Twitter

Friday, February 19, 2010

मेरो प्रिय मान्छे


मेरो प्रिय मान्छे !!!
म के भनेर संम्बोधन गरु तिमीलाइ
राम्रो भनौ कि नराम्रो
राजा भनौ कि राजु
जे भनेपनि नपुग नपुगजस्तो लाग्न थाल्यो
खै किन हो अचेल
तिमी हिडने बाटो पनि आफनैजस्तो लाग्न थाल्यो ।

थाहा छैन
तिमीले मलाइ आखांभित्र अटाएका छौ
कि आंखाबाट हटाएका छौ
जम्काभेटमा खिचेका तस्बीरहरु
मेरा आंखाबाट ओर्लिएर तिमीसम्म आउन खोजिरहेछन
सजाएर राखेका खुशीहरु
मेरा ओठबाट फुस्किएर तिम्रो अगाडी मुस्कुराउन खोजिरहेछन ।

बशन्तमापनि खडेरी परेको मन सम्हाल्न गाह्रो हुदोरहेछ
बाढी, पहिरो र झरी संझदा झन साह्रो हुदोरहेछ
तर अझै केही आशाहरु वांकी छन
हरेक वर्षको अन्त्यमा मनका तालहरु भर्ने गर्छु
तिनै तालको निलो पानीमा तिम्रा तस्बीरहरु हेर्ने गर्छु ।

खोइ म कसरी भनौ
म तिमीलाइ स्वीकार छु कि अस्वीकार
बहिस्कार छु कि तिरस्कार
नहुनुका पिडाहरु शब्दमा उनिएर
चिठठी भएर तिमीसम्म आउन खोजिरहेछन
कृपया मलाइ बाटो बताइदिन सक्छौ कि?

Monday, February 08, 2010

“भगवान श्री कृष्ण कन्हैया कि !!!”

सधैँ बिहान ६ बजेतिर उठ्ने शुशिला भाऊजु आज बिहान पाँचै बजे उठेर गाईलाई खोले पकाउन थाल्नुभयो । बस्नेतनी माइलीभाउजु पनि बुहारी नईन्तालाई चाँडो चाँडो घरको काम गर्न आग्रह गर्दै हुनुहुन्थ्यो । ईटहरीबाट बिजय र रमा गुरागाईँ छिट्टै काम सकेर रातो YBX मोटरसाइकलमा चढेर तीनपैनीतिर लागे । केटाकेटीहरू आज स्कुल नजाने भन्दै थिए । एकैछिनमा सबैजना भेला भए पुरूषोत्तम गुरागाईँको घरमा । सक्नेजति, पुग्नेजति सबैजना महेन्द्र राजमार्गभन्दा ३ किलोमिटर उत्तर मोरङ्ग जिल्ला, सुन्दरपुर-६, तिनपैनीमा भेला भए । गुरागाईँ र भुपु गुरागाईँहरू ।


बिहान साढे साततिर ‘गणेश भक्ति’को भजन गाउँदै धरानबाट बोलाइनुभएका लुईँटेल गुरूले साताव्यापी श्रीमद् भागवत् महापुराणको शुरूवात गर्दा सबैजना ताली बजाउँदै धुनमा स्वर थप्न मस्त थिए । भजन सकियो । अब बुहारीहरू र छोरीमान्छे ठूलाठूला भाँडामा सुख्खा रोटी बनाउनलाई पीठो मुछ्न थाले भने फुर्सदमा हुनेहरू, गुरागाईँका छोरापार्टी र छोरीपार्टी श्रीमद् भागवत् महापुराण श्रवणका लागि बसे ।

“भगवान श्री कृष्ण कन्हैया कि !!!”
“जय !”
मञ्चबाट गुरूले नारा लाउँदा भक्तजन सबै ‘जय’ भन्थे । आन्दोलनमा जिन्दाबाद र मुर्दाबाद भनेजस्तो ।
संस्कृतमा लेखिएका अध्यायहरू भटाभटी पढ्न थाल्नुभयो लुईँटेल गुरू । २-३ वटा अध्यायपश्चात् त्यसको नेपाली रूपान्तरण भन्दा चैँ रमाईलो हुन्थ्यो सुन्नलाई । ‘तारे जमिन पर’ फिल्ममा ‘letters are dancing’ भन्थ्यो, त्यस्तै लाग्ने संस्कृत श्लोक चैँ ।

“हल्ला नगर न !” छेऊमा बसेकी आस्थालाई मैले भनेँ ।
“तपाईँले संस्कृत पढ्नुभा’को छ र ? के बुझिन्छ र सुनेर बस्नु त ? लु भन्नु ! आयुश्मानेपिण्डे भनेको के हो ?” स्वादले जवाफ फर्काई मलाई । त्यो आयुश्मानेपिण्डे भन्ने शब्द छ कि छैन पनि थाहा छैन मलाई । उसले भनेको कुरा पनि ठिकै हो....तर हल्ला पनि त गर्नुभएन नि । भन्ने मान्छेले श्रोतामा रूचि जगाउन नसक्दा खासै मजा पनि हुँदो रहेनछ यो पुराण सुन्नलाई । पण्डित दीनबन्धु पोखरेल भनेपछि चैँ मरिहेर्छन् मान्छेहरू, जुरूक् जुरूक् उचाल्छन् रे भक्तजनहरूलाई नाच्न, गाउन, दान दिनलाई । यो पुराण सुनेपछि उनको चैँ एकपटक सुनौँजस्तो लाग्यो ।

“अब राजालाई श्राप दिने रिषि राजदरबारमा आउँदा राजाले बडो सत्कार गरे उनलाई । उनलाई दरबारमै राखेर मिठो मिठो फलफूल जस्तै स्याऊ, मेवाहरू खान दिए राजाले । अब तिनै रिषिजस्तै हामी पनि मिठो मिठो भोजन गरौँ अनि फेरि बाँकि अध्यायहरू श्रवण गर्नतर्फ लागौँला ।“ लुईँटेल गुरूले मध्यान्ह भएको घोषणा गरे है अब । पुराण लगाउने गुरागाईँ खलकले चैँ सुख्खा रोटी खानुपर्छ रे त्यो पनि चोखो तरकारीसँग । रोटी बेल्दै र पकाउँदै गरेका करिब एक दर्जन छोरीबुहारीले दुई दर्जनभन्दा धेरै गुरागाईँ परिवार र अन्य उपस्थितलाई रोटी बाँड्न थाले । यो खानेबेला भने बडा मजा लाग्यो मलाई ।
घरका बुहारीहरू नआइकन त्यहाँ खुवाउन नपुग्ने । बुहारी आएपछि घरमा खाना पकाउने कोहीपनि नहुने । त्यहि भएर सबै वरिपरिका गाउँका मान्छेलाई पनि पुराण लगाउनेले नै खुवाउनुपर्ने भयो । घरकी महिला आएपछि उनको श्रीमानले पनि त्यहिँ खानुपर्योम । छोराछोरीले पनि त्यहिँ खानुपर्योु । यो चाहिँ बडा रमाईलो लाग्यो मलाई । बिहानदेखि भोकै बसेकाले छिटो खान पाऊन् भनेर अलि ढिलोढिलै गरि पसेको त रोटी सकिईहालेछ । चिउरामा फेला परेँ म चैँ । बिहान घरबाटै भात बजाएर गएकाले अलिअलि चिउरा खाएर उठेँ ।

एकघन्टाजति विश्रामपछि गुरूले फेरि नयाँ अध्यायबाट पुराण शुरू गर्नुभयो । म चैँ माथि चढेर एक निन्द्रा सुतेर उठ्ने भाको त खाना खाने बेला भइसकेछ । दिउँसोभरि पुराण भन्नेले भनिरहनुभयो, सुन्नेले सुनिरहे । भन्नेमान्छे फेरिएनन् सुन्ने मान्छे फेरिए होलान् त्यति हो । खाना खइसकेपछि भजन गाएर बस्ने रमाईलो प्रचलन रहेछ । भजन गाउनकै लागि भनेर सुन्दरपुर-८ को भजन टोली चारवटा मोटरसाइकलमा हुइँकिँदै पुग्यो बेलुका ७ बजेतिर । हार्मोनियम, तबला, मादल, छ्याङ् छ्याङ् गर्ने बाजा लिएर पुगेका टोलीमा बालकृष्ण सिग्देल, नारायण घिमिरे, नघु सिग्देल, यमनाथ सिग्देल, कृष्ण गुरागाईँ, भावना पौडेल आदि थिए ।

‘भगवान श्री रामचन्द्रकि !!!’
‘जय !’
यसरी नै शुरू गरे बालकृष्ण सिग्देलले भजन गाउन पनि ।
‘माटाको खेलौना माटैमा मिल्ने भो ! माटाको खेलौना माटामै मिल्ने भो !’
शुरूवाती यो भजनसँग उमेर छिप्पिएका आमा बुवा अलि चाख मानेर सुन्न थाल्नुभयो ।

‘हाम्रो घरमा आऊ है कन्हैया, हाम्रो घरमा आऊ है कन्हैया, हामी जानै दिँदैनौँ ‘
भावना पौडेल छमछम नाच्न थाल्नुभयो कन्हैयालाई बोलाउनलाई । साथमा योजना गुरागाईँ, अञ्जु गुरागाईँ पनि उठेर कम्मर मर्काउन थाले ।
यस्तै गर्दागर्दै भजन टोलीले जुरूक् जुरूक् उचाल्यो सबैलाई नाच्नलाई ।
‘वर्षौँदेखि थसुल्लिएको जीऊ अलि हलुका भयो । ओहो ! गलेर भुतुक्क भईयो ।‘ गीता खनाल भन्दैथिइन् ।

यसो गर्दागर्दै रातीको दस बजेछ । सप्ताह पुराण हो । फेरि भोलिदेखि सबैले बिहानै उठेर काम थाल्नुपर्छ आफ्नो आफ्नो । भन्ने काम, सुन्ने काम, पकाउने काम, खाने काम सबै । सुतौँ है अब भन्ने कुरा आयो । भोलिपल्ट पनि भजन टोलीलाई आउन निम्ता दिँदै पुराण लगाउने मुख्य व्यक्ति मेरा मामा पुरूषोत्तम गुरागाईँले उनीहरूलाई आजका लागि बिदाइ गर्नुभयो । यसरी नै श्रीमद् भागवत महापुराणको पहिलो दिनको समाप्ती भयो । अब यसैगरि बाँकि ६ दिन पनि बित्नेछन् ।

पितृलाई उद्धार गर्न भनेर लगाइने यस्ता पुराणहरूले साँच्चै उद्धार गर्लान् त पितृको ? हुन त मनको सन्तोष हो, साँच्चै हुन्छ कि हूँदैन त के जान्नु ! आफ्नो परेपछि थाहा पाईन्छ कि ? त्यहाँ उपस्थित सबैजना यसै भन्दै थिए । नेपाली समाजमा बडो अचम्मको प्रचलन छ । बाँचुञ्जेल कसैले राम्रो नभन्ने अनि मरेपछि मिष्ठभाषी, सहयोगी, मिलनसार भन्दै हिँड्ने । यस्तै धेरै घरहरूमा हामीले देखेका छौँ, घरका बुढाबुढिलाई हेलाको दृष्टिकोणले हेरेर अझ वृद्धाश्रममै लगेर राखीदिने पनि गर्छन् छोराबुहारीहरू । अनि उनीहरू नै पितृको उद्धार गर्न भनेर मरेपछि लाग्छन् । गुरागाईँ परिवारको यो पुराण पनि पितृकै उद्धारका लागि लगाइएको थियो । तर उहाँहरूले बाँचुञ्जेल पनि एकदमै राम्रो गरेर राख्नुभएको थियो हजुरबुवा धरणीधर गुरागाईँलाई । यसकारण मैले गरेको पितृउद्धारको कुरा गुरागाईँपरिवारजस्तै बाँचुञ्जेल पनि घरका बुढाबुढिको स्याहार गर्नेका लागि होइन । वृद्धाश्रममा लगेर थन्काइदिने घरका ज्योति मानिने हजुरबुवा हजुरआमाको परिवाका लागि हो ।

बाँचुञ्जेल हेलाको दृष्टिले हेरेर मरेपछि उद्धार गर्दा उद्धार होला त पितृको ? कि बाँचुञ्जेल बुढाबुढिको इच्छाअनुसार गरिदिने, मानसम्मान गर्ने, राम्रो खान-लाउन दिने, आफूसँगै राख्ने गर्दा उद्धार हुन्छ पितृको ? जसले बुढाबुढिलाई बाँचुञ्जेल हेला गरेर मरेपछि उद्धार गर्न लाग्छन् उनीहरूले पितृको उद्धार नभई आफ्नो पाप पखालिन्छ कि भनेर गरेको ढोङ्ग हो । तर बाँचुञ्जेल पनि सम्मान गर्ने अनि बितिसकेपछि पनि उद्धार गर्ने गुरागाईँ परिवारको यो महान् कार्यले उहाँहरूप्रति नतमस्कत छौँ हामी सुन्दरपुरवासी ।

Tuesday, February 02, 2010

'पाँच रूपैयाँ दिन्छ ?'


‘मालिक ! नमस्कार !’
मलाई अथवा मजस्ता जोहोकिलाई पनि देख्नेबित्तिकै यसो भन्छ उसले। एकछिन आँखा ठूला पारेर अनुहार हेर्छ अनि सरासर आफ्नै बाटो लाग्छ ।
‘म बजिया हो । म साले हो । म कुकुर हो ।‘
डुङ्ङ रक्सी गन्हाउँदै हाम्रो घरमा आइपुगेछ । ‘कसरी तिमी बजियो हो र?’ मेलै सोधेँ ।
‘मेरो बुढि मलाई त्यसै भन्छ ।‘ अनि हाँसेजस्तो गर्छ । फ्वाँ फ्वाँ श्वास फेर्छ । तर रिसाएको होइन । यसै गर्छ सधैँ ।

मैले आजसम्म यो मान्छेलाई सामान्य रूपमा देखेको छैन । यति धेरै रक्सी खान्छ कि रक्सी नखाएको बेलामा समेत झ्याप हुनेगर्छ । रक्सी खाएको हो कि होइन कहिल्यै पनि थाहा हुँदैन । खाएपनि, नखाएपनि सधैँ मातिरहन्छ, सधैँ गन्हाइरहन्छ । अचम्मको मान्छे !
‘अस्ति छोरीको बिहे हुँदा ३ दिन चैँ मातेन ।‘ मेरी हजुरआमाले भन्नुभयो ।
‘तपाईँ थाहा पाउनुहुन्छ त्यसले खा’को र नखा’को ?’
‘होइन, त्यसकि बुढीले भनेकी ।‘
अचम्म लागेन । कसैलाई पनि थाहा हुँदैन । उसकि बुढिलाई मात्रै थाहा हुन्छ त्यो पनि पसलेले भनेर । सुँघेर र व्यवहार हेरेर त उसले पनि थाहा पाउँदिन ।

पहिला रिक्सा कुदाउँथ्यो । इटहरी चोकभन्दा २ किलोमिटर पूर्व रहेको बाँसबारीबाट इटहरी चोकसम्म । गाउँलेले भन्दा, माथि चारकोसे झाडिसम्म पुगेर रिक्सामा दाउरा बोकिदिन्थ्यो । त्यतिबेला पनि खान्थ्यो । तर कहिल्यै पनि दुर्घटना गराएन । दसकसम्म महेन्द्र राजमार्गमा ‘झ्याप’ भएर रिक्सा कुदायो तर ऊसँगजस्तो सुरक्षित अरू कसैसँग पनि अनुभव गरेनन् बाँसबारीवासीले । पाँच रूपैयाँ उसको रेट हो जे गरेपनि । पाँच रूपैयाँमा एक ग्लास आउँछ ।

मान्छे बोक्दाबोक्दै उसको रिक्सा 'मालगाडि' भयो । जोकोहिले पनि जङ्गल पुर्या।उन थाले दाउरा बोकाउन । गाउँका भुस ओसार्न थाल्यो मान्छेलाई छोडेर । ऊ जसरी उभिन्थ्यो उसको रिक्सा पनि त्यसरी नै उभिन थाल्यो । कतिबेला पछाडि जान्छ र कतिबेला अगाडि आउँछ थाहै नहुनेगरि । मालिकले रिक्सा लग्यो र उसको दसकौँ लामो ड्राइभिङ् पेशा सङ्कटमा पर्यो ।
दिवा गाडिमा काठमाण्डौ जाँदा बिहान पाँचै बजे इटहरी पुग्नुपर्थ्यो झोलीतुम्बा बोकेर । इटहरीसम्म पुग्नलाई समस्या ।
‘बिहान ४ बजे आऊ है कोलिया ।‘ गाउँलेको आग्रहलाई कहिल्यै नाइँ भन्दैनथ्यो ।
हजुर उसको नाम 'कोलिया' नै हो । त्यसको अर्थ के हो मैले बुझेको छैन । थारू समुदायको मान्छे, उसैको भाषामा राखेको होला नाम । कोलियाको ड्राइभिङ् पेशा सङ्कटमा परेपछि दिवासेवाबाट काठमाण्डौ जाने बाँसवारीवासीलाई निकै अप्ठ्यारो पर्ने गरेको छ बिहान ईटहरीसम्म पुग्नलाई ।

“मरगेले हम् । मरगेले हम् । कथि करिछे रे !!! ओँकरा छोड्दे !!”
घरअगाडिको सानो खोलाबाट त्यहि कोलिया कराउँदै थियो । दारू खाएर झरेछ कि क्या हो भनेर हेर्न गाको त उसकी बुढिले पानीमा चोब्दै चप्पलै चप्पलले बजाउँदै रै’छे । बरा ! साह्रै भयो होला उसलाई पनि । सहनेसम्म त सहेकै थिई । आज सहनशीलताको बाँध फुटेछ क्यारे, मैले सोचेँ । लगभग आधा घण्टा लछारपछार पारि । अलि माथि उनीहरूकै घरको ट्वाइलटे जोडेका छन् त्यो खोलामा । तलपट्टी त्यहि खोलामा बुढाबुढि लडिबुडि गर्दैछन् । जय यिनीहरूको जुनी !! सोच्दै सोच्दै घर फर्किएँ । पानी फोहोर हुन्छ, ट्वाइलेट जोड्नु हुँदैन खोलामा भन्दा टेर्दैनन् । त्यहि पानीले मुख धुन्छन्, कुल्ला गर्छन्, भाँडा माझ्छन्, लुगा धुन्छन्, जुँगा धुन्छन्, पकाएर खान्छन् र खाएपछि पनि त्यसैमा आउने गरि व्यवस्था गरेका छन् । भनेको लाग्दैन ।

कोहिकोहि थारू समुदायका मान्छे त बुझ्झकि, राम्रा पनि छन् । हाम्रो वडाको पहिलाको वडाध्यक्ष पनि थारू समुदायकै मान्छे हो । बाहुन, क्षेत्री नभएका होइनन् । तर ऊ नै एकदम ठिक मान्छे थियो । वडाध्यक्ष हुँदा उसले पनि धेरै सम्झायो आफ्नो समुदायको मान्छेहरूलाई । अलिअलि पढेका, बुद्धि भएकाले टेरे । अरू जहाँको त्यहिँ ।

‘एक बोरा घाँस काटिदेऊ न कोलिया ।‘
घरअगाडि लर्बरिँदै गर्दा मम्मीले भन्नुभयो । रिक्सा साहुले लगेपछि बेरोजगार छ कोलिया । कहिले कसको हलो जोत्छ, कहिले कसको धान दाउनी गर्दै हुन्छ ।
‘पाँच रूपैयाँ दिन्छ ?’ यता फर्केर प्रश्न गर्छ ऊ ।
सहमति जनाएपछि प्लाष्टिकको बोरा र हँसिया लिएर खेततिर लड्खडाउँदै लाग्छ । जति दारू खाएपनि पाँच रूपैयाँ र पाँच रूपैयाँका लागि गरेको कामलाई कहिल्यै पनि हल्का रूपमा लिँदैन । पैसा दिनेलाई खुसी नै पार्छ कामले । यो उसको अनौठो विशेषता हो । तर योबाहेक घरपरिवार, अन्य कुरा उसलाई केहि पनि मतलब हुँदैन कहिल्यै । झ्याप भन्ने कि नभन्ने, दोधारमै परिन्छ कहिलेकाहिँ त ।

हिजो के भयो, कहाँ थिएँ, के गर्थेँ केहि थाहा हुँदैन कोलियालाई । रिक्सा कुदाउँथेँ भनेर पनि बिर्सिसक्यो । तर चढ्नेले बिर्सेका छैनन् । बुढिले कुटेको पनि बिर्सिसक्यो । हिजोका कुरा सबै बिर्सिन्छ ऊ । भोलि के हुन्छ पनि थाहा हुँदैन उसलाई । आज पैसा बचाएर भोलि सुखद् हुन्छ भन्ने कुरा कहिल्यै सोच्छ जस्तो लाग्दैन । छोराछोरीले के खालान् भोलिपल्ट, श्रीमतिको पेट के गरि पाल्नु हो, यी सबै कुरा उसको दैनिकिभन्दा टाढा पर्छन् । कोलियालाई मतलब छ त सिर्फ आजको । अहिलेको । अहिले दारू खाने पाँच रूपैयाँ कसरी जुटाउने ! सधैँ यसरी नै वर्तमानमा बाँच्छ ऊ ।

हरबखत टोलाइरहने केदारजीको बारेमा पढ्दा हामी सबैले वर्तमानमा बाँच्न नसकेको पीडा व्यक्त गर्यौँ अघिल्लो पोष्टमा । वर्तमानमा बाँच्ने सोख हुँदाहुँदै भुत र भविष्यमा अल्झेको आफ्नो वास्तविकतालाई केलायौँ । कोलियाले पाँच रूपैयाँको रक्सीको लागि सोच्ला, त्यसको सट्टा हामीले राम्रै खानाको बारेमा सोच्लाउँ, दालभातको बारेमा सोच्लाउँ, पिज्जाबर्गरको बारेमा सोच्लाउँ, यत्ति होइन त ? वर्तमानमा हामी बाँच्न खोज्दा कोलिया र हामीमा के फरक भयो खानेकुराको प्रकारबाहेक ? वर्तमानमा बाँच्दा मनोरञ्जन गर्ने एउटा स्रोतमा हराइरहन्छौँ । कोलियालाई दारू खानु नै मनोरञ्जनको साधन लाग्यो र खायो । हामीलेई पनि त्यस्तै एउटा साधन चाहिने त हो ।

मलाई लागेको कुरा चैँ हामीलाई वर्तमानमा बाँच्न नसकेकोमा पीडाबोध त छ तर वर्तमानमा बाँच्ने निहुँमा मानवजीवननै सार्थक नहुने हो कि भन्ने भयले पनि सँगसँगै सताउनेगर्छ । अनि सबै कुराको अनुभव गर्न र सबै प्रश्नका जवाफ पाउन त यो मानवजुनीनै पो निकै छोटो भएको हो कि !! एउटा हिन्दी गीतले ‘कन्फ्युजन हि कन्फ्युजन हे सोलुसनका पता नहिँ’ भन्थ्यो, साँच्चै यहि गीत गाउँदै पो जिन्दगीको अन्त्य हुन्छ कि क्या हो ? पीर लाग्न थाल्यो मलाई त !! यो जिन्दगी बाँच्ने कसरी हो ? जिन्दगीलाई उपलब्धिमुलक बनाउने कसरी हो ? आफूलाई मन लागेको कुरा गरेर हो कि समाजलाई चाहिएको कुरा गरेर ? भुत र भविष्यमा रूमल्लिएर हो कि वर्तमानमा ज्युनै निहुँमा क्षणिक स्वार्थ र मनोरञ्जनमा डुबेर ? प्रश्नैप्रश्नका ठेली उब्जिएका छन् । उत्तरको अपेक्षामा.....

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम