Sunday, May 22, 2011

संविधाने कि धाने बन्द ??? (फोटो फिचरसहित)

बहुप्रतिक्षित र असम्भव, नेपालको संविधान लेखिने भनेको मिति एक वर्ष पछि सारेर फेरि देश त्यसकै संघारमा आइपुगेको छ । वर्षभरि नेताको चाकरी गर्दै, केहि पाइहालिन्छ कि भन्दै, हात जोर्दै, अघिपछि कुद्ने भरौटेहरू केहि नपाउने छाँटकाँट देखेपछि अब देशको चिन्ता गर्दै संविधानसभा भवनअगाडि धर्ना दिँदैछन् । वीरेन्द्र हत्याकाण्डको रिपोर्ट बुझाउने बेलामा "रटट र फटट" भन्दै नाटक गर्ने, ज्ञानेन्द्रका भक्त तारानाथ रानाभाटसमेत पूर्वसांसद भन्दै काम नलाग्ने पूर्वसांसदका झूण्ड बोकेर धर्ना बसेका रै'छन् संविधान बनाउन । अरू नानाभाँतीका के के र के के बसेर सडक जाम गर्नेबाहेक केहि पनि काम भएको छैन । टेकिनसक्नु बनेको छ नयाँ वानेश्वर । 

तामाङ्सालीङ्, नेवा:, कोचिला के के भनेर नेपालभित्रै नेपालीलाई बाँड्दै हिँडेका नेताका पछि लागेर आफ्ना जातीय मागहरू पूरा गराउन समग्र नेपालीलाई दु:ख दिने कुबुद्धी पलाएको छ अचेल मान्छेमा । यस्तैमा जेठ ८ र ९ गते क्षेत्री समाजले उपत्यका बन्द घोषणा गर्‍यो । 
बन्दका कारण एकान्तकुनामा थन्किएका सवारीसाधन


जातैपिच्छेलाई आदिवासी, जनजाती भन्दै सुचीकृत गर्दै आरक्षणको लागि मारामार छ हाम्रो देशमा । यो देशमा बस्ने मान्छे, समुदाय सबै आदिवासी होइनन् र ? सबै यहिँकै होइनन् र ? यहिँमध्ये पनि एकथरि अनुहार भएकालाई जनजाति भन्दै सबैतिर आरक्षण गरेर माथि पुर्‍याउनुपर्ने अनि अर्काथरि अनुहार भ'कालाई चैँ पाखा लाउनुपर्ने कस्ताखालका माग राख्न थाले अचेल ? प्रधानमन्त्री पनि बाहुन भयो भनेर अरू जातले नमान्ने, संविधानसभाको अध्यक्ष नेम्वाङ् भयो भनेर अरू जातले नमान्ने, राष्ट्रपति मधेशी भए भने पहाडे भनाउँदाले नमान्ने हो भने यो सानो राष्ट्र अझ कस्तो हुन्छ होला ??
बन्द गराउँदै हिँडेका क्षेत्री समाजका कार्यकर्ता

जनता उस्ता कि नेता उस्ता ?? गम्भीर प्रश्न खडा भएको छ । नेताले जनताको आस पुरा गर्न सकेनौँ भन्दै हाम्रा आँखामा छारो हाल्ने नेता अनि सबै दोष नेताकै त हो नि भन्दै नेतालाई मात्रै सरोप्ने जनता सबैले आ-आफ्नो ठाउँबाट गरेका गल्तीहरूको समीक्षा गर्नुपर्दछ । अब फेरि यिनै नेताको छत्रछायाँमा बसेर आफूआफू काटमार गर्ने जनताले कि सबल र सक्षमलाई अगाडि ल्याउने ?? समर्थन पार्टीलाई गर्ने कि व्यक्तिलाई ? जनता यी कुरामा स्पष्ट हुन जरूरी छ ।
यसरी रिक्सामा बसेर गन्तव्यतिर लाग्दै थिए धेरै सर्वसाधारण । पुलचोकको दृश्य ।
के यस्ता बन्दले संविधान साँच्चै बन्छ त बेलैमा ?? आज र भोलि क्षेत्री समाजले अथवा अरू कसैके बन्द गर्नुको तात्पर्य के हो ? यो जेठ १४ मा संविधान नबन्ने पक्कापक्की भइसकेपछि पनि अझ शान्ति र संविधान भन्दै बन्द गर्नुको पछाडि नियत के हुनसक्छ ? के यस्ता बन्दले आयोजकका माग सबै समेटिन्छन् ? यस्ता बन्दले संविधान बनाउन भनेर गएकालाई छोएको छ ? बन्दकर्ताले झलनाथ, प्रचण्ड, शूशिल, विजय गच्छेदार, उपेन्द्र यादवका गाडि रोकेर उनीहरूलाई बाटोमा हिँडाएका छन् र ? बिहानै खेतमा गएर बजारमा तरकारी बेच्न ल्याउने कृषकले किन गाडि चढ्न नपाउनु संविधान नबन्ने भयो भनेर ? हामी विद्यार्थीले किन पढ्न नपाउनु संविधान नबन्ने भयो भनेर ? बिरामीले एम्बुलेन्स चढेर किन अस्पताल जान नपाउनु संविधान नबन्ने भयो भनेर ? हामी कृषक, विद्यार्थी, विरामी र समग्र जनताले संविधान बनाउँछौँ भनेका थियौँ र अहिले संविधान नबन्दाको मार हामीले खेप्नुपर्ने ? जसले बनाउन सकेन संविधान तिनलाई के गर्न सक्यौ बन्दकर्ता भनाउँदाले ? कसलाई दबाब पुग्यो यो बन्दले ? कुन चैँ एउटा सकरात्मक काम भयो आजको बन्दले संविधान निर्माणमा ? कुनै एउटा समुदायले गरेर क्रान्ति सफल हुँदैन । क्रान्तिमा सिङ्गो राष्ट्र होमिनुपर्छ यदि साँच्चै नै परिवर्तनको सुरूवात हुनु छ भने ।

बन्दले सुनसान त्रिपुरेश्वर चोक
संविधानका लागि बन्द गर्नेले जनतालाई सास्ती दिनु हुँदैन थियो । शान्ति र संविधानका फुस्रा नारा लगाउँदै गरिने यस्ता बन्द साँच्चै संविधान निर्माणप्रति गम्भीर भएरै गरिएको हो त ? पक्कै होइन । यो वर्षभरि कसैलाई चिन्ता भएन संविधानको । फागुनमै थाहा थियो सबैलाई यसपाला नि संविधान बन्दैन भनेर । जेठमा मात्रै संविधान लेख्ने हो र जेठ लागेपछि मात्रै भटाभट बन्द गर्नुपर्ने ?? यस्तो बेला भएका बन्दले त अब संविधानसभाको म्याद थप्नु हुँदैन, ताजा जनादेशमा जाओ बरू, तिमीहरूको निकम्मापन देखिसक्यौँ भन्नेजस्ता नारा बोक्नुपर्ने होइन र ?? जसरी भएपनि यहि १४ मा संविधान बनाओ भन्नु भनेको गुलेलीले हानेरै चन्द्रमा फुटाओ भन्नुजस्तो होइन र अहिलेको परिपेक्ष्यमा ? के सम्भव छ र अब ? कि साँच्चै सम्भव भएर पनि हामी जनताले नबुझेको हो र अझैपनि दबाब दिँदैछन् जातियताको नाममा देशलाई प्लटिङ् गरेर आफ्नो भाग खोज्न हिँडेका जातीका नेता भनाउँदाले  ?
आजको प्राइभेट सवारीसाधन


 यस्ता बन्द संविधाने नभई धाने बन्द हुन् । संविधान निर्माण गरेर देशलाई अग्रगमनतर्फ डोर्‍याउनका लागि होइन आफ्नो ढुकुटीमा धान धेरै भर्नका लागि गरिएका "धाने" बन्द हुन् । उम्रेदेखि खुम्रेसम्मका सबै नेता,यस्ता बन्द गरेपछि ठूलो हुईन्छ, मिडियामा आउँछ, मान्छे थर्काउन पाइन्छ अनि ठूलो ठाउँमा पुगिन्छ, ठूलो नेता हुईन्छ भनेर एउटा जातको सहारा लिएर गरिएको व्यक्तिगत राजनीति हो । अलिकति ठूलो ठाउँमा पुगेपछि अनि घुसखोरि, कमिशन, भ्रष्टाचार, नातावाद र कृपावादलाई बढावा दिने, अनि मिलेर खाने, ढुकुटीमा धान भर्ने । जब जनआन्दोलनको आँधीबेरी सिर्जना भएको थियो, त्यतिबेला स्व:स्फुर्त रूपमा सबैले बन्द गरेका थिए, देशको लागि । जनता सडकमा ओर्लिनु मात्रै संविधान र राष्ट्रको चिन्ता हो, कसैका कार्यकर्ता भेडावाख्राजस्तो कोचेर ल्याएर दुई-चार वटा गाडि फुटाउँदैमा गरिएका बन्दहरू संविधानका लागि होइन, संक्रमणकालीन् अवस्थाको फाइदा उठाएर परिस्थिति अनुसारको घटिया राजनीति गर्ने सक्ने चैते व्यक्तिहरूका कुटिल चाल मात्रै हुन् ।
त्रिपुरेश्वरमा सुरक्षा दिन बसेका सुरक्षाकर्मी

यो साँच्चै नै "धाने" बन्द हो !!!

तस्वीर : प्रतिक कार्की









2 Comments:

  1. समर्थन छ ब्लगमा भनिएका कुरा मा । यो बन्द को लागि गरिएको अर्को 'धाने' बन्द मात्र हो । यसबाट कुनै समाधान निस्किँदैन, तर क्षेत्रीले उठाएका केही माग भने मलाई पनि जायज लागेको हो । संविधान सभाको म्याद थप्नु बाहेक अरु कुनै विकल्प त छैन, तर कति थप्ने, कसरी विश्वास गर्ने भनेर, दवावमुलक रुपमा कार्यक्रमहरु भने गर्न आवश्यक नै छ ।

    ReplyDelete
  2. politics in nepal .......too much BAD!!!!!

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम