‘मह’सँग जोडिए टंक बुढाथोकी

काठमाण्डौ मंसिर  १९  ■ 

संगीतकार तथा गायक टंक बुढाथोकीले महसञ्चारको निर्माण सिनेमा ‘शत्रु गते’मा काम गर्ने अवसर पाएका छन् । यस सिनेमामा उनको संगीत र आवाजमा एउटा गीत समावेश हुने भएको छ जुन गीतको रेकर्डिङ उनले मंगलबार मात्रै सकाएका छन् । मंगलबार गीतको रेकर्डिङ सकिएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा सिनेमाका प्रस्तोता किरण केसी र गायिका मिना निरौलासँगका केही तस्बिरहरु सेयर गरेका छन् । तस्बिरसँगै उनले, ‘जीवनमा खुशीको पल मह सञ्चारसँग काम गर्ने अवसर’ लेख्दै गीत रेकर्डिङको काम सकिएको जानकारी दिएका हुन् । ‘शत्रु गते’का लागि उनले लोकराज अधिकारीका शब्दमा संगीत भरेका छन् भने गायिका मीना निरौलासँग गायनमा सम्झौता गरेका छन् ।

प्रदीप भट्टराईको निर्देशन ‘शत्रु गते’ चैत्र ९ गते देखि देशभर प्रदर्शनमा आउँदैछ । प्रदीपले यस अघि सिनेमा ‘जात्रा’ निर्देशन गरेका थिए । वीरगंज र काठमाण्डौमा छायाकंन गरिएको ‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल,राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

नयाँ देखि पूराना कलाकारहरुलाई समावेश गरिएको ‘शत्रु गते’ निर्माणमा डेढ करोड रुपैयाँ खर्च हुने भएको छ । महका ‘ह’ हरिवंश आचार्यले रेडियो अडियोको एक कार्यक्रममा बोल्दै सिनेमा निर्माणमा एक करोड ५० लाख लाग्ने जानकारी दिएका हुन् ।
दर्जनौँ टेलिश्रृङखला र केही सिनेमाहरु निर्माण गरिसकेको निर्माण संस्था महसञ्चारको निर्माण रहेको यस सिनेमामा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् ।

You might also like

Comments

Loading...