यसरी नै वित्दा रहेछन् दिनहरू । थाहै नपाई......। यौटा झ्याल मेरो अगाडि...हेरेपनि अनि नहेरेपनि । वाहिर चिहाउँदा कहिले घाम लागेको, कहिले वादल लागेको, कहिले झरी परेको त कहिले साँझ परेको । लाग्छ म कुनै सिनेमाहलको पर्दामा यौटा कहिल्यै नसकिने चलचित्रको दर्शक भएको छु र हेरिरहेको छु......मात्र ऋतु परिवर्तन भएको.....वेला परिवर्तन भएको......सँगसँगै मेरो सोच अनि विचार परिवर्तन भएको!!!!!
साँच्चै भनौँ हैदरावाद आएदेखि यो झ्याल मेरो आत्मिय मित्र भएको छ । उसले मलाई वाहिरको सँसार देखाउँछ । उसले घाम देखाउँछ....म धर्ती उज्यालो भएको चाल पाउँछु, उसले रात देखाउँछ......म वेदनाको एक झल्को मनभित्रबाट महसुस गर्छु, उसले झरी देखाउँछ.......म निथ्रुक्क भिजेको मनलाई सम्हाल्न खोज्छु....। सिन्दुरे रङ पोतिएको त्यो पल्लो घरको भित्तो एकतमासले उभिएको छ पहिल्यै देखि......कालो रङको झ्याल कहिले काहीँ खुल्दो पनि रहेछ । अनेक किसिममा आकृतिहरू नाचेको देखिन्छन् त्यहाँ । म एकतमासले हेरिरहेकै हुन्छु ।
फेरि अर्को विहान । मेरो झ्याल मलाई कुरिरहेको होला । ढोका खोलेर वार्दलीमा जान नसकिने त हैन...तर यो धर्तीको उज्यालो एकैपल्ट मेरो शरिरलाई सुम्पिने स्थितिमा छैन म । अनायासै दिन ढल्छ.....आजको साँझ मैले सोचेजति पट्यार लाग्दो छैन । मानिसहरूको चहलपहल अलि वाक्लै छ वाहिर । घरहरू सवै चम्किला छन्....ओहो ! कति उज्यालो छ आजको रात? मेरो मन सिरिङ्ग भयो । यो कालो अन्धकारलाई चिर्न एक चिम्टी उज्यालो नै काफी हुने.....यहाँ त अझ झिलिमिली पो छ त झन्....धत्तेरी आज त लक्ष्मीपूजा पो । थाहा भईभई पनि भर्खर सम्झिए जस्तो गरी झल्ल्यास्स भएँछू म । सम्झी सम्झी विर्सिदै अनि थाहा भएकै कुरो झल्यास्स सम्झदै। सायद दियो बाल्दा म नजिकका मान्छेहरूसँग हुन्थेँ अरूवेला.... आज नि वाल्दैछु वार्दलीमा तर उज्यालो नभएको दियो.....अन्धकार चिर्न नसक्ने दियो ।
भाईटिकाको दिन विहानै फोनको घण्टी वज्यो । भाईको फोन रहेछ, सीता दिदीकोमा पुगिसकेछ विहानै । हाम्रो घरमा दिदी वहिनी छैनन् । तीन भाई हौँ सवैजना । सीतादिदी हाम्री फुपुकी छोरी....वहाँनै हाम्री दिदी....भाईटिका लगाईदिने आजसम्म....कुनै वर्ष छुटेका थिएनौँ हामी । कहिल्यै पनि दिदी वहिनी नभएको खल्लो महसुस गर्नु परेन हामीले । तर आज रित्तै भयो निधार । खैर....यो धेरैको साझा कथा हो.....को पो होला र सधैँ सँगै वसिरहने भाग्यमानी । ईष्टमित्र साथीभाई भन्ने नि बढो अचम्मको चिज हुदो रहेछ । यसैको यौटा साहारा छ अनि न वाँचिने रहेछ यो पराई ठाउँमा । फोनको घण्टी फेरि वज्यो म सुतिरहेको थिएँ फेरिपनि । यो निमन्त्रणा थियो भेटघाटको आजकै दिनमा । म हत्त पत्त नुहाई धुवाई गरेर त्यतापट्टी लागेँ । दिन रमाईलो सँग वित्यो । ८-१० जना भेला भएका थियौँ । खाना वनाउन सिपालु मेरो साथीले कुनै कसर बाँकी राख्नु भएन । साह्रै मीठो.....यति मीठो त घरमा पनि वेलावखतमा मात्र पाक्ने गर्थ्यो । अनि अर्को कुरो....आज धेरैपछि मैले दिल खोलेर वाँत मारेँ सवैसँग । बोल्दा पनि आफ्नै स्वर अर्कैको जस्तो लाग्ने । साँझ घर फर्किदा रात परिसकेको थियो । मेरो झ्याल मलाई पर्खेरै वसेको रहेछ । उसलाई आज वाहिरको झिलिमीली देखाउनु रहेछ अन्धकारमा....मैले भने, तिमीले देखाउने झिलिमिली मैले आज मनभित्रैवाट अनुभव गरेर आईसके.....आश्चर्य....यति भनिसक्दा पनि ऊ त्यहि कुरा मलाई देखाईरहेको थियो, मैले हेरेपनि अथवा नहेरेपनि.....सजिव र निर्जीवको फरक यतिवेला महसुस भयो मलाई । झ्यालले मलाई देखाएको हैन.....केवल म त्यहाँबाट चिहाउँदो रहेछु....आफ्नो पहिचान लुकाएर संसार हेर्नलाई । म गलत रहेछु ।
धेरै पछि साथीभाईसँग रमाउन मन लाग्यो । अनुहार नराम्रै भए नि उज्यालो मुहार पहिलेभन्दा कता हो कता राम्रो । ऐनाले भनेको मलाई!!!! हाँस्न नि मन लाग्यो । वोल्न नि मन लाग्यो । एक्लिएर वस्नु कदापि ठिक लागेन अव । आज विहान सवेरै ढोका खोलेँ । एकछिनपछि घामको किरण कोठाभित्रै आएर छरपष्ट भयो । म फेरि कसैसँग वात मार्ने सोचिरहेको थिएँ । आज वार्दलिमा पनि गएँ अनि वाहिर हेरेँ । हो आज मलाई अरूले नि हेरिरहेका थिए…….

--- आज वार्दलिमा पनि गएँ अनि वाहिर हेरेँ । हो आज मलाई अरूले नि हेरिरहेका थिए…….
ReplyDeletegreat ----
keep it up !
"आज धेरैपछि मैले दिल खोलेर बात मारेँ सबैसँग । बोल्दा पनि आफ्नै स्वर अर्कैको जस्तो लाग्ने ! ... "
ReplyDeleteझ्याललाई साक्षी राखेर, साथी बनाएर गरिएको आत्मालाप मन छुने खालको छ । मलाई पनि बेलाबेला यस्तो तर्कनाले घेर्छन्, एक्लै भएको बेला । स्वयम्भित्र अर्को 'म' को जन्म हुन्छ र म उसैसँग बात मारेर पनि समयको बोझलाई डाँडा कटाइदिन्छु । तपाईंको यो आत्मालापमा मेरो पनि अनुहार कतै देखें ।
हो त आज अरुले नि मलाइ रहेका थिए..।
ReplyDeleteit's great and feelings are always valueable!!!
ReplyDelete