नेपाल आईडलको फाईनल आज, फाईनलसम्म पुग्दा भए यस्ता कुरा

सन् २००२ मा अमेरिकाबाट शुरु आएको अमेरिकन आईडल अहिले नेपाल आईडलको रुपमा नेपालमा सञ्चालन भईरहेको छ । नेपाल आईडल पूर्व ईण्डियन आईडल चर्चित छ । सन् २००४ देखि भारतको सोनी ईन्टरटेनमेन्टले यसलाई ईण्डियन आईडलको रुपमा सञ्चालन गर्दै आएको छ । भारतीय टेलिभिजन सोनी ईन्टरटेनमेन्टमा ईण्डिन आईडल हेर्ने, सकेसम्म र मिलेसम्म भोट गर्ने नेपालीहरुले नेपालमै त्यहि कार्यक्रम आएपछि नहेर्ने र भोट नगर्ने त कुरै थिएन । नेपाल आईडल नेपालमा आउने भन्ने थाहा पाएदेखि नै सबै नेपालीहरु यसलाई हेर्न आतुर भएका थिए । अन्तराष्ट्रिय स्तरको सिंगिंङ रियालिटी शो भएका कारण पनि नेपाल आईडलको क्रेज शुरुवात देखि नै बढी छ ।

नेपाली मिती अनुसार नेपाल आईडल बैशाख ७ गते (सन् २०१७ अप्रिल १९) देखि टेलिकास्ट हुन थाल्यो । तर नेपाल आईडलको अडिसनबाटै आलोचना शुरु भयो । राम्रो गाउनेलाई नै जजहरुले फाले भनेर सामाजिक सञ्जालमा यसको विरोध शुरु भयो । नेपाल आईडलका निर्णयकहरु न्ह्यु बज्राचार्य, ईन्दिरा जोशी र कालिप्रसाद बास्कोटाकै संगीत ज्ञानमा औँला उठाईयो । उनीहरुमा राम्रो संगीत ज्ञान नभएको र रुपका कारण मात्रै निर्णयकको कुर्सीमा बसालेको कुराहरु पनि आए । तर बाहिर जतिसुकै विरोध र आलोचना भएपनि नेपाल आईडलको टिमले यसलाई सामान्य रुपमा लियो । किनभने नेपाल आईडलको जुन उचाई छ त्यस अनुसार यसरी आलोचना हुनु उनीहरुलाई कुनै ठूलो कुरा लागेन ।
नेपाल आईडलका ३७ एपिशोड टेलिकास्ट भईसकेका छन् । यहाँसम्म आईपुग्दा यसले विभिन्न खाले टिका टिप्पणीहरु पाईरहेको छ । नेपाल आईडलको एपिशोड ३१ ले पनि विरोधको सामना गर्नु परेको थियो । यो एपिशोडमा अतिथी निर्णयक बनेर गएका गायक रामकृष्ण ढकालको अभिब्यक्तिलाई लिएर आइडलका केहि प्रतिष्पर्धीका समर्थकले गायक ढकाललाई सामाजिक सञ्जालमा मानमर्दन नै गरे । उनले कार्यक्रमका उत्कृष्ट ४ मध्ये आफूलाई निशान भट्टराई अन्यन्तै मन पर्ने र उसको लागि भोट गर्ने बताएपछि उनले जातका हिसाबमा निशानलाई सपोर्ट गरेको र अन्यलाई हेपेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले विरोध गरे ।

त्यस्तै नेपाल आईडलका उत्कृष्ट चार प्रतिस्पर्धीबाट उत्कृष्ट तीन छान्ने समयमा मन परेको प्रतिस्पर्धी बाहिरन लागेका कारण आयोजकले एलिमिनेशन नगरेको भन्दै अदालतमा मुद्दा नै पर्यो । यसमा धाँधली भएको भन्दै मुद्दा परेपछि अदालतले पनि अल्पकालिन अन्तरिम आदेश नै दिएको थियो । नेपाल आईडलको ३३ औँ एपिशोडमा उत्कृष्ठ तीन प्रतिस्पर्धी छान्ने बेला थियो । तर कार्यक्रमको अन्त्यमा गएर त्यो साता कोही पनि आउट नगरिने घोषणा प्रस्तोताहरुले गरे । बरु अर्को हप्तासम्मको लागि सबैलाई राखियो र भोटको अपिल गरियो । दुई साताको भोट जोडेर कम भोट पाएकालाई कार्यक्रमबाट बिदाई गरिने आयोजकले जानकारी दियो । तर धाँधली गरेको भन्दै मुद्दा नै परेपछि अदालतले दोस्रो हप्ताको भोट नगन्न अन्तिरिम ओदश दियो र पहिलो साताकै भोट अनुसार सागर आलेलाई आउट गरियो ।

यसरी उत्कृष्ट ३ प्रतिस्पर्धीसम्म आईपुगेको नेपाल आईडलको फाईनल आज कतारको सनायास्थित एशियन टाउनको एम पी थियटरमा गरिँदैछ । आज नेपालले पहिलो नेपाल आईडल पाउँदैछ । लक्ष्मण पौड्यालको निर्देशनमा नेपाल आईडल सिजन १ शुरु भएको हो । ३७ एपिशोड्ससम्म नेपालमा खिचिएको नेपाल आईडलको फाईनल भने कतारमा गरिँदैछ । नेपाल आईडलको फाईनल कतारमा गर्ने घोषणा भएलगत्तै पनि यसको चौतर्फी विरोध भएको थियो । तर ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भने जस्तै सबैको विरोध र आलोचनालाई बेवास्ता गर्दै नेपाल आईडलका आयोजकहरुले यसलाई सभ्य र भव्य बनाउने योजना सहित कतारमा फाईनल गर्दैछन् ।
नेपाल आईडलका विजेताले २० लाख नगद, महिन्द्रा के युभी कार र १५ लाख बराबरको एल्बम कन्ट्रयाक्ट पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले पनि खाली हात फर्कनु पर्ने छैन । दोस्रो हुनेले १५ लाख नगद पाउनेछन् भने तेस्रो हुनेले १० लाख नगद पाउनेछन् ।

You might also like

Comments

Loading...