Sunday, November 28, 2010

साइकलको ट्युबदेखि हिरोसिमासम्म..

अस्ति घरबाट अलिकति खर्च बोकेर हिँडेँ धुलिखेलतिर । काठमाण्डौ विश्वविद्यालयको फिस् तिरेर अलिकति पैसा बाँच्ने र'छ । यसो सोचेँ, चिसो पनि बढ्न थालो । लोकतन्त्रमा मान्छेलाई बोल्ने छुट भएझैँ जुत्ताको शोलले पनि बोल्ने मुखको विकास गरिसकेको थियो । एकजोर जुत्ता किन्नुपर्यो ।

प्रोजेक्टको सिलसिलामा टेकुको अपाचे मोटरसाइकलको सर्भिसिङ् सेन्टर गा'को थिएँ । धेरै कुरा हेरेँ, सिकेँ अनि नयाँनयाँ आविष्कारको बारेमा सोच्न पनि आयो । सबै सोचलाई थाती राख्दै जुत्ता किन्न हिँडेँ । यसो न्युरोडतिर जानुपर्यो भनेर । दशरथ रङ्गशालालाई दाहिने पार्दै "थोपा थोपा पानी बचाऊँ" भनेर खानेपानीको अफिसअगाडि लेखेका अक्षर पढ्दै पश्चिम तेर्सिएँ । काठमाण्डौ महानगरपालिकाको अफिस अगाडि आएपछि यसो चाइना टाउनतिर छिर्ने सोच आयो । धेरै भयो नगा'को..डुब्यो डुब्यो भन्छन्...एकपटक हेर्न जाऊँ न त भन्ने सोचले डोर्‍याएर पुर्‍यायो चाइना टाउन ।
"दिदी !! जुत्ताहरू हेरौँ न !" टेबलमा केहि लेखिराखेकी पसलमा बसेकी महिलालाई सोधेँ ।
"डिजाइन त्यहि हो, बाहिरबाट हेर्नुस् !" शोकेसतिर औँलो तेर्स्याई र फेरि लेख्न थाली ।
ग्राहकलाई नै नगन्ने यस्तो पसलमा के किन्नु !!! यस्तै सोचेर हिँडेँ ।
"यसको चैँ कति ?" अर्को पसलमा सोधेँ एउटा जुत्ता ठिकै लागेर ।
"अठ्ठाइस सय पचास ! मिलाइदिन्छु नि !" भनी ।
धत् !! चाइना टाउनमा पनि त्यत्रो पैसा हाल्छ कसैले !! फेरि सोचेर कुलेलाम ठोकेँ त्यहाँबाट ।

निस्किनै लागेको थिएँ, एउटा पसलमा अलि राम्रो देखेँ । भित्र छिरेको मात्रै के थिएँ, एकजना सानी सानी कदकी महिला कुद्दै आइपुगिन् । 
"यो जुत्ताको कति ?" मैले सोधेँ ।
"एक्काइस सय !! पख्नु है त म मिलाइदिन्छु !" बडो मस्किँदै, हाँस्दै भनी ।
उसको बोल्ने र प्रस्तुत हुने शैली नै यस्तो थियो कि भयो भनेर छोडेर हिँड्नै नसकिने !
" अठार सय दिनुस् न त !" क्यालकुलेटर थिचेजस्तो गरेर भनी ।
"पन्ध्र सयमात्रै छ । म त फिस तिर्न हिँडेको, पैसा छैन" भनेँ ।
"अलि पोसाउँदैन, लु सोह्र सय दिनुहोस् न त ।" फेरि हल्का मस्किँदै भनी ।
"मोजा पनि किन्नुहुन्छ ?" मलाई मस्किँदै मख्ख पार्दै फसाउन खोजिहाली ।
नाइँ भन्नै सकिनँ र एकसयको मोजा पनि थपेँ । अन्तिममा एउटा उपहार कुपनमा फोन नम्बर लेख्न लगाई ।
"पुरस्कार पर्‍यो भने फोन गर्दिनु है !" 
"परेन भने पनि गरौँला नि के भयो र !" मस्किँदै भनी । मख्ख परेर हिँडेँ त्यहाँबाट । 

धरहराको फेद हुँदै खिचापोखरी छिरेर एउटा वायरलेस माउस किन्ने विचार पनि गरेको थिएँ । खासै काम त होइन, बेड टेबलमा सुतेर यसो ल्यापटप चलाउँदा सिरकभित्रै त्यो माउसलाई पनि हालेर चलाउन पाइन्छ भनेर हो । धुलिखेलमा अलि चिसो छ काठमाण्डौमा भन्दा । त्यहि भएर चिसोको ओखती खोजेको । २-३ थरि हेरेर एउटा किनेँ डेल्टा लेखेको । किनेर बाटोमा हिँड्दै गर्दा यति सोचेँ नि माउस चलाउने बारे ! सिरकभित्र पसेर चलाउँछु, फेरि भित्र हाल्दा राम्ररी नचल्ने पो हो कि ? आ...माउसले त्यो डिभाइसलाई देख्नै पर्दैन नि, रेञ्जमा परेपछि चल्छ भन्दै मन बुझाउँछु...बत्ती चैँ गा'को नहोस् है !!! जानेबित्तिकै चलाउनुपर्छ.....के के सोचेँ सोचेँ । सोचको गहिराइमा डुब्दाडुब्दै खुलामञ्चको छेऊबाट पुरानो बसपार्क आपइपुगिसकेको पत्तो नै पाइनछु ।

धुलिखेल !! धुलिखेल !!!
एउटा सानो भाइले बसको ढोकाछेऊमा ढक्ढक्याउँदै कराउँदै थियो । भित्र बसेँ । फेरि दिउँसो बस दक्षिण फर्केको हुन्छ बसपार्कबाट बाहिर निस्किन लागेको बेला, अनि घाम आफू छिर्दाछिर्दैको दाहिनेपट्टिको सिटमा लागेको हुन्छ । एकचोटि त्यसरी नै घाम नलागेको बेला देब्रेपट्टिको सिटमा बसेको बसपार्कबाट निस्किनेबित्तिकै बस पूर्व लागेपछि त्योपट्टि चैँ झलमल हुँदो रै'छ । चिसो बढेपनी आँखैमा घाम आ'को खप्न सकिँदैन । त्यहि दिन सम्झेर दाहिनेपट्टि बसेँ । बस कुद्यो घाम अर्कापट्टि लागो, म मख्ख परेर बसिराखेँ । अगाडिको सिटमा एउटा मान्छे आएर झ्याल पुरै खोलो उसको पट्टि । मेरोपट्टि ड्याम्म लगाएर । यसो विस्तारै ठेलेँ आधासम्म पुर्‍याएँ । अनि थाहा नपाउने गरि ठेल्दै ठेल्दै गरिराखेँ । त्यो दिन अलि गर्मी नै थियो काठमाण्डौ । मेरो मनमा त्यतिखेर अलिकति भएपनि बढि झ्याल खोलिहालौँ भन्नेबाहेक केहि थिएन ।

तस्वीर स्रोत : यहाँ छ
एकछिन त्यसैगरेपछि झ्वाट्ट दिमागमा एउटा कुरा खेल्यो । साँच्ची हाम्रो 'सोच'को सीमा कत्रो छ है !! अघिसम्म अपाचीको शोरूममा हुँदा बाइकमा मोडिफिकेसन गरेर निकाल्ने सोच्दै थिएँ, एकछिनमा जुत्ता किन्दा झण्डै लभ परो (हुन त त्यसैले गर्दा मुर्गा भइयो जुत्ता किन्दा), वायरलेस माउस किन्दा प्रविधिको विकासको बारेमा सोचेँ र अहिले झ्याल थाहा नपाउने गरि ठेलेर अलिकति धेरै हावा खान पाइन्छ कि भन्ने सोचमा । बिचबिचमा अरू कुराहरु पनि आए, कुनै राम्रो गाडि देख्दा म पनि पछि यस्तै किन्छु ; नराम्रो देख्दा, के किनेका होलान् मान्छेले यस्तो ! राम्री केटी देखो भने कस्तो कस्तो सोच !! कतिथोक सोचियो सोचियो एकैछिनमा टेकुबाट गाडि चढ्दासम्म । बाइकको सिस्टममा मोडिफिकेसन ल्याउनेदेखि झ्याल अलिकति ठेल्ने सम्म !! बाह्र क्लासमा नेपाली पढ्दा एउटा निबन्धमा "बाहुन बाजेले साइकलको ट्यव पड्केदेखि हिरोसिमामा बम पड्केसम्मका कुरा गर्छन्" भनेर लेखिएको थियो ।...............ती बाजेले सोचेर भन्दा रहेछन्...हामी सोच्दा मात्र रहेछौँ, भन्दा रहेनछौँ...फरक त्यति लागो आफू र ती बाहुनबाजेसँग । हामी के चैँ सोच्न सक्दैनौँ ? यहि सोच्दैछु अहिले....

Friday, November 12, 2010

अखिल सम्मेलनको चहलपहल

नेकमा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बीसौँ राष्ट्रिय सम्मेलन भर्खरै जनकपुरमा सम्पन्न भयो । एमालेका अध्यक्षनिकट मानिने तत्कालीन् अध्यक्ष रामकुमारी झाँक्रीको समर्थनमा निवर्तमान उपाध्यक्ष शोभियत ढकाल र नेता केपी ओलीको समर्थनमा निवर्तमान महासचिव माधव ढुङ्गेल अध्यक्षका प्रत्याशी थिए । काठमाण्डौ विश्वविद्यालयबाट प्रतिनिधि भएर जनकपुर पुग्दा देखिएको स्थितिलाई मोबाइलबाट कैद गरेको थिएँ ।

Photo0292

भित्तामा रङ्गाइएको बीसौँ राष्ट्रिय सम्मेलन ।Photo0237

युवा संघद्वारा निर्मित स्वागत द्वार । सिङ्गो जनकपुर नै स्वागत द्वारले भरिभराऊ रहेको थियो ।

Photo0255 उद्घाटन समारोह ।

Photo0253गण्डकीबाट आएका प्रतिनिधि ।

Photo0294

खानाको लाइन ।

Photo0341

अध्यक्षका प्रत्याशी माधव ढुङ्गेललाई काँधमा बोकेर जुलुस लगाउँदै प्रतिनिधिहरू ।

Photo0351

कोषाध्यक्षका प्रत्याशी दीपक गौतमको जुलुस ।

Photo0364

केन्द्रीय सदस्यकालागि उम्मेद्वारी फर्म लिन लाइन लागेका प्रतिनिधिहरू । ठुला ठुला पदका प्रत्याशीले चैँ सुटुक्क उम्मेद्वारी फर्म लिइहाले ।

Photo0332

Photo0336

उम्मेद्वारहरूले प्रचारका लागि यस्ता पम्प्लेटहरू बनाएका थिए ।

Photo0377

सम्मेलनस्थल जनकपुर चुरोट कारखाना लिमिटेडको चौरमा उम्मेद्वारहरूको पर्चा पम्प्लेट छरपस्ट अवस्थामा । एउटा सामान्य फोटोकपि पसलेले पनि दिनको पचास हजार कमायो भनेर हल्ला गर्थे सम्मेलन अवधिभरि । साथै जनकपुरका प्रिन्टिङ् प्रेसहरू कुनैपनि फुर्सदमा थिएनन् ।

Photo0379

मतदानका लागि लामवद्ध प्रतिनिधिहरू । चौधवटा अञ्चलकमिटीको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको थियो ।

व्यापक कुटाकुट र हात हालाहाल भयो भन्ने समाचार मिडियामा आएपनि तेश्रो दिन १० मिनेट अलिकति स्थिति तनावग्रस्त भएको थियो । जुलुसमा कुद्दा एकजना प्रतिनिधिको लडेर खुट्टा भाँचिएको थियो तर कुटपिट र हात हालाहाल भएको थिएन ।Photo0326

र अन्तिममा, बन्दसत्रमा म…………..

 

जनकपुरमा भोट गन्दा स्थिति तनावग्रस्त होला भन्ने डरले भोटको गणना काठमाण्डौमा ल्याएर गरिएको थियो । जसअनुसार अध्यक्ष पदमा माधव ढुङ्गेल विजयी हुनुभयो । ढुंगेलले नौ सय अन्ठाउन्न मत प्राप्त गर्नुभयो भने ढकालले नौ सय एघार मत प्राप्त गर्नुभयो। यसैगरी उपाध्यक्षहरुमा नवराज पौडेल, भीम राई, लक्ष्मण लम्साल, सुधीर शाह र नवीना लामा विजयी भएका छन्। महासचिवमा किशोर विक्रम मल्ल, सचिवहरुमा रचना खड्का बच्चन सिंह र सरोज यादव विजयी भएका छन्। कोषाध्यक्षमा दीपक गौतम विजयी भएका छन्।

Tuesday, November 09, 2010

एउटा अक्षम्य गल्ती

sudip म गणतन्त्र बिरोधी होइन। मेरो यो लेख पढेर मलाई गण्तन्त्र बिरोधि भन्ने भान हुन सक्छ तर म गणतन्त्र विरोधी भने होइन। दोश्रो जनआन्दोलन पछी नेपालमा पुर्व राजा ज्ञानेन्द्रलाई पदच्युत गरी नेपालमा राष्ट्रपतिय शासनको सुरुवात गरियो र प्रधानमन्त्रीलाई कार्यअधिकार दिइयो। त्यसपछी नेपाल गणतान्त्रिक मुलुकको रुपमा स्थापित गरियो र अहिले आएर संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हुन पुगेको छ। नेपाललाई गणतान्त्रिक मुलुकको रुपमा घोषणा गर्ने क्रममा थुप्रै नाटक भए। उबेलामा नेपालका कतिपय ठाउँबाट राज भन्ने शब्द हटाइयो। अझ नेपालका पहिलेका राजाका सालीक तोडफोड गरियो। हामीले साना बेलामा पढ्दै आएका राष्ट्रपिता पृथ्वी नारायण शाहलाई पनि सामन्ती भनियो। उनी सामन्ती थिए, ठिकै हो तर के उनलाई राष्ट्रपिताको हैसियतबाट हटाएर पृथ्वी जयन्तीनै मनाउन नहुने अवस्था पार्न जरुरत थियो? के यो ठीक भयो त? के सोचले उनलाई यस्तो गरियो? पुर्व राजा विरेन्द्रको देहवसान हुँदा सिङगो नेपाल रोएको थियो? आखिर किन रोएको जब उसलाई नै लत्याउनु थियो भने ति झुठा आँसु बगाउन के जरुरत? कसैसँग यसको उत्तर छ? नेपालमा सबभन्दा ठुला सामन्ती राजा नै थिए। यो सही हो र ज्ञानेन्द्रलाई पदच्युत गरेको पनि सही थियो। तर पृथ्वी नारायण शाहलाई त्यसो गर्दा एकचोटी सोच्नुपर्ने जस्तो लाग्छ। त्योबेलाको अवस्था हेर्दा देशको एकीकरण गर्ने बाहेक कुनै पनि उपाय थिएन उनिसँग। मानिसले समय अनुसार चल्न सक्नुपर्छ। जुन बेला जस्तो व्यवहारको खाँचो पर्छ त्यस्तै गर्नु बुद्धिमानी हो। त्योबेला देशमा सामन्तिको खाँचो थियो, एकतन्त्रिय शासनको खाँचो थियो र यही अवस्थालाई चिनेर उनी बने पनि। यो उनको दुरदर्सिता थियो। तर उनलाई यसरी बेइज्जत गर्नु चाँही निको मान्दिन म।

 

जंग बहादुर राणाले कुटनितिक कौशलताले बाँके, बर्दिया, कैलाली र कंचनपुर फर्काए। उनी पनि निरन्कुश थिए, सामन्ती थिए तर उनले ति क्षेत्र फिर्ता ल्याउनु नराम्रो भन्न मिल्दैन। प्रिथ्वी नारायण शाहले त्यो बेला बाइसे र चौबिसे राज्यलाई एक नबनाएका भए अहिले हामी कसैको गुलामी गर्दै भाडा माझेर बस्नुपर्ने थियो। यथार्थ यही नै हो। देशको सार्वभौमसत्ता बचाइ हाम्रो स्वाभिमान जोगाउनेको आज यो गती? आखिर किन? उनले नगरेका भए के हुन्थ्यो? प्रश्न सोध्न मन लागेको छ गणतन्त्र स्थापित गर्नेसँग जो सत्तालोलुपता र अधिनायकवादको खाल ओढेर आफुलाई चोखो भन्दै हिँडिरहेका छन्। जसमा नैतीकता रत्तिभरपनी बाँकी छैन।

 

नेपालमा अब हिटलरजस्तै निरन्कुश शासकको जरुरत परेको छ। जनताले जहिले जनआन्दोलन गरे, फल्स्वरुप धोकानै पाइरहेका छन् चाहे त्यो ४६ सालको होस् या ६१ सालको। जहिले परिवर्तन चाहे, उन्नती चाहे, अवन्नतीनै पाए। जुन बेला देशमा संकट पर्छ, त्यतिखेर निरन्कुशताको जरुरत पर्छ। नत्र देश आन्तरिक द्वन्दमा फसेर तहसनहस हुन्छ या अरुको मातहतमा बस्नुपर्ने हुन्छ।  अरुका राम्रा कामलाई सरहानिय गर्नुपर्छ र उनिहरुको इज्जत, आदर गर्नुपर्छ। यदी कसैले गर्दैन भने उसको पनि पालो आउँछ र उ पनि अवहेलनाको पात्र हुन्छ। ईतिहाँसले सबैलाई हेर्छ। जीवनमा राम्रो गरेर देखाउने अमर हुन्छ। भालुलाई पुराण सुनाए बरावर हुन्छ यस्ता कुरा। कुरो गरे कुरैको दु:ख! तर जे भएपनी एकचोटी सबैले सोच्न चाँही पर्लाजस्तो लाग्छ मलाई!!      

- सुदीप बहादुर खड्का

 
Hast for Allaclick