्न हम्मे हम्मे परेको छ जनतालाई । वर्षौँदेखि हाडछाला जोतेको आफ्नै ठाउँमा आफैँ विरानो भईएको छ । देशै विरानो लाग्ने यो कस्तो परिवर्तन ल्यायौँ हामीले ? म सोच्ने गर्छु बेलावेला । के दलिय स्वार्थ नै सवैथोक हो ? म माओवादी समर्थक भन्दैमा उसले गरेका सवै कामको आँखा चिम्लेर समर्थन गर्नै पर्ने केही छ ? एमाले समर्थक भन्दैमा माधव नेपालले गरेका झिँगे निर्णय र नियुक्तिहरूमा ताली वजाएर खुसी हुनैपर्छ भन्ने केही छ ? अथवा कांग्रेस हुँ भनेर गिरिजा र उनकी छोरीको हरहालतमा जयजयकार गर्नुपर्ने केही छ ? म तपाईँ पाठकको जवाफको पर्खाईमा छु । आफ्नै विचार भन्ने हो भने त मलाई आफु कुनै दल विशेषको मान्छे हुँ भनेर भित्रैबाट भन्नै मन लाग्दैन । दलिय स्वार्थ भन्दा धेरै माथि के राष्ट्रिय स्वार्थ छैन र? अनि यो स्वार्थ पुर्तीका लागि कुनै दलविशेषकै हनुमान हुनैपर्छ भन्ने केहि छ ? आफ्नो पार्टीको सरकार आए जागिरमा नियुक्ति हुने, पधोन्नति हुने तर स्वतन्त्र विचार राख्ने र कुनै दल विशेषलाई समर्थन नगर्ने चाहिँ सधैँ जहाँको त्यहिँ । यै परिपाटीले गाँजेको छ राष्ट्रलाई । अनि हामी वाध्य छौँ आफुलाई कुनै फलानोको हनुमान वनाउन र आँखा चिम्लिएर ताली वजाउन । बिडम्वनाका साथ भन्नुपर्छ, म पनि बाध्य छु । म एमालेलाई समर्थन गरूँला तर साँच्चै गगन थापा मेरो क्षेत्रबाट उठेभने म कांग्रेसलाई भोट हाल्नेछु, भाषणमा ठुला ठुला कुरा गर्ने माओवादीले साँच्चै राष्ट्रलाई अग्रगामी दिशा दिन सके गोलाकार भित्रको हँसिया हतौडालाई भोट हाल्नेछु अथवा केहि मन नपरे त्यतिकै तटस्थ बस्नेछु । यो आत्म निर्णयको अधिकार कहिले व्यवहारका उतार्ने होला हामीले? कहिले दलिय स्वार्थसँग आफ्नो स्वार्थ पनि मिसाउने होला हामीले ? म त्यो दिनको व्यग्र प्रतिक्षामा छु ।

आज जुन राजनितिक अन्यौलको परिस्थितिमा हामी उभिएका छौँ त्यसले मुलुक र जनतालाई प्रतिगमनको बाटोतर्फ धकेल्ने सिवाय अरू केहि गर्न सक्दैन । हामी देशमा शान्ति, स्थायित्व, राजनितिक गतिरोधको अन्त्य र गणतन्त्रलाई पुर्ण संस्थागन गरिएको हेर्न चाहन्छौँ । ति सहिदका आँशुको मुल्यलाई सस्तो नठानौ । विष्णुलालहरू आफु घाईते बनेर सरकारले तला थपिदिने र मासिक १० हजार भत्ता दिने आस्वासनमा ६२-६३ को जनसागरमा मिसिएका थिएनन् । मिसिएका थिए त केवल एउटा सपना वुनेर.....नयाँ नेपालको सपना वुनेर । म लाचार छु । मात्र धम्की दिन सक्छु सहिदको आँशुले पिरोल्छ भनेर । तर सके त्यो आँशुले मलाई पिरोल्ला तर ति ६०१ का अगुवाहरूलाई पिरोल्दैन । अलविदा शहिद विष्णुलाललाई । म हिम्मत हार्दिन । तिमीले देखेको सपना हामीले देखेको सपना एकदिन अवस्य पुरा हुनेछ ।

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम