जाँच सकिएपछि फेब्रुअरी १ देखि १८ सम्मको भारत भ्रमण तय भएको थियो हाम्रो सिङ्गो कक्षाको काठमाण्डौ विश्वविद्यालयमार्फत् । त्यहिअनुसार फेब्रुअरी १ मा बिहान भैरहवाबाट गोरखपुर जाने प्लानसहित अघिल्लै दिन भैरहवा पुग्यौँ ।
“ इतने सामान है, चेक कर्ना पडेगा, कमसेकम २-३ घण्टा तो लगेगा, ऐसा करो एकके पचास दे दो और जल्दी चलेजाओ यहाँ से, ट्रेन छुटजाएगी ।“
पारीको सीमाना टेक्न पा’को छैन, एउटा कुर्सी ल्या’र बसेको डण्ठेले त यसो पो भन्यो । शुरू गर्ने भए लुट्न अब भन्ने मनमनै सोच बनाउँदै केहि पार लागिहाल्छ कि भनेर यसो गफगाफ गर्न थालिम् त्यहिसँग । र, अन्तिमम त्यतिकै जान दियो, किन दियो थाहा छैन । दुईटा टाटासुमो रिजर्भ गरेर लागियो गोरखपुरतिर । दिउँसो गोरखपुर पुगेको, केहि कुराको अत्तोपत्तो छैन अब । रेल कहाँबाट चढ्ने हो, डिब्बा कसरी पत्ता लाउने, फेरि बुकिङ् कतै गरेको छैन होटलको, बस्ने ठाउँ पाइएन भने के गर्ने ! यस्तै कुरा सोच्दैसोच्दै सोधखोज गर्दै चार बजे रेल चढियो । बडा अचम्म पो हुँदो रै’छ । मस्त सुत्ने ठाउँ, ट्वाइलेट, खानेकुरा नि पाइरखिने, के चाहियो र अरू ! धेरै जनाको समुह भएर होला, बडा मस्ती भो ! हाँसो, एउटालाई उडायो, यस्तै यस्तै गर्दै बिहान ५ बजे नईँ दिल्ली स्टेशनमा ओर्लियौँ हामी, २ तारिखमा । अँध्यारै छ, कहाँ जाने, के गर्ने, कता होटल पाइन्छ, कसैलाई केहि थाहा छैन । यसो पहाडगंज भन्ने ठाउँमा होटलहरू पाइन्छ रे भनेको सुनियो र लाग्यौँ त्यतैतिर ट्याम्पुमा चढेर । ट्याम्पुले त सिधै एउटा होटलको भित्र लगेर रोकिदियो । यिनीहरूले नि कमिशन खान्छन् त्यसरी लगे भने भन्ने त अलिअलि थाहा थियो । त्यहिभएर त्यो होटलमा बस्दैनौँ भन्दै हिँड्यौँ, ट्याम्पोवाला गएपछि खुसुक्क फेरि गएर कुरा मिला’र त्यहि होटलमा बस्यौँ । दिउँसो ११ बजेतिर अनि फेरि स्कर्पियो गाडि रिजर्भ गरेर आग्रा जाने विचार गर्यौँ ।
आग्रा जाँदैगर्दा गाडिको झ्यालबाट दिल्ली हेर्दा तीनछक्क पर्यौँ हामी सबै । दुर्गमको मान्छे पहिलोपटक काठमाण्डौ आएभन्दा नि ज्यादा । जे देखेपनि, त्यो हेर् न, त्यो हेर् न भन्छन् सबै । फ्लाईओभर कति धेरै हुन् बाटामा, चोकैपिच्छेजस्तो । कति लामा लामा, ठूला ठूला, बाटो पनि प्राय: ६ लेनको सबैतिर । रूख रोपेको बाटो वरिपरि, हरियाली पनि त्यतिकै जोगाइराखेको । मेरो कल्पनाको भारतभन्दा निकै बेग्लै अनुभुति दिलायो दिल्लीले । सबै कुरालाई एकदमै राम्रो ढङ्गसँग व्यवस्थापन गरेको । मलाई भारतीयको व्यवस्थापन एकदम मनपर्यो । उनीहरूले त जे पनि मान्छेले प्राकृतिकजस्तो बनाएर जोगाइराखेका छन्, हाम्रो देशमा त प्रकृतिले नै यति दिएको छ कि त्यसको संरक्षण मात्रै गरे नि कति हुने रै’छ रै’छ जस्तो लाग्यो । करिब पाँच घण्टाको दिल्ली आग्रा यात्रामा बाटो चाहिँ असाध्यै मनपर्यो । यातायातमा चैँ निकै प्रगति गरिसकेको रै’छ भारतले । सार्वजनिक सवारीसाधनको विश्वसनीयता एकदमै उत्कृष्ट पाटो लाग्यो मलाई । किनभने हामी धेरै त्यसैबाट पीडित भएका छौँ । सार्वजनिक यातायातमै भर परेर पनि गुजारा गर्न सकिने रै’छ भारतका सहरमा । ताजमहलको अवलोकनपछि फेरि दिल्ली फर्कियौँ । हाम्रो गाडि पछाडि अनि साथीहरूको गाडि अगाडि थियो । उनीहरूले एउटा ढावामा रोकेर भात खाँदै रै’छन् हामी पनि त्यहि पस्यौँ । त्यता त थाली भन्ने हुँदो रै’छ भात खानलाई । कति थालीको भनेर साथीहरूलाई सोधेको, ८० भने । खाइदिम् न त भनेर मस्तले खाइयो अन्तिममा तिर्ने बेला त १६० रे । हाम्रा साथी पनि गइसकेका थिए । खोइ के के भनो, अब तिर्नै परो । पछि होटलमा आएपछि थाहा पाइयो, खासमा त्यो भातको दाम चाहिँ तीस रूपियाँ रे ! भोलिपल्ट दिल्लीको एक सर्को भ्रमणपछी लाग्यौँ मुम्बईतिर ।
वान्द्रा टर्मिनला ओर्लिएपछि हामीलाई मुम्बईको बारेमा केहि थाहा छैन, साँझको पाँच बजेको छ । हामी तीनजना साथी होटल खोज्न हिँड्यौँ अरूलाई स्टेशनवरिपरि नै बस्दै गर भनेर । अलि पर चोकमा गएपछि एकजना सरिफजस्ता देखिने मानिस ठेलामा उसिनेको तरूल खाँदै थिए । उनलाई सोध्यौँ हामीले होटलको बारेमा । सान्टा क्रुजमा पाईन्छ भनेर उनले भने र एकजना सँगै आउँदा हुन्छ म होटल देखाइदिम्ला भनेर मोटरसाइकल स्टार्ट गरे । चिन्नु न जान्नु, के सुर चढ्यो मलाई खै, म त गएँ है भनेर केटाहरूलाई भेनर गएँ होटल खोज्न कहिल्यै नचिनेको,नदेखेको मान्छेसँग नचिनेको, नदेखेको ठाउँमा । मनमनै सोचिराथेँ, यसले तलमाथि केहि गर्यो भने भाग्ने उपायहरू के क हुन सक्छन् भनेर । अन्तिममा ती व्यक्ति एकदम सज्जन निस्किए तर होटल चाहिँ एकदमै महङ्गो मात्रै भेटियो, हामी बस्नै नसक्ने । त्यो होटलवालाले दादर जानु, त्यहाँ अलि सस्तो होटल पाईन्छ भन्यो । फेरि कुद्दै गएँ साथीहरू भएतिर । सबैजना त पुरा आत्तिर’का रै’छन् म कहाँ गएँ भनेर । फेरि मेरो मोबाइलमा ठिक्क ब्यालेन्स सकिएको थियो अनि आगमनसमेत बन्द थियो । सबैले गाली गरे अनि आएपछि त, राम्रो गर्न गा’को नराम्रो पो भइयो झण्डै । हामीसँगै गएको सन्तोषको साथीहरू पढ्दा रै’छन् मुम्बईमा, उनीहरूलाई बोलाएपछि हामीलाई राहत महसुस भयो राती ९ बजे । लोकल ट्रेन चढेर अनि दादर स्टेशन गइम् त्यहाँबाट । त्यो एक्सप्रेस वाला त्यहाँ ३ सेकेण्ड मात्रै रोकिने रै’छ, यसो चढ्न खोज्दै थिएँ कुदिहालो, झुण्डिएँ अनि डण्डीमा समातेर । नजान्नेलाई त साह्रै गाह्रो, नीतिनियम बुझिएको हुँदैन । एकछिन रोक्ला नै भन्ने सोचेँ नि । दादरमा ठिकैको होटल भेटियो । राती १२ – १ बजेसम्म त पसलहरू सबै खुल्ला हुँदा रै’छन् मस्त घुम्दै खाँदै १ बजेतिर होटल गएर थकान बिसाइयो बल्ल बल्ल । भोलिपल्ट बिहानै वाटर किङ्गडम जान भनेर हिँड्यौँ । अब त लोकल ट्रेनको बारेमा अलिअलि थाहा भइसकेको थियो, सोध्दै खोज्दै पुग्यौँ त्यहाँपनि । दिनभरि पानीमा मस्ती भयो । भोलिदेखि २-३ जना बिरामी, पानीले ।
साहरूख खान, अमिताभ बच्चनको घर, समुद्रा माथि बनाको मरिन ड्राइभ आदि हेरेर एकदिन बिताइयो मुम्बई भ्रमणमा । अनि तेस्रो दिन चैँ आराम गरेर राती दस बजेको ट्रेनबाट लागियो गोवातिर ।
गोवामा अर्को दिन बिहान ओर्लिएपछि फेरि पुरानै कुरा । केहि कुराको टुङ्गो छैन । हामीभन्दा अगाडि अरू फ्याकल्टीका केटाहरू गएको थाहा पाएर तिनीहरूसँगै सम्पर्क गर्दै पुग्यौँ कोलवा बिच । बस्न, खान पनि त्यति महङ्गो रै’नछ गोवामा । होटलमा झोला राख्नेबित्तिकै हाफपाइन्ट लगा’र सबैजना कुदिम् समुद्रतिर । ओहो !! पहिलोपल्ट मजाले समुद्र देख्दा त कस्तो अनुभुति हुँदो रै’छ । खुसी पनि, डरलाग्दो पनि, सुन्दर पनि खोइ कस्तो कस्तो । प्यारासेलिङ, बनाना राइड अनि त्यो जेट खेलेपछि आफैँ डुब्दै खेल्दै गर्न थाल्यौँ समुद्रमा । एकछिन बिच भलिबल खेल्न पनि रमाईलो भयो । अनि गोवामा रात रमाईलो भयो, राती दुई बजेसम्म समुद्र किनारमै । भोलिपल्ट एउटा दश जना अट्ने गाडि र ६ वटा स्कुटर रिजर्भ गरेर गोवा घुम्न गयौँ । अञ्जुना बिच, लाइट हाउस अरु के के बिच घुम्दै राती ६ बजे क्रुजपार्टीमा गयौँ । त्यो चैँ एउटा जहाजमा हुने पार्टी थियो, एक घण्टा जहाजमा घुम्दै, नाच्दै । अन्त्यको क्रुज पार्टीले दिनलाई नै सुन्दर बनाइदियो । समुद्रकिनारमा लड्ने, वालुवा खेल्ने लगायत सबै काम गरिसकेर गोवा पुगेको तेस्रो दिन हिँड्यौँ बैंगलोरतर्फ ।
गोवादेखि बैङ्गलोरको रेलयात्रा एकदमै रोमाञ्चकारी लाग्यो । पहाडि यात्रा धेरै जस्तो । कल्पनाको रेल देख्न पाइयो, हामीले सोचेका हुन्छौँ नि ढोकाबाट रेल हेर्दा अगाडिको भाग देखियोस्, धुवाँ निकाल्दै छुक् छुक् गर्दै कुदोस्, वरिपरि पहाड होस्...ठ्याक्कै त्यस्तै !! कल्पनाको रेलयात्रा भयो गोवादेखि बैंगलोर । बैंगलोरमा चैँ खानैको चिन्ता भयो । खाने बेला भयो कि रिस उठ्ने ! के खाम् के खाम्जस्तो । जे पनि गुलियो, नरिवलको तेलमा पाइने, जीऊमा नुन नपुगेर रिंगटा नै लाग्न थालो । दुई दिन त होटलमै सुतेँ म त बैंगलोरमा काहिँ घुम्न गइनँ । गोवा घुमिसकेपछि एक प्रकारले हाम्रो भ्रमण नै सकिएको अनुभुति भइसकेको थियो । अन्तिम दिन मेरो बहिनी अस्मितालाई भेट्न गएँ । बैंगलोरमै नर्सिङ् पढ्दै छे । त्यति हो म बैंगलोर घुमेको चाहिँ । त्यसपछि लागियो चेन्नाई ।
चेन्नाईमा जानेबित्तिकै केराको पातमा भात खान पाइयो । भोक लागेर रन्थनिएर छिरेको होटलमा केराको पातमा पो भात दियो । एउटा नेपाली भाइ पनि रै’छ काम गर्ने त्यो होटलमा त्यसैलाई कुरा बुझाउँदै मासु भात खाइयो केराको पातमा । भारत भ्रमणभरिको मिठो भयो सबैभन्दा । मेरो जीऊमा त तागत आयो अनि घुम्न जान पो मन लाग्यो मलाई त भात खान पाएपछि ।
चेन्नाईमा मेरो जन्मदिन परेको थियो अनि केटाहरू बियर खाने भन्न थाले । लौ त लिन जाम् भनेर तीन जना गा’को, कहाँ पाईन्छ पाईन्छ कसैलाई थाहा छैन । एउटा पान पसलेले आगे जाओ सिग्नल पर् भन्यो अनि हिँड्दै गा’को एउटा ठाउँमा मानिसहरू लाइन लागेको देखियो । दुई चार जना रक्सी च्याप्दै कुद्दै पनि थिए । यसो हेरेको त, रक्सी किन्न पो लाइन लागेका र’छन् । वरिपरि प्रहरी राखेर अनि सानो काउन्टरबाट रक्सी बेच्दा रै’छन् । भीडभाड त्यस्तै । अलिकति लाइनबाट बाहिर निस्कियो कि डण्ठा हानिहाल्ने पुलिसले । हामी चैँ, एक डण्डा खाइयो भने जाम्ला नभए यहि लाइनमै बसिराखौँ भनेर मायालाग्दो भएर बस्यौँ । बल्ल बल्ल मेरो औँलामा सानो चोट र अर्को साथीको हातमा चोट लागेर बियर किनियो । कत्रो ठूलो कुरा हुने त्यता त बियर पनि । नेपालमा त छ्याप्छ्याप्ती जतापनि । एक्सप्रेस एभेन्यु भन्ने सपिङ् मलमा न्युजिल्याण्डका क्रिकेट खेलाडिहरू भिट्टोरी, स्टाइरिस, ओरम, मिल्सलाई देख्न पाउँदा पनि एउटा बेग्लै अनुभुति भयो । सधैँ काँचको पर्दामा उभिएका मान्छे, त्यो पनि आफूले देखिएला भनेर कहिल्यै नसोचेको, अगाडि नै देख्दा त !! खासै केहि भएन चेन्नाईमा अरू, यसो बजार घुमियो त्यति हो ।
हाम्रो अन्तिम सहर चेन्नाई नै थियो भारत भ्रमणका लागि । सहरैपिच्छे सभ्यतामा फरक रै’छ भारतमा । दिल्लीमा बाटोमा हिँड्ने मान्छे नै कम देखिए, बाटाघाटा चौडा, सफा । मुम्बई त सिङ्गै नै लोकल ट्रेनले धानेको रै’छ । त्यहाँ सबैलाई हतार मात्रै थियो, कोहि विस्तारि हिँड्दैन थिए । गोवामा चैँ खैरे ठग्ने, खाने सबै । बैंगलोर चैँ अलि शिक्षित सहरजस्तो लाग्यो । चेन्नाई चैँ धार्मिक, कट्टर । सबैको आ-आफ्नै पहिचान छ ।
त्यसपछि लगातार चालिस घण्टाको रेलयात्राले गोरखपुर आइपुगियो । राती एघार बजे बोर्डर । २००० जति पैसा खाए त्यहाँका पुलिसले बोर्डरमा र बल्ल बल्ल आउन दिए । नेपाल टेकेपछि त हामी सबैले माटोको टिका लायौँ । आफ्नै देश प्यारो हुँदो र’छ । जाबो ईण्डिया जाँदा त यस्तो हुन्छ, झन् अमेरिका जानेले ‘I miss Nepal’ फेसबुकमा लेखेको त्यतिकै होइन रै’छ । त्यो अन्तिममा बोर्डरमा हामीसँग पैसा ठगेपछि झन् ईण्डियाप्रतिको आक्रोश र नेपालप्रतिको माया बढेर आयो । राती नै भैरहवाबाट हिँड्यौँ ।
सधैँ हिमाल देखिर’ने बानी भ’का हामीहरू सबैजना, त्यहिपनि एउटा साथी बिहान नौबिसेको उकालोमा भन्दै थियो, “ओइ !! हिमाल हेर् न हिमाल !!”

babaal lekhehcau ta hamro india vraman ko...timile lekheko padhda 1 patak feri indai gayera aako jastai vayo...aba ta samjhina ni man chaina tyo moro india...
ReplyDeleteबब्बाल मज्जा पो गरिएछ त हौ !
ReplyDeleteबधाई छ आकार.. रमाइलो गरेर आएछौ .... तर हाम्ले त तेती रमाइलो गर्न पाएको जस्तो लागेन यार .... हे हे हे
ReplyDeleteबबाल गर्नु भए छ .........निकै याद कर इभेन्ट !
ReplyDeleteबडो रमाईलो तरिकाले प्रस्तुत गर्नु भएछ । ईन्जिनियरीङ्का ४ वर्षमा तेस्रो वर्ष अनिवार्य रूपमा 'भारत भ्रमण' जाने trend छ इन्जिनियरीङ कलेजमा । आँफु त गइएन, साथिहरूका कुरा र तपाईँको लेख पढेपछि के के हुँदोरहेछ जान्न पाईयो ।
ReplyDeleteपैसो को कुरो क्या त कति लाग्दो रैछ?
ReplyDeleteरोचक वर्णन!
ReplyDeleteThanks for sharing India visit so nicely. Please upload more photos if u have.
ReplyDeleteSahrai ramailo lagyo yo India tour ko lekh padhera, malai ta afu nai Gayechu jasto bhayo.
ReplyDelete