मलाई अथवा मजस्ता जोहोकिलाई पनि देख्नेबित्तिकै यसो भन्छ उसले। एकछिन आँखा ठूला पारेर अनुहार हेर्छ अनि सरासर आफ्नै बाटो लाग्छ ।
डुङ्ङ रक्सी गन्हाउँदै हाम्रो घरमा आइपुगेछ । ‘कसरी तिमी बजियो हो र?’ मेलै सोधेँ ।
‘मेरो बुढि मलाई त्यसै भन्छ ।‘ अनि हाँसेजस्तो गर्छ । फ्वाँ फ्वाँ श्वास फेर्छ । तर रिसाएको होइन । यसै गर्छ सधैँ ।
मैले आजसम्म यो मान्छेलाई सामान्य रूपमा देखेको छैन । यति धेरै रक्सी खान्छ कि रक्सी नखाएको बेलामा समेत झ्याप हुनेगर्छ । रक्सी खाएको हो कि होइन कहिल्यै पनि थाहा हुँदैन । खाएपनि, नखाएपनि सधैँ मातिरहन्छ, सधैँ गन्हाइरहन्छ । अचम्मको मान्छे !
‘अस्ति छोरीको बिहे हुँदा ३ दिन चैँ मातेन ।‘ मेरी हजुरआमाले भन्नुभयो ।
‘तपाईँ थाहा पाउनुहुन्छ त्यसले खा’को र नखा’को ?’
‘होइन, त्यसकि बुढीले भनेकी ।‘
अचम्म लागेन । कसैलाई पनि थाहा हुँदैन । उसकि बुढिलाई मात्रै थाहा हुन्छ त्यो पनि पसलेले भनेर । सुँघेर र व्यवहार हेरेर त उसले पनि थाहा पाउँदिन ।
पहिला रिक्सा कुदाउँथ्यो । इटहरी चोकभन्दा २ किलोमिटर पूर्व रहेको बाँसबारीबाट इटहरी चोकसम्म । गाउँलेले भन्दा, माथि चारकोसे झाडिसम्म पुगेर रिक्सामा दाउरा बोकिदिन्थ्यो । त्यतिबेला पनि खान्थ्यो । तर कहिल्यै पनि दुर्घटना गराएन । दसकसम्म महेन्द्र राजमार्गमा ‘झ्याप’ भएर रिक्सा कुदायो तर ऊसँगजस्तो सुरक्षित अरू कसैसँग पनि अनुभव गरेनन् बाँसबारीवासीले । पाँच रूपैयाँ उसको रेट हो जे गरेपनि । पाँच रूपैयाँमा एक ग्लास आउँछ ।
मान्छे बोक्दाबोक्दै उसको रिक्सा 'मालगाडि' भयो । जोकोहिले पनि जङ्गल पुर्या।उन थाले दाउरा बोकाउन । गाउँका भुस ओसार्न थाल्यो मान्छेलाई छोडेर । ऊ जसरी उभिन्थ्यो उसको रिक्सा पनि त्यसरी नै उभिन थाल्यो । कतिबेला पछाडि जान्छ र कतिबेला अगाडि आउँछ थाहै नहुनेगरि । मालिकले रिक्सा लग्यो र उसको दसकौँ लामो ड्राइभिङ् पेशा सङ्कटमा पर्यो ।
दिवा गाडिमा काठमाण्डौ जाँदा बिहान पाँचै बजे इटहरी पुग्नुपर्थ्यो झोलीतुम्बा बोकेर । इटहरीसम्म पुग्नलाई समस्या ।
‘बिहान ४ बजे आऊ है कोलिया ।‘ गाउँलेको आग्रहलाई कहिल्यै नाइँ भन्दैनथ्यो ।
हजुर उसको नाम 'कोलिया' नै हो । त्यसको अर्थ के हो मैले बुझेको छैन । थारू समुदायको मान्छे, उसैको भाषामा राखेको होला नाम । कोलियाको ड्राइभिङ् पेशा सङ्कटमा परेपछि दिवासेवाबाट काठमाण्डौ जाने बाँसवारीवासीलाई निकै अप्ठ्यारो पर्ने गरेको छ बिहान ईटहरीसम्म पुग्नलाई ।
“मरगेले हम् । मरगेले हम् । कथि करिछे रे !!! ओँकरा छोड्दे !!”
घरअगाडिको सानो खोलाबाट त्यहि कोलिया कराउँदै थियो । दारू खाएर झरेछ कि क्या हो भनेर हेर्न गाको त उसकी बुढिले पानीमा चोब्दै चप्पलै चप्पलले बजाउँदै रै’छे । बरा ! साह्रै भयो होला उसलाई पनि । सहनेसम्म त सहेकै थिई । आज सहनशीलताको बाँध फुटेछ क्यारे, मैले सोचेँ । लगभग आधा घण्टा लछारपछार पारि । अलि माथि उनीहरूकै घरको ट्वाइलटे जोडेका छन् त्यो खोलामा । तलपट्टी त्यहि खोलामा बुढाबुढि लडिबुडि गर्दैछन् । जय यिनीहरूको जुनी !! सोच्दै सोच्दै घर फर्किएँ । पानी फोहोर हुन्छ, ट्वाइलेट जोड्नु हुँदैन खोलामा भन्दा टेर्दैनन् । त्यहि पानीले मुख धुन्छन्, कुल्ला गर्छन्, भाँडा माझ्छन्, लुगा धुन्छन्, जुँगा धुन्छन्, पकाएर खान्छन् र खाएपछि पनि त्यसैमा आउने गरि व्यवस्था गरेका छन् । भनेको लाग्दैन ।
कोहिकोहि थारू समुदायका मान्छे त बुझ्झकि, राम्रा पनि छन् । हाम्रो वडाको पहिलाको वडाध्यक्ष पनि थारू समुदायकै मान्छे हो । बाहुन, क्षेत्री नभएका होइनन् । तर ऊ नै एकदम ठिक मान्छे थियो । वडाध्यक्ष हुँदा उसले पनि धेरै सम्झायो आफ्नो समुदायको मान्छेहरूलाई । अलिअलि पढेका, बुद्धि भएकाले टेरे । अरू जहाँको त्यहिँ ।
‘एक बोरा घाँस काटिदेऊ न कोलिया ।‘
घरअगाडि लर्बरिँदै गर्दा मम्मीले भन्नुभयो । रिक्सा साहुले लगेपछि बेरोजगार छ कोलिया । कहिले कसको हलो जोत्छ, कहिले कसको धान दाउनी गर्दै हुन्छ ।
‘पाँच रूपैयाँ दिन्छ ?’ यता फर्केर प्रश्न गर्छ ऊ ।
सहमति जनाएपछि प्लाष्टिकको बोरा र हँसिया लिएर खेततिर लड्खडाउँदै लाग्छ । जति दारू खाएपनि पाँच रूपैयाँ र पाँच रूपैयाँका लागि गरेको कामलाई कहिल्यै पनि हल्का रूपमा लिँदैन । पैसा दिनेलाई खुसी नै पार्छ कामले । यो उसको अनौठो विशेषता हो । तर योबाहेक घरपरिवार, अन्य कुरा उसलाई केहि पनि मतलब हुँदैन कहिल्यै । झ्याप भन्ने कि नभन्ने, दोधारमै परिन्छ कहिलेकाहिँ त ।
हिजो के भयो, कहाँ थिएँ, के गर्थेँ केहि थाहा हुँदैन कोलियालाई । रिक्सा कुदाउँथेँ भनेर पनि बिर्सिसक्यो । तर चढ्नेले बिर्सेका छैनन् । बुढिले कुटेको पनि बिर्सिसक्यो । हिजोका कुरा सबै बिर्सिन्छ ऊ । भोलि के हुन्छ पनि थाहा हुँदैन उसलाई । आज पैसा बचाएर भोलि सुखद् हुन्छ भन्ने कुरा कहिल्यै सोच्छ जस्तो लाग्दैन । छोराछोरीले के खालान् भोलिपल्ट, श्रीमतिको पेट के गरि पाल्नु हो, यी सबै कुरा उसको दैनिकिभन्दा टाढा पर्छन् । कोलियालाई मतलब छ त सिर्फ आजको । अहिलेको । अहिले दारू खाने पाँच रूपैयाँ कसरी जुटाउने ! सधैँ यसरी नै वर्तमानमा बाँच्छ ऊ ।
हरबखत टोलाइरहने केदारजीको बारेमा पढ्दा हामी सबैले वर्तमानमा बाँच्न नसकेको पीडा व्यक्त गर्यौँ अघिल्लो पोष्टमा । वर्तमानमा बाँच्ने सोख हुँदाहुँदै भुत र भविष्यमा अल्झेको आफ्नो वास्तविकतालाई केलायौँ । कोलियाले पाँच रूपैयाँको रक्सीको लागि सोच्ला, त्यसको सट्टा हामीले राम्रै खानाको बारेमा सोच्लाउँ, दालभातको बारेमा सोच्लाउँ, पिज्जाबर्गरको बारेमा सोच्लाउँ, यत्ति होइन त ? वर्तमानमा हामी बाँच्न खोज्दा कोलिया र हामीमा के फरक भयो खानेकुराको प्रकारबाहेक ? वर्तमानमा बाँच्दा मनोरञ्जन गर्ने एउटा स्रोतमा हराइरहन्छौँ । कोलियालाई दारू खानु नै मनोरञ्जनको साधन लाग्यो र खायो । हामीलेई पनि त्यस्तै एउटा साधन चाहिने त हो ।
मलाई लागेको कुरा चैँ हामीलाई वर्तमानमा बाँच्न नसकेकोमा पीडाबोध त छ तर वर्तमानमा बाँच्ने निहुँमा मानवजीवननै सार्थक नहुने हो कि भन्ने भयले पनि सँगसँगै सताउनेगर्छ । अनि सबै कुराको अनुभव गर्न र सबै प्रश्नका जवाफ पाउन त यो मानवजुनीनै पो निकै छोटो भएको हो कि !! एउटा हिन्दी गीतले ‘कन्फ्युजन हि कन्फ्युजन हे सोलुसनका पता नहिँ’ भन्थ्यो, साँच्चै यहि गीत गाउँदै पो जिन्दगीको अन्त्य हुन्छ कि क्या हो ? पीर लाग्न थाल्यो मलाई त !! यो जिन्दगी बाँच्ने कसरी हो ? जिन्दगीलाई उपलब्धिमुलक बनाउने कसरी हो ? आफूलाई मन लागेको कुरा गरेर हो कि समाजलाई चाहिएको कुरा गरेर ? भुत र भविष्यमा रूमल्लिएर हो कि वर्तमानमा ज्युनै निहुँमा क्षणिक स्वार्थ र मनोरञ्जनमा डुबेर ? प्रश्नैप्रश्नका ठेली उब्जिएका छन् । उत्तरको अपेक्षामा.....