‘छक्का पञ्जा २’ ले तोड्यो बाहुबलीको रेकर्ड

असोज ११ फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ । शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु सोल्ड आउट भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्ड समेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।

सिनेमाले शुक्रबार मोफसलमामा रात्रि शोहरु बाहेक ५७ लाखको कारोबार गरेको छ । तर उपत्यका भित्रको कारोबार भने बाहिरएको छैन । बिहिबार बेलुकासम्म सिनेमाको कारोबार बाहिरिने वितरक नरेन्द्र महर्जनले जानकारी दिए ।

बुधबार र बिहिबार दुवै दिन काठमाण्डौ उपत्यका र मोफसलमा सय प्रतिशत अकुपेन्सी रहेको छ । वितरक नरेन्द्र महर्जनका अनुसार सिनेमाको कारोबारमा दशैँको टिकाको दिन बाहेक अघिपछि असर पर्ने सम्भावना कम छ । टिकाको दिनमा भने मध्यान्ह १२ बजे टिकाको साईत परेकाले १२ बजेको शोमा दर्शकहरुको कमी हुने सम्भावना देखिएको छ । अन्यथा टीकाको भोलिपल्टसम्म दर्शकहरुको उपस्थिति बुधबार र बिहिबारको जस्तै रहने पक्का भएको छ ।

21766624_490850521248750_6133017550325346312_n
यतिबेला सिनेमाका कलाकारहरु हल–हलमा पुगेर प्रत्यक्ष रुपमा दर्शकलाई भेटेर सिनेमाको बारेमा प्रतिकृया बटुल्ने र दर्शकसँग खुशी साट्ने काम गरिरहेका छन् । मिडियासँगको कुराकानीमा निर्देशक दीपाश्री निरौलाले दर्शकहरुले अहिले भने तिमीहरुले सिनेमा बनाएछौँ वाह ! भनेर प्रतिकृया दिएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल हो । ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड राखेको छ ।

22046924_1575448945855861_4142583725044943426_n
‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...