‘प्रेमगीत–२’ को एक दिनको कमाई बाढी पीडितलाई

निर्माता सन्तोष सेनले सिनेमा ‘प्रेमगीत–२’ को एक दिनको कमाई बाढी पीडितको सहयोगार्थ दिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत निर्माता तथा कलाकार सन्तोष सेनले देशमा भएको यस दुखद घडीमा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै भदौ २ गते ‘प्रेमगीत २’ ले गरेको कारोबारबाट निर्माताको हातमा आउने सम्पूर्ण रकम बाढी पीडितको सहयोगको लागि प्रदान गरिने उल्लेख गरेका छन् ।

‘आज सिङ्गो देशले बाढी पहिरो जस्तो महाविपदको सामना गरिरहेको छ । हजारौ नेपाली दिदीबहिनी दाजुभाईहरु घरवार बिहिन हुनु भएको छ भने सयौले अमुल्य ज्यान गुमाउनु भएको छ । यो दर्दनाक परिस्थितिमा आशुसेन फिल्मस प्रा ।लि ।घरबार गुमाउनु हुने सम्पूर्ण दिदिबहिनी दाजुभाईहरुमा धैर्य धारण गर्न तथा ज्यान गुमाउनु भएका सबै पवित्र आत्माहरुको चीर शान्तिको कामना गर्दछ । साथ साथै हामीले निर्माण गरेको , देश भक्तिले भरिपूर्ण प्रेम कथामा आधारित मौलिक कथानक चलचित्र ‘प्रेमगीत २’ लाई सारा नेपाली दिदीबहिनी दाजुभाईहरुले हृदय देखी माया गरिरहनु भएको समयमा यति ठुलो बज्रपात परेको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ । तसर्थ यही २०७४ भाद्र २ गते शुक्रवारका दिन देश भरीका जति पनि हलहरुबाट  ‘प्रेमगीत २’ले कलेक्सन गर्दछ निर्माताको भागमा पर्ने सत प्रतिसत रकम बाढी पीडितहरुको पुनर्बासको लागि दिने घोषणा गर्दछौ । जय नेपाली सिनेमा ‘
भदौ २ गते देखि ‘प्रेमगीत २’ चौथो सातामा प्रदर्शन हुँदैछ । साउन १३ गते रिलिज भएको‘प्रेम गीत–२’ले तेस्रो सातामा पनि राम्रो व्यापार गररहेको छ । रामशरण पाठकको निर्देशन रहेको ‘प्रेमगीत–२’ मा प्रदीप खड्का र अश्लेषा ठकुरी, सन्तोष सेन, श्रद्धा प्रसाईँ कैलास कट्वाल , शिसिर भण्डारी लगायतको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...