Twitter

Friday, May 27, 2011

चक्रपथ र ६ लेन....

अस्ति कल्ले पो एकजनाले भन्दैथिए, विश्वको सबैभन्दा असुरक्षित ट्राफिक भा'को सहरमध्ये काठमाण्डौ पनि पर्छ अरे । दिनहुँका दुर्घटना, बाटैभरि खाल्डैखाल्डा, तीव्र गति, मादक पदार्थको सेवन, लेन अनुशासन नमानेरलगायत विभिन्न कारणले सधैँ नै दुर्घटना हुने गर्दछन् । चालक, प्रहरी, व्यस्था गर्ने विभाग र सर्वसाधारण सबैको समान् दोष छ  यसमा । सबैको संयुक्त प्रयासबाट मात्रै काठमाण्डौको ट्राफिकलाई व्यवस्थित र मर्यादिन बनाउन सकिन्छ ।

अस्ति एकदिन बालकुमारीबाट चावहिल जाँदैथिएँ रिङ्गरोडै रिङ्गरोड । पिङ्गलास्थानबाट जाम रहेछ गौशालापट्टि । गाडिका बिचमा हुल्दै हुल्दै मोटरसाइकल अगाडि लाँदै थिएँ, अचानक मेरो अगाडि यस्तो भयो ।


गौशाला चोक पुग्नै लाग्दा जाम परेको बेलामा मेरो अगाडि स्कुटरमा रहेकी एक महिलाले बाटोको बिचैमा स्कुटर रोकेर केटाकेटी ओरालेर पसलतिर लागिन् । यी केटाकेटी जोखिममा पर्दैनन् त अब जाम खुल्ने बेलामा । भनेकै समयमा पसल पुगेर आइन्छ त ? के यसो गर्नु हुन्छ बाटोमा ? ट्राफिक दुर्घटना धेरै यस्ता लापरवाहिले हुने गरेका छन् । सधैँ निकायलाई दोष दिनुभन्दा आफूले पनि यस्ता काममा कमी ल्याइदिए ट्राफिक व्यवस्थापन सजिलो हुन्थ्यो कि काठमाण्डौमा ।

अनि यो दृश्य काठमाण्डौको कोटेश्वरमा देखिएको दृश्य हो । जापानी सहयोगद्वारा निर्मित ६ लेनको बाटोमा तीव्र गतिका कारण हुने दुर्घटना बारम्बार सुनिँदै आइन्छ । एक हजार वटा कुकुर र १६ जना मानिस यहि बाटोमा मरिसके अरे यति छोटो अवधिमै ।

कोटेश्वर मिनि बसपार्क भइसकेको छ अहिले विशेषगरि काभ्रे, सिन्धूपाल्चोक, दोलखा, रामेछाप, मन्थली, मेलम्ची जाने बाटोका लागि । बिहानै मानिसको ठूलै लर्को यसरी बाटोमा तामझामका साथ देखिन्छन् । तीव्र गतिमा गाडि गुड्नका लागि बनाइएको बाटोमा यसो गरेपछि हुँदैन त दुर्घटना ? 

सम्बन्धित निकायलाई दोष दिइरहनुभन्दा सबैले आ-आफ्नो ठाउँबाटै पहल गर्ने कि ?? दुर्घटना घण्टी बजाउँदै त आउँदैन...यस्तै साना कमजोरीले होइनन् र ??

Wednesday, May 25, 2011

वसन्तपुर….

ठूलो तर सानो ठाउँ काठमाण्डौ । ठूलो यसअर्थमा कि यसको क्षेत्रफल अलि ठूलै छ, चार कुना छोइहिँड्न अलि समय लाग्छ । सानो यसमानेमा कि यसो जाउँ न त भनेर जाने ठाउँ नै औँलामा गन्न पुग्छन् । हामी बटुलिएर प्राय: गइरहने ठाउँ चैँ वसन्तपुर । पहिलाको राजदरबार र अहिलेको पर्यटकसँग मागेर खाने भाँडो अनि दोश्रो दर्जाका नेताले आमसभा गर्ने ठाउँ बनेको छ वसन्तपुर ।

Photo0136

यसो टहलिँदै जाँदा मान्छेको बगालमा हराइन्छ कहिलेकाहिँ वसन्तपुरमा । कोहि संरक्षण क्षेत्रभित्र सवारीसाधन छिराउन सकस गर्दै भेटिन्छन्, कसैलाई मस्ती अँगालोमा बेरिएर बस्न नि पुगेको छ, चिया र बदाममा रमाउँदै भेटिन्छन् धेरै मानिसहरू । शान्ति, संविधानका र सामाजिक विषयवस्तुलाई आधार बनाएर केहि प्रदर्शनीहरू पनि बेलाबेला हेर्न पाइरईन्छ । यस्तै एउटा प्रदर्शनीको अवलोकन गर्यौँ ।

Photo0137

यसका प्रस्तोताका अनुसार यो आधुनिक युगको मान्छे हो जो प्रविधि र सामाजिक सञ्जालले बनेको छ ।

 

Photo0139

यस प्रदर्शनीका प्रस्तोताका अनुसार आधुनिक युगका मान्छेहरूको केन्द्रीकरण हुने ठाउँ अहिले शौचालय मात्रै बनेको छ । बाँकि सबै कुरामा मानिसहरूमा तीव्र ध्रुवीकरण आइसकेको छ ।

 

अब वेरोजगार जिन्दगी । के गर्ने त समय काट्ने भन्दा यसो चियासिया खा’र बसौँ भन्ने कुरा भयो । पछाडिपट्टि सानो गल्लीमा मिठो चिया पाइने ठाउँमा दिदी चिया पकाउँदै रै’छिन् ।

 

Photo0087

“तीन कप !”

Photo0079

चिया खाँदै गर्दा अगाडिको मन्दिर हेरेको त मन्दिरको अवस्था विजोग रै’छ !! मन्दिर कहाँसम्म र घर कहाँसम्म भनेर ठम्याउनै गाह्रो भयो एकछिन ।

 

Photo0078

विश्वकै सम्पदा सुचीमा परेको वसन्तपुर दरवार स्क्वायरमा रहेको मन्दिरको अवस्था यस्तो रै’छ । मन्दिर र घर छुट्याउन गाह्रो त छँदैछ, विभिन्न तुल टाँगेर यसलाई कुरूप बनाइएको रहेछ ।

 

वसन्तपुर डुल्दै गर्दा धेरै माया लाग्छ यसको । यो यस्तो नहुनुपर्ने हो । अस्ति भारत भ्रमणमा जाँदापनि सानो सानो कुराहरूलाई कस्तो मजाले जोगाएर अनि व्यवस्थापन समिति बनाएर सबै कुराहरूको उचित संरक्षण गरेको पाइयो । हाम्रो देशको भने विश्व सम्पदा सुचीमा रहेको वसन्तपुरलाई कहिले सफा, स्वच्छ पार्ने हो खै !!!

Sunday, May 22, 2011

संविधाने कि धाने बन्द ??? (फोटो फिचरसहित)

बहुप्रतिक्षित र असम्भव, नेपालको संविधान लेखिने भनेको मिति एक वर्ष पछि सारेर फेरि देश त्यसकै संघारमा आइपुगेको छ । वर्षभरि नेताको चाकरी गर्दै, केहि पाइहालिन्छ कि भन्दै, हात जोर्दै, अघिपछि कुद्ने भरौटेहरू केहि नपाउने छाँटकाँट देखेपछि अब देशको चिन्ता गर्दै संविधानसभा भवनअगाडि धर्ना दिँदैछन् । वीरेन्द्र हत्याकाण्डको रिपोर्ट बुझाउने बेलामा "रटट र फटट" भन्दै नाटक गर्ने, ज्ञानेन्द्रका भक्त तारानाथ रानाभाटसमेत पूर्वसांसद भन्दै काम नलाग्ने पूर्वसांसदका झूण्ड बोकेर धर्ना बसेका रै'छन् संविधान बनाउन । अरू नानाभाँतीका के के र के के बसेर सडक जाम गर्नेबाहेक केहि पनि काम भएको छैन । टेकिनसक्नु बनेको छ नयाँ वानेश्वर । 

तामाङ्सालीङ्, नेवा:, कोचिला के के भनेर नेपालभित्रै नेपालीलाई बाँड्दै हिँडेका नेताका पछि लागेर आफ्ना जातीय मागहरू पूरा गराउन समग्र नेपालीलाई दु:ख दिने कुबुद्धी पलाएको छ अचेल मान्छेमा । यस्तैमा जेठ ८ र ९ गते क्षेत्री समाजले उपत्यका बन्द घोषणा गर्‍यो । 
बन्दका कारण एकान्तकुनामा थन्किएका सवारीसाधन


जातैपिच्छेलाई आदिवासी, जनजाती भन्दै सुचीकृत गर्दै आरक्षणको लागि मारामार छ हाम्रो देशमा । यो देशमा बस्ने मान्छे, समुदाय सबै आदिवासी होइनन् र ? सबै यहिँकै होइनन् र ? यहिँमध्ये पनि एकथरि अनुहार भएकालाई जनजाति भन्दै सबैतिर आरक्षण गरेर माथि पुर्‍याउनुपर्ने अनि अर्काथरि अनुहार भ'कालाई चैँ पाखा लाउनुपर्ने कस्ताखालका माग राख्न थाले अचेल ? प्रधानमन्त्री पनि बाहुन भयो भनेर अरू जातले नमान्ने, संविधानसभाको अध्यक्ष नेम्वाङ् भयो भनेर अरू जातले नमान्ने, राष्ट्रपति मधेशी भए भने पहाडे भनाउँदाले नमान्ने हो भने यो सानो राष्ट्र अझ कस्तो हुन्छ होला ??
बन्द गराउँदै हिँडेका क्षेत्री समाजका कार्यकर्ता

जनता उस्ता कि नेता उस्ता ?? गम्भीर प्रश्न खडा भएको छ । नेताले जनताको आस पुरा गर्न सकेनौँ भन्दै हाम्रा आँखामा छारो हाल्ने नेता अनि सबै दोष नेताकै त हो नि भन्दै नेतालाई मात्रै सरोप्ने जनता सबैले आ-आफ्नो ठाउँबाट गरेका गल्तीहरूको समीक्षा गर्नुपर्दछ । अब फेरि यिनै नेताको छत्रछायाँमा बसेर आफूआफू काटमार गर्ने जनताले कि सबल र सक्षमलाई अगाडि ल्याउने ?? समर्थन पार्टीलाई गर्ने कि व्यक्तिलाई ? जनता यी कुरामा स्पष्ट हुन जरूरी छ ।
यसरी रिक्सामा बसेर गन्तव्यतिर लाग्दै थिए धेरै सर्वसाधारण । पुलचोकको दृश्य ।
के यस्ता बन्दले संविधान साँच्चै बन्छ त बेलैमा ?? आज र भोलि क्षेत्री समाजले अथवा अरू कसैके बन्द गर्नुको तात्पर्य के हो ? यो जेठ १४ मा संविधान नबन्ने पक्कापक्की भइसकेपछि पनि अझ शान्ति र संविधान भन्दै बन्द गर्नुको पछाडि नियत के हुनसक्छ ? के यस्ता बन्दले आयोजकका माग सबै समेटिन्छन् ? यस्ता बन्दले संविधान बनाउन भनेर गएकालाई छोएको छ ? बन्दकर्ताले झलनाथ, प्रचण्ड, शूशिल, विजय गच्छेदार, उपेन्द्र यादवका गाडि रोकेर उनीहरूलाई बाटोमा हिँडाएका छन् र ? बिहानै खेतमा गएर बजारमा तरकारी बेच्न ल्याउने कृषकले किन गाडि चढ्न नपाउनु संविधान नबन्ने भयो भनेर ? हामी विद्यार्थीले किन पढ्न नपाउनु संविधान नबन्ने भयो भनेर ? बिरामीले एम्बुलेन्स चढेर किन अस्पताल जान नपाउनु संविधान नबन्ने भयो भनेर ? हामी कृषक, विद्यार्थी, विरामी र समग्र जनताले संविधान बनाउँछौँ भनेका थियौँ र अहिले संविधान नबन्दाको मार हामीले खेप्नुपर्ने ? जसले बनाउन सकेन संविधान तिनलाई के गर्न सक्यौ बन्दकर्ता भनाउँदाले ? कसलाई दबाब पुग्यो यो बन्दले ? कुन चैँ एउटा सकरात्मक काम भयो आजको बन्दले संविधान निर्माणमा ? कुनै एउटा समुदायले गरेर क्रान्ति सफल हुँदैन । क्रान्तिमा सिङ्गो राष्ट्र होमिनुपर्छ यदि साँच्चै नै परिवर्तनको सुरूवात हुनु छ भने ।

बन्दले सुनसान त्रिपुरेश्वर चोक
संविधानका लागि बन्द गर्नेले जनतालाई सास्ती दिनु हुँदैन थियो । शान्ति र संविधानका फुस्रा नारा लगाउँदै गरिने यस्ता बन्द साँच्चै संविधान निर्माणप्रति गम्भीर भएरै गरिएको हो त ? पक्कै होइन । यो वर्षभरि कसैलाई चिन्ता भएन संविधानको । फागुनमै थाहा थियो सबैलाई यसपाला नि संविधान बन्दैन भनेर । जेठमा मात्रै संविधान लेख्ने हो र जेठ लागेपछि मात्रै भटाभट बन्द गर्नुपर्ने ?? यस्तो बेला भएका बन्दले त अब संविधानसभाको म्याद थप्नु हुँदैन, ताजा जनादेशमा जाओ बरू, तिमीहरूको निकम्मापन देखिसक्यौँ भन्नेजस्ता नारा बोक्नुपर्ने होइन र ?? जसरी भएपनि यहि १४ मा संविधान बनाओ भन्नु भनेको गुलेलीले हानेरै चन्द्रमा फुटाओ भन्नुजस्तो होइन र अहिलेको परिपेक्ष्यमा ? के सम्भव छ र अब ? कि साँच्चै सम्भव भएर पनि हामी जनताले नबुझेको हो र अझैपनि दबाब दिँदैछन् जातियताको नाममा देशलाई प्लटिङ् गरेर आफ्नो भाग खोज्न हिँडेका जातीका नेता भनाउँदाले  ?
आजको प्राइभेट सवारीसाधन


 यस्ता बन्द संविधाने नभई धाने बन्द हुन् । संविधान निर्माण गरेर देशलाई अग्रगमनतर्फ डोर्‍याउनका लागि होइन आफ्नो ढुकुटीमा धान धेरै भर्नका लागि गरिएका "धाने" बन्द हुन् । उम्रेदेखि खुम्रेसम्मका सबै नेता,यस्ता बन्द गरेपछि ठूलो हुईन्छ, मिडियामा आउँछ, मान्छे थर्काउन पाइन्छ अनि ठूलो ठाउँमा पुगिन्छ, ठूलो नेता हुईन्छ भनेर एउटा जातको सहारा लिएर गरिएको व्यक्तिगत राजनीति हो । अलिकति ठूलो ठाउँमा पुगेपछि अनि घुसखोरि, कमिशन, भ्रष्टाचार, नातावाद र कृपावादलाई बढावा दिने, अनि मिलेर खाने, ढुकुटीमा धान भर्ने । जब जनआन्दोलनको आँधीबेरी सिर्जना भएको थियो, त्यतिबेला स्व:स्फुर्त रूपमा सबैले बन्द गरेका थिए, देशको लागि । जनता सडकमा ओर्लिनु मात्रै संविधान र राष्ट्रको चिन्ता हो, कसैका कार्यकर्ता भेडावाख्राजस्तो कोचेर ल्याएर दुई-चार वटा गाडि फुटाउँदैमा गरिएका बन्दहरू संविधानका लागि होइन, संक्रमणकालीन् अवस्थाको फाइदा उठाएर परिस्थिति अनुसारको घटिया राजनीति गर्ने सक्ने चैते व्यक्तिहरूका कुटिल चाल मात्रै हुन् ।
त्रिपुरेश्वरमा सुरक्षा दिन बसेका सुरक्षाकर्मी

यो साँच्चै नै "धाने" बन्द हो !!!

तस्वीर : प्रतिक कार्की









 

About GufGaf

About Nepali literature,Idea on Politics,Views and Discussion,Nepalese students

Your GufGaf

Views and discussions is a great way to develop creative ideas. Your valuable article, thought and suggestion is waiting our doorway. Please do send it on prabesh@gufgaf.com, ashesh@gufgaf.com, saxam@gufgaf.com

☺गफगाफ Copyright © 2009 गफगाफ डट कम