चार नातिनातिनाका हजुरबा राता मकै भन्छन्, मेरी श्रीमती जति छोराछोरी पायो उति च्वाँक– जन्मदिन वार्ता

हाँस्य कलाकार किरण केसी उर्फ राता मकै, चिकेन चिल्ली असार १५ गते ६० वर्षमा प्रवेश गर्दैछन् । असार १५ मा नयाँ बानेश्वरको ईन्द्रेणी फुडल्याण्डमा विशेष कार्यक्रमको आयोजना गर्दै उनले ६० औँ जन्मदिन मनाउँदैछन् । चार दशक भन्दा बढी समय कलाकारितामा बिताएका किरण केसीले ६० औँ जन्मदिनको अवसर पारेर हामीसँग केही व्यक्तिगत र पारिवारिक कुराहरु सेयर गरेका छन् ।

एसएलसीमा चार पटक फेल भएँ
मैले एस एल सीमा चार पटक फेल भएका कारण पढाईलाई अघि बढाउन सकिन । मलाई परिवारले पढाउन नसकेर मैलै पढ्न नसकेको पनि हैन । मलाई पढ्नै नआएर, पढ्नै मन नलागेर नपढेको हो । मलाई कुनै पनि विषय मन पर्ने, नपर्ने भन्ने थिएन । मलाई किताब हेर्यो कि टाउको दुख्थ्यो । अहिले पनि टाउको दुख्छ । धेरै बेर किताब हेरेर बस्न सक्दिन । म एस एल सी भन्दा अगाडिको टेस्ट परीक्षा सम्म लगातार पास भएको थिएँ । तर एस एल सी भने मैलै पास गर्न सकिन । एक पटक दिँदा भएन, अर्को पटक दिँदा भएन, अर्को पटक दिँदा पनि भएन, फेरि अर्को पटक दिँदा पनि भएन । पछि त ह्या…. जति पटक दिँदा पनि भएन भनेर परीक्षा नै दिन छाडेँ । मलाई अहिले आएर भने शिक्षाको महत्व थाहा भएको छ । किनकी अहिले आएर आई फोन सेभेन, स्यामसुङ ग्यालेक्सी एस सेभेन जस्ता मोबाईलहरु चलाउनको लागि ए बाबु…… सिका त भनेर छोरा र नातिसँग साहारा लिनु पर्ने थिएन । तर अर्को हिसाबले मलाई नपढेकोमा पछुतो पनि फिटिक्कै हुँदैन । किन भने म सँग किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानहरु धेरै छन् । किताबी ज्ञानलाई नै फेल गराउन सक्ने क्षमता र ज्ञान छ मसँग । तर किताबी ज्ञान चाहि चाहिने कुरा हो । म संसारका झण्डै ४३ वटा देश घुमेँ । ६५ वटा स्वदेशका जिल्ला घुमेँ । तर मलाई हरेक देशको भाषा र त्यहाँको चालचलनबारे जानकारी भएको भए त्यो घुमाई अझै मजेदार हुने थियो भन्ने लाग्यो । तर म समूहमा जाने भएका कारण त्यस्तो अप्ठ्यारो भने भएको छैन ।

फेरि विदेश जाँदा अंग्रेजी नआउने पनि हैन । मलाई आउँछ । म त्यस्तो निल पनि हैन अंग्रेजीमा । मैलै नेवारी भाषाको गीत गाएको छु । अंग्रेजीमा नाटक गर्ने भनेर हामीले रिहल्सन पनि गरेका थियौँ ‘रिमोट कन्ट्रोल’ नामको नाटक । देशमा पढेकाले के गरेका छन् खै ? अस्ति खनेको ढलको तुरुन्तै समाचार बनाएर धुलो बन्द गरे की, जनताको लागि संसारकै नम्बर वान देश बनाईदिए की, पढे लेखेकाले । मैलै च्यालेन्ज गरेको पनि हैन । यसको अनर्थ नलागोस् । गौतम बुद्धले पनि एस एल सी पास गरेका थिएनन् क्यारे । तर उनको अनुशरण, उनको निती, उनको विचार संसारभरि लागु भयो । हाम्रो आराध्य देव भगवान पशुपति नाथले पनि कुनै सर्टिफिकेट लिएका थिएनन् । उनी पुजनिय, ढोगनिय बने । मैलै यी मुर्धन्य व्यक्तिको साहारा लिएर मेरो बिग्रेको पढाईमा गर्व गर्न खोजेको पनि हैन । संसारको धनि मानिस बिल गेट्सले पनि एम एम पास गरेको छैन । लक्ष्मी पूजा पनि गरेको छैन । तै पनि ऊ संसारकै धनी बन्यो ।
म फेरि भन्छु शिक्षा अति नै आवश्यक कुरा हो । यसले धेरै राम्रो निर्णय लिने क्षमताको विकास गरिदिन्छ । परेको बेला सहन सक्ने शक्ति दिन्छ । यो त एउटा ईनर्जी नै हो । पखाला लाग्ने बेलामा जीवन जलको जति आवश्यकता हुन्छ नि जीवनमा समस्या परेको बेलामा शिक्षा पनि त्यस्तै साहारा हो । व्यावहारिक ज्ञानसँगसँगै किताबी ज्ञान पनि मिसाएर अघि बढ्यो भने त्यो मान्छे सार्थक र सफल हुन्छ जस्तो मलाई लाग्छ ।

19553162_1233011923472260_1474432546_n

श्रीमती र जेठा छोरा बुहारीसँग किरण केसी
मेरी च्वाँक श्रीमती र छोराछोरी
मैलै मागी विवाह गरेको हो । म मेरो श्रीमतीको एकदमै सम्मान गर्छु । अति आदरणीय, पुजनिय मेरी श्रीमती हुन् सीता केसी । उनी सधैँ सीता बनिन् म राम बन्न सकिन । तर अहिले सम्म राम बन्ने मेरो कोसिस जारी छ । हाम्रो जोडी मिलाईदिएकोमा म भगवानलाई पनि धन्यवाद भन्छु । हामीलाई भेटाईदिने लमीलाई पनि म धेरै–धेरै धन्यवाद भन्छु । लमी मेरो आफ्नै सानीमा हो । सानीमा अहिले स्वर्गमा हुनुहुन्छ । उहाँ जहाँ हुनुहुन्छ खुशी मिलोस् भन्ने मेरो कामना छ ।
मनमा एकदमै धेरै सकारात्मक कुराहरु भएकी श्रीमती मैलै पाएको छु । मैलै त श्रीमतीलाई बुढी पनि भन्दिन, आमा भन्छु । किन भने मलाई मेरो आमाले जुन किसिमले हेरचाह गर्नुहुन्थ्यो त्यहि किसिमको हेरचाह उनले पनि गर्छिन् । अझ साँच्ची नै भन्ने हो भने आमाको भन्दा अझ एक लेवल माथिको हेरचाह पाईराको छु । यहि कारण मैलै उनलाई आमाको संज्ञा दिएको हुँ । उनी एउटा असल आमा बन्न सकिन् । एउटा असल श्रीमती बन्न सकिन् । अहिले चाहि उनी हाउस वाईफ छिन् । घरको सम्पूर्ण काम उनले गर्छिन् । बाहिरको काम मैलै गरिराको छु ।
मलाई छोराछोरी धेरै नै पाउने ईच्छा थियो तर बुढी मानिनन् (लामो हाँसो) । म मा त्यस्तो कमी कमजोरी पनि थिएन । जति पाए नी हुन्थ्यो । १९ वर्षमा विवाह गरेको २० वर्षमा छोरी जन्माको । २१ वर्षमा दोस्रो छोरा र २२ वर्षमा तेस्रो छोरा जन्माको अनि २३ बाट बन्द भाको (लामो हाँसो) । बुढी त जति बच्चा पायो त्यति राम्री, जति बच्च पायो त्यति राम्री । मान्छेहरुको पोतो आएर अनुहार बिग्रिन्छ । मेरी बुढीलाई त केही पनि भएन । म असार १५ गतेबाट ५९ पूरा पुगेर ६० लाग्छु । उनी म भन्दा ३ वर्ष कान्छी छन् । अर्थात उनी ५७ वर्षकी भईन् । उनलाई खाको लाको एकदमै सुहाउँछ । एकदमै राम्री श्रीमती मेरो भागमा पारिदिएकोमा म भगवानलाई धेरै–धेरै धन्यवाद भन्छु म । ज्यादै च्वाँकै परि के बुढी त मेरो ! तीनवटा बच्चाको आमा हुँदा पनि नराम्री भईन त अनि । उसको सधैँ सकारात्मक विचार रह्यो । बरु कहिले काही म बेईमान भएँ होला ।

19576064_1233004386806347_726581794_n
पहिलो सन्तान छोरी भएपछि मलाई धेरै राम्रो भयो । म नारीलाई एकदमै सम्मान गर्छु । यहि कारण पनि मेरो घरमा छोरीको आगमन भएपछि आर्थिक ढोकाहरु खुले । मेरा योजनाका ढोकाहरु खुले । मैलै गर्न लाएका कार्य सफलताका ढोकाहरु खुले । अहिले छोरीलाई एक रोपनी ६ आनाको जग्गामा चार तलाको घर बनाएर राखेको छु । छोरीले बिजनेस पढेकी छे । जेठो छोरो अमेरिकामा छ । उसको जन्म २०३४ सालमा भएको हो । उसले अमेरिकाको नागरिकता पनि लिईसकेको छ । अनि २०३६ सालमा जन्मेको कान्छो छोरो नेपालमै छ । उसले ईभेन्टको काम गर्दै आईरहेको छ । छोरा र छोरीका गरेर चारवटा नाति नातिना छन् मेरा ।

राम्रो मान्छेलाई किन नहेर्ने ?
राम्रो मान्छे देखेपछि त कसले नेहेर्ला र ? म पनि हेर्छु । घरमा बुढी च्वाँक छ भन्दैमा बाहिर राम्री केटी देखेपछि नहेर्ने भन्ने हुँदैन । घरको बगैँचालाई मात्रै बगैँचा मान्ने अनि रत्नपार्कको बगैँचा, पाँच तारे होटेलको बगैँचा चाहि हेर्दै नर्हेनी त हुँदैन नि ! तर कुरा बगैँचालाई कसरी हेर्ने ? भन्नेमा फरक पर्छ । आहा ! कति राम्रो, भनेर त्यसलाई त्यहिको त्यहि छोडिदिनी र आहा ! कति राम्रो भनेर अर्कै घरजम गर्न खोज्ने कुरा फरक हुन् । राम्रो फूल देख्दैमा त्यसलाई चुँडेर आफैसँग राख्न खोज्ने नजर चाहि छैन म सँग । राम्री मान्छेलाई नहेर्नी, राम्रो मान्छेलाई प्रशंसा नगर्ने को होला ? ब्रह्माण्डकै राम्री हैन पार्वती ? खै महादेवले पनि पार्वती हुँदा हुँदै अन्तै आँखा लगाएका थिए । मेरा कुरा गर्दा त अझ केटी साथीहरु बढी छन् । म एकदमै फ्र्यान्की छु । अनि कहिले काही श्रीमती शंका पनि गर्छिन् । फिल्म लाईनमा मेरा केटी साथीहरु छन् । उनीहरु पनि मसँग सिनियरको हिसाबले परामर्श लिन्छन् । कहाँ के गर्ने ? के नगर्ने ? सबै सुझाव सल्लाह दिन्छु ।

मारुनी नाचको सौखिन
मलाई बाल्यकाल देखि नै रत्यौलीमा मादल बजेको सुन्न हुँदैनथ्यो । नाचिहाल्थेँ म । देउसी भैलोमा पनि मलाई चासो थियो । म त मारुनी पनि नाच्थेँ । सारी लगाएर धोती लगाएर मारुनी बनिहाल्थेँ । म त भयङकर राम्रो नाच्ने मान्छे हो नि । मैले राष्ट्रिय नाचघरमा जागिर पनि खाएँ । हरिवंश आचार्य, म र शुशीला रायमाझीको एकैदिन नियुक्ति भएको थियो त्यहाँ । म चाहि हरिवंशहरु भन्दा एक पद माथि थिएँ । लगभग दुई वर्षजति म उनीहरु भन्दा माथिल्लो पदमा रहेर काम गरेँ । पछि हरिवंशले राजालाई देखाउने कार्यक्रम गरेपछि उसको त एकैचोटी मेरो लेवलको तलब भयो । पहिले मैले उसलाई पछि पारेको थिएँ । पछि त मलाई उसले छोडिदियो रेसमा ।
मैलै चारवर्ष राष्ट्रिय नाचघरमा जागिर खाएपछि छोडेँ र ब्यापारमा लागेँ । मैलै १४ वर्षको उमेरबाट यस क्षेत्रमा व्यावसायिक ढंगले काम गर्न थालेको हुँ । मेरो पहिलो टेलिफिल्म ‘१५ गते’ हो । त्यसपछि ‘लालपूर्जा’सँगै मह जोडीका अनगिन्ती सुपरडुपर हिट शोहरुमा काम गरेँ । मेरो ठूलो पर्दाको पहिलो सिनेमा चाहि अर्जुन श्रेष्ठको ‘सम्पति हो’ । आजसम्म मैलै झण्डै एक सय २५ वटा सिनेमामा काम गरेको छु । जिरे खुर्सानीलाई जोडेर झण्डै सात सय भाग टेलिसिरियलमा काम गरिसकेको छु । त्यस्तै मैलै तीनवटा गीतीसंग्रह सार्वजनिक गरेँ भने दुईवटा सिनेमा निर्माण पनि गरेँ ।

समाज सेवा मेरो खुशी
मेरो चरित्रको नाममा ललितपुरको ईमाडोलमा ‘राता मकै’ चोक स्थापना भएको छ । अनि मैलै सामाजिक सेवामा पनि केही कदम उठाएको छु । सामाजिक सेवा मेरो रुची र खुशी हो । मलाई पहिले देखि नै समाज सेवा गर्न मन लाग्थ्यो । मैलै ईमाडोल प्रहरी चौकी बनाएको छु । त्यसमा लगभग २८ लाख लगानी छ । अनि सात दोबाटो प्रंहरी चौकी पनि निर्माण गरेको छु । त्यो झण्डै २८ करोडको छ । धुर्मुस–सुन्तली अघि सबैभन्दा ठूलो रकम समाज सेवामा खर्च गर्ने कलाकार मै हो । अब भने उनीहरुले नमुना नेपाल बनाउने सोचेका छन् । केही बस्ती पनि बनाईसकेका छन् । मैलै पनि उनीहरुलाई केही रकम सहयोग गरेको छु । कलाकारिता पछि मलाई खुशी मिल्ने काम भनेको समाज सेवा हो । समाज सेवाले मलाई एकदमै ठूलो खुशी दिन्छ ।

You might also like

Comments

Loading...