Wednesday, October 05, 2011

दशैँ आयो!!!

त्यसो त दशैँ हरेक साल आउछ । हरेक पल्ट नआउने त ति क्षणहरू न हुन्…..दशैँ सम्झनु भनेको तिनै रमाईला पलहरूलाई स्मरण गर्नु हो । ति वालापनका क्षण....ति रमाईला दिनहरू…जुन कहिल्यै फर्केर आउदैनन् । हजुरआमाको टिको थापी नयाँ लुगा लगाएर हाँस्दै मामाघर जानुको मजा शब्दमा वयान गर्न म सायदै सकूँला । कति खुसी हुन्थ्यौँ हामी? सम्झदा सम्झदै पनि डाहा लागेर आउछ । अझ यो निर्जन ठाउँमा वसेर ति दिनहरू सम्झिन थाल्यो भने त....भो कुरै नगरम्!!

dashain

मलाई सवैभन्दा पहिले योगेश्वर अमात्यको यो गीत सम्झना आउँछ ‘दशैँ’ शव्द सुनेपछि……

दशैँ नै हो कि यो मेरो दशा फर्कि आएको

वर्षनै पिच्छे किन यो मेरो टाउको खाएको

दशैँ आएको……दशैँ आएको

खैर यसको शव्द पट्टि नलागौँ । सुन्नलाई रमाईलो छ त्यति हो । घरमै हुँदा त्यति वास्ता नहुने रै’छ । दशै आउथ्यो…जान्थ्यो…..जीन्दगी चलिरहन्थ्यो । तर यसपालि अलि भिन्दै खालको सन्नाटा छ मनभित्र । साँच्चै भनौ...मलाई ईर्ष्या लागेको छ ति साथीभाई देखि जो नेपालमा बसेर दशैँ मनाईरहेका छन् । म अलि टाढा छु…..छिमेकि मुलुक भारतमा । भौगोलिक द्रष्टिकोणले धेरै टाढा नभए पनि भावनात्मक रूपमा धेरै टाढा । यहाँको सँस्कृतिसँग हाम्रो केहि पनि मिल्दैन । मुश्किलले २ महिना हुन लाग्यो होला यहाँ आएको । घरको त्यति साह्रो न्यास्रो नलागे नि चाढ पर्वमा मन अलि बढि पिरोलिने रैछ । यो ठाउँमा दशैँ लाग्दैन कसैलाई पनि । के गर्नु मलाई त लाग्छ नि !

अनि भेडाकै पाए नि ल्याएर खाउ न त । दशैँ हो ।

होस्…गनाउँछ साह्रै । मासु खान नि के मरिहत्ते गर्नु ।

आज अमेरिकामा वस्नुहुने आन्टी(सानिमा)सँग भएको ‘गुगल टक’को अंश हो यो । त्यसो त वहाँ आफै नि वाहिर हुनुहुन्छ । तर चिन्ता मेरो गर्दै हुनुहुन्थ्यो….सुन्ने लाग्यो होला भनेर….छोराछोरी भनेका सँधै सानै हुने है? जुङ्गा दाह्री पलाईसक्दा पनि !!

त्यसो त दशै लालावालालाई आउने हो । धाईवाजीले भने जस्तै!! सम्झना पनि अलि बढी केटाकेटी छदाकै आउने के!! दशैँ मुखैमा आईपुग्दा हामी दाजुभाई(म र प्रवेश)लाई खपिनसक्नुको छट्पट्टी हुन्थेन….कतिवेला घरमा लुगा किन्न जोगमुनी जाने कुरो चल्छ भनेर । तारिक पक्का भएको दिन विहानैदेखि हामी केटाकेटीको रौनक नै अर्कै हुन्थ्यो । पसलमा फेरि झगडा…..एउटै लुगा मनपर्ने दुवैलाई!! सस्तो दुवैजना लाउने वाला थिएनौँ । चाहे त्यो ५० रूपैयाकै मात्र फरक किन नहोस्? हामी अर्को एउटा कलामा पनि निपुर्ण थियौँ त्यसताका । पैसा चोर्न!!! दशैँको बेला घरमा नयाँ ‘खुजुरा’ नोटका विटा विटा हुन्थे । दुईचारवटा सुटुक्क तान्दा कसले थाहा पाउँछ भनेर खुस्काईहालिन्थ्यो । तर नयाँ नोटका नम्वर क्रमैसँग हुदा रैछन् । हामीलाई के थाहा….चोर पक्राउ परिहाल्थ्यो नमज्जाले । एकआपसमा आरोप प्रत्यारोप सँगै दाजुभाईनै ट्वाईलेटको थुनामा परिन्थ्यो..…ज्या!!

टिका लाउने दिन पनि ठुलै लाप्पा पर्थ्यो हाम्रो, साईकल कुदाएर को मामाघर जाने भनेर । म अलि ठुलो भएकाले वाजी मेरो पोल्टामा आईपर्थ्यो प्राय । भाई(प्रवेश)को मुख हेर्न लायकको हुन्थ्यो अनि । मजस्तो साईकलमा सररर जान कहाँ पाउँथ्यो र विचाराले । चुच्चो मुख लाएर वुवा मम्मीसँग टेम्पोमा आउथ्यो । मामाघरमा ठुलै जमघट हुन्छ दशैमा । दुई मामा-माईजु, भाई वहिनी, हजुरवा हजुरआमा....छर छिमेक...सानो तिनो मेलै लाग्ने गर्छ । घोर्ले घसी ढल्छ अष्टमीमा । लिङ्गे पिङ खेल्न भनेर वस्नेत माल्दाईका छोराहरूको पछि लाग्थ्यौँ हामी । मामाघरमा ठुलो आगन छ । रंगीचंगी लुगा लगाएका हामी कहिले छुईडुम त कहिले लुकिडुम खेल्नमा मस्त हुन्थ्यौँ । विहान मात्र लिपेको आगन रैमठ्ठो पारेको देखेर हजुरआमाले खेद्नुहुन्थ्यो । हामी हाँस्दै मलखाडीतिर भाग्थ्यौँ । एकछिनमा फेरि जस्ताको तस्तै । कसले सक्ने र सम्हाल्न हामीलाई । ख्याल रमाईलो हुन्थेन त !! हामी दाजुभाईलाई उतिवेला मामाघरको हजुरवुवासँग भने अलि अलि रिस उठ्थ्यो । कारण टिका लगाएर ५ रूपैया मात्र दिनुहुन्थ्यो । केटाकेटीलाई पैसैको मात्र आस हुने जहिल्यै । चिनेजानेका कुनै पनि घर वाँकि रहदैनथे टिका लगाउन(पैसा वटुल्न!!) । त्यै मरितरि दुवैको मिलाएर २०० जति हुन्थ्यो । वुवाले कपि किन्नुपर्छ त्यो पैसाले भनेपछि खिन्न हुन्थ्यो मन । पछि मम्मीसँग कुरो मिलाईन्थ्यो । के के मात्र गरिदैनथ्यो र? अलिअलि त विर्सिन पनि पो थालिएछ अव त.....लौ हेर! आज भारी मनले हजुरवुवालाई सम्झिरहेको छु म । काठमाणडौँमा ढाडको अप्रेशन थियो अस्ति । हस्पिटलवाट डिस्चार्ज भए पनि डाक्टरले फेरि वोलाएको छ रे १५ दिन पछि । हजुरवुवा काठमाण्डौँमा....मामाघर खल्लो हुने भएछ यसपालि । घरमुली नै नभएको मूलघरमा के रमझम हुनु र?

कुरा जति गरे नि सिद्धिने हैन क्यार । अनि सवैका कथा उस्तै उस्तै । त्यै हो.....यो मोरो मन चुपलागेर वस्न मान्दैन । नानाथरिका तर्कना खेलिरहन्छन्न् । अनि साँच्ची.....हाम्रो घरकी हजुरआमाको त कुरै गर्न विर्सेछु । वहाँले लाईदिनुभएको टिकोको गाउँभरि वयान चल्छ । कति चिटिक्क पारेर लाईदिन सक्नु’भा हो । अहिले सम्झिदा पनि आँखै रसाएर आउँछ । मम्मीले घरको मुल खाँबोमा पुजा गर्दै गर्दा धनसारे वा’को मन्त्रोच्चारण सुनिन्छ छेवैको ढिकुटी कोठाबाट । कहिले काहीँ त झोक चल्छ, सट्ट एकवार घर पुगेर आउँ कि क्या हो भनेर । तर सवैकुरा भनेजस्तो सजिलो कहाँ र!!

[नयाँ लुगा, रातो टिको, कानमा जमरा, चारैतिर खुसियाली....नभन्दै दशैँ नि आयो है? यहाँहरू सवैलाई वडा दशैँ तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना । दुर्गा भवानीले हामी सवैको रक्षा गरून् ।]

Happy-dashain (1)

तस्विर स्रोत: फोटोमा क्लिक गर्नुहोस्

2 Comments:

  1. दशैं अनुभूति बडो रमाइलो लाग्यो | बिजया दशमीको शुभकामना छ है यहाँलाई !

    ReplyDelete
  2. शुभ दीपाबालीको अग्रिम हार्दिक मंगलमय शुभकामना

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम